ad ad

राजनीति


मधेशभर ‘जनकपुर ट्रायल’ को असर : दलभन्दा स्वतन्त्र उम्मेदवार बढी, यी हुन् बलिया स्वतन्त्र

मधेशभर ‘जनकपुर ट्रायल’ को असर : दलभन्दा स्वतन्त्र उम्मेदवार बढी, यी हुन् बलिया स्वतन्त्र

सर्लाही ४ की स्वतन्त्र उम्मेदवार मधुमाला यादवले यो क्षेत्रको परिणाम तलमाथि पार्न सक्नेछन्


जेवी पुन मगर र जयन्त ठाकुर
कात्तिक २१, २०७९ सोमबार १९:१, राजविराज

गएको स्थानीय निर्वाचनमा काठमाडौँमा बालेन शाह र धरानमा हर्क साम्पाङजस्ता स्वतन्त्र उम्मेदवारले जितेपछिको चर्चाले हौसिएर होला, मधेश प्रदेशमा ‘स्वतन्त्र’ बाट उठ्नेहरुको लर्काे नै लागेको छ। 

प्रत्यक्षतर्फ ३२ निर्वाचन क्षेत्रका लागि प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिएका कुल ५९१ जनामध्ये स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराउनेहरुको संख्या नै २९७ छ। यो कुल उम्मेदवार संख्याको ५०.२५ प्रतिशत हो। 

त्यस्तै, प्रत्यक्षतर्फ ६४ वटा प्रदेश सभा सिटका लागि उम्मेदवारी दिएका १ हजार ७ जनामध्ये स्वतन्त्रबाट मात्र ५४७ जना अर्थात ५४.३२ प्रतिशत छन्। 

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि प्रतिनिधि सभा पदका लागि मधेश प्रदेशमा २५ स्थानमा उम्मेदवार उठाएको छ।

यति धेरै स्वतन्त्र उम्मेदवार उठ्नुमा काठमाडौँका बालेन शाह र धरानका हर्क साम्पाङको प्रचारबाजीले मात्र भूमिका खेलेको देखिँदैन। मूलतः दलबाट टिकट नपाएर ठुस्किएकाहरु, दलहरुले नै असन्तुष्टि व्यवस्थापन गर्न ‘देखेको नदेख्यै गरेका’ र प्रतिद्वन्द्वीको मत काट्न उठाइएका ‘डमी’ उम्मेदवारहरुका कारण तिनको संख्या यति धेरै देखिएको हो।

दलका ‘डमी’ स्वतन्त्र 
गएको स्थानीय निर्वाचनमा गठबन्धन दलका तर्फबाट जनकपुरधाम उपमहानगरपालिमा प्रभावका हिसाबले पुछारमा रहेका जसपाका उम्मेदवारलाई मेयर पद दिने निर्णय गरेपछि नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले उठाएका ‘स्वतन्त्र’ उम्मेदवार मनोजकुमार साहले १३ हजार ४६५ ल्याई मेयर पद जितेका थिए। 

त्यतिबेला गठबन्धनबाट उम्मेदवार बनाइएका निवर्तमान मेयर जसपाका लालकिशोर साह चौथो स्थानमा झरेका थिए भने एमालेका शिवशंकर साह ९ हजार ५३२ मत ल्याई दोश्रो भएका थिए। निधिले त्यतिबेला बहालवाला मेयर मनोजकुमारलाई राजीनामा दिन लगाई मैदानमा उतारेका थिए।

कांग्रेसभित्रको आन्तरिक द्वन्द्वका कारण जन्माइएका विद्रोही उमेदवार साहलाई शेखर कोइराला पक्षले पनि सहयोग गरेको थियो। संस्थापन पक्षले निधिको शक्ति आफ्ना निम्ति चुनौतीपूर्ण ठानेपछि सहमहामन्त्री महेन्द्र यादवलाई उपयोग गरी उनलाई कमजोर बनाउन अनेक हथकण्डा अपनाइरहेको बेला निधिले कोइरालाको सहयोगमा ‘स्वतन्त्र’ जिताएर आफ्नो शक्ति देखाइदिएका थिए।

जनकपुरधाममा गरिएको यो ‘ट्रायल’ बाट अनुभव बटुलेका निधिले यसपालि संघीय निर्वाचनमा पनि स्थानीय निर्वाचनको रणनीति अपनाउन खोजेको देखिन्छ। उनले दलभित्र ‘विद्रोह’ गरी पर्सा क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका राम्रो जनाधार भएका नेपाली कांग्रेस पर्साका पूर्वसभापति अजय द्विवेदीलाई सहयोग गरिरहेका छन्। 

निधिकै ‘डमी उम्मेदवार‘को रुपमा हेरिएको अजयले सत्ता गठबन्धनको तर्फबाट उठाइएका लोसपाका नेता लक्ष्मणलाल कर्ण र प्रतिपक्षी गठबन्धनका तर्फबाट तयार पारिएका पूर्व वनमन्त्री समेत रहिसकेका प्रदीप यादवलाई चुनौती दिने मात्र होइन, राजनीतिक समीकरण नै आफ्नो पक्षमा पार्ने सम्भावना रहेको विश्लेषण पनि गर्न थालिएको छ। कर्णलाई उनको ४ नम्बर क्षेत्रबाट १ मा लगिएकोले उनी त्यहाँ नयाँ भएको र यादवले ‘मन्त्री भइकन पनि केही नगरेको’ ले द्विवेदीले त्यसको भरपुर फाइदा उठाउने देखिन्छ।

त्यस क्षेत्रको स्थलगत रिपोर्टिङमा वीरगंज पुगेका रामजी दाहाल भन्छन्, ‘अहिलेसम्म गठबन्धनका लाल र जसपाका यादवभन्दा मतदातासँग भिजेका अजय बलिया देखिन्छन्।’  

स्वतन्त्रको नाममा यसरी ‘डमी’ उम्मेदवार उठाउने निधि मात्र होइनन्। नेकपा एमालेका नेता सुमनराज प्याकुरेलले सप्तरी क्षेत्र नम्बर १ मा आफ्नै भान्जीज्वाइँ डा. रोहित पोख्रेललाई मैदानमा उतारेका छन्। विपक्षी गठबन्धनको तर्फबाट जसपाका उम्मेदवार नवलकिशोर साहले टिकट पाएपछि एमालेका कार्यकर्ता रुष्ट थिए। तिनले साहलाई भोट नदिने देखेपछि ‘पहाडे सेन्टिमेन्ट’ भजाउँदै ३ वटा पालिकामा छरिएको पहाडी समुदायको मत तान्न पोख्रेललाई स्वतन्त्र उमेदवारको रुपमा अगाडि सारिएको छ।

तर सप्तरी १ मा सत्ता गठबन्धनको तर्फबाट उठाइएको नेपाली कांग्रेसका जिल्ला सभापति समेत रहिसकेका बलिया उम्मेदवार रामदेव साहका अगाडि प्याकुरेलको यो रणनीतिले काम गर्ने देखिँदैन। राजविराजमा भेटिएका प्याकुरेलकै गाउँबासी पत्रकार महासंघ सप्तरीका सभापति श्रवणकुमार देव भन्छन्, ‘पहाडे र मधेशी भावनामा खेल्ने एमालेको यो कार्ड क्षेत्र नम्बर १ मा चाहिँ खोटा साबित हुनेवाला छ।’ 

बलिया स्वतन्त्र 
पर्सा १ मा झैँ मधेश प्रदेशमा थप केही बलिया र चर्चित स्वतन्त्र उम्मेदवारहरु पनि छन्, जसले चुनाव नजिते पनि चुनावी परिणाम उलट्याइदिने सामथ्र्य राख्दछन्। सिरहा १ बाट उठेकी पूर्वसांसद सरिता गिरी र पर्सा २ (ख) को प्रदेश सभामा उठेकी पूर्वराज्यमन्त्री करिमा बेगमलाई त्यसै कोटीमा राखेर हेरिएको छ। 

राष्ट्रिय राजनीतिको चर्चामा रहिरहने र केपी ओलीलाई समेत ‘चकमा’ दिनसक्ने रौतहट ३ का निवर्तमान सांसद तथा पूर्वमन्त्री प्रभु साहको लगभग जित सुनिश्चित रहेको बताइन्छ। उनले अन्तिम घडीमा एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए। यीबाहेक सर्लाही १ का मानबहादुर खड्का, सर्लाही ४ का अमरेशकुमार सिंह र मधुमाला यादव तथा महोत्तरी १ का पोषण थापालाई बलिया स्वतन्त्र उम्मेदवारको रुपमा हेरिएको छ। 

को हुन् त नतिजा तलमाथि पार्न सक्ने यी स्वतन्त्र उम्मेदवार?

अमरेशकुमार सिंह– सर्लाही ४ 
२०७० र २०७४ सालको निर्वाचनमा लगातार विजयी नेपाली कांग्रेसका नेता सिंहले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। गठबन्धनले कांग्रेसका पूर्वजिल्ला सभापति तथा पूर्वसांसद नागेन्द्रकुमार रायलाई टिकट दिएपछि सिंहले त्यसलाई चुनौती दिँदै आफैँ उम्मेदवारी दर्ता गराए। यहाँ उनलाई सबैभन्दा बलियो उम्मेदवार मानिएको छ।

अर्काेतर्फ गठबन्धन सदस्य माओवादी केन्द्रका पूर्वसांसद शिवपूजन यादवले पनि आफ्नी छोरी मधुमालालाई स्वतन्त्रबाट चुनावी प्रतिस्पर्धामा उतारेका छन्। गठबन्धनका उम्मेदवारलाई जिताउनुको साटो छोरीलाई नै उम्मेदवारी दिएकोले मधुमालालाई पनि बलियो प्रतिस्पर्धीको रुपमा हेरिएको छ। यसअघि सिंहका प्रतिद्वन्द्वी शिवपूजन रातो पासपोर्ट दुरुपयोग काण्डमा परेकाले उम्मेदवारीबाट बञ्चित भए। तत्कालीन मधेशी जनअधिकार फोरमबाट शिवपूजन २०६४ सालको निर्वाचनमा अमरेशलाई पराजित गरी संसद छिरेका थिए। 

शिवपूजन बीएस्सी नर्सिङ गरेकी छोरी मधुमालाको प्रचारप्रसारमा आफैँ कुदिरहेकाले कतिपयले यो क्षेत्रमा अमरेश भर्सेस शिवपूजन हुने अनुमान गरेका छन्।

पोषण थापा– महोत्तरी १
महोत्तरी बर्दिवास ११ का स्थायी बासिन्दा पोषण थापाले यातायात व्यवस्था विभाग कार्यालय बर्दिवासको शाखा प्रमुखबाट राजीनामा दिई स्वतन्त्र उम्मेदवारी दिएका हुन्। त्यसअघि जलेश्वरको नापी शाखा र कर कार्यालयमा समेत काम गरिसकेका थापा गएको स्थानीय निर्वाचनमा स्वतन्त्रबाट मेयर पदमा विजयी हुने क्रसर व्यवसायी प्रल्हाद क्षेत्रीको समर्थनमा मैदानमा उत्रिएका हुन्। 

३ चोेटि २०६४, २०७० र २०७४ को निर्वाचन संसदमा पुगिसकेका नेकपा माओवादीका प्रभावशाली नेता गिरिराजमणि पोखरेललाई चुनौती दिन अगाडि आएका थापा प्रल्हादले पाएको मतआफूतिर तान्ने योजनामा देखिन्छन्। तर २०६४, २०७० माओवादीको तर्फबाट र २०७४ मा एमालेको समेत साथमा जितेका पोखरेल यहाँका बलिया उम्मेदवार हुन्। 

मानबहादुर खड्का– सर्लाही १
एमालेबाट निर्वाचित लालबन्दी नगरपालिकाका निवर्तमान मेयर मानबहादुर खड्काले मधेश आन्दोलनताका चुरेभावर एकता संघर्ष समितिले भड्काएको पहाडी–मधेशी भावनालाई आधार बनाई चुनाव जित्ने रणनीति तयार पारेको देखिन्छ। उनी त्यस क्षेत्रका प्रभावशाली नेता मानिन्छन्।  

लोसपाका रामप्रकाश चौधरीलाई टिकट दिइएपछि गठबन्धनबाट टिकटको आकांक्षी कांग्रेसका पूर्व जिल्ला सभापति शम्भु श्रेष्ठले खड्कालाई सघाउन सक्ने हुनाले उनी यहाँ राम्रो अवस्थामा रहेको बताइन्छ। पहाडी मतदाता राम्रो रहेको यस क्षेत्रमा लोसपाका चौधरीलाई मतदान गर्नुभन्दा एमालेका खड्कालाई मत दिनु ठिक भन्ने मानसिकताले खड्का बलियो अवस्थामा रहेको विश्लेषण गरिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .