विद्रोही नेताको छवि बनाएका चिरञ्जीवी वाग्लेका ग्रहदशा नबिग्रेको भए सायद उनी मंसिर ४ को चुनावी मैदानमै हुन्थे।
७७ वर्षीय वाग्लेले वर्तमान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै मिलेर २०५१ सालमै ‘विद्रोह’को बिगुल फुके।
आफ्नै पार्टी सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई कुर्सीबाट झारिदिए र ‘छत्तीसे’को बिल्ला भिरे।
त्यहाँसम्म ठीकै थियो। छत्तीसे क्याम्पका नेता शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा उनी मन्त्रिपरिषद्को महत्वपूर्ण हिस्सा बने।
तत्कालीन राजा ज्ञानेन्द्रले २०५८ साल असोज १८ गते र देउवा सरकार अपदस्थ गर्दा उनी मन्त्री नै थिए। तर, देउवालाई राजाले फेरि प्रधानमन्त्री बनाए।
‘गोरखाली राजाले न्याय दिए’ भन्दै देउवा पुनः प्रधानमन्त्री भए। चिरञ्जीवीकै गृहजिल्ला गोरखाको नाम लिँदै प्रधानमन्त्री भएका देउवाकै पालामा उनीमाथि भ्रष्टाचार आरोप लाग्यो। पक्राउ परे।
२०६७ चैत २ गते सर्वोच्चका तत्कालीन प्रधानन्यायधीश रामप्रसाद श्रेष्ठ र वरिष्ठ न्यायाधीश खिलराज रेग्मीको संयुक्त इजलासले उनलाई उनलाई अकुत सम्पत्ति मुद्दामा दोषी ठहर गर्यो।
२ करोड ३ लाख रुपैयाँ जरिवाना र १८ महिना जेल सजायको फैसला सुनाइयो।
वाग्लेले जेल सजाय भुक्तान गरिसकेका उनी नेपाली राजनीतिको ‘रिङ’ बाहिर छन्।
तर २०४८ देखि ०५६ सम्मका ३ वटा चुनाव जितेका उनको प्रभाव गोरखा क्षेत्र नम्बर १ मा अझै बाँकी छ।
बलियो कांग्रेस
संयोग कस्तो भने, ०६४ यता जित्दै आएको नेकपा माओवादी केन्द्रले गोरखा क्षेत्र नम्बर १ छाडेपछि त्यहाँ कांग्रेस बलियो देखिएको छ।
यसअघि माओवादीबाटै चुनाव जितेका हरि अधिकारीसहितको टोलीको निम्तो नमानेर प्रचण्ड गोरखाकै क्षेत्र नम्बर २ गएपछि त्यो सिट कांग्रेसले पाएको हो।
समय सहज भइदिएको भए, यो पटकको चुनावमा चिरञ्जीवीले नातेदार तथा अर्थविद डा. स्वर्णिम वाग्लेको प्रचार गर्न पाउने थिए।
तर, स्वर्णिमलाई कांग्रेसले चिनेन। खुला अर्थतन्त्रका हिमायती स्वर्णिमको साटो पर्यटन व्यवसायी राजेन्द्र बजगाइँले टिकट पाए।
यसअघि प्रदेशसभा निर्वाचनमा पराजित राजेन्द्र टिकट नपाएका उनै स्वर्णिमले बनाएको ‘कांग्रेस घोषणापत्र’ बोकेर त्यो क्षेत्रमा आउँदैछन्। त्यहाँ बजगाइँ र नेकपा एमालेबाट रामशरण बस्नेतसहित ९ जना चुनावी मैदानमा छन्।
२०७४ सालको चुनावमा डा. बाबुराम भट्टराईको नयाँशक्ति पार्टीको सहयोगमा उठेका कांग्रेसका चीनकाजी श्रेष्ठले २६ हजार ६४३ मत ल्याउँदा माओवादीका हरि अधिकारीले २९ हजार ६६० मत ल्याएका थिए।
त्यो बेला माओवादीलाई सघाएको एमाले अहिले एक्लै मैदानमा छ। बाबुरामसहित कांग्रेस र माओवादी एउटा मोर्चामा छन्।
यस्तो अवस्थामा चिरञ्जीवीको विरासत बोकेर बजगाइँ आएका छन्। उनी पार्टी सभापति शेरबहादुर देउवानिकट भएको त छर्लङ्ग छ।
यद्यपि, धनशाली बजगाइँ १३ औँ जस्तै कांग्रेसको १४ औँ महाधिवेशनमा पनि पराजित भए। ३५ जना छानिने त्यस निर्वाचनमा होमिएका ९९ मध्ये उनी ४७ औँ स्थानमा अटाए।
खोज पत्रकारिता केन्द्रको एक प्रतिवेदनले बजगाइँ विदेशी बैंकमा पैसा राख्ने नेपालीमध्येका एक भएको दाबी गरेको थियो। त्यो रिपोर्टविरुद्ध उनले मुद्दा नै हाले। तर प्रमाण नपुगेको भन्दै उनको उजुरी खारेज भयो।
यता उनका मुख्य प्रतिस्पर्धी मानिएका रामशरण बस्नेत गण्डकी प्रदेशका पूर्वभौतिक योजनामन्त्री हुन्।
२०७४ सालको चुनावमा उनै बजगाइँलाई गोरखा क्षेत्र नम्बर १ को ‘ख’ मा हराएपछि बस्नेतको प्रदेशसभा यात्रा तय भएको थियो।
भोट तान्न सक्छन बस्नेतले
बस्नेतले १६ हजार ६५६ म ल्याउँदा बजगाइँले १३ हजार १ मत प्राप्त गरेका थिए। पृथ्वीसुब्बा गुरुङ नेतृत्व सरकारमा गण्डकीको महत्वपूर्ण मन्त्रालय पाएका बस्नेतले आफ्नो चुनावी क्षेत्रमा यथेष्ट बजेट विनियोजन गरेका छन्।
कतिसम्म भने सडक नै नभएको दरौँदी नदीमा पुल बनाएको भनेर उनको चौतर्फी आलोचना भयो।
गोरखा नगरपालिका–३ नारेश्वर र सिरानचोक गाउँपालिका–५ जरेवर जोड्ने भनेर बनाइएको पुलको लागत ५ करोड ३९ लाख ८० हजार छ।
पुल बनिसकेको छ, तर पुलसम्म पुग्ने बाटो अझै छैन। एकातिर जंगल र अर्कोतिर व्यक्तिको जग्गा भएको त्यस ठाउँमा बस्नेतको समेत जग्गा छ।
आफ्नो जग्गालाई सजिलो हुनेगरि पुल बनाएको एमाले केन्द्रीय सदस्यसमेत रहेका बस्नेतमाथि आरोप छ।
मन्त्री हुँदा निर्माणसँग जोडिएका परियोजनाको ‘कमिसन’मा आँखा लगाएकाजस्ता आरोपबाट पनि उनी मुक्त छैनन्। तर, प्रदेशबाट संघमा बढोत्तरी हुने अवसर पाएका बस्नेत कमजोर चाहिँ छैनन्।
मन्त्री हुँदाका योजना तथा व्यक्तिगत सम्बन्धका कारण उनी कमजोर नरहेको एमालेको दाबी छ।
‘हिजो हामीले नै केन्द्रमा माओवादीलाई जिताएको हो, हामी त्यहाँ झन् बलियो भएका छौँ’, एक एमाले नेताले भने, ‘रामशरण कमरेडलाई कांग्रेसले नै भोट हाल्छन्, माओवादी त हाम्रा वर्गीय मित्र नै हुन्।’
एमालेलाई चुनौती
ती नेताको दाबी अस्वभाविक होइन। तर, गत स्थानीय निर्वाचनले त्यहाँ एमालेलाई कमजोर देखाएको छ। ७ वटा स्थानीय तहमध्ये ६ वटामा माओवादीले जितेको छ।
गोरखा क्षेत्र नम्बर १ मा गण्डकी गाउँपालिका, शहीद लखन गाउँपालिका, भीमसेन गाउँपालिका, आरूघाट गाउँपालिका, धार्चे गाउँपालिका, चुमनुब्री गाउँपालिका, गोरखा नगरपालिकाका १ देखि ७ सम्मका वडा पर्छन्।
गोरखा नगरपालिकाका ७ मध्ये ३ र ५ एमालेले जितेको छ भने ७ मा स्वतन्त्र उम्मेदवार विजयी बनेका छन्।
बाँकी ४ मध्ये २ वटामा कांग्रेस र २ वटामा माओवादीका उम्मेदवार विजयी भएका छन्।
गण्डकी गाउँपालिका अध्यक्षमा माओवादीका दीपक तिमिल्सिनाले ६ हजार ३२६ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका होमबहादुर रानाले ४ हजार ६५५ मत ल्याए।
एमालेका विष्णुप्रसाद पन्तले १ हजार १६२ मत ल्याए। त्यहाँको उपाध्यक्षमा कांग्रेसकी ललिता अधिकारी ४ हजार ८२१ मतसहित विजयी हुँदा जनता समाजवादीका भीमनारायण श्रेष्ठले ४ हजार ४४ मत ल्याएका थिए।
आरुघाट गाउँपालिकाको अध्यक्षमा कांग्रेसका राजु गुरुङ ५ हजार ५६८ मतसहित विजयी हुँदा एमालेका उम्मेदवारको पक्षमा ४ हजार ८३३ र माओवादीका उम्मेदवारले ५१० मत पाएका थिए।
चुमनुब्रीमा माओवादीका अध्यक्ष १६ हजार २४ र कांग्रेसका धनबहादुर गुरुङको १३ हजार ११ मत आउँदा एमालेको पक्षमा ७१ मत खसेको थियो।
धार्चेमा माओवादीका अध्यक्ष लक्ष्मण गुरुङले ३ हजार ७७१ मत ल्याउँदा कांग्रेसका सन्तबहादुर गुरुङले १ हजार ९७६ र एमालेका सुके घलेले १ हजार ५१४ मत ल्याएका थिए।
भीमसेन थापामा माओवादीका लोकप्रसाद बञ्जरा ५ हजार ६५१, कांग्रेसका रोशन गुरुङ ५ हजार १७६ र एमालेका गोमादेवी अम्गाइँले ८१६, त्यहाँ उपाध्यक्ष कांग्रेसले जितेको छ।
शहीद लखनमा ५ हजार ४७४ मतसहित माओवादी रमेशबाबु थापा मगर विजयी हुँदा कांग्रेसका नारायणप्रसाल लामिछानेले ४ हजार ४३२ र एमालेका मनोज जोशीले ४ हजार ११७ मत ल्याएका थिए।
पाँच दलीय गठबन्धनमा कांग्रेस, माओवादी र हिजोका जनता समाजवादीका बाबुराम भट्टराई सँगै हुँदा ती तीनवटै पार्टीले पाएको भोट गठबन्धनका उम्मेदवारलाई जाने सम्भावना बढी रहन्छ।
राजेन्द्रले अघिल्लो चुनावमा पनि स्रोतको राम्रै प्रयोग गरेका थिए। हेलिकोप्टर चढेर चुनावी प्रचारमा पुग्ने उनलाई रामशरणले ‘ग्राउण्ड’बाटै धावा बोले र पराजित गरे।
पहिल्यै पराजित गरेको मनोबलसँगै अहिले रामशरणसँग पनि पूर्वमन्त्रीका रुपमा टक्कर दिने ‘क्षमता’ विकास भएको आकलन छ।
Shares
प्रतिक्रिया