ad ad

अन्तर्वार्ता


गौरमा माधव नेपालले भने— २० सिटमा जित निकाल्न लागिपरेका छौँ (अन्तर्वार्ता)

गौरमा माधव नेपालले भने— २० सिटमा जित निकाल्न लागिपरेका छौँ (अन्तर्वार्ता)

जेवी पुन मगर र जनार्दन पोखरेल
कात्तिक २०, २०७९ आइतबार १६:१, गौर, रौतहट

नेकपा एमालेलाई देशकै नम्बर एक पार्टी बनाउन भूमिका खेलेका माधवकुमार नेपाल अहिले आफूलाई एमालेको नेता हाेइन, नयाँ परिचयबाट चिनाउन निकै संघर्ष गरिरहेका छन्। एमालेबाट अलग्गिँदै नेकपा एकीकृत समाजवादी गठन गरेर देश दौडाहामा लागेका नेपालले संसदीय राजनीतिमा आफ्नो पकड गुम्न नदिन नयाँ शिराबाट राजनीतिक अध्याय सुरु गरेका हुन्।

गएको स्थानीय निर्वाचनबाट एक खुड्किलो उक्लिएका नेपाल दोस्रो खुड्किलो चढ्न धेरैपछि आफ्नो पुस्तैनी थलो रौतहटको गौरमा डेरा जमाउन आइपुगेका छन्। उनी फेरि पुरानै दिनको पुनरावृत्तिमा अभ्यस्त हुने प्रयत्न गरिरहेका छन्।

एमालेका अजय गुप्तासँग चुनावी सग्रांममा उत्रिएका उनी बिहान उठेदेखि राति अबेरसम्म रौतहट क्षेत्र नम्बर १ का गाउँगाउँ, टोलटोलमा हात जोड्दै घरदैलो गरिरहेका छन्। 

गुप्तासँग नेपालको यो पहिलो लडाइँ भने होइन। यसअघि ०७० को दोस्रो संविधानसभा निर्वाचनमा विजय गच्छदार नेतृत्वको तत्कालीन लोकतान्त्रिक फोरमका तर्फबाट गुप्ताले माधवसँग सिङ जुधाइसकेका छन्। त्यतिबेला नेपालसँग पराजित तिनै गुप्ता यसपालि एमाले प्रवेश गरी पुरानो हारको बदला लिने दाउमा देखिन्छन्।

०७० को निर्वाचनमा नेपालसँग जम्मा ३ सयको मतान्तरले हारेका गुप्ता ०७४ सालको स्थानीय चुनावमा जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट गौर नगरपालिकाको मेयरमा विजयी भएका थिए। 

यी भए ऊबेलाका कुरा। सहकर्मी केपी शर्मा ओलीका ‘विषालु इख’का कारण जन्मिएको एकीकृत समाजवादीले स्थानीय निर्वाचनमा रौतहटमा ऊर्जा भर्नेगरी परिणाम हात पार्यो। अध्यक्ष नेपालको गृहजिल्ला रौतहटमा एकीकृत समाजवादीले देशभरिका अन्य स्थानमा भन्दा राम्रो नतिजा ल्यायो। यो जिल्लाका चारवटा पालिकामा एकीकृत समाजवादीका उम्मेदवारले जित हासिल गरे, जसमध्ये दुईवटा माधव नेपालको निर्वाचन क्षेत्र १ भित्रै पर्छन्।

गएको स्थानीय निर्वाचनमा क्षेत्र नम्बर १ मा उनका प्रतिद्वन्द्वी दल एमालेका वडाध्यक्षहरूले पाएको मत (७ हजार ११७) को तुलनामा एकीकृत समाजवादीका वडाध्यक्षहरूले बढी (१८ हजार ५ सय) मत प्राप्त गरेका थिए। 

स्थानीय तहको निर्वाचनमा क्षेत्र नम्बर १ अन्तर्गतका वडामा एकीकृत समाजवादीका उम्मेदवारले पाएको मतका आधारमा विश्लेषण गर्दा आफ्नो क्षेत्रमा नेपाल एक्लै पनि सबैभन्दा बलिया उम्मेदवार देखिन्छन्। 

त्यसमाथि यसपालि उनलाई संघीय निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले काँधमा बोकेकाले आफ्नो जित सुनिश्चित रहेको विश्लेषण गौरमा भेटिएका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सुनाए। उनले त्यसो भन्नुका आधार छन्। गत स्थानीय निर्वाचनमा कांग्रेसले पाएको १३ हजार ९४६ र लोसपाले ल्याएको १० हजार १४० मत पनि उनको खातामा आउँदै छ।

एमालेमा छँदा निर्वाचन परिचालन कमिटीको संयोजक भई काम गरेको अनुभव सँगालेका नेपालले कांग्रेसको राम्रो मत यताउता नहोस् भनी आफ्नो क्षेत्रमा पर्ने प्रदेशसभाका दुवै सिट कांग्रेसलाई छाडेका छन् भने लोसपालाई महन्थ ठाकुरको क्षेत्र महोत्तरीमा केही बढी सिट दिई हिसाब मिलान गर्न खोजेका छन्। 

शनिबार (कात्तिक १९) दिउँसो पूर्वपश्चिम राजमार्गबाट ३६ किलोमिटर दक्षिण रौतहटको जमुनामाई नगरपालिका–४ सरुआट्ठा पुग्दा पार्टीको वडा कमिटी आफूले आयोजना गरेको कोणसभालाई सम्बोधन गराइमाग्न घरदैलोमा हिँडिरहेका नेपालसहितको गठबन्धन टोलीलाई कुरेर बसिरहेको थियो।

केही बेरमै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाललाई स्कर्टिङ गर्दै सुरक्षाकर्मीसहितको टोली बोकेको पिकअप भ्यान, नेताहरू बोकेका चारवटा जिप र केही मोटरसाइकल कार्यक्रमस्थल आइपुगे। त्यो भीडमा नेपालका निम्ति भोट मागिदिन काठमाडौंबाट आएका गठबन्धन दलका विद्यार्थी संगठनका नेताहरू पनि थिए। 

कार्यक्रममा अन्य सबै वक्ताले देश अधोगतिमा जानुमा स्वच्छन्द र हैकमी तरिकाले शासन सञ्चालन गर्ने केपी शर्मा ओलीलाई कारकका रूपमा औल्याउँदै उनको खुब विरोध गरिरहेका थिए। तर भोजपुरीमा भाषण गरेका माधव नेपालले भने ओलीविरुद्ध एक शब्द पनि खर्च नगरी मन्तव्य टुंग्याए।

कोणसभा सकिएलगत्तै आफ्नो दलबाट निर्वाचित वडाध्यक्षको घरमा मतदाताहरूसँगै बसेर खाए र पुनः लागे घरदैलो कार्यक्रममा। 

भाषणका क्रममा उनले रामवरण यादव र विद्या भण्डारी आफ्नै प्रस्तावका बलमा राष्ट्रपति बनेको स्मरण मात्र गराएनन्, आफू एमाले र देशको प्रमुख हुँदा निजगढ विमानस्थल र तराई–मधेस द्रुतमार्ग पनि आफ्नै पहलमा बनेको दाबी गरे। भाषण सकिएपछि कार्यकर्ताहरूसँगै खाना खाइरहेका नेपालसँग हामीले छोटो समय लिएर वार्ता गर्यौँ।

माधवकुमार नेपालसँग उनकै निर्वाचन क्षेत्र रौतहट–१ को गौरमा गरिएको संक्षिप्त कुराकानीः

निर्वाचन अभियान कसरी चलाइरनुभएको छ?
गठबन्धनमा सहभागी पाँचै दलका शीर्ष नेताहरूले यतिबेला आआफ्नै निर्वाचन क्षेत्रमा अभियान चलाइरहनुभएको छ। म पनि आफ्नै क्षेत्रमा छु। निर्वाचन अभियान एकदमै राम्रो ढंगले सञ्चालन गरिरहेका छौँ। म यतिबेला आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित भएको छु। हामीले विभिन्न ठाउँमा कोणसभा, घरदैलो गरिरहेका छौँ। 

प्रदेश सभाका दुवै क्षेत्रका उम्मेदवार र गठबन्धनमा सहभागी दलका नेता/कार्यकर्ता पनि अभियानमा जोडिनुभएको छ। बिहान सबेरैदेखि साँझ अबेलासम्म हामी यही अभियानमै छौँ। सबै ठाउँमा गठबन्धनका पक्षमा उत्साहजनक उपस्थिति देखिएको छ। 

तपाईंले निर्वाचन लडिरहेको रौतहट १ मा चाहिँ अवस्था कस्तो छ? 
यहाँ हाम्रो विजय सुनिश्चित छ। यो क्षेत्र हामी एक्लैले पनि जित्ने ठाउँ हो। गठबन्धनका अन्य दलको पनि साथ भएकाले मलाई जितमा कुनै शंका छैन। 

यसपालिको निर्वाचनमा तपाईंसँग मतदाताहरूको के अपेक्षा रहेछन्?
कतिपय ठाउँमा बाटोघाटो, कतै बिजुली, कतै स्कुल भवन, कतै सिँचाइ, कतै अस्पताल, स्वास्थ्य चौकी, मदरसाको माग गरिरहनुभएको छ। कतिपय ठाउँमा सुकुमवासी बस्तीलाई व्यवस्थित गर्न, आवासको व्यवस्था गर्न, रोजगारीको व्यवस्था गर्न पनि मतदाताहरूले माग गर्नुभएको छ। मेरो कार्यकालमा यो क्षेत्रका धेरै ठाउँमा हामीले सामूहिक आवास र सामुदायिक भवन निर्माण गरेका छौँ। यो क्षेत्रका जनताको आवश्यकतालाई सम्बोधन गर्न मैले पहल पनि गर्दै आएको छु। 

तपाईंले लामो समय एमालेको नेतृत्व गर्नुभयो, अहिले त्यो पार्टीबाट विद्रोह गरेर आफ्नै नेतृत्वमा नयाँ दल गठन गर्नुभएको छ। नेकपा एकीकृत समाजवादीबाट तपाईं पहिलोपटक चुनाव लड्दै हुनुहुन्छ, जनताको प्रतिक्रिया कस्तो पाउनुभएको छ?
०४८ सालमा पनि एमालेको चुनावी अभियानको नेतृत्व मैले नै गरेको थिएँ। ०५१ सालमा पनि एमालेको चुनावी अभियानको कमान्डर म नै थिएँ। त्यतिबेला पार्टी प्रमुख म नै थिएँ। गठबन्धनबाट हाम्रो पार्टीलाई २० वटा क्षेत्र प्राप्त भएको छ। २० वटै क्षेत्रमा हाम्रो निर्वाचन अभियान एकदमै राम्रो ढंगले चलिरहेको छ। सबै ठाउँमा जित निकाल्न हामी लागिपरेका छौँ। हामीलाई प्राप्त प्रदेश सभाका क्षेत्रमा पनि हाम्रो अवस्था राम्रो छ। कतिपय ठाउँमा हामीले गठबन्धनका उम्मेदवारबीच मैत्रीपूर्ण प्रतिस्पर्धा पनि गरिरहेका छौँ। अधिकांश ठाउँमा गठबन्धनका दलको साथ हामीलाई प्राप्त भएको छ। अवस्था सबै ठाउँमा उत्साहजनक छ।

तपाईंको पूर्वसहकर्मी एमालेका अध्यक्ष ओलीप्रति तपाईंको त्यत्रो द्वन्द्व छ तर सार्वजनिक भाषणका क्रममा तपाईंले उहाँ–लक्षित कुनै शब्द उच्चारण गर्नुभएन नि?
ओलीजीको जस्तो तुच्छ ढंगले गाली गर्न मलाई आउँदैन। उहाँको जस्तो तुच्छ शब्दले गाली गर्ने बानी मेरो छैन। उहाँ संस्कारविहीन मान्छे हो। उहाँ कुसंस्कारमा हुर्केको मान्छे। म संस्कारमा हुर्केको मान्छे। मलाई त्यस्ता तुच्छ कुरा गर्न आउँदैन। बोलीमा छुच्चोपन हुनुहुँदैन। कुभलो कसैको चिताउनु हुँदैन भन्ने मान्यता मेरो छ। म विष पनि पचाउन सक्छु। त्यो क्षमता मेरो छ।

तपाईंको निर्वाचन क्षेत्रनजिक पर्ने काठमाडौं तराई द्रुतमार्ग र निजगढ विमानस्थलजस्ता राष्ट्रिय महत्त्वका ठूला आयोजना तपाईंले आफ्नै पहलमा ल्याएको भन्नु भो, यी आयोजना समयमै पूरा होलान् त? 
राष्ट्रिय महत्त्वका यी आयोजनालाई मैले प्राथमिकतामा राखेको छु। ती आयोजना समयमै बन्नुपर्छ भन्ने मान्यता राख्ने मान्छे म हुँ। प्रधानमन्त्री शेरबहादुर देउवालाई हेलिकप्टरमा ल्याएर मैले विमानस्थल निर्माण हुने क्षेत्र देखाएको छु। रामचन्द्र पौडेलजीलाई पनि निजगढ विमानस्थल क्षेत्र देखाएको मैले नै हो। संसदीय समितिलाई पनि ल्याएर निजगढ विमानस्थल क्षेत्र भ्रमण गराएको छु। संसदको उपसमितिको प्रमुख र सभापति भएर म आफैँले धेरैपटक विमानस्थल क्षेत्रको निरीक्षण गरेको छु। यो क्षेत्रको विकास सँगै राष्ट्रिय अर्थतन्त्रमा निजगढ विमानस्थल र फास्ट ट्रयाकले निकै ठूलो प्रभाव पार्ने हुनाले यसको निर्माणमा मेरो जोड धेरै ठूलो छ। 

काठमाडौंको विमानस्थल नै काफी छ, निजगढमा यत्रो खर्च गरेर किन अर्को विमानस्थल चाहियो भन्ने मत पनि छ नि?
काठमाडौंका विमानस्थल साँघुरो भइसक्यो। घन्टौँ आकाशमै जहाज होल्ड गर्नुपर्ने अवस्था छ। निजगढ विमानस्थल बन्यो भने काठमाडौं विमानस्थलको ट्राफिक चाप कम हुन्छ। निजगढ विमानस्थल र फास्ट ट्रयाकको काम जतिसक्दो चाँडो पूरा हुनुपर्छ। त्यसका लागि सबैले चासो देखाउनुपर्छ। छिटो र राम्रो ढंगले यी दुई आयोजनाको काम अघि बढाउनुपर्छ। कामको प्राथमिकता निर्धारण गरेर हामी अघि बढ्नुपर्छ। यो क्षेत्रको विकास कसरी गर्न सकिन्छ, रोजगारी कसरी सिर्जना गर्न सकिन्छ, अर्थतन्त्रलाई कसरी अघि बढाउन सकिन्छ, नेपालीहरूलाई कसरी सम्पन्न बनाउन सकिन्छ, शिक्षाको अवस्था कसरी सुधार गर्न सकिन्छ भनेर म चिन्तन गरिरहेको छु। यस्ता विषयलाई हामीले आफ्नो घोषणापत्रमा पनि समेटेका छौँ। 

नेपालखबर स्थलगत रिपोर्ट :

चितवन १ विश्वसँगै स्वर्णीम मैदानमा उत्रिए रोकिन सक्छ सुरेन्द्र पाण्डेको ‘ह्याट्रिक’

चितवन २ : दलभन्दा बलिया रवि लामिछानेलाई कस्न एउटै रणनीति अपनाउँदै गठबन्धन र एमाले

चितवन ३ : प्रचण्डलाई हराउने ओली–कोइराला रणनीति कांग्रेसले डेढ वर्षपछि मात्रै थाहा पाएपछि

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .