ad ad

राजनीति


स्याङ्जा २ :  ‘अनटेस्टेड’ धनराज र ‘उदाउँदी’ पद्माबीच टक्कर

एमालेको अनुकुल छैन स्थानीय निर्वाचन परिणाम
स्याङ्जा २ :  ‘अनटेस्टेड’ धनराज र ‘उदाउँदी’ पद्माबीच टक्कर

स्याङ्जा २ मा प्रतिस्पर्धा गरिरहेका पद्मा अर्याल र धनराज गुरुङ


वाशुदेव मिश्र
असोज २४, २०७९ सोमबार १७:४७, पोखरा

२०७८ मंसिरको दोस्रो साता चितवनमा एमालेको १० औँ र अन्तिम साता काठमाडौँमा नेपाली कांग्रेसको १४ औँ महाधिवेशन भयो।

एमालेको महाधिवेशनले स्याङ्जाकी नेतृ पद्मा अर्याललाई सचिव बनायो भने स्याङ्जाकै धनराज गुरुङ कांग्रेस उपसभापतिमा निर्वाचित भए। 

पद्मा एमाले अध्यक्ष केपी शर्मा ओलीको रोजाइमा परेकी थिइन् भने धनराजले प्रत्यासी विजयकुमार गच्छदारलाई २ मतले हराउँदै उपसभापतिको जिम्मेवारी प्राप्त गरे। 

ठूला पार्टीका यी ठूला नेता आउँदो मंसिर ४ गतेको चुनावमा आमने-सामने हुने भएका छन्। 

प्रतिनिधिसभाको लागि स्याङ्जा क्षेत्र नम्बर २ को लागि कांग्रेसले धनराज र एमालेले पद्मालाई अगाडि सारेसँगै यी दुई नेताबीच भिडन्त पक्का भएको हो। 

धनराजको यात्रा
नेपाल विद्यार्थी संघको तर्फबाट २०४५ सालमा पोखराको पृथ्वीनारायण क्याम्पसको स्ववियू सभापतिका प्रत्यासी हुँदा धनराज झलक सुवेदीसँग पराजित भए। 

तर,उनको राजनीति यात्रा रोकिएन। २०५३ सालमा उनी नेपाल  विद्यार्थी संघको केन्द्रीय सभापति बने। 

तरुण दलको महासचिव हुँदै २०६४ सालमा उनी संविधानसभा सदस्य मनोनित भए। 

२०७० मा संविधानसभा सदस्य दोहोरिएका धनराज सार्वजनिक लेखा समितिमा समितिमा रहँदा भ्रष्टाचारविरुद्ध निर्मम बने। 

नियति, कांग्रेसको १२ औँ महाधिवेशनमा जनजाति कोटाबाट केन्द्रीय सदस्य बनेका धनराज १३ औँ महाधिवेशनमा खुलातर्फबाट केन्द्रीय सदस्य त छानिए।

तर राजनीतिक यात्रामा उनीमाथि पनि निर्मम प्रहार भयो। २०७४ सालको आम निर्वाचनमा उनलाई प्रत्यक्ष चुनाव लड्ने त के कुरा? समानुपातिकको सूचीमा पनि राखिएन। 

तत्कालीन पर्यटनमन्त्रीको निधनपछि २०७५ साल मंसिरको उननिर्वाचनमा उनले कास्की क्षेत्र नम्बर २ बाट चुनाव लड्ने चाहना व्यक्त गरे। 

हारिन्छ भन्ने आँकलन एकातिर थियो, अर्कोतिर अनुकुल मिलेन। कांग्रेसको १४ औं महाधिवेशनमा उनसामु अर्को अवसर आयो। 

कांग्रेस संस्थापनइतर समूहबाट उनलाई गण्डकी प्रदेश सभापति अफर गरियो। स्रोतका अनुसार धनराजले ‘रिक्स’मोल्न चाहेनन्। 

धनराजले छाड्दा कास्कीका पुराना नेता शुक्रराज शर्माले सभापति हुने अवसर पाए। कांग्रेसको १४ औँ महाधिवेशनमा उनीसामु परीक्षण हुने अवसर जुर्‍यो।

संस्थापन इतर समूहबाट रामचन्द्र पौडेल सभापतिको उम्मेदवार बनेको भए सायद धनराजको पोल्टामा उपसभापति पर्दैनथ्यो। 

तर, रामचन्द्र पछि हटेपछि सभापति लड्न तम्सिएका डा.शेखर कोइराला समूहबाट उनी उपसभापतिको उम्मेदवार बने। 

सुशासनको नारा दिँदै आएका धनराजलाई कार्यकर्ताले रुचाए। प्रत्यासी विजयकुमार गच्छदारलाई २ मतले हराउँदै कांग्रेसको शक्तिशाली पदमा विराजमान हुन पुगे। 

कांग्रेसमा पदाधिकारी हुनु भनेको कार्यसम्पादन समितिको सदस्य पनि हुनु हो। 

आसन्न संघ र प्रदेशसभा चुनावको ‘टिकट’ वितरण समितिका रहेका धनराजले आफ्नो लागि स्याङ्जाको क्षेत्र नम्बर २ सुरक्षित ठाने। 

आफ्नो मताधिकार रहेको क्षेत्र नम्बर १ मा जिल्ला सभापति राजु कार्की उम्मेदवार हुँदा धनराज क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट उम्मेदवार भएका छन्। 

उदाउँदी पद्मा
गत मंसिरमा कार्यकर्ताको परीक्षणमा खरो उत्रेका उनको भिडन्त एमाले सचिव तथा उदाउँदी नेता पद्मा अर्यालसँग निश्चित भएको छ। 

२०७४ सालको चुनावमा तत्कालीन उपप्रधानमन्त्री तथा कांग्रेसका हस्ती गोपालमान श्रेष्ठलाई ३ हजार ७१५ मतले पराजित गरेकी पद्माको मनोबल उच्च छ। 

केपी ओली नेतृत्वको सरकारमा भूमि सहकारी तथा गरिबी निवारणमन्त्रीको रहेकी पद्माको नाममा नेपालको ‘चुच्चे नक्सा’ सार्वजनिक गरेको जसको भारी छ। 

राष्ट्रवादी छवि, एमालेको सचिव एवम् गण्डकी प्रदेश इन्चार्ज पद्मा एमालेले प्रत्यक्ष चुनाव लडाएका ११ जनामध्ये सबैभन्दा उच्च तहकी नेता हु्न्। 

उनलाई एमालेको पहिलो महिला अध्यक्षको रुपमासमेत प्रक्षेपण गरिएको छ। धनराजको हकमा भने उनी तत्काल कांग्रेसको पहिलो पदमा पुग्छन् भन्नेहरुको कमी छ। 

अर्कोतर्फ, ललिता निवास जग्गा प्रकरण तथा सुकुम्वासी समस्या समाधानमा खेलेको भूमिका पद्माको पक्षमा माहौल बनाउन सहयोगी हुने निश्चित छ। 

चुनावी मोर्चामा आवश्यक पर्ने रणनीति त उनले अघिल्लो चुनावमै सिकेकी छन्। त्यसको अलावा उनलाई जिताउन एमालेले सक्दो शक्ति लगाउने पनि निश्चित छ। 

संयोग कस्तो छ भने, धनराजजस्तै पद्मा पनि केन्द्रीय सदस्यबाट एकाएक एमालेको सचिवमा पुगेकी हुन्। पद्मा २०२५ सालमा वालिङमा जन्मेकी हुन्। 

सजिलो छैन
त्यही क्षेत्रकी र महिला भएकाले उनीप्रति थप सहानुभूति हुने निश्चित छ। यद्यपि,पद्मालाई अघिल्लो पटकजस्तो सजिलो भने छैन। एक त उनी पाँच दलीय गठबन्धनविरुद्ध चुनाव लड्दै छिन्। 

अर्कोतर्फ,गएको स्थानीय चुनावको नतिजा पनि उनी अनुकूल देखिएको छैन। स्याङ्जा क्षेत्र नम्बर २ मा वालिङ नगरपालिकाको ३ र ४ बाहेकका १२ वडा, चापाकोट, गल्याङ र भीरकोट नगरपालिकाका ५,६,७,८ र ९ नम्बर वडा तथा कालीगण्डकी गाउँपालिकाका सबै वडा पर्छन्। 

भीरकोटको ६ नम्बर वडाबाहेक बाँकी कांग्रेसले जितेको छ। वालिङ नगरपालिकाको मेयरमा एमालेका कृष्ण खाँण विजयी बनेका छन्। 

कृष्ण र उनका प्रत्यासी दीलिप्रताप खाँणको २ हजार ५९३ को मतान्तर पद्माको लागि सहायक बन्नसक्छ। 

वालिङमा धनराजलाई ‘टुरिष्ट’ उम्मेदवारको ट्याग लाग्नसक्छ। उपमेयर र १४ मध्ये ४ वटा वडामा मात्रै कांग्रेस विजयी भएकाले पनि वालिङ धनराजको लागि प्रतिकूल हुने देखिएको छ। 

चापाकोट र गल्याङ नगरपालिकामा मेयर र उपमेयर दुवै कांग्रेसले जितेको छ भने कालीगण्डकीको अध्यक्ष र उपाध्यक्षसहित ७ मध्ये ४ वडामा एमाले विजयी भएको छ। 

कांग्रेस स्रोतका अनुसार पद्मालाई अघिल्लो पटक कांग्रेसभित्रको अन्तरद्वन्द्वले साथ दिएको थियो। 

गोपालमान श्रेष्ठले बाइपास गरेको भन्दै अघिल्लो पटक वालिङका संस्थापक मेयर भोजराज अर्यालको समूह रुष्ट थियो। 

अहिले कांग्रेसले भोजराजलाई प्रदेशको ‘क’ क्षेत्रबाट उम्मेदवार बनाएको छ  भने ‘ख’ मा महेश भट्टराई उम्मेदवार छन्।

स्याङ्जामा कांग्रेसले गठबन्धन होइन, एकल उम्मेदवारी दिएको छ। क्षेत्र नम्बर १ को ‘क’ माओवादी र क्षेत्र नम्बर २ को ‘क’ नेकपा एकीकृत समाजवादीलाई दिने सहमति कांग्रेसले तोडेको छ। 

एकल उम्मेदवारी कायम रहे माओवादी र एकीकृत समाजवादी कांग्रेससँग रुष्ट हुने सम्भावना ज्यादा छ। 

स्वस्थ प्रतिस्पर्धा भन्दै सभापति शेरबहादुर देउवासँग स्याङ्जाका ६ वटै क्षेत्रको टिकट मागेको गाइँगुइँबीच उनी स्वयमले फेसबुकमा कांग्रेसका ६ उम्मेदवारको तस्वीर राखेपछि अन्य दल रुष्ट बनेका छन्। 

पद्मामाथि मन्त्री हुँदा आफूनिकट व्यक्तिले संचालन गरेका सहकारीलाई पैसा बाँडेको आरोप छ। त्यस्तै सहकारी संचालकहरुले अन्य व्यक्तिसँग पैसा उठाएको जस्ता आरोपहरु पनि छन्।

उनको माइती गाउँ वालिङको वडा नम्बर १४ को तमादीकै मतदाताहरु नै रुष्ट बनेको चर्चा चलेको छ।  

एमालेका पुराना नेता नारायण मरासिनीलाई नच्यापेर माओवादी केन्द्रबाट आएका पारस गैह्रेलाई च्याप्दै एमाले स्याङ्जा अध्यक्ष बनाएको,गल्याङमा भूपराज अधिकारीलाई मेयरको टिकट नदिएको जस्ता आरोपबाट उनी मुक्त छैनन्। 

यी यावत् आरोपका बाबजुद माले पृष्ठभूमिबाट आएकी पद्मा एमालेकी उदाउँदी नेता हुन्। उनीसँग टक्कर लिन सजिलो छैन भन्ने एमाले पंक्तिलाई राम्रैसँग थाहा छ। 

त्यसैले चुनाव नजिकिँदै गर्दा सिंगो एमाले पंक्ति उनको पक्षमा लाग्ने आँकलन गरिएको छ। निष्ठाको कुरा गर्ने धनराजको लागि भने अन्तिम समय प्रतिकूल हुनसक्ने सम्भावना बाँकी नै छ। 

‘डनवाद र धनवाद’को विरोध गर्ने धनराजले अहिलेका कार्यकर्ता निष्ठाले परिचालित हुँदैनन् भन्ने बुझेकै छैनन् भन्ने कांग्रेसीहरुकै मत छ। 

‘चुनाव जित्न रणनीति चाहिन्छ, त्यो धनराज दाइसँग छैन’,स्याङ्जा कांग्रेसका एक नेताले भने,‘ निष्ठाको सुगा रटाइ दाइलाई महँगो पर्नसक्छ।’

विद्यार्थी राजनीति र २०६४ सालमा धनराजसँगै समानुपातिक संविधानसभा सदस्य हुनुलाई संयोग मान्ने हो भने स्याङ्जा २ को प्रतिस्पर्धालाई ‘अनटेस्टेड’ र अनुभवी अनि उदाउँदी हस्तीबीचको प्रतिस्पर्धाका माने हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .