ad ad

राजनीति


‘रेड जोन’ मा उपेन्द्र यादव, हार टार्न जातीय ‘गुहार’

‘रेड जोन’ मा उपेन्द्र यादव, हार टार्न जातीय ‘गुहार’

जेवी पुन मगर
कात्तिक २२, २०७९ मंगलबार २१:०, राजविराज

संघीयता र मधेश प्रदेशको ‘प्राधिकार‘ का रुपमा आफूलाई स्थापित गराउन कटिबद्ध मधेश आन्दोलनका जोधाहा पहिचानवादी नेता उपेन्द्र यादव यसपालि गहिरो संकटमा देखिन्छन्। यसअघिका लगातार ३ वटा चुनाव (०६४, ०७० र ०७४) जितेर निरन्तर उच्च पदमा आसीन यादव एक सय जनाभन्दा बढीको ज्यान गएको मधेश आन्दोलनको नेतृत्वकर्ता पनि हुन्।

उनी सप्तरी २ मा उम्मेदवार छन्।

अन्य प्रदेशमा सरकार फेरिँदा समेत मधेश प्रदेशको राजकाजमा सिंगो कार्यकाल टिकेको जनता समाजवादी पार्टीका अध्यक्ष यादवको दललाई यसपालिको चुनावमा ‘साइजमा ल्याउन’ गरिएको ‘चौतर्फी घेराबन्दी’ का कारण उनी संकटमा परेका हुन्। बदलिँदो राजनीतिले मधेशका शक्तिशाली नेता उपेन्द्रको अवस्था बिग्रिएको छ।

त्यसैले ‘उपेन्द्रले जसरी पनि जित्नुपर्छ’ भन्ने शक्ति र ‘उपेन्द्रको शक्ति जसरी पनि नास हुनुपर्छ’ भन्ने शक्तिबीच अघोषित र अदृश्य रणमैदान बनेको भान हुन्छ राजविराज। सबैको नजर उपेन्द्रको निर्वाचन क्षेत्रमा रहेकोले सामान्यतः यसअघि प्रदेश राजधानी जनकपुरमा हुने चुनावी सरगर्मी यसपालि सप्तरीको राजविराजमा सरेको देखिन्छ। 

चुनावी पर्यवेक्षकका नाममा आउने अधिकारकर्मी, सुरक्षा संयन्त्रका टोली, सञ्चारकर्मी र गैरसरकारी संस्थाको ब्यानरमा पुरानो सहरभित्र छिरिरहेका विभिन्न देशका कूटनीतिक नियोगका आगन्तुकहरुले साँघुरो राजविराजको चहलपहल निकै बढाइदिएका छन्। २० कात्तिकमा हामी राजविराज पुग्दा सहरभित्र भएका सीमित गेस्टहाउस सबै भरिभराउ थिए।

नेपाल पत्रकार महासंघ सप्तरीका सभापति श्रवण देवलाई तिनको व्यवस्थापन गर्न भ्याइनभ्याई थियो। महासंघका कार्यकक्षमा भेटिएका उनी भन्दै थिए, ‘बाहिरबाट आउने पाहुनालाई यादवको चुनावी क्षेत्रको ब्रिफिङ गर्दैमा दिन बित्दो छ। एक सातादेखि आफूले केही लेख्नै पाइएको छैन।’

उपेन्द्रले ‘जित्ने हार्ने’ प्रश्नका कारण सिर्जना भएको सुरक्षा थ्रेटले सुरक्षा संयन्त्रको समेत विशेष ध्यान यो क्षेत्रमा छ। निर्वाचनको बेला सिमाना पारिबाट हुनसक्ने सुरक्षा थ्रेटलाई ध्यानमा राखी सीमा सुरक्षा बललाई विशेष सतर्कता अपनाउन निर्देशन दिइएको छ।

सीमा सुरक्षा लगायत मधेश प्रदेश हेर्ने महोत्तरी बर्दिवासमा अवस्थित सशस्त्र प्रहरी बलको मुख्यालयका बाहिनीपति गणेश ठाडा मगर भन्छन्, ‘सुरक्षा थ्रेटको हिसाबले अन्य प्रदेशको तुलनामा मधेश प्रदेश संवेदनशील भएकोले हाम्रो विशेष ध्यान हुने नै भो।’ 

मधेशको राजनीतिक, साँस्कृतिक, सामाजिक र सुरक्षा अवस्थामाथि नै प्रभाव पार्नेगरी उपेन्द्र यादवको जितहारसँग जोडिएका केही यस्ता विषय छन् जसले भोलिको राजनीतिक परिदृश्य नै बदलिदिने सामथ्र्य राख्दछ। शान्तिपूर्ण राजनीति भनिए पनि अस्त्रबलबाट सत्ताको सोपान टेकेका जसपाका प्रमुख उपेन्द्र र झापा विद्रोहले जन्माएका तथा राजनीतिक जोडघटाउका निम्ति ‘जस्तो पनि रणनीतिक हत्कण्डा अपनाउन सक्ने’ एमाले अध्यक्ष केपी ओलीबीच समान चारित्रिक विशेषता रहेको विश्लेषण गर्दै राज्यसंयन्त्रको विशेष ध्यान यो क्षेत्रमाथि छ। 

आजभन्दा १६ वर्षअघि रौतहटको गौरमा उपेन्द्र यादवले नेतृत्व गरेको तत्कालीन मधेशी जनअधिकार फोरमका कार्यकर्ताहरुले माओवादीको योङ कम्युनिस्ट लिगका २७ कार्यकर्ताहरुको हत्या गरेपछि उपेन्द्र राष्ट्रिय राजनीतिको रिङभित्र छिरेका थिए। यो हत्याकाण्डलाई यादव इतरका दल र विश्लेषकले ‘गौर नरसंहार‘ को रुपमा व्याख्या गर्छन् भने यादव सहितका मधेशवादी दलले यसलाई ‘राजनीतिक घटना’ को नाम दिन्छन्। 

त्यो नरसंहारविरुद्ध उपेन्द्रसहित ११३ जनाविरुद्ध परेको कर्तव्य ज्यान मुद्दाको छिनोफानो अझै भइसकेको छैन। बरु त्यसयता उपेन्द्र हरेक पटक संसदीय निर्वाचनमा जनमत लिई राष्ट्रिय राजनीतिमा बलियो हुँदै गए।

यसपालि उपेन्द्र चौथौ चोटि चुनावी मैदानमा उत्रिएका छन्। 

‘मधेशका दुश्मन’ सँग गठबन्धन
त्यसो त उपेन्द्र सधैँ चर्चामा रहिरहने पात्र हुन्। तर आफैँले दुश्मन भनेर चिनाएको पात्र ओलीसँग गठबन्धन गर्ने निर्णय लिएयता उनी मधेशभरि बहसको केन्द्रमा देखिन्छन्।

वाम–लोकतान्त्रिक गठबन्धनको सरकारले संसदमा पेस गरेको ‘नागरिकता विधेयक २०७९’ लाई प्रतिपक्षी दल एमालेले रोक्न खोजेको भन्दै जसपाले राजविराज सहित मधेश प्रदेशका सबै जिल्लामा अध्यक्ष ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको समेत पुत्ला जलाएको थियो। तर केही सातापछि आफ्ना अध्यक्ष यादव र एमालेका अध्यक्ष ओली कुममा कुम जोड्दै ‘चुनावी सहकार्य गर्ने निर्णय गरिएको’ भन्दै सार्वजनिक मञ्चमा खिचिएका तस्बिर र भिडिओ सञ्चारमाध्यममा देखेपछि उनका कार्यकर्ता स्तब्ध भए। 

हिजोसम्म उपेन्द्र स्वयंले एमाले र त्यसका नेता ओलीलाई ‘मधेशको दुश्मन’ भन्दै आन्तरिक प्रशिक्षण र सार्वजनिक भाषण मार्फत आफ्ना कार्यकर्तालाई ‘वर्ग विश्लेषण’ पढाएका थिए। त्यही नेताले संघीय निर्वाचनकै मुखमा लिएको चुनावी रणनीतिको अन्तर्यमा निकै भिन्नता भेटेपछि कार्यकर्ता मात्र होइन, मतदाता पनि रुष्ट देखिन्छन्। मधेश आन्दोलनताका ‘मधेशका दुश्मनलाई प्रवेश निषेध’ भन्दै मधेश प्रदेशमा ओली आमन्त्रित सार्वजनिक कार्यक्रममा ढुंगामुढा गर्न पठाइएका कार्यकर्ताहरु ‘ओलीसँग घाँटी जोडेर’ कसरी मतदातामाझ जान सकिन्छ भन्दै निकै न्यास्रो व्यक्त गरिरहेका छन्।

उनीहरुको कुरा सुन्दा नेतृत्वले लिएको निर्णयका कारण जसपाका कार्यकर्ताको मनोबल खस्किएको देखिन्छ।

हुन त यसअघि पनि उपेन्द्रले ओलीको नेतृत्वमा बनेको वाम गठबन्धनको सरकारमा भाग लिएका थिए। जसलाई उनले ‘सत्ता उपयोगको रणनीति’ भनेका थिए। त्यो सत्ता बाँडफाँटको प्रश्न भएकोले उनको त्यो निर्णयमाथि धेरै प्रश्न उठेको थिएन। तर, यसपालि निर्वाचनमै गठबन्धन गरिदिएपछि अप्ठेरोमा परेका कार्यकर्ताले राजविराजमा मात्र होइन, मधेशमै उत्साह जगाउन सकिरहेका छैनन्।  

नेतृत्वको निर्णयबाट असन्तुष्ट जसपाका एकजना नेता भन्छन्, ‘गठबन्धन सम्बन्धी यस्तो अप्रिय निर्णय पहिल्यै गरेको भए मतदातालाई कन्भिन्स गर्न सकिन्थ्यो। अन्तिम समयमा भएकोले समय नै पर्याप्त पाइएन।’

कमजोर जसपा 
२०७४ सालको निर्वाचनमा जसपा अध्यक्ष यादवले २१ हजार ६ सय २० मत ल्याएर माओवादी केन्द्रका नेता उमेशकुमार यादवलाई पराजित गरेका थिए। त्यतिबेला दुई मधेशवादी दल राष्ट्रिय जनता पार्टी (अहिलेको लोकतान्त्रिक समाजवादी पार्टी) र संघीय समाजवादी पार्टी (अहिलेको जनता समाजवादी पार्टी) को गठबन्धन थियो भने दुई वाम दल एमाले र माओवादीले गठबन्धन गरेका थिए। 

एकातर्फ भर्खरभर्खर तेस्रो मधेश आन्दोलन सकिएकोले त्यसको राप र ताप थियो भने अर्कोतर्फ दुवै मधेशवादी दलबीच चुनावी मोर्चा बनेकोले बलियो शक्तिको रुपमा मैदानमा थियो। त्यसैले वाम गठबन्धनका उमेशले ११ हजार ५ सय ८० मत मात्रै ल्याउन सकेका थिए।

०७४ को निर्वाचनमा मधेशवादी दलहरु आन्दोलनको बलमा कति बलिया भएका थिए भन्ने दृष्टान्त हो– बागी जयप्रकाश ठाकुरले प्राप्त गरेको मत। गठबन्धनले उपेन्द्र यादवलाई टिकट दिएपछि पार्टीबाट विद्रोह गरी राजपाका नेता ठाकुरले स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनले पनि ९ हजार ४५९ हजार मत पाएका थिए। ठाकुर अहिले लोसपामा छन् र यसपालिको चुनावमा सत्ता गठबन्धनबाट उपेन्द्रसँग उनै प्रतिस्पर्धा गर्दैछन्। 

त्यसबेला कांग्रेसका सकलदेव सुतिहारले जम्मा १८४० मत मात्र पाएका थिए। 

तर, मधेशवादी दलको यस्तो जनाधार स्थानीय निर्वाचनसम्म कायम रहन सकेन। उपेन्द्रको क्षेत्रमा रहेका एक नगरपालिका र ३ गाउँपालिकामध्ये उनको दलले राजविराज नगरपालिको नेतृत्व मात्र पायो भने अन्य पालिकाहरुमा पराजय बेहोर्यो। उल्टै राजविराजकै रंगशाला निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा विजयी मेयर शम्भु यादवलाई जितेको दुई महिना नकट्दै निलम्बन गरियो।

जयप्रकाश ठाकुर

सीके राउत

बलिया विपक्षी
हामीले भेटेका धेरै कार्यकर्ताहरुका भनाइमा वाम–लोकतान्त्रिक गठबन्धनसँग कुरा बिग्रिए पनि यदि जसपाले एक्लै चुनाव लडेको भए यसपालि राम्रो सिट ल्याउन सक्थ्यो। त्यसका कारण जनताको मनोभाव मात्र नभई गएको स्थानीय निर्वाचनलाई पनि आधार बनाइएको देखिन्छ। गएको वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट पालिकाको नेतृत्व नपाए पनि वडागत मतलाई आधार मान्ने हो भने जसपाले यो क्षेत्रमा सबैभन्दा बढी ल्याएको देखिन्छ।

वडामा जसपाले १४ हजार ४ सय ३ मत पाएको थियो। कांग्रेसले १० हजार ८०७ र लोसपाले १० हजार ४ सय ३५ मत पाएको थियो भने माओवादी केन्द्रले ९ हजार ५३४ र एमालेले ५ हजार ९५१ मत पाएको थियो। सीके राउतको जनमत पार्टीले ४ हजार ५४२ मत प्राप्त गरेको थियो। 

गएको प्रतिनिधि सभा निर्वाचनमा एक्लै राम्रो मत ल्याएका लोसपाका नेता ठाकुरलाई उपेन्द्रका सबैभन्दा ठूला प्रतिस्पर्धी मानिएको छ। यसअघि हार्दैआएका र अहिले तेश्रो पटक प्रतिस्पर्धामा उत्रिएका उनलाई यसपालि गठबन्धन दलको समर्थन प्राप्त भएकोले पनि उनी त्यसै बलिया भएको भनिँदैछ। 

ठाकुरबाहेक उपेन्द्रको चुनौती ठानिएका अर्का उम्मेदवार हुन् सीके राउत। जो पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। देहात क्षेत्रमा उनले निकै राम्रो संगठन बनाएको विश्वास गरिन्छ।

जितेपछि फर्किएर नआउने भनी मतदातामाझ आलोचित उपेन्द्रलाई मतदान गर्नुभन्दा एकचोटि नयाँ अनुहारलाई हेरौँ न भन्नेहरु पनि ठूलो संख्यामा देखिन्छन्। निकै पढेका र एक्लै मैदानमा उत्रिएका भन्दै राउतको पक्षमा जनमत बढेको बताइन्छ। 

राजविराजको सखडामोडकी फलफूल व्यवसायी सीतादेवी मण्डल भन्दै थिइन्, ‘जो नेता गए पनि केही काम नगर्दा रहेछन्, बरु यसपालि सीके राउतलाई दिएर हेरौं न भनी घरसल्लाह भएको छ।’ 

तर स्थानीयमा राउतबारे बनेका धारणा सबै राम्रा छैनन्। मधेशमा उनलाई ‘पश्चिमा एजेन्ट’ भनेर दुष्प्रचार गरिँदै आएको छ।

उपेन्द्र पनि बाह्य कारणले समेत झमेलामा छन्। एकथरीले उनलाई ‘चिनियाँ एजेन्ट’ भन्न थालेका छन्। कतिसम्म भने उनी उत्तरतिर ढल्केको भन्दै उपेन्द्रलाई हराउन दक्षिणी शक्ति लागिपरेको चर्चा राजविराजमा हुन थालेको रहेछ। यतिधेरै प्रतिकूलताका माझ उपेन्द्रले यो चुनावी किल्लामा कसरी विजय हासिल गर्लान् त?

अन्तिम अस्त्र जातीयता
सत्ता अंकगणितमा चतुर उपेन्द्र यादवले यो निर्वाचनमा आफ्नो अवस्था कमजोर रहेको राम्ररी बुझिसकेका छन्। त्यसैले चुनाव नजिकिँदै गर्दा उनी यादवहरुको जनघनत्व रहेको आफ्ना क्षेत्रमा केन्द्रित भएका छन्। उनी ‘भाइ–भतिज, मामा–भान्जा’ परिचालन गरेर अन्तिम चोटि ‘जसरी पनि जिताई कुलको इज्जत जोगाइदिनुपरयो’ भन्दै जातीय ‘गुहार’ माग्दै हिँड्न थालेका छन्। 

कतिपयमा भनाइमा अन्तिममा उपेन्द्रको यो अस्त्रले काम गर्ने सम्भावना पनि छ। मधेशमा उच्च जातीय समुदायमा पर्ने ठाकुरलाई दिनुको साटो आफ्नो कूलमा मतदान गरौँ भन्ने लहर यादव जातिमा चले त्यसले उपेन्द्रलाई फाइदा गर्ने सम्भावना छ।

थरगोत्रको राजनीति चल्ने छिमेकी बिहारसँग जोडिएको मधेश प्रदेशमा पनि यसलाई प्रभावकारी अस्त्र मानिन्छ। सबै दलमा संगठित यादवले के निर्णय गर्छन् त्यसले आफ्नो जितहारको निर्धारण गर्नै हुँदा उपेन्द्र अहिले जातीयताको फेरो दह्रोगरी समाउन उद्यत देखिन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .