ad ad

राजनीति


बागलुङका यी दुई ‘बागी’, जसले स्थानीय चुनावमा विद्रोह गरे, अहिले एमालेको साथ पाए

बागलुङका यी दुई ‘बागी’, जसले स्थानीय चुनावमा विद्रोह गरे, अहिले एमालेको साथ पाए

मञ्जु शर्मा र प्रकाश घर्ती मगर।


वाशुदेव मिश्र
कात्तिक १३, २०७९ आइतबार ८:१०, पोखरा

 २०७४ सालको स्थानीय तह चुनावमा माओवादी केन्द्रले बागलुङको ताराखोला गाउँपालिका अध्यक्षमा युवा नेता प्रकाश घर्ती मगरलाई उम्मेदवार बनायो। विद्यार्थी राजनीति, २०५७ सालदेखि भूमिगत सशस्त्र द्वन्द्वमा होमिएका तथा योङ कम्युनिस्ट लिग (वाईसीएल) का नेता प्रकाशले चुनाव जिते। वाम गठबन्धनबाट चुनाव जितेलगत्तै उनले ताराखोलामा केही देखिने काम गरे। कान्छा गाउँपालिका अध्यक्षको रुपमा उनको सक्रियता लोभलाग्दो थियो। 

‘राजकीय पद’ को अनुभव संगालेका उनै प्रकाशले गएको वैशाखमा सम्पन्न स्थानीय चुनावमा पनि गाउँपालिका अध्यक्षमा दोहोरिने चाहना व्यक्त गरे। तर, पार्टीले उनको सट्टा सशस्त्र द्वन्द्वको चिनोस्वरुप ज्यानमा गोली बोकेका धनबहादुर विकलाई टिकट दियो। धनबहादुरमाथि ‘न्याय’ हुँदा प्रकाशले आफू अन्यायमा परेको महसुस गरे। उनी ‘बागी’ बने र १२५ मतले पछि पर्दै सहकर्मी धनबहादुरलाई परिणाम सुम्पे। 

धनबहादुरले २ हजार २८५ मत ल्याउँदा प्रकाशले २ हजार ९० मत प्राप्त गरे। प्रकाशको मन भरङ्ग भयो। मुक्तिको लागि सशस्त्र युद्ध रोजेका उनले त्यही पार्टीमा अटाउने ठाउँ देखेनन्। पार्टीले पनि उनको आवश्यकता देखेन। अन्ततः आउँदो मंसिर ४ गतेको चुनावमा पनि उम्मेदवार बन्ने निर्णय उनले गरे। 

बागलुङ क्षेत्र नं. २ प्रदेश सभा ‘क’मा स्वतन्त्र उम्मेदवारी दर्ता गराए। लालटिन चुनाव चिन्ह पाए। वाम गठबन्धन टुटेपछि बागलुङमा कमजोर बनेको एमालेले उनलाई पछ्याइरहेको थियो। सो पार्टीले प्रकाशलाई सघाउने निर्णय गर्यो। सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार रहेका नेपाली कांग्रेस बागलुङका सभापति जित शेरचनसँग प्रतिस्पर्धा गरिरहेका प्रकाश एमालेका पनि उम्मेदवार बने। 

मतदातासँग भोट माग्दै प्रकाश घर्ती मगर।

कांग्रेसका शेरचनलाई हिजोको आफ्नै पार्टी माओवादी केन्द्र र जनमोर्चाको साथ छ। ताराखोलामा माओवादी यत्तिकै बलियो छ। कांग्रेस र जनमोर्चा एकातिर हुँदा ‘स्वतन्त्र’ हैसियत मात्र काफी नहुने पनि पक्कापक्की छ। अहिले प्रकाश र एमाले एकअर्काका परिपूरक बनेका छन्। एमालेले आफ्नो प्रचार सामग्रीमा प्रकाशलाई नै आधिकारिक उम्मेदवारको रुपमा सार्वजनिक गरेको छ। प्रकाशलाई पनि एमालेमाथि ठूलो भरोसा छ। तर, प्रकाश अझै आफूलाई स्वतन्त्र नै भन्न रुचाउँछन्। 

‘चुनाव चिन्ह स्वतन्त्र भएपछि म स्वतन्त्र नै हो। यद्यपि, एमालेले उसको उम्मेदवार नभएकाले समर्थन गरेको छ’, नेपालखबरसँगको टेलिफोन संवादमा उनले भने, ‘राजनीतिक दलहरुले पहिले गरेका प्रतिवद्धता पुरा नगर्दा जनताले सबै राजनीतिक पार्टीबाट विकल्प खोजेको देखिन्छ। म त्यही स्वरको प्रतिनिधि हुँ।’ 

उनले हिजोको सशस्त्र द्वन्द्वकालीन समयमा माओवादीमा रहेर गरेका कामहरुप्रति भने गर्व गर्ने बताए। उनी त्यतिमै रोकिएनन् र भने, ‘गठबन्धन वा वाम तालमेलको नाममा जनताप्रति उत्तरदायी नहुने र नेताप्रति उत्तरदायी भएर टिकट ल्याउने जुन प्रवृत्ति छ, त्यसले कसैको भलो गर्दैन। मेरो पुरानो पार्टीमा मात्र हैन,  सबै पार्टीमा त्यो प्रवृत्ति देखिन्छ, आउँदा दिनमा सबै पार्टीमा यो प्रवृत्तिबारे समीक्षा हुन्छ र जनताप्रति उत्तरदायी बन्ने परिस्थिति बन्छ भन्नेमा आशावादी छु।’ 

बागलुङ क्षेत्र नम्बर २ मा यतिबेला प्रकाश एमालेबाट प्रतिनिधि सभा उम्मेदवार मञ्जु शर्मा चालिसेसँग काँध मिलाएर हिँडिरहेका छन्। एमालेबाट सर्वसम्मत रुपमा बागलुङ २ को उम्मेदवार बनेकी मञ्जु पनि गएको स्थानीय चुनावकी ‘बागी’ नै हुन्।

विद्यार्थीकालबाटै नेपाल विद्यार्थी संघको राजनीति गरेकी मञ्जु लामो समय कांग्रेसनिकट स्वास्थ्यकर्मी संघमा सक्रिय रहिन्। बागलुङ गलकोट क्षेत्रमा सामाजिक कार्यकर्ताको छवि बनाएकी उनी नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पनि प्रतिनिधि थिइन्। कांग्रेसमा संस्थापन इतर समूहको प्रतिनिधित्व गर्ने उनी १४ औं महाधिवेशनको क्रममा डा. शेखर पक्षमा खुलेरै लागेकी थिइन्। गएको स्थानीय चुनावमा उनले गलकोटको मेयर बन्ने आकांक्षा राखिन्। उनले झण्डै टिकट पनि पाइसकेकी थिइन्। तर, बागलुङ कांग्रेसका नेता तथा हाल गण्डकी प्रदेशका पर्यटनमन्त्री मणिभद्र शर्मा कँडेलले उनलाई रुचाएनन्। 

मतदातासँग भोट माग्दै मञ्जु शर्मा।

बागलुङमा आफू निकट एउटा पनि उम्मेदवार नभएको भन्दै उनले भरत शर्मा गैरेलाई दोस्रो कार्यकाल दोहोर्याउने गरी टिकट दिलाइदिए। मञ्जु रुष्ट बन्नु स्वाभाविक थियो। उनले स्वतन्त्र उम्मेदवारी दिने हिम्मत जुटाइन्। 

चुनावमा उनले ३ हजार २६२ मत प्राप्त गरिन्। जबकि, विजेता भरतले ५ हजार ४१४ मत पाए। एमालेको तर्फबाट उम्मेदवार बनेका पूर्णबहादुर काउचाले ३ हजार ५१९ मत ल्याएका थिए। एमाले एक्ली मञ्जुको लोकप्रियताप्रति आकर्षित हुनु अस्वाभाविक थिएन। एमालेका नेताहरुले कांग्रेसबाट विरक्तिएकी उनै मञ्जुलाई गएको साउनमा अध्यक्ष केपी शर्मा ओलीसँग भेटाउने तारतम्य मिलाए। 

मञ्जुले अन्ततः आस्थाले लागेको पार्टी छाडिन् र अवसरको खोजीमा अर्का महाधिवेशन प्रतिनिधि नवराज पौडेलसँगै एमाले रोजिन्। मञ्जुले आफूमाथि लगाइएको अवसरवादीको आरोप स्वीकार्ने कुरै भएन। 

स्थानीय चुनाव हारेपछि उनले भनेकी थिइन्, ‘३० वर्षदेखिको निरन्तर  सक्रिय  राजनीतिको मूलधारबाट अलग्गिँदाको पीडा जति  हजुरहरु लाई परेको छ, त्योभन्दा कम म आफूलाई पक्कै पनि छैन। विभिन्न व्यक्तिहरुले विभिन्न माध्यमबाट  जुनखालका अभिव्यक्तिहरु दिनुभएको छ सबैको म सम्मान  गर्दछु।  पदलोलुपता का कारण मैले स्थानीय  तह को नेतृत्व मा बागी उम्मेदवारी दिएको होइन, स्थानीयवासीहरुको मप्रतिकोे विश्वासका कारण उम्मेदवारी दिएकी थिएँ। तर, पार्टीभित्रैका केही  अराजक व्यक्तिहरुले  सत्ता र शक्तिको दुरुपयोग गरी ममाथि पैसा बाँडेको आरोप लगाई, मौन अवधिमा मान्छे जम्मा गरी जबर्जस्ती आमन्त्रण गर्न लगाई प्रहरी प्रशासनको बलमा गिरफ्तार गरी प्रहरी हिरासतमा राखी जुन खालका गतिविधिहरु भए, यसले आत्मसम्मानमा आघात पुग्यो।’

स्पष्ट छ, उनी आत्मसम्मान उँचो बनाउन एमालेमा प्रवेश गरेकी हुन्। एमालेले उनलाई उचित ठाउँ दिएको छ। प्रतिनिधि सभाको उम्मेदवार बनाएको छ। अहिले गठबन्धनको तर्फबाट माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल उनका मुख्य प्रतिस्पर्धी बनेका छन्। बागलुङ क्षेत्र नम्बर १ अमलाचौर घर भएका पौडेलले यसअघि पनि सो क्षेत्रबाट चुनाव जितेका थिए। अहिले मञ्जु र एमालेले गलकोट क्षेत्रले कहिले पनि त्यहाँको उम्मेदवार नपाएको र त्यही कारणले विकासमा पछि परेको एजेन्डा जोडतोडले उठाएका छन्।

‘स्थानीयवासीको असाध्यै राम्रो सहयोग भएको छ। यो क्षेत्रका जनताहरु आफ्नै क्षेत्रका उम्मेदवार पाएर उत्साहित हुनुभएको छ,’ उनले टेलिफोनमा नेपालखबसँग भनिन्, ‘मेरो स्वभाव सबैलाई थाहा छ, म विजयी हुने ठूलो आधार निर्माण भएको छ।’ 

उनले आफू सधैं जनताको सेवक रहेको र हिजोको पार्टी छाडेर एमालेमा आउँदा झन् उत्साही बनेको जिकिर पनि गर्न भ्याइन्।

‘हिजो कांग्रेसमा के गरियो भन्ने कांग्रेसका साथीहरुलाई थाहा छ, एमालेमा त साथीहरु झन् उत्साहित हुनुभएको छ,’ उनले थपिन्, ‘हाम्रो क्षेत्रको विकास गर्न यही क्षेत्रको व्यक्ति चाहिन्छ भन्ने सबैलाई महसुस भएको छ।’ 

माओवादी केन्द्रका नेता तुलसी अर्यालले देवेन्द्रविरुद्ध बागी उम्मेदवारी दिएकाले पनि एमाले र मञ्जुको आत्मबल बढेको छ। तुलसीका भाइ चन्द्र अर्याल यसअघि ढोरपाटनको मेयरका उम्मेदवार थिए। अन्यत्र गठबन्धनले जित्दा उनको हातमा पराजय हात पर्यो। उनीहरु पछिल्लो समय माओवादीप्रति रुष्ट रहँदै आएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका तिला खत्री, स्वतन्त्र डिलबहादुर कार्की नेकपा जनमुक्ति पार्टीका चित्रप्रसाद गुरुङ पनि मैदानमा छन्।

तर, ‘बागी’ मञ्जु र प्रकाशलाई अंकगणितले भने साथ दिएको छैन। बागलुङ क्षेत्र नम्बर २ मा ढोरपाटन नगरपालिका, गलकोट नगरपालिका, ताराखोला गाउँपालिका, बडीगाड गाउँपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिका पर्छन्। तीमध्ये ढोरपाटनमा मात्रै एमालेका देवकुमार नेपाली प्रमुख छन्। गएको चुनावमा सो  क्षेत्रबाट देवेन्द्र ८ हजार ९२२ मतअन्तरले विजयी बनेका थिए। उनले २८ हजार ८२७ मत पाउँदा कांग्रेसका नरबहादुर पुनले १९ हजार ९०५ मत ल्याएका थिए। 

प्रकाशले रोजेको बागलुङ क्षेत्र नम्बर २ को ‘क’ मा गलकोट नगरपालिका, ताराखोला गाउँपालिका र बडीगाड गाउँपालिका पर्दछन्। 

२०७४ सालको चुनावमा सो क्षेत्रबाट .माओवादीका चन्द्रबहादुर बुढा १७ हजार ४१५ मतसहित विजयी बनेका थिए भने उनका प्रतिष्पर्धी कांग्रेसका मञ्जेशबम मल्लले ११ हजार ५४६ मत ल्याएका थिए। यद्यपि, अहिले कांग्रेसबाट टिकटको दावी गरिरहेका प्रभु ग्रुपका अध्यक्ष देवीप्रसाद भट्टचन पनि कांग्रेस छाडेर एमाले प्रवेश गरेका छन्। बागलुङ क्षेत्र नम्बर २ का भट्टचनलाई एमालेले जनजातितर्फ समानुपातिकको एक नम्बरमा राखेको छ। 

बागलुङमा २ मा गठबन्धनको तर्फबाट टिकट पाउने सम्भावनाको अन्त्य र कांग्रेसले समानुपातिकको एक नम्बरमा नराखेपछि उनले पार्टी नै छाडेका हुन्। उनको भरथेग एमालेलाई नै हुने निश्चित छ। 

बागलुङ क्षेत्र नम्बर १ मा भने राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, एमालेका नेता सूर्य पाठक, राप्रपाका उम्मेदवार लक्ष्मीप्रसाद सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द सापकोटा, नेपाली कांग्रेस बीपीका शिवलाल सापकोटा र स्वतन्त्र उमेदवार चन्द्रबहादुर क्षेत्री मैदानमा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .