ad ad

अन्तर्वार्ता


ओलीलाई बढी विश्वास गर्‍यौँ, हिजोसम्म सँगै चुनाव लड्ने र एकता गर्ने भन्दै हुनुहुन्थ्यो : वर्षमान पुन

‘एमालेले समर्थन फिर्ता लियो भने हामी विश्वासको मतमा जान्छौँ, भोट माग्छौँ’
ओलीलाई बढी विश्वास गर्‍यौँ, हिजोसम्म सँगै चुनाव लड्ने र एकता गर्ने भन्दै हुनुहुन्थ्यो : वर्षमान पुन

सागर न्यौपाने
असार १८, २०८१ मंगलबार १९:७, काठमाडौँ

नेपाली राजनीतिमा गठबन्धन बन्दै भत्कँदै गर्नु अनौठो होइन। तर, आफैँले बनाएको गठबन्धन चार महिना नपुग्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँग सत्ता साझेदारी गर्ने सहमति गरेपछि नेपाली राजनीति चलायमान भएको छ।

२०८० फागुन २१ गते भएको लिखित सहमति अनुसार माओवादी अध्यक्ष प्रचण्डलाई २ वर्ष  प्रधानमन्त्री मान्न ओली तयार भएका थिए। तर, ओलीले पहिले आफू प्रधानमन्त्री बन्नेगरी सोमबार (असार १७) को राति कंग्रेससँग सम्झौता गरेका छन्। यसले सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रलाई ठूलो झट्का दिएको छ।

फागुन २३ गते मात्र कांग्रेस गठबन्धन तोडेर माओवादीले एमालेसँग नयाँ गठबन्धन गरेको थियो। यस्तोमा माओवादीको आगामी कदम के होला भन्नेबारे सो पार्टीका उपमहासचिव एवं अर्थमन्त्री वर्षमान पुनसँग नेपालखबरले गरेको संक्षिप्त कुराकानी :

मध्यराति नेपाली राजनीतिमा आएको यो उथलपुथलले माओवादीलाई ठूलै झट्का दियो, अब माओवादीले के गर्छ?
अहिले हामी घटनाक्रम नियालिरहेका छौँ। जस्तोः एमालेको सचिवालय निर्णय आएपछि थप कुरा होला, कांग्रेसको आजको लागि तय भएको बैठक भोलिका लागि सारेको छ।

हामीले राजीनामा नदिने भनिहाल्यौँ। एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लियो भने विश्वासको मतमा जान्छौँ, हामीले त्यो निर्णय गरिसक्यौँ। अहिलेसम्म कसैले राजीनामा पनि मागेको छैन, समर्थन पनि फिर्ता लिएको छैन। यस्तो बेला के गर्नु त हामीले!

तर, सरकारलाई दिएको समर्थन फिर्ताको सूचना शीतल निवासमा दर्ता भइसकेको भन्छन् नि!
त्यहाँ बुझाएर पनि के हुन्छ? त्यहाँ केही हुने भएन। उपधारा ५ भए बुझाएर अर्थ हुन्छ। यो त २ को हो। अझै ३ छ। त्यसो हुँदा पहिले बुझाउनुको अर्थ रहँदैन।

अविश्वासको प्रस्ताव पेस गर्ने हो भने पनि यो सरकार बनेको दुई वर्ष पुगेकै छैन। यदि दुईवर्ष पुगेको भए बहुमत पुर्‍याएर अविश्वास प्रस्ताव दर्ता गर्थे र एक हप्ताको समय दिएर प्रक्रिया गरेर हटाउन सक्थे। त्यसकारण अहिले त कि प्रधानमन्त्रीले राजीनामा दिनुपर्‍यो, कि सरकारमा रहेका दलले समर्थन फिर्ता लिएर विश्वासको मतमा जानुपर्‍यो, यति हो अहिलेको प्रक्रिया। 

एमाले अध्यक्ष ओली देउवासँग निरन्तर संवादमा रहेको, त्यत्रो सहमति हुन लागेको सूचना प्रधानमन्त्रीले जानकारी नै पाउनुभएनछ नि!
बढी विश्वास भयो। उहाँहरू पहिले पनि छलफलमा बस्नुभएको थियो। आज बिहानसम्म पनि मैले केही गरेको छैन, राष्ट्रिय सहमतिको सरकार बनाऔँ भनेर भनेको हो भन्न आउनुभएको थियो साढे नौ बजे।

अझ हिजो त ओलीजीले सम्माननीय प्रधानमन्त्रीज्यूसँग हामी दुःखसुख, मर्दापर्दा, स्वर्गनर्क सँगै जाने हो, चुनाव सँगै लडौँला, चुनावपछि पार्टी एकता गर्ने भनेर कुरा क्लियर गरेर जानुभएको रहेछ।

कांग्रेसको बारेमा त उहाँले अनेक खालका कुरा भन्नुभएछ। मैले ३० वर्षदेखि ब्यहोरेको छु, यो पार्टी कस्तो छ मलाई थाहा छ भनेर हिँड्नुभएको रहेछ।

भनेपछि ओलीबाट तपाईँहरूले धोका पाउनुभयो उसो भए?
अब राजनीतिमा धोका के भन्ने र! तर, एमालेसँग गठबन्धन बनाउँदा हामीले तीनवटा विषयलाई हेरेका थियौँ।

पहिलो, आम जनमत वामपन्थीतिर रहेको भएर हामीले अलिकति वामशक्तिलाई एकै ठाउँमा ल्याउन पहल गरेको हो। आम जनमततिर वामशक्तिलाई ढल्काउँ भन्ने थियो।

दोस्रो, विचार मिल्ने, प्रवृत्ति मिल्ने भएमा दिगो र स्थायित्व हुन्छ भन्ने हाम्रो विश्लेषण रह्यो।

तेस्रो, कमसेकम सुशासनमा, विकासमा, सामाजिक न्यायमा निकटता हुन्छ र काम गर्न सकिन्छ भनेर एमालेसहित मिल्न यता ल्याएको हो, उहाँ (ओली) टिक्नुभएन त हाम्रो के लाग्छ त। उहाँले वाम छोड्नुभयो। 

माओवादीको अबको रणनीति के हुन्छ त? 
हामी घटनाक्रम हेर्छौं। किनभने पोहोर माओवादी र एमाले मिलेर सरकार बनाएको अनि पछि कांग्रेस आएर समर्थन गर्‍यो। अहिले पनि हामी भोट माग्छौँ क्यारे। कुनकुन दलले समर्थन गर्नुहुन्छ हेरौँ।

प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्न सक्ने सम्भावना अझै बाँकी छ? 
अहिले त्यसरी हामीले सोचेका छैनौँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .