ad ad

अन्तर्वार्ता


कांग्रेसमा ‘आरजु ब्रिगेड’ खडा गरिँदै छ : अमरेशकुमार सिंह

‘शेरबहादुर र प्रचण्डका कम्प्युटरमा गठबन्धन होला, सर्लाही ४ को भूगोलमा छैन’
कांग्रेसमा ‘आरजु ब्रिगेड’ खडा गरिँदै छ : अमरेशकुमार सिंह

जेवी पुन मगर र जनार्दन पोखरेल
कात्तिक २७, २०७९ आइतबार ७:३२, बलरा, सर्लाही

भारतसँग सीमा जोडिएको सर्लाहीको बलरा नगरपालिका–२ जमुनियाँ टोल पुग्दा बिहानको साढे ८ बजिसकेको थियो। कतै चौडा र कतै साँघुरो ४२ किलोमिटर सडक पार गरेर हामी पूर्व–पश्चिम राजमार्गको नयाँरोडबाट भारतीय सीमासँगै जोडिएको अमरेशकुमार सिंहको गाउँ पुगेका थियौँ। 

बिहान सात नबज्दै पूर्व–पश्चिम राजमार्गलाई छाडेर नयाँरोडबाट दक्षिण लागेका हामीलाई बांगाटिंगा सडकले धेरै ठाउँमा अल्मल्यायो। गाउँबाहिर चौडा देखिने सडक पनि गाउँमा प्रवेश गरेपछि नागबेली हुँदै साँघुरिएका थिए। कतिपय ठाउँमा सडकमै परालका टाल थिए। सडकमै गाईभैँसी बाँधेर गोबर मल थुपारिएको थियो। हामीसँग भेट हुँनासाथ अमरेशले भने, ‘तपाईंहरुले यो क्षेत्रमा जति पनि कालोपत्रे सडक देख्नुभयो, त्यो सबै मेरै पहल र योजनामा भएको काम हो। महन्थ ठाकुरले यहाँबाट धेरैपटक निर्वाचन जिते। शिवपुजन राय पनि यहीँबाट माननीय भए। तर, उनीहरुले यहाँको सडकमा एकथोपा अलकत्रा पनि खसाउन सकेका थिएनन्।’ 

सर्लाहीको क्षेत्र नम्बर ४ मा पर्ने बलरा ४ मा अमरेशको पुख्र्यौली घर छ। नेपाल–भारत सीमाक्षेत्रबाट पाँच सय मिटर नजिकैको बलरा गाउँ नै उनको जन्मथलो हो। उनको घरनजिकै पर्छ भारतीय बजार बसबिट्टा र मेजरगञ्ज। २०७० र ०७४ मा नेपाली कांग्रेसबाट प्रतिनिधि सभामा विजयी भएका सिंह यसपटक तेस्रो जितको लागि अन्तिम कसरत गर्दैछन्। तर, अघिल्ला दुई निर्वाचनमा जस्तो यसपटक उनलाई निर्वाचन जित्न सहज भने देखिँदैन। त्यसको कारण हो– अमरेशको स्वतन्त्र उम्मेदवारी। 

मनोनयनअघि नै पार्टी कारबाहीमा परेका उनले कांग्रेसबाट टिकट पाउने कुरै थिएन। पाँच दलीय गठबन्धनबाट कांग्रेसका पूर्व जिल्ला सभापति नागेन्द्र रायले टिकट पाएपछि अमरेशले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन्। नागेन्द्रसँगै माओवादी नेता शिवपुजन रायकी छोरी मधुमाला र एमाले–जसपा गठबन्धनका राकेश मिश्र प्रतिनिधि सभामा उनका मुख्य प्रतिस्पर्धी छन्। 

०५२ देखि ०५८ सम्म अस्कल क्याम्पसमा पढाएका डा. अमरेश निर्वाचनमा आफ्नो जित सहज भएको दाबी ढुक्कसँग गर्छन्। बलरा–२ को जमुनियाँ टोलस्थित एमाले नेता रामचरित्र साहको घरभित्रको एउटा सानो कोठामा बसेर हामीले झण्डै आधा घण्टा अमरेशसँग कुरा गर्यौँ। कुराकानीको अधिकांश समय उनले कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाको आलोचनामा खर्च गरे। उनले चुनावमा एमालेको ७० र कांग्रेसको ८० प्रतिशत भोट आफ्नो पक्षमा पर्ने अड्कल गरेका छन्। 

तपाईं यो क्षेत्रबाट निर्वाचित निवर्तमान सांसद हुनुहुन्छ। ०७४ को निर्वाचनको समीक्षा कसरी गर्नुहुन्छ?
०७४ सालको निर्वाचनमा म वाम गठबन्धनका उम्मेदवार शिवपुजनसँग प्रतिस्पर्धा गर्नेवाला थिएँ। तर, पछि उहाँको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएपछि मलाई विजयी हुन सहज भएको थियो। रातो पासपोर्ट बेचेको कारणले उहाँको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो। पछि वाम गठबन्धनले मधेशी दलको गठबन्धनका राकेश मिश्रलाई समर्थन गर्यो। तर, कांग्रेसबाट म नै विजयी भएँ। 

यो क्षेत्रका मतदाता विगतदेखि नै दुई खेमामा विभाजित भएका छन्। एउटा खेमा शिवपुजनको पक्षमा छ। अधिकांश यादव समुदाय उहाँतिर छन्। करिब १४ हजार जति मतदाता उहाँको पक्षमा देखिन्छ। विगतदेखिको ट्रेन्ड त्यस्तै छ। मेरो आधार भनेको जातीय होइन, सामाजिक हो। यो क्षेत्रमा तपाईं जति पनि विकास निर्माणका कामहरु देख्नु हुन्छ, ती सबै मेरै पहल र प्रयत्नमा भएका हुन्। यसले पनि सबै समुदायका मतदाताले मलाई माया गर्नुहुन्छ। म काम गर्दा पनि पार्टी, विचार, जात, धर्म केही हेर्दिनँ। 

म दलित बस्तीमा गएर पनि खाना खान्छु। रमाउँछु। मुस्लिम, पासवानकोमा गएर पनि खाना खान्छु। तर, यहाँ कतिपय सामाजिक अगुवा भनिएकाहरु नै दलितकोमा गएर चिया पनि खाँदैनन्। मधेशमा जातपात छुवाछुत अझै जब्बर छ। म त्यसलाई तोड्न चाहन्छु। 

यो क्षेत्रबाट तपाईं दुई पटक विजयी भइसक्नु भयो। यहाँका नागरिकको हितमा तपाईंले देखिने गरी के काम गर्नुभयो? 
०६४ मा म विजयी हुन सकिनँ। तर, पछिल्ला दुई निर्वाचन मैले यही क्षेत्रबाट जितेँ। मतदाताले मलाई यसले केही गर्छ भन्ने विश्वासले भोट दिनु भएको थियो। दुई पटक सांसद हुँदा मैले जनताको अपेक्षाअनुसार धेरै काम गरेको छु। ०७४ मा २९ हजार १८५ मतसहित म विजयी हुँदा मधेशवादी दलका राकेश मिश्रले २७ हजारभन्दा केही बढी मत ल्याउनु भएको थियो। तर, यसपटक मलाई विगतको भन्दा पनि धेरै भोट आउँछ भन्ने मेरो अनुमान छ। 

०७४ मा शिवपुजनको उम्मेदवारी खारेज हुँदा तपाईंलाई धेरै सजिलो भयो होला नि?
शिवपुजनजीको उम्मेदवारी खारेज भएर मलाई खासै केही फाइदा भएन। त्यसको फाइदा मधेशवादी दलका उम्मेदवार राकेश मिश्रलाई भयो। नत्र उहाँको कहाँबाट आउथ्यो २७ हजार मत? माओवादी, एमालेको मत सबै उहाँलाई नै गयो। जसको कारण म विजयी भए पनि मतअन्तर भने कम भयो। मधेशवादी दलको भोट भनेको जम्माजम्मी ८ हजार जाति हो। झण्डै २० हजार भोट उहाँलाई प्लस भयो। शिवपुजनको उम्मेदवारी खारेज नभएको भए मेरो मतअन्तर १० हजार भन्दा धेरै हुने थियो।

०७४ मा तपाईं नेपाली कांग्रेसको उम्मेदवार हुनुहुन्थ्यो। यसपटक कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बन्नु भएको छ। यसले चुनाव जित्ने आधार त कमजोर भयो नि होइन? 
कांग्रेसको उम्मेदवार नहुँदा मलाई झन् फाइदा भएको छ। म कांग्रेसको उम्मेदवार भएको भए कांग्रेसकै साथीहरुले मलाई हराउने थिए। शेरबहादुर देउवा खेमाका नेता–कार्यकर्ता मलाई पराजित गर्न लागि पर्थे। निश्चितै रुपमा त्यो हुन्थ्यो। शेखर कोइरालालाई हराउने शेरबहादुरजीले मलाई किन बाँकी राख्थे र? कांग्रेसमा पहिल्यैदेखि असाध्यै नराम्रो गुटबन्दी छ। एउटा गुटको उम्मेदवारलाई अर्को गुटकाले धारे हात लगाउँदै सराप्छन्। एउटै पार्टी भए पनि सौहार्द्रपूर्ण अवस्था छैन। 

दुई खेमाका नेता–कार्यकर्ता एकअर्कासँग सँगै बस्छन्, खान्छन्, हिँड्छन्। तर, चुनावमा हराउँछन्। यो कांग्रेसको विशेषता हो। कांग्रेसका दुई खेमाका मान्छे चुनावको बेला एकै ठाउँमा छन् भने पनि अन्तर्घात गर्छन्। अर्को खेमाको भए पनि यो साथी मसँगै छ भनेर विश्वास गर्ने अवस्था कांग्रेसमा छैन। उम्मेदवारसँगै हुँदा पनि अर्को खेमाको कार्यकर्ता पछाडि फर्किएर मतदातालाई ‘यसलाई भोट नदिनु है’ भन्छन्् कांग्रेसमा। घरदैलो गर्दै हिँड्दा पनि हातको इसाराले मतदातालाई यसलाई भोट नदिनु है भन्छन्। त्यस्तो अन्तर्घातै हुँदा पनि मैले ०७० र ०७४ मा चुनाव जितेँ। ०७० मा त मैले साढे १० हजार मतान्तरले चुनाव जितेको थिएँ। त्यो मेरो व्यक्तिगत प्रभावको कारणले सम्भव भएको थियो। 

तपाईंले यो चुनावमा आफू सजिलै विजयी हुने दाबी गर्नुभयो। यो निर्वाचनमा तपाईंको प्रतिस्पर्धा चाहिँ कोसँग हुँदैछ? 
यो क्षेत्रमा मेरो प्रतिस्पर्धी नै कोही छैनन्। तपाईंहरु हेर्दै जानुहोला, म सजिलै विजयी हुने छु। जनताको अपार समर्थन मलाई छ। मेरो विजयमा तपाईंहरुले कुनै शंका नगर्दा हुन्छ।

चुनावमा तपाईं धेरै मतान्तरले विजयी हुनुहोला, फेरि पनि निकटतम प्रतिस्पर्धी त हुन्छन् नि निर्वाचनमा? 
प्रतिस्पर्धी नै खोज्नु हुन्छ भने यो चुनावमा मेरो प्रतिस्पर्धा शिवपुजनकी छोरी मधुमालासँग हुँदैछ। पाँच दलीय गठबन्धन र एमाले–जसपा गठबन्धन प्रतिस्पर्धामा निकै पछि छन्। शेरबहादुरजीको गठबन्धनले यहाँ केही फरक पर्नेवाला छैन। यो क्षेत्रको नेता शेरबहादुर देउवा हो कि अमरेश सिंह हो? स्वाभाविक रुपमा अमरेश सिंह हो। कांग्रेसको गठबन्धन कागजमा होला, कम्प्युटरमा होला। शेरबहादुर र प्रचण्डजीका कम्प्युटरमा होलान् त्यस्तो रेकर्ड। तर, सर्लाही ४ को भूगोलमा कुनै गठबन्धन छैन। 

यहाँको अवस्था कस्तो छ भने माओवादीको नेता शिवपुजन हुन्। उनको जातीय पकड राम्रो छ। जसको प्रभावले उनका छोराले रामनगर गाउँपालिका अध्यक्ष जितेका छन्। कांग्रेसको नेता अमरेश सिंह हुन् भन्ने यहाँका सारा जनतालाई थाहा छ। जब कि शिवपुजनकी छोरी र अमरेश सिंह स्वतन्त्रबाट लडेका छन् भने अरु गठबन्धनको कुनै अर्थ छ्रैन। जनमत नभएको गठबन्धनको के अर्थ? यो कसैले पत्याउँदैन। यदि अमरेश सिंह र शिवपुजन पनि गठबन्धनमा थिए भने त्यसलाई गठबन्धन मानिन्थ्यो। अहिलेको अवस्थामा यहाँ कुनै गठबन्धन छैन। 

पाँच दलीय गठबन्धनका उम्मेदवार नागेन्द्रकुमार राय, जो कांग्रेसबाट तीन पटक सर्लाही जिल्ला सभापति भइसक्नु भएको छ। उहाँ निवर्तमान सांसद र विगतमा मन्त्री पनि भएको मान्छे हो। उहाँलाई तपाईंले यसरी होच्याउन मिल्छ? 
किन नमिल्नु? उहाँ यो क्षेत्रको मतदाता पनि होइन। पछिल्लो पटक सांसद हुँदा उहाँले पाँच वर्षमा एकदिन पनि संसदमा बोल्नु भएन। संसदमा सबैभन्दा कम उपस्थित हुने सांसद भनेर मिडियाले उहाँको फोटो नै छापेको थियो। सांसद र मन्त्री हुँदा उहाँले यो भूगोलको लागि कुनै पनि विकास निर्माणको काम गर्नु भएको छैन। 

उहाँको पहलमा यो क्षेत्रमा एउटा पनि विकास निर्माणका काम भएका छैनन्। एउटा पनि सडक, अस्पताल, स्कुल भवन उहाँको पहलमा बनेको छैन। १० वर्षसम्म उहाँ सर्लाहीबाट सांसद हुनु भयो। तर, उहाँको गाउँमा आजसम्म साइकल राम्ररी हिँड्ने बाटो समेत छैन। उहाँ २ नम्बर क्षेत्रको बासिन्दा हो। यो क्षेत्रको टुरिस्ट उम्मेदवार हो। उहाँ दिनभर ब्याज असुलेर बस्नुहुन्छ। फाइनान्स कम्पनी चलाएर, लगानी गरेर, ब्याज असुलेर बस्ने मान्छेलाई जनताले किन भोट दिने? उहाँले सयौँ गरिबको घरघडेरी लिलाम गर्नु भएको छ। गाउँघरमा फाइनान्सबाट ऋण लिने त गरिब नै हुन्छन् नि।

उहाँलाई यहाँ धेरैले चिन्दैनन्। नचिनेको मान्छेलाई किन भोट दिने भन्ने मानिस तपाईं गाउँ–गाउँमा भेट्नुहुने छ। मतदाताले भोट दिन आफ्नै क्षेत्रको उम्मेदवार खोज्छन्। अन्य क्षेत्रको मान्छे खोज्दैनन्। राष्ट्रिय स्तरको चर्चित नेता भए टुरिस्ट उम्मेदवार भए पनि विकास हुने आशा जनतालाई हुन्थ्यो। नागेन्द्र त राष्ट्रि नेता पनि होइन। अनि कसरी आउँछ भोट? 

उहाँका तीनवटा विशेषता छन्। एउटा उहाँले संसदमा बोल्न सक्नुहुन्न। दोस्रो सांसद भए पनि उहाँले यहाँको विकास गर्न सक्नुहुन्न। तेस्रो उहाँ यहाँको टुरिस्ट उम्मेदवार हो, जनताले उहाँलाई चिन्दैनन्। 

अर्कोतिर उहाँ आफैँ उम्मेदवार बन्नु भएको पनि होइन। जिल्ला सभापति सुरेन्द्र सिंहको जोडबलमा उहाँ उम्मेदवार बन्नु भएको हो। किनभने अमरेश सिंह युवा छ, विकास गरेको छ, चर्चित छ। म उम्मेदवार भएसम्म आफू चुनाव जित्न सकिन्न भन्ने सुरेन्द्र सिंहलाई पनि थाहा छ। यो चुनावमा उहाँ आफैँ उम्मेदवार बन्न चाहनुहुन्थ्यो। तर, तयारी पुगेको थिएन। उहाँ पनि जनतामा चर्चित हुनुभएको छैन। यो पटक नागेन्द्रलाई अमरेशसँग भिडाएर हराएपछि अर्कोपटक आफूले टिकट पाउँछु भन्ने उहाँलाई लागेको छ। त्यसैले सुरेन्द्रकै जोडबलमा नागेन्द्र राय उम्मेदवार बनेको हो। निर्वाचनमा नागेन्द्रको अवस्था तेस्रोमा आउने निश्चित छ। 

एमाले–जसपा गठबन्धनका उम्मेदवार राकेशकुमार मिश्र पनि तपाईंका प्रतिस्पर्धी हो नि। उहाँको अवस्था कस्तो छ? 
हार्ने उम्मेदवारलाई जनताले किन भोट दिने? उहाँ चौथो पोजिसनको मान्छे हो। भोट आउने सम्भावना छैन। पहिल्यै हार्ने उम्मेदवार भनेर हल्लाखल्ला भएकालाई जनताले भोट दिँदैनन्। 

अहिले निर्वाचन जित्ने आधार भनेको गएको स्थानीय तह निर्वाचनको मत परिणामलाई पनि मानिन्छ। त्यस आधारमा हेर्दा यो क्षेत्रमा गठबन्धन दलसँग त धेरै मत छ नि। 
त्यसो भन्न मिल्दैन। स्थानीय तह निर्वाचन परिणामले यो निर्वाचनलाई केही फरक पर्नेवाला छैन। यो निर्वाचन जित्ने आधार भनेको ०७४ को संसदीय निर्वाचन परिणाम नै हो। त्यो परिणाम मेरो पक्षमा थियो। 

०७४ को स्थानीय निर्वाचनमा बलरा नगरपालिकामा कांग्रेसलाई ४३ सय मत मात्रै परेको थियो। तर, लगत्तै भएको निर्वाचनमा यही बलराबाट मलाई साढे १० हजार मत पर्यो। स्थानीय चुनावमा स्थानीय कुरा हुन्छन्। टोलटोलका नेताबीच प्रतिस्पर्धा हुन्छ। मैले त्यसमा खासै चासो राख्ने गरेको पनि छैन।

तपाईं यो क्षेत्रबाट दुई पटक निर्वाचित भइसक्नुभयो। तर तपाईंले यो क्षेत्रको लागि खासै केही गर्नु भएन भनेर आलोचना गर्नेलाई के भन्नु हुन्छ?  
निरपेक्षरुपमा आलोचना गर्नेको त मुख थुन्न सकिँदैन। तर, यस क्षेत्रमा जति पनि विकास निर्माणका काम भएका छन्, ती सबै मेरै पहलमा भएका हुन्। यहाँ मेरो पहलमा १४ वटाभन्दा धेरै सडक पिच भएका छन्। पूर्वपश्चिम राजमार्गबाट तपाईंहरु बरहथवा रोड हुँदै ४२ किलोमिटर पार गरेर यहाँ बोर्डर नजिक आइपुग्दा सबै सडक कालोपत्रे भएको देख्नु भयो होला। ती सबै सडक मेरै योजना र पहलमा पिच भएका हुन्। यो क्षेत्रमा तपाईं एक गाउँबाट अर्को गाउँ पिच सडकले नजोडिएको तपाईं भेट्नुहुन्न। मेरै पहलमा यो क्षेत्रमा दुईवटा ठूला चिनी उद्योग स्थापना भएका छन्।  बलरा र धनकौलमा ती चिनी मिल छन्। यो क्षेत्रमा १४ वटा हाइस्कुल छन्। ती सबै स्कुलमा मैले १०–१० वटा कम्प्युटरको व्यवस्था गरिदिएको छु। संसदीय कोषबाट होइन, मैले विभिन्न ढंगले पहल गरेर, सहयोग मागेर त्यो कम्प्युटर दिएको हुँ। १० वटा हाइस्कुलमा ठूला बिल्डिङ बनेका छन्। प्रहरी कार्यालय, विभिन्न बैँक, सीटीईभीटी, जस्ता संस्था पनि मेरै पहलमा यहाँ आएका छन्। 

मैले चुनाव जित्नुभन्दा अघि यहाँबाट महन्थ ठाकुर, शिवपुजन राय लगायतले चुनाव जित्नु भएको थियो। तर, उहाँहरुले यहाँको सडकमा अलकत्रनको एक थोपा पनि खसाल्न सक्नु भएको थिएन। सडक कालोपत्रेको त कुरै छाडौँ। आज सर्लाहीका चार क्षेत्रमा सबैभन्दा धेरै पिच तपाईंले सर्लाहीको ४ नम्बर क्षेत्रमा भेट्नु हुनेछ। 

निर्वाचन क्षेत्रस्तरीय सरकारी संरचना, बैँक, कलेज लगायतका भौतिक संरचना सर्लाही ४ को केन्द्रमा होइन, अमरेश सिंहले आफ्नो गाउँ बलरामा लग्यो भनेर पनि आलोचना हुँदै रै’छ नि?
यो विरोधको लागि गरिएको विरोध मात्रै हो। तपाईंहरु नयाँरोडदेखि कालोपत्रे हुँदै यहाँ आउनु भयो, के त्यो मेरो घर पायक हो? एउटा कुरा के हो भने, विकासको एउटा मोडल हुन्छ। एउटा सेन्टर बनाएपछि त्यसको वरपर आफैँ विकास हुन्छ। एउटा बैँक यो ठाउँमा, अर्को बैँक अर्को ठाउँमा, सीटीईभीटी अर्को ठाउँमा गरेर विकास हुँदैन। त्यसले जनतालाई झन् दुःख हुन्छ। सबै मन्त्रालय सिंहदरबारभित्र किन केन्द्रित गरियो? जनताले एकै ठाउँबाट सेवा पाउन् भनेर न त्यो गरिएको हो। जहाँ प्रहरी कार्यालय छ, बैँक त्यहीँ रहन्छ। अन्त बैँक किन स्थापना गरिएन भन्नु मूर्खता हो। एकीकृत सेवा केन्द्रको अवधारणा किन आयो? यही कारणले हो। काठमाडौंमा विकास भएको कारणले नै काभ्रे, धादिङ, नुवाकोटमा विकास भएको हो। मैले यो क्षेत्रमा तीन चारवटा सेन्टर बनाएको छु। बलरा मात्र होइन, मैले गोडैतामा पनि विकास गरेको छु नि। अन्यत्र पनि बिस्तारै विकासका पूर्वाधार बन्दै जान्छन्। एकैपटक सबैतिर हुँदैन। 

जिल्ला पार्टीले सर्लाही ४ नम्बर क्षेत्रबाट उम्मेदवारमा तपाईंको नाम सिफारिस नगरेर किन गगन थापाको नाम सिफारिस गरेको होला? 
शेरबहादुर देउवाको निर्देशनमा त्यो सबै भएको हो। गगन थापाको सिफारिस औपचारिकताको लागि मात्रै थियो। सुरुदेखि नै शेरबहादुरजीले सर्लाहीमा साँच्चै कांग्रेसका मान्छेलाई बाइपास गर्ने काम गरिरहनुभएको छ। सुरेन्द्र सिंह राप्रपाबाट आएका हुन्। मैले नै कन्भिन्स गरेर कांग्रेसमा ल्याएको थिएँ। आज उनी शेरबहादुरकै संरक्षणमा धनी भएका छन्। 

म नियम कानुनमा विश्वास गर्ने मान्छे हुँ। यहाँको अवस्था कस्तो छ भने, यादवलाई कानुन लाग्दैन। मधेशका ७–८ वटा जिल्लामा तपाईं बुझ्नुस् यादवहरु कानुनभन्दा माथि छन्। मैले त्यसलाई तोड्ने प्रयास गरेको छु। कानुनी राज्यको लागि म लडिरहेको छु। अब यो क्षेत्रमा यादवलाई पनि कानुन लाग्छ। यादवले कुटपिट गरे पनि, हत्या नै गरे पनि मुद्दा नलाग्ने अवस्थाको म अन्त्य चाहन्छु। मधेशमा तपाईं यादव मात्रै नेता देख्नु हुन्छ, तर त्यो अनुसार जनसंख्या भेट्नु हुन्न। उनीहरु हैकम जमाएरै नेता भएका छन्। मधेशमा यादवको जनसंख्या जम्मा चार प्रतिशत छ। तर, तपाईं नेताहरु मातृका यादव, उपेन्द्र यादव, महेन्द्र यादवहरुलाई एकै ठाउँमा भेट्नु हुन्छ। काठमाडौंको माइन्डसेट के छ भने मधेशमा कि यादव हुन्छन् कि झा। बाँकी कुनै पनि जात यहाँ छैनन् भने जत्तिकै गर्छन् काठमाडौंबासी। 

उनीहरु मधेशमा पसेकै छैनन्। त्यो गलत छ। कांग्रेसले मधेशबाट एउटा पनि गैर यादवलाई टिकट दिएको तपाईं पाउनु हुन्न। चित्रलेखा यादव, नागेन्द्र यादव, कृष्ण यादवहरु मात्रै टिकट पाइरहेका छन् सधैँ। म यसलाई अस्वीकार गर्छु। म सामाजिक न्यायमा विश्वास गर्ने मान्छे हुँ। कांग्रेसको टिकट कुशवाहा, सिंह, पासवानले किन नपाउने? 

कांग्रेसमा शेरबहादुरजी दलपति होइन, धनपति बन्ने योजनामा हुनुहुन्छ। त्यसलाई म स्वीकार गर्दिनँ। नेपालको राजनीतिक विकृतिको जरो नै शेरबहादुर देउवा हो। यो मैले उहाँको सामुन्ने नै भनेको छु। उहाँसँग झगडै भएको छ। म डराउने मान्छे होइन। मलाई न लोभ छ, न त डर नै। म राजनीति क्लियर तरिकाले गर्छु। जनताको साथमा रहेर। म यो क्षेत्रमा विकास र न्याय दिन्छु। कसैमाथि थिचोमिचो म हुन दिन्नँ। म दलितको बस्तीमा गएर बस्छु, खान्छु। म आफ्नो घरमा कार्यकर्तालाई बोलाउँदिन। किनभने म दरबारसँग लडेको मान्छे हो। म मेरो घरलाई अर्को दरबार बनाउन चाहन्नँ। ज्ञानेन्द्रको दरबार हटाएर म शेरबहादुर वा अमरेश सिंहको दरबार बनाउन चाहन्नँ। 

शेरबहादुरजी बालुवाटार, बुढानीलकण्ठबाहेक कतै जानु हुन्न। देशैभरिका नेताकार्यकर्ता उहाँलाई भेट्न कि बालुवाटार कि बुढानीलकण्ठ पुग्नुपर्छ। पार्टी सभापतिले जिल्लाजिल्लामा पुग्नु पर्दैन? जनताको दुःख बुझ्नुपर्दैन? खै कांग्रेसमा त्यो संस्कार? 

तपाईंलाई कांग्रेसले कारबाही गरेको छ। कांग्रसबाट टिकट नपाएपछि स्वतन्त्रबाट उम्मेदवार बन्नुभयो। पार्टीले गरेको कारबाही फिर्ता होला। पछि फेरि कांग्रेसबाटै त होला नि तपाईंको राजनीतिक जीवन अघि बढ्ने?
मेरो क्लियर बुझाइ के छ भने शेरबहादुर र आरजु नेपाली कांग्रेसको विकृतिको जरा हुन्। कांग्रेसमा शेरबहादुर देखिने नेता मात्रै हो। कांग्रेसको वास्तविक नेता आरजु राणा हो। आरजुलाई धन र हैकम दुवै नभइ हुन्न। किनभने उहाँको रगतमै राणा छ। 

आरजु र शेरबहादुरको गलत क्रियाकलापको आलोचना गर्नेलाई उनीहरुले सक्न खोजेकै हो नि। डा.अमरेशकुमार सिंह, डा. मिनेन्द्र रिजाल, डा. गोविन्द पोखरेल, डा. स्वर्णिम वाग्ले, डा. चन्द्रमोहन यादवलाई उनीहरुले कहाँ अघि बढ्न दिए? कांग्रेसमा यस्ता बौद्धिक नेता अघि बढे भने आफ्नो हैसियत कमजोर हुन्छ भन्ने उनीहरुलाई थाहा छ। किनभने पार्टीमा आरजु ब्रिगेड खडा गर्नु छ। शेरबहादुर र कांग्रेस ब्रिगेड होइन। आरजु ब्रिगेड कांग्रेसमा खडा गर्न चाहनुहुन्छ उहाँ। उहाँले कांग्रेसको सैद्धान्तिक आधारमा कहिल्यै छलफल गरेको तपाईंहरुले सुन्नु भएको छ? म १० वर्षसम्म कांग्रेसको सांसद भएँ, मलाई कहिल्यै कांग्रेसमा सैद्धान्तिक विषयमा छलफल भएको थाहा छैन। 

कांग्रेसको नीति योजना के हो? सामाजिक न्याय के हो? आर्थिक नीति के हो? कहिल्यै छलफल भएको छैन। तपाईं घोषणा पत्रमा नजानुस्। त्यो देखाउने दाँत मात्रै हो। घोषणा पत्र त ठगी मात्रै हो। मैले पनि कांग्रेसबाट तीनपटक चुनाव लडेँ। पार्टीले चुनावको बेला सधैँ एक बोरा घोषणापत्र पठाउँथ्यो। तर, म कहिल्यै त्यो बोरा खोलेर हेर्दिनथेँ। मतदातालाई बाँड्ने कुरा त परै छाड्नुस्। म त्यो घोषणा पत्र भएको बोराको मुख पनि खोल्दिनथेँ। त्यसमा जनताको समस्या समाधानका केही कुरा हुँदैनन्। औपचारिकताको लागि त्यो लेखिने मात्रै हो। कसैले पढ्नेवाला पनि छैन। व्यवहारमा कार्यान्वयन नगर्ने कुरा किन लेख्नु घोषणा पत्रमा? 

शेरबहादुरजीको चार वटा एजेन्डा छन्। सुदूरपश्चिम पुग्नैपर्ने, क्षेत्री हुनै पर्ने, पैसा बोरामा पुर्याउनै पर्ने र प्रजातान्त्रिक कांग्रेस पृष्ठभूमिको हुनैपर्ने। आज हामीमाथि विभेद भएको शेखर कोइरालाको कारणले मात्रै होइन, गिरिजाप्रसाद कोइरालाको कारणले पनि हो। हामी गिरिजाप्रसाद कोइराला पक्षधर मान्छे हौँ। ०५८ सालमा पार्टी फुटाउँदा हामीले शेरबहादुरलाई साथ दिएनौँ। त्यसको बदला उहाँले अहिले लिइरहनु भएको छ। अहिले नागेन्द्र रायले टिकट पाएको त्यो बेला प्रजातान्त्रिक कांग्रेसलाई समर्थन गरेर हो नि। उहाँले प्रजातान्त्रिक कांग्रेसको जिल्ला सभापति भएर शेरबहादुरलाई साथ दिएकाले अहिले टिकट पाउनुभयो।

संघमा तपाईं स्वतन्त्र उम्मेदवार हुनुहुन्छ। प्रदेशमा तपाईंले समर्थन गर्ने उम्मेदवार छन् कि छैनन्? 
छन् नि। प्रदेशका उम्मेदवारको पनि साथ चाहियो नि चुनाव जित्न। (क) मा रामबहादुर राय र (ख)मा मा अनिता यादव हुनुहुन्छ। उहाँहरु एमालेका उम्मेदवार हुनुहुन्छ। जसलाई म सहयोग गर्छु। उहाँहरुले मलाई सहयोग गर्नुहुन्छ।

नेपालखबर स्थलगत :

फेरि धोका नखाने मुसहर समुदायको ‘आइडिया’– पैसा सबैको लिने, भोट काम गर्नेलाई दिने

अर्बपति उम्मेदवार विनोदसँग नवलपरासी १ को देहात चहार्दा​

सर्लाही ४ : बुबा उम्मेदवार बन्न नपाएपछि चुनावी मैदानमा वीर अस्पतालकी नर्स मधुमाला

भक्तपुर २ : दल बदल गरिरहने भक्तपुर २, बस्नेत र थापा दुवै ‘ग्रे जोन’ मा

भक्तपुर १ : नेमकिपाको किल्लामा गठबन्धन र एमालेको ‘शिष्ट’ प्रचार

वामपन्थी ‘रक्तबीज’ जन्माउने म्याग्दीको त्यो दोवा काण्ड, तिनै वामपन्थीबीच यो भिडन्त

महोत्तरी ३ : जलेश्वरमा महन्थ ठाकुरले भने– हामीलाई कागजी रुपमा मात्र नेपाली हुन् भन्ने ठानिन्छ (अन्तर्वार्ता)

सप्तरी २ : ‘रेड जोन’ मा उपेन्द्र यादव, हार टार्न जातीय ‘गुहार’

पुरानो डुंगा लिएर पानीको छाल छल्दै पृथ्वीसुब्बा

बागलुङका यी दुई ‘बागी’, जसले स्थानीय चुनावमा विद्रोह गरे, अहिले एमालेको साथ पाए​

रौतहट १ : गौरमा माधव नेपालले भने— २० सिटमा जित निकाल्न लागिपरेका छौँ (अन्तर्वार्ता)

मधेश ब्रिफिङ : मधेशभर ‘जनकपुर ट्रायल’ को असर : दलभन्दा स्वतन्त्र उम्मेदवार बढी

चितवन १ : विश्वसँगै स्वर्णीम मैदानमा उत्रिए रोकिन सक्छ सुरेन्द्र पाण्डेको ‘ह्याट्रिक’ 

चितवन २ : दलभन्दा बलिया रवि लामिछानेलाई कस्न एउटै रणनीति अपनाउँदै गठबन्धन र एमाले 

चितवन ३ : प्रचण्डलाई हराउने ओली–कोइराला रणनीति कांग्रेसले डेढ वर्षपछि मात्रै थाहा पाएपछि

     

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .