सूर्यविनायक नगरपालिका–५ सुवर्णेश्वर र सोही नगरपालिकाको वडा नं ७ मा पर्ने किवाचोक वारिपारि डाँडामा रहेका गाउँ हुन्। सम्मुखका डाँडामा रहेका गाउँ भएकाले यताको चर्काे स्वर उता सुनिन्छ, उताको यता।
बुधबार (२३ कात्तिक) बिहान यी दुवै गाउँ चुनावी प्रचार अभियानले गुञ्जायमान थिए।
कटुन्जेको सुवर्णेश्वरमा बजाइएको चुनावी गीत गुण्डुको किवाचोकमा मज्जासँग सुनिन्थ्यो। गुण्डुको किवाचोकतर्फ गाना–बजानाका साथ भइरहेको नाचगान पनि सुवर्णेश्वरतर्फ मज्जासँग देखिन्थ्यो।
यसमध्ये सुवर्णेश्वरतर्फ नेपाली कांग्रेसका दुर्लभकुमार थापा चुनाव प्रचार अभियानमा थिए भने किवाचोकतर्फ एमाले उम्मेदवार महेश बस्नेतको अभियान चलिरहेको थियो। दुई निर्वाचन क्षेत्र रहेको भक्तपुरको २ नं क्षेत्रमा पर्ने यी दुई गाउँमा दुवै उम्मेदवारको अभियान आक्रामक खालका थिए।
सुवर्णेश्वरमा कांग्रेसको प्रचार अभियानमा डेढ घण्टा बिताएपछि म पारिपट्टिको किवाचोकतर्फ लागेँ। र, एमाले उम्मेदवार बस्नेतको प्रचार अभियानमा सरिक भएँ। फर्कने क्रममा किवाचोक नजिकैको दुलालथोकमा दुई वृद्ध स्थानीय भेटिए, जो भर्खर एमाले उम्मेदवार बस्नेतको टोलीले दिएको प्रचार सामग्री पढेर बसिरहेका थिए।
त्यहाँको चुनावी माहोलबारे कुराकानी गर्ने मेरो प्रस्तावमा एक वृद्ध सहमत भए। तर, नाम बताउन हिच्किचाए।
‘मेरो घर अगाडि जुन बाटो देख्दै हुनुहुन्छ, पहिले यो बाटो यति राम्रो थिएन। यति राम्रो बाटो महेश बस्नेतका कारणले बनेको हो,’ उनले भने, ‘त्यहीकारण मेरो भोट उसैलाई जान्छ। तर, कांग्रेसबाट उठेका दुर्लभ थापा पनि नराम्रा मान्छे होइनन्। कांग्रेसबाट अरु कोही उठेको भए भन्न सकिन्नथ्यो। तर, दुर्लभ नै उठेकाले यसपटक कसले जित्छ, ठोकुवा गर्न सकिन्न।’
प्रचारको फरक शैली
बुधबार बिहानै म काठमाडौँबाट भक्तपुरको सुवर्णेश्वर पुग्दा कांग्रेस उम्मेदवार थापाको चुनाव अभियान भर्खर सुरु हुँदै थियो। प्रचार अभियानमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका चुनाव चिन्हसहितका झण्डा सरावरी थिए। सय–डेढ सयको जनसमूहमा गठबन्धनको चुनावी गीतका साथ नाचगान समानान्तर चलिरहेको थियो।
कांग्रेस उम्मेदवार थापा भने गाना–बजानासहितको नाचगानमा विरलै भेखिन्थे। चुनाव प्रचार टोली ठाउँ–ठाउँमा ५–१० मिनेट रोकिन्थ्यो र थापाको प्रतीक्षा गरेर बस्थ्यो। थापा एकछिनका लागि मुख्य टोली अगाडि झुल्किन्थे तत्कालै अलप भइहाल्थे। पटक–पटक यही दृश्य दोहोरिन्थ्यो।
खासमा थापा मूल सडकमा रहेको प्रचार–जुलुसबाट अलग्गिएर स्थानीयका घर–घरभित्र छिर्थे। आफू उम्मेदवार भएको बताउँदै मत दिएर जिताउन आग्रह गर्थे।
कटुन्जेकै स्थानीय बासिन्दा उनी स्थानीय वृद्धवृद्धाले आफूलाई चिनेनन् भने ‘म फलानोको छोरा हुँ नि’ भन्दै आफ्नो परिचय पनि दिन्थे।
उनले आफ्नो प्रचार अभियानलाई विशुद्ध घरदैलोमा परिणत गरिरहेका थिए। जतिसक्यो बढी मतदातालाई प्रत्यक्ष भेट्ने उनको उदेश्य देखिन्थ्यो। यो प्रचार अभियानमा मध्यमवर्गका मानिसहरुको बाहुल्य थियो।
घरदैलो गर्दै उनको यो टोली सूर्यविनायक– ५ को ‘तिमल्सेना गल्ली’ पुग्यो। त्यहाँ एउटा तीन तले घर थियो। थापा त्यही घरभित्र पसे। सरासर तेस्रो तल्ला पुगे। मैले उनलाई यहाँ पनि पछ्याएँ। तेस्रो तला सुनसान थियो।
थापा ‘बालाई कता राखिएको छ?’ भन्दै यो तलामा रहेका कोठाचोटा चहार्न थाले।
एउटा कोठामा उनले खोजिरहेका वृद्ध देखिए। खासमा थापा ती वृद्धसँग आशीर्वाद माग्न तेस्रो तला उक्लेका रहेछन्। वृद्ध अचेत अवस्थामा थिए, थापाको आगमनप्रति कुनै प्रतिक्रिया जनाएनन्।
‘म तपाईंसँग आशीर्वाद माग्न आएको हुँ बा,’ भन्दै कोठाबाट बाहिरिए।
दोस्रो तलाको बार्दलीमा ती वृद्धकी श्रीमती भेटिइन्। ‘बुबा त्यस्तो हालतमा हुनुहुँदो रहेछ’ भन्दै उनले वृद्धासँग आशीर्वाद मागे। वृद्धाले आशीर्वाद दिइन्, उनी दौडेर फेरि मूल सडकमा पुगे।
खासमा सुरुदेखि नै उनी हिँडिरहेका थिएनन्, दौडिरहेका थिए। यो दौडाइले असिनपसिन भइसकेका थिए। मलाई थापाको गतिसँग आफ्नो गति मिलाउन हम्मे पथ्र्याे।
अढाई घण्टा थापाको प्रचार टोलीका साथ बिताएपछि म पल्लो डाँडामा रहेको किवाचोक पुगेँ, जहाँ एमाले उम्मेदवार बस्नेतको प्रचार अभियान चलिरहेको थियो।
बस्नेतको शैली भने फरक थियो। हुन त बस्नेत पनि ‘घरदैलो’ मै थिए। तर, उनको प्रचार अभियानलाई ‘घरदैलो’ भन्दा ‘रोड शो’ भन्नु उपयुक्त हुन्थ्यो। यहाँ मध्यम वर्गका मानिस कम थिए, सुकिला–मुकिलाहरु बढी।
‘रोड शो’ मूल सडकमा चलिरहेकाले प्रचार र्याली प्रत्येक दुई सय–तीन सयको दुरीमा रोकिन्थ्यो। प्रत्येक ‘स्टप’ मा सडक छेउमा रंगीन अविर र फूलले ठूलो एमालेको चुनाव चिन्ह ‘सूर्य’ चिन्ह अंकित गरिएको थियो। बाटा–बाटामा पानी भरिएका घडा राखिएका थिए।
बस्नेत यस्तो प्रकारको ‘घरदैलो’ मा आउने प्रचार सायद २–४ दिन अगावै भइसकेको थियो। त्यसैले, स्थानीयले उनको स्वागतका लागि यति भव्य तयारी गर्न भ्याएका थिए।
प्रत्येक ‘स्टप’ मा उपस्थित एमाले समर्थक–मतदाताले बस्नेतलाई अबिर र माला लगाइदिन्थे। अबिर–माला ग्रहण कार्यक्रम सकिएपछि महेश फेरि अगाडि बढ्थे। मतदातालाई उनको ‘नमस्तेपाती’ मूल सडकबाटै चलिरहेको थियो।
कांग्रेस उम्मेदवार थापाको प्रत्येक मतदातालाई भेट्ने शैली विपरीत एमाले प्रचार टोलीले रेकर्ड गरिएको माइकबाटै मत मागिरहेको थियो।
आ–आफ्नो शैलीको घरदैलोमा दुवै उम्मेदवार व्यस्त थिए। यसका बाबजुद दुवै उम्मेदवार थोरै समयका लागि नेपालखबरसँग कुराकानी गर्न राजी भए।
संक्षिप्त कुराकानीका क्रममा एमालेका बस्नेतले आफू २०७४ मा जस्तै सहजै विजयी हुने दाबी गरे। कांग्रेसका थापा पनि आफ्नो विजयप्रति उत्तिकै विश्वस्त देखिए।
‘पाँच वर्षको अवधिमा यो क्षेत्रमा गरेको विकास–निर्माण नै मेरो जितको आधार हो। यो क्षेत्रमा एमालेको मजबुत सांगठनिक स्थिति जितको अर्काे कारण हो,’ बस्नेतले भने, ‘२०७४ मा झण्डै दोब्बर मतअन्तरले विजयी भएको थिएँ। यसपटकको विजयमा पनि त्यस्तै मतअन्तर कायम गर्ने प्रयासमा छु।’
कांग्रेस उम्मेदवार थापाले स्थानीय निर्वाचन परिणाम, सत्ता गठबन्धनको साथ र आफू नयाँ उम्मेदवार भएकाले सहजै जित हुने बताए।
‘२०७४ मा वाम गठबन्धनको माहोल थियो, निर्वाचनअघिको स्थानीय तह निर्वाचनमा पनि एमाले विजयी भएको थियो,’ थापाले भने, ‘त्यो बेला वाम गठबन्धनमा सामेल माओवादी केन्द्र र एकीकृत समाजवादी यसपटक हामीसँगै छन्। स्थानीय तह निर्वाचनमा प्राप्त मतका आधारमा पनि हामी अघि छौँ। त्यसैले, यसपटक जितमा कुनै शंका छैन।’
जितको सहारा : अर्काे पक्षको असन्तुष्टि
‘भूतले खाजा खानेबेला भक्तपुर–२ मा चुनाव लड्न आइपुगेछु,’ एमालेका बस्नेतबाट २०७४ को निर्वाचनमा दोब्बर मतले पराजित भएपछि पूर्वसभामुख (२०४८–०५१) समेत रहेका कांग्रेस उम्मेदवार दमननाथ ढुङ्गानाले भनेका थिए।
उनको संकेत थियो– वाम गठबन्धन भएका बेला भक्तपुर–२ मा चुनाव लड्न जानु गल्ती थियो।
त्यो निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार बस्नेत ३६ हजार ४ सय १२ मतसहित विजयी भएका थिए। कांग्रेस उम्मेदवार ढुङ्गानालाई १८ हजार ६ सय ७५ मत मात्र प्राप्त भएको थियो।
ढुङ्गानाजस्ता प्रतिष्ठित र शीर्ष व्यक्तित्वलाई बस्नेतले दोब्बर मतले पराजित गर्नुको कारण खासमा त्यो निर्वाचनमा वाम गठबन्धनको पक्षमा सिर्जित ‘ह्विम’ को मुख्य भूमिका थियो। २०७० को निर्वाचनमा तिनै बस्नेत तेस्रो स्थानमा रही पराजित भएका थिए।
‘त्यो बेला वाम गठबन्धन थियो, हामी पनि एकमतका साथ बस्नेतजीको चुनाव प्रचारमा खटिएका थियौँ,’ माओवादी केन्द्रका पोलिटब्युरो सदस्य दीलिप प्रजापतिले भने, ‘त्यो बेला जे–जे कारणले उहाँले चुनाव जित्नुभयो, ती कारण अहिले विद्यमान छैनन्।’
उनको भनाइमा कांग्रेस उम्मेदवार ढुङ्गाना काठमाडौँका बासिन्दा थिए। त्यसैले ‘बाहिरिया उम्मेदवारलाई हराउनु पर्छ’ भन्ने अभियानै चलेको थियो।
‘यहाँको मुख्य चुनावी नारा ‘टुरिस्ट उम्मेदवार हराऔँ’ भन्ने बन्यो,’ थापाको चुनावी अभियानमा सक्रिय माओवादी नेता प्रजापतिले भने, ‘वाम गठबन्धनका कारण महेशजी बलिया छँदै थिए, उनैले ‘टुरिस्ट उम्मेदवारलाई हराउन सक्छन्’ भन्ने मतदाताको मानसिकता थियो। यही मानसिकताका कारण वामपन्थी भोटका अलावा राप्रपाको भोट पनि प्राप्त भयो।’
२०७४ को स्थानीय तह निर्वाचनमा एमालेले भक्तपुर–२ का मध्यपुर–थिमी र सूर्यविनायक नगरपालिका गरी दुवै स्थानीय तहमा विजय हासिल गरेको थियो। बस्नेतको जितमा स्थानीय तहमा हासिल यो जितको पनि आधार थियो।
एमालेले यसपटक पनि कांग्रेस–एकीकृत समाजवादीको गठबन्धनलाई पराजित गर्दै सूर्यविनायक नगरपलिकामा विजय हासिल गरेको छ। तर, मध्यपुर–थिमी नगरपालिकाको परिणाम भने उसले गुमाएको छ। त्यहाँ कांग्रेस–माओवादी गठबन्धनले एमाले उम्मेदवारलाई ४ हजार मतान्तरले पराजित गरेका छन्।
‘मध्यपुर–थिमी नगरपालिकामा हामी स्थानीय तह निर्वाचनमा भन्दा पनि बढी लोकप्रिय मत प्राप्त गर्ने स्थितिमा छौँ, सूर्यविनायकमा पनि हामी यसपटक बढी मत प्राप्त गर्छाैँ। किनकि स्थानीय तह निर्वाचनमा गठबन्धनमा सामेल नभएको माओवादी यसपटक हामीसँगै छ,’ थापाले भने, ‘भक्तपुर– २ मा एमाले पहिलो शक्ति होइन भन्ने कुरा स्थानीय तह निर्वाचन (०७९) परिणामले देखाइसकेको छ।’
स्थानीय तह निर्वाचनमा एमाले उम्मेदवार बासुदेव थापा सूर्यविनायक नगरपालिकामा १४ हजार ७ सय ५८ मतसहित विजयी भएका थिए। निकटतम प्रतिद्वन्द्वी कांग्रेसका निसान ढुङ्गेललाई १३ हजार २ सय ३२ र माओवादी केन्द्रका कल्पदीप राईलाई ९ सय ३९ मत प्राप्त भएको थियो।
मध्यपुर–थिमीमा भने कांग्रेस–माओवादी गठबन्धनका कांग्रेस उम्मेदवार सुरेन्द्र श्रेष्ठ १५ हजार ९८ मतसहित विजयी हुँदा एमालेका मदनसुन्दर श्रेष्ठले ११ हजार ३६ मत प्राप्त गरेका थिए। यहाँ उपमेयरमा माओवादी केन्द्रले विजय हासिल गरेको थियो। राजधानीभित्रका नगरपालिकाका प्रमुख–उपप्रमुखमा माओवादीलाई पत्तासाफ हुनबाट मध्यपुर–थिमीले नै जोगाएको थियो।
यस हिसाबले स्थानीय तह निर्वाचनमा मेयरतर्फ गठबन्धनका उम्मेदवारहरुलाई २९ हजार २ सय ६९ मत र एमाले उम्मेदवारहरुलाई २५ हजार ७ सय ९४ मत प्राप्त भएको छ।
स्थानीय तह निर्वाचनका आधारमा सत्ता गठबन्धन अगाडि देखिए पनि एमाले उम्मेदवार बस्नेत गठबन्धन दलभित्र विवाद रहेको दाबी गर्छन् र गठबन्धनका असन्तुष्टहरुको मत आफूले पाउने बताउँछन्।
‘यहाँको प्रतिनिधि सभा र प्रदेश सभाको एउटा सिट कांग्रेसले पाएको छ, अर्काे एकीकृत समाजवादीले,’ बस्नेतले भने, ‘आफ्नो उम्मेदवार नभएका कारण माओवादी समर्थकहरुको मत पनि मलाई प्राप्त हुने स्थिति छ।’
माओवादी नेता प्रजापति भने उम्मेदवारीको विषयमा गठबन्धन दलभित्र कुनै असन्तुष्टि नरहेको बताउँछन्।
‘प्रतिनिधि सभातर्फ भक्तपुर–१ माओवादी केन्द्र र भक्तपुर–२ कांग्रेसले पाएका छन्,’ उनले भने, ‘प्रदेशसभामा एकीकृत समाजवादीका उम्मेदवार पनि छन्। त्यसैले, भक्तपुर जिल्लामा गठबन्धनभित्र कुनै असन्तुष्टि छैन।’
‘असन्तुष्टि हामीतिर होइन, एमालेतिर छ। नेकपाकालमा समेत भक्तपुरमा महेशजीको चुरिफुरीप्रति एमाले पंक्तिभित्रै असन्तुष्टि थियो,’ प्रजापतिले दाबी गरे, ‘एमालेका असन्तुष्ट साथीहरु हाम्रो सम्पर्कमा हुनुहुन्छ, यसपटक उहाँहरुले गठबन्धनका उम्मेदवारलाई मत दिँदै हुनुहुन्छ।’
विकल्प खोजिरहने ‘बागी’ क्षेत्र
भक्तपुर–२ को परम्परागत प्रतिस्पर्धी नेपाल मजदुर किसान पार्टी (नेमकिपा) हो। भक्तपुर नगरपालिकाका आधा वडा यसै निर्वाचन क्षेत्रमा सामेल हुँदा यो क्षेत्रमा नेपाली कांग्रेस र नेमकिपाबीच नै प्रतिस्पर्धा हुन्थ्यो। २०४८–०७० सम्म यिनै दुई पार्टीबीच मुख्य प्रतिस्पर्धा हुन्थ्यो, पालैपालो उनीहरुले नै विजय हासिल गर्थे।
कांग्रेसका थापा र एमालेका बस्नेतसँग प्रतिस्पर्धाका लागि नेमकिपाले अनुराधा थापामगरलाई मैदानमा उतारेको छ। संविधान सभा सदस्यसमेत रहेकी थापामगर यसक्षेत्रकी २०७४ की प्रतिस्पर्धी पनि हुन्।
थापामगरका भनाइमा अन्य निर्वाचन क्षेत्रमा जस्तै भक्तपुर–२ मा पनि पटक–पटक सत्तामा गएका कांग्रेस, एमाले, माओवादी केन्द्रजस्ता दलप्रति जनतामा आक्रोश छ।
‘अघिल्लो निर्वाचनमा जित्ने गरी जनताले हामीलाई भोट दिनु भएन, त्यो बेला उहाँहरुको भनाइ तपाईंहरु सत्तामा जानुहुन्न किन भोट दिने भन्ने थियो,’ उनले भनिन्, ‘सत्तामा जानेहरुले जनतालाई केही गर्दा रहेनछन् भन्ने कुरा जनताले बुझिसके। त्यसैले हाम्रो मत पक्कै बढ्नेछ। तर, परिणाम के हुन्छ, त्यो हेर्न चाहिँ निर्वाचन नै कुर्नुपर्छ।’
२०७० को निर्वाचनसम्म एक मुख्य प्रतिस्पर्धी रहेको नेमकिपाकी थापामगर २०७४ मा ५ हजार ४ सय ७१ मतमा सीमित भएकी थिइन्। २०७४ मा निर्वाचन क्षेत्र पुनर्निर्धारण गरिँदा भक्तपुर नगरपालिकाकालाई भक्तपुर–२ बाट स्थानान्तरण गरिनु नै पछिल्लो निर्वाचनमा यो क्षेत्रमा नेमकिपा कमजोर देखिनुको मुख्य कारण हो।
‘हामीलाई १२ हजार मत आउने वडाहरु भक्तपुर–२ बाट भक्तपुर– १ मा स्थानान्तरित गरिए, त्यसपछि मात्र हामी यो क्षेत्रमा कमजोर देखिएका हौँ, सूर्यविनायक–५ कटुन्जेमा भेटिएका नेमकिपा कार्यकर्ता रामकृष्ण बखुन्छेले भने, ‘हामीले पटक–पटक जितेको क्षेत्र हो यो। ठूला दलको भ्रममा रहेका जनता भ्रममुक्त भएपछि फेरि यो क्षेत्र फर्काउछौँ।’
बखुन्छेले भनेजस्तै, २०५१ र २०६४ गरी दुई वटा निर्वाचनमा यो क्षेत्रमा नेमकिपा विजयी भएको थियो। त्यसमध्ये अघिल्लो (०५१) मा सो पार्टीका आशाकाजी बासुकला र पहिलो संविधान सभा निर्वाचन (०६४) मा सुनिल प्रजापति विजयी भए।
यो क्षेत्रको तीन पटकको विजेता नेपाली कांग्रेसबाट जगन्नाथ आचार्य (०४८), लेखनाथ न्यौपाने (०५६) र रामेश्वर शर्मा ढुङ्गेल (०७०) निर्वाचित भएका थिए।
कांग्रेस र नेमकिपा बीचको प्रतिस्पर्धामा यो क्षेत्रमा २०७० अघि एमालेलाई तेस्रो स्थान हासिल गर्न पनि मुस्किल पथ्र्याे। बरु, पञ्चायतकालीन रापंस गणेशबहादुर खत्री एमालेलाई चौथो स्थानमा पुर्याएर तेस्रो स्थानमा रहन्थे। पछि खत्री एमाले प्रवेश गरे र एमालेबाटै उम्मेदवार पनि बने।
खत्रीको एमाले प्रवेशका बाबजुद २०७० सम्म एमाले यहाँ दोस्रो स्थानमा पनि उक्लिन सकेको थिएन।
तर, २०७४ वाम गठबन्धनको पक्षमा यस्तो लहर आयो, त्यसअघि दोस्रो स्थानमा समेत नरहेको एमाले उम्मेदवार बस्नेत भारी मतान्तरका साथ विजयी भए।
एमाले उम्मेदवार बस्नेत २०७४ को त्यही लहर यसपटक पनि कायम राख्न प्रयासरत छन्। त्यहीकारण उनी विजेताको छनक दिने गरी ‘रोड शो’ शैलीमा चुनाव प्रचार गरिरहेका छन्। कांग्रेस उम्मेदवार थापा भने प्रत्येक मतदातालाई भेटेर विश्वास जित्ने र भक्तपुर–२ को परिणाम आफ्नो पक्षमा पार्न प्रयत्नशील छन्।
सुवर्णेश्वर र किवाचोक क्षेत्रका सीमित मतदातासँग आगामी निर्वाचनमा उनीहरुको छनोट को हुन्छ भन्ने जिज्ञासा राखेको थिएँ। एकाधबाहेक अधिकांश मतदाता अनिर्णीत देखिए।
सीमित मतदाताको प्रतिक्रिया हेर्दा कांग्रेसका थापा र एमालेका बस्नेत दुवैका लागि भक्तपुर–२ ‘ग्रे जोन’ जस्तै थियो।
सुवर्णेश्वर–किवाचोकबाट फर्केपछि मैले भक्तपुर–२ को संसदीय निर्वाचनहरुको परिणाम खोतलेँ। २०४८ देखि ०७४ सम्मको निर्वाचन परिणामले एउटा रोचक संकेत गर्यो।
त्यो हो– यो क्षेत्रका मतदाताले एउटै पार्टीलाई लगातार दोहोर्याएर संसदमा पठाउने गर्दा रहेनछन्।
जस्तोः २०४८ मा यो क्षेत्रमा कांग्रेसले विजय हासिल गरेको थियो। तर, २०५१ मा नेमकिपाले जित्यो। ०५६ मा कांग्रेसको खोलो फक्र्याे। ०६४ मा फेरि नेमकिपाले ‘कमब्याक’ गर्यो। ०७० मा फेरि कांग्रेस नै विजयी भयो।
२०७४ मा नेमकिपा यहाँ निकै कमजोर देखियो। निर्वाचन क्षेत्र पुननिर्धारणका क्रममा भक्तपुर नगरपालिकालाई अलग गरिएपछि यस्तो भएको थियो। तर, नेमकिपा कमजोर देखिँदाको फाइदा कांग्रेसले लिन सकेन।
लगातार दोहोर्याएर कसैलाई नजिताउने परम्परा २०७४ मा पनि भक्तपुर–२ दोहोर्याउन चाहन्थ्यो सायद। त्यसैले, नेमकिपा कमजोर देखिँदा उसले वाम गठबन्धनका एमाले उम्मेदवार बस्नेतलाई विजयी गराएर त्यो परम्परा कायम राख्यो।
निर्वाचन परिणामको इतिहासले यो पनि देखाउँछ, भक्तपुरको दुवै निर्वाचन क्षेत्रका मतदाताले प्रत्येक निर्वाचनमा आफूलाई ‘बागी’ को रुपमा प्रस्तुत गर्दा रहेछन्।
भक्तपुर–१ मा उनीहरु सत्ताविरुद्ध ‘बगावत’ गर्छन् र सधैँ नेमकिपालाई जिताइरहन्छन्। भक्तपुर–२ का मतदाताले चाहिँ अघिल्लो निर्वाचनमा गरेको निर्णयसँग ‘बगावत’ गर्छन् र अघिल्लो निर्वाचन भन्दा फरक पार्टीलाई विजयी गराउँछन्।
पक्का छ, यसपटक पनि भक्तपुर–१ ले त्यही गर्छ, जो यसअघिको निर्वाचनमा गर्दै आएको छ।
हेरौँ, भक्तपुर–२ ले चाहिँ के गर्छ!
Shares
प्रतिक्रिया