सत्ता गठबन्धनको मुख्य घटक नेकपा एमालेले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग नयाँ समीकरण बनाउने सहमति गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार संकटमा परेको छ। बदलिँदो राजनीतिक घटनाक्रमबारे माओवादीले पदाधिकारी बैठकमा प्रारम्भिक छलफल गरेको थियो। देशका दुई ठूला पार्टी मिलेपछि सरकारबाट बाहिरिनुपर्ने अवस्थामा पुगेको माओवादीले फेरिएको राजनीतिक परिदृश्यलाई कसरी हेरेको छ? अब माओवादीको ‘मुभ’ कस्तो हुन्छ? प्रस्तुत छ, नेपालखबरले माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मासँग गरेको संक्षिप्त कुराकानीः
प्रधानमन्त्रीले आज बिहानको हाम्रो पार्टीको पदाधिकारी बैठकमा हिजो र अस्ति नेकपा एमालेका अध्यक्ष (केपी शर्मा ओली)सँग भएका कुराकानीका बारेमा ‘ब्रिफिङ’ गर्नुभएको थियो। (ओलीको भनाइ) हिजोसम्म त्यस्तो केही छैन, केही हुँदैन भन्ने थियो रे। प्रधानमन्त्रीले म ढुक्क भएर बसेँ र राति यस्तो भएछ भन्नुभयो। उहाँ (प्रचण्ड)ले हामीसँग अझै समय छ, सल्लाह गरेर जाउँला भन्नुभयो।
राजीनामा नदिने, संसदमा विश्वासको मत फेस गर्ने निर्णय गर्नुभएछ। अझै पनि सरकार टिकाउन सकिन्छ भन्ने लागेको छ?
अब पार्टीको कदम कस्तो हुन्छ? अन्य पार्टीहरूसँग पनि सहयोग माग्नुहुन्छ?
अहिले सल्लाह केही पनि भएको छैन। आज यत्ति कुरा भयो कि हामीले हतार गर्नु छैन। भरे, भोलि बसेर थप छलफल गरौँला भनेर अध्यक्षले भन्नुभएको छ। पार्टी अब कसरी जाने भन्ने रणनीति बनिसकेको छैन।
तपाईंको विचारमा चाहिँ अब कसरी जाँदा ठिक हुन्छ?
संविधान संशोधन गर्ने, समानुपातिक निर्वाचन प्रणाली हटाउने भन्ने खालको कुरा आएको छ नि?
ठ्याक्कै आधिकारिक आएको छैन। त्यो सम्भव हुने कुरा पनि भएन। त्यो कुरा हामी मान्दैनौँ। आधिकारिकरूपमा नआउँदै हामीले यही हो भनेर किन भन्ने?
यदि त्यो सत्य रहेछ भने तपाईंहरू के गर्नुहुन्छ?
पहिला उहाँहरूको रणनीति बुझौँ न। यसमा के गर्नुपर्ने हो, पार्टीले निर्णय गर्छ। हाम्रो आफ्नो एजेन्डा आफूले छोड्ने कुरा भएन।
यही परिस्थितिबीच फेरि कांग्रेससँग सहकार्य सम्भव छ कि छैन?
उनीहरू दुईवटा पार्टी मिलेका छन्, हामीले कसरी सहकार्य गर्ने?
तपाईं नै कांग्रेससँग सहकार्यका लागि वार्तामा हुनुहुन्थ्यो भन्ने थियो। त्यसले मूर्तरूप किन लिन सकेन?
छैन। छैन। म कसरी कांग्रेससँगको वार्तामा ‘इन्भल्ब’ हुन्छु? हाम्रो पार्टीले कसैसँग वार्ता गरेको नै थाहा छैन। अनि म कसरी सहभागी हुन्छु?
उसो भए अब पार्टी प्रतिपक्षमा बस्छ त?
प्रतिपक्षमा बस्नुको त अरू के विकल्प छ र?
प्रतिपक्षमा बसेर पार्टी निर्माणमा लाग्नुहुन्छ ?
सबै काममा लाग्ने हो। पार्टीको काममा पनि लाग्ने, संसदमा पनि प्रतिपक्षको भूमिका निभाउने। हामी बसेर रणनीति बनाउँछौँ। तपाईंहरूलाई बोलाएर भनिहाल्छौँ नि।
Shares

प्रतिक्रिया