सातौँचोटि चुनावी रणमैदानमा उत्रिएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर यतिबेला या त गठबन्धन दलका अन्य उम्मेदवारहरुका निम्ति कोणसभामा उभिएर भाषण गरिरहेका भेटिन्छन्, या घरघर पुगेर मत मागिरहेका हुन्छन्।
८१ वर्षको उमेरमा पनि उनको उर्जा इष्र्यालाग्दो देखिन्छ। व्यस्तताको के कुरा गर्नु, उनको समयतालिकाभित्र छिर्नै मरिहत्ते गर्नुपर्छ। प्रातः ६ बजे उठेर कार्यकर्ताहरुलाई भेट्न सुरु गरिसक्ने ठाकुर स्थानीय नेताले बनाएका समयतालिका पछ्याउँदै बिहानै आफ्नो निर्वाचन क्षेत्र महोत्तरी ३ मा घरदैलोका निम्ति निस्किसक्छन्।
२१ कात्तिकमा घरदैलो कार्यक्रमबाट दिउँसो १ बजे सिधै पिपरामा आयोजित कोणसभालाई सम्बोधन गर्न आइपुगेका ठाकुरसँग समय मागी हामी अर्काे दिन बिहान ६ः३० बजे नै उनी बसेको जलेश्वरस्थित शिवजी लजमा पुग्यौँ। राति अबेर घरदैलो कार्यक्रमबाट फर्किएका उनी हामी लजमा पुग्दा नित्यकर्ममा लागिसकेका थिए। एकै छिनमा उनलाई भेट्न आउनेहरुको लामो लाइन नै लाग्यो। हामी लाइनको अग्रभागमा थियौँ।
कुनैबेला राजनीतिक इतिहासका प्राध्यापक र पछि राजनीतिक अभ्यासमा होमिएका ठाकुर आफ्ना् चट्टानी अडान, त्याग र सिद्धान्तनिष्ठाका कारण सबैका समादरणीय राजनीतिज्ञ मानिन्छन्। ०७४ को संघीय निर्वाचनमा महोत्तरी ३ बाट उठेका ठाकुरका निम्ति कांग्रेसले आफ्ना उम्मेदवार झिकेर जित्ने वातावरण मिलाइदिएको थियो।
यसपालि पनि उनी गठबन्धनका तर्फबाट क्षेत्र नम्बर ३ बाटै चुनावी मैदानमा खटिरहेका छन्। केही अप्ठ्याराका बाबजुद यसपालि पनि ठाकुरले जित हासिल गर्ने अनुमान यहाँ गरिएको छ।
जीवनको उर्वरकाल कांग्रेसी राजनीतिमा बिताएका र केही वर्षयता ‘मधेशका सीमान्त जनताका निम्ति’ भन्दै जीवनभरिको लगानी त्यागेर चेतनाको संवाहक बनी गाउँठाउँ डुलिरहेका ठाकुरसँग हामीले मधेश र समग्र राजनीतिबारे उनको विचार जान्ने कोशिस गरेका छौँ। करिब ८ बजे हामीले उनलाई भेट्ने समय पायौँ। उनी निकै मजाकिया मुडमा देखिन्थे। मुहारमा अलिकति पनि थकान देखिँदैनथ्यो। हाम्रा जिज्ञासामा महन्थले यस्ता जवाफ दिए :
सातौँ पटक निर्वाचनमा होमिनुभएको छ, प्रचारप्रसारको गति कस्तोे छ?
गाउँ गाउँमा पुगिरहेको छु। यो क्षेत्रमा ५ वटा पालिकाहरु छन्– २ वटा नगरपालिका र ३ वटा गाउँपालिका। सबै ठाउँमा जोडतोडले प्रचारप्रसार चलिरहेको छ। आजै (२२ कात्तिक) पनि मनरा सिस्वाको बथनाहामा मतदातासँग भेट्ने कार्यक्रम छ। एकडारा गाउँपालिका र मटिहानी नगरपालिकामा पनि कार्यक्रम छ।
नेपाली कांग्रेसको सर्लाही संगठनमा छँदा तपाईंको समीपमा रही काम गरेका थिए अमरेशकुमार सिंहले। तपाईंले तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) बनाई उम्मेदवारी दिँदा उनै सिंहले तपाईंविरुद्ध खडा भई चुनाव जिते। यहाँ महोत्तरीमा आएपछि तपाईंसँग लामो सहकार्य गरेका विश्वासपात्र वृषेशचन्द्र लाल यसपालिको चुनावमा यहाँले नै स्थापना गरेको ‘तमलोपा’ ब्युँताएर तपाईंकै विरुद्धमा खडा भएका छन्। तपाईंका विश्वासपात्रले किन सधैँ घात गरिरहेका?
दलीय प्रणालीमा यो कुनै ठूलो कुरो होइन। नेताहरु आइरहेका हुन्छन्, गइरहेका हुन्छन्। लामो संघर्षले बनाएको दल हो, वहाँहरुलाई पछि गल्ती महसुस होला।
तपाईंले सर्वश्व सुम्पेको नेपाली कांग्रेसले देशको सघन जनघनत्व बोक्ने मधेशी सीमान्तकृतहरुको आवाज उठाउन छाडेको भन्दै पार्टी नै छाड्नुभयो। जेका लागि तपाईंले कांग्रेस छाड्नु भयो, मधेशको सन्दर्भमा त्यो दिशामा राजनीति अगाडि बढिरहेको झैँ लाग्छ?
हाम्रो देशमा जति पनि परिवर्तन भएको छ, जति पनि संघर्ष तथा आन्दोलन भएको छ, जस्तै २०१७ साल, २०२७ साल, २०३६ साल, २०४६ साल र २०६२/०६३ साल सबै आन्दोलनमा राज्य व्यवहार हिंस्रक रह्यो। हिंस्रक हस्तक्षेप भयो। गोली चलाउने, जेलमा हाल्ने, अपांग बनाइदिने काम भयो। त्यसैले राज्यको दृष्टिकोणमा अहिले पनि कुनै परिवर्तन आएको छैन। हाम्रो संघर्ष त्यसैका निम्ति हो।
हतियार उठाउनेहरु प्रधानमन्त्री भइसके तर अहिले पनि मधेशी र थारुहरु जेलबाट छुटेका छैनन्। मधेशी र थारुबाहेक कसैमाथि मुद्दाहरु छैनन्, कोही जेलमा छैनन्। मैले यही कुरा ओलीजीलाई भनेँ– तपाईं आफैँ भन्नु हुन्छ १७ वर्ष लगातार जेल बसेको छु। जेल हुँदै तपाईं यहाँसम्म आइपुग्नु भएको छ। अब पनि दृष्टिकोण परिवर्तन नभए कहिले हुन्छ? यही अवस्था रहिरहे अहिले जेलमा संख्या थोरै छ, पछि बढ्दै जान्छ। नागरिकता समस्या छ, त्यो बढ्दै जान्छ।
राजनीतिक इतिहासको प्राध्यापकका नाताले नेपालको समग्र राजनीतिको मूल्यांकन कसरी गर्नुहुन्छ?
स्थिरता छैन। हाम्रो राजनीतिक इतिहास शान्तिपूर्ण छैन। हिंसात्मक इतिहास थियो। पहिला दरबारमा हुन्थ्यो, आपसमा मारकाटद्वारा सत्तामा पुग्न प्रतिस्पर्धा हुन्थ्यो। त्यसबाट अझै पनि हामीले मुक्ति पाएका छैनौँ। जनता शान्तिपूर्ण छन् तर शासक भने अझै शान्तिपूर्ण हुन सकेनन्। प्रजातन्त्रमा केही मात्रामा हिंसा हुन्छ तर शान्तिपूर्ण अवस्था अझै आइसकेको छैन। झैझगडा, पार्टीबाट अलग हुने र सरकार खसाइदिने खेल चलिनै रहेको छ। प्रजातन्त्र स्थापनापछिको कुनै पनि सरकारले ५ वर्ष पुरा गरेको छैन। देशमा राजनीतिक स्थिरता छैन, जसले गर्दा सिधा विकास निर्माण, वैदेशिक सम्बन्ध, भूराजनीतिलाई प्रभावित गरिरहेको छ।
एमालेका अध्यक्ष ओलीसँग सत्ता सहकार्य गर्नुभो। नागरिकतासम्बन्धी विधेयकमा एमालेले विरोध गर्दा यस्तो संवेदनशील मुद्दाबारे केही कुरा गर्नुभएन?
उहाँसँग मात्र होइन, मैले हरेक स्थानमा भन्दै आइरहेको छु– नागरिकता खाली मधेशको मात्र समस्या होइन। यो देशकै समस्या हो। संविधानमा संघीय कानुन बमोजिम नागरिकता दिने भनिएको छ। तर पाँच वर्ष बितिसक्दा पनि त्यो कानुन नै बनेको छैन। नागरिकताविहीनहरुको पीडा बुझ्ने कोही पनि भएनन्।
ओलीजीहरुको मुख्य विमति विधेयक ल्याउँदा आफूहरुसँग छलफल नै गरिएन भन्ने थियो। विधेयक ल्याउँदा प्रतिपक्षी दलसँग सहमति खोज्नुपथ्र्यो भन्ने वहाँहरुको भनाइ थियो। त्यसअघि ओलीजीले ल्याएको नागरिकता सम्बन्धी अध्यादेश सर्वोच्चले खारेज नगर्नु पर्ने थियो। किनकि त्यो अधिकार प्रतिनिधि सभाको थियो। ६० दिनसम्ममा त्यसले विधेयकको स्वरुप धारण नगरे त्यो स्वतः खारेज हुन जान्थ्यो। सर्वोच्चले खारेज गर्नै पर्दैनथ्यो। मुख्य न्यायाधीशलाई लाग्यो, त्यो खारेज गरेर उनले ठूलो काम गरे। यस्तो छ हाम्रो न्यायालयको अवस्था।
हामीलाई हेर्ने दृष्टिकोणको कुरा गर्नुहुन्छ भने नागरिकताधारी हामी पनि कागजी रुपमा मात्र नेपाली हौँ। कागजमा लेखिदिएको छ नेपाली, त्यसैले हामी नेपाली। त्यो लेखेन भने हामी पनि नेपाली होइनौँ। अहिले पहाडको मान्छे पनि बाहिरको होइन, मधेशको मान्छे पनि बाहिरको होइन भन्ने कुरा कोही बुझ्नै चाहँदैन।
त्यसोभए किन र केका लागि उठिरहन्छ नागरिक र अनागरिकका कुरा?
जसरी ‘बाहिरिया’ को कुरा उठाइन्छ, त्यो सबै भ्रम हो। प्राचीन सभ्यता बोेकेको क्षेत्र हो मधेश। वैदिक कालमा पनि यो क्षेत्र थियो। इतिहासको हरेक कालखण्डमा यो क्षेत्र विद्यमान थियो। गौतम बुद्ध मधेशमै जन्मे। जगतजननी सीताको जन्मथलो हो यो। राजा विराटको महलको खण्डहरहरु अझै पनि छँदैछ। योे प्राचीन थलो हो। के विश्व इतिहासमा गौतम बुद्धको नाम मेट्न सकिन्छ? सकिँदैन नि। यत्रो सब साझा पहिचान हुँदा पनि कसैले मधेशलाई बुझ्नै सकेका छैनन्।
हामीलाई बाहिरबाट आएका भनिन्छ। तर शासकहरु आफैँ के भन्छन् भने ती स्वंय कोही आफू राजस्थानबाट आएको भन्छन्, कोही पञ्जाबबाट आएका हौँ भन्छन्। (बाबुराम) भट्टराईजी भन्नुहुन्थ्यो, हामी त भट्ट बाहुन हो, पञ्जाबबाट आएका हौँ। ओलीजी आफूलाई कस्मिरबाट आएको भन्नुहुन्छ। हाम्रो राष्ट्रपति विद्यादेवी भण्डारीजी गढवाल कुमाउबाट आएको भन्नु हुन्छ। बाहिरबाट आएका यी शासकहरु ठूलो राष्ट्रवादी हुने, सदियौँदेखि यहीँ बसिरहेकाहरु चाहिँ विदेशी हुने! निकै भ्रम सिर्जना गरिँदै आइएको छ। हाम्रो सबै कब्जा गरिसके। यहाँसम्म कि राज्यले हाम्रो देवीदेवता पनि कब्जा गरिसक्यो। राजदेवीलाई ‘राजाको देवी’ बनाइ दिए।
कसले छरिरहेका छन् त भ्रम?
आफूलाई नेपाली भन्ने त थोरै संख्यामा रहेका केही खस आर्यहरु न हुन्। उनीहरुकै भाषा राष्ट्रभाषा हुन्छ। त्यो भाषा नपढी यहाँ केही नहुने। हाम्रोमा त विभिन्न भाषाभाषीहरु छन् नि। मगर, गुरुङ सबैको आ–आफ्नो भाषा छ। राष्ट्रको रुप नलिएपनि ‘एथ्निक नेसन’ त उनीहरु पनि हुन् नि। जस्तैः हामी अमेरिकामा गएर बस्यौँ भने यतैको पहिचान रहिरहन्छ। अमेरिकी राष्ट्र हुन पाउँदैनौँ, ‘एथ्निक नेसन’ को रुपमा रहन पाउँछौँ। ट्रम्पले त्यहाँ किन जिते भने उनले ‘अमेरिका अमेरिकीहरुको’ भन्ने नारा लगाए। त्यसको अर्थ थियो– ‘अमेरिका गोराहरुको मात्रै हो।’
मधेश आन्दोलनकै बलमा संघीयता आयो। मधेश सरकार बनाउनु भयो– सन्तुष्ट हुनुहुन्छ?
प्रदेशमा हाम्रो निर्वाचित सरकार छ। गाउँहरुमा पनि निर्वाचित स्थानीय सरकार छन्। तर सुरक्षा हाम्रो हातमा छैन। अर्थ हाम्रो हातमा छैन। जति यहाँबाट केन्द्रमा राजश्व जान्छ, त्यो अनुसारको बजेट यहाँ आउँदैन। पहिला मधेश शिक्षामा अगाडि थियो, अहिले कर्णालीभन्दा पनि पछाडि परेको छ। स्वास्थ्यको अवस्था पनि त्यस्तै छ। शिक्षा र स्वास्थ्यमा पछाडि परेपछि त दिनप्रतिदिन गरिबी बढ्दै जाने हो।
मधेशमा गरिबी छ। रोजगारीमा हाम्रो सहभागिता छैन। कृषिका लागि प्रसिद्ध मधेशमा त्यसैको अवस्था दयनीय छ। पहिला पहाडका मात्र विदेश जान्थे, अहिले मधेशका युवाहरु बढी विदेशिन थाले। बेरोजगारीले मात्र होइन, ती आफ्नो ज्यानको सुरक्षाका निम्ति पनि विदेशिन थाले। कतिखेर प्रहरीले नलकटुवा हातमा थमाएर फसाउँछ पत्तै हुँदैन। यस्तो समस्यामा राज्य प्रवेश गर्न चाहँदैन, नचाहिँदा मुद्दामा दुनियालाई भुलाएर राखिरहेको छ। भ्रम पारिरहेको छ। यसरी भित्तामा पुर्याएपछि के गर्ने, लड्नै पर्यो, संघर्ष गर्नै पर्यो। हामी अहिले त्यही गरिरहेका छौँ।
मधेशवादी दल कमजोर बन्दै गइरहेको परिप्रेक्ष्यमा तपाईंहरु प्राप्त उपलब्धि बचाउने भन्दै हुनुहुन्छ। रक्षा गर्न सक्नु होला त?
धेरै संघर्ष गरेर ल्याएको उपलब्धि हो, नबचाइ उपाय छैन। संसारभरि तानाशाही समाप्त हुँदै गएको छ। सेनाले चलाउन सकेन। राजा किन शक्तिशाली हुन्थ्यो, सेनाकै कारणले न हो। सेनाको सुप्रिम भएकाले राजा शक्तिशाली हुन्थ्यो। राजतन्त्र पनि चलेन। धेरै ठाउँमा सेनाले कब्जा गरेर चलाउन खोज्यो, तानाशाही भयो त्यो पनि चलेन। पञ्चायत चलेन। जनताले एक चोटि पाइसकेको अधिकार फेरि छोड्न चाहँदैनन्। बचाइराख्छन्।
Shares
प्रतिक्रिया