ad ad

राजनीति


प्रचण्डलाई हराउने ओली–कोइराला रणनीति कांग्रेसले डेढ वर्षपछि मात्रै थाहा पाएपछि

प्रचण्डलाई हराउने ओली–कोइराला रणनीति कांग्रेसले डेढ वर्षपछि मात्रै थाहा पाएपछि

जेवी पुन मगर/सागर न्यौपाने
कात्तिक १७, २०७९ बिहिबार २१:४३, भरतपुर

काठमाडौँजत्तिको चिसो छैन चितवन। दिउँसो त बाहिर निस्कनै मुस्किल पर्ने चर्काे घाम छ, यहाँ। तर ३ नम्बर क्षेत्रमा चुनावी रापताप अझै बढिसकेको छैन। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोर्खा नगइदिएको भए यतिञ्जेल यहाँका बजार, गल्ली र चोकलाई चुनावले छोपिसक्थ्यो। देशभित्रको मात्र नभई विभिन्न मुलुकका मानिसको ध्यान क्षेत्र नम्बर ३ मै हुन्थ्यो। प्रचण्डलाई जिताउने–हराउनेहरुको डेरा बनिसकेको हुन्थ्यो चितवन। 

तर, त्यसो भएन। प्रचण्डले यो ठाउँ छाडे र गोरखा पुगेर उम्मेदवारी दिए।

राजनीतिक चौघेरा साँघुरिदै गएको भनिए पनि सत्ता राजनीतिको जोडघटाउमा अद्यापि निर्णायक भूमिकामा रहेका प्रचण्डले ‘पालनपोषण’ गर्दै हुर्काइरहेको भरतपुर महानगरपालिकाभित्र पर्ने निर्वाचन क्षेत्र नम्बर ३ केही वर्षयता नेपाली राजनीतिमा चर्चा शिखरमा थियो। केन्द्रमा हस्तक्षेप गर्नसक्ने प्रचण्डजस्ता नेता चितवनको प्रतिनिधि हुँदा यहाँको विकास निर्माणमा सघाउ पुग्ने अपेक्षा थुप्रैलाई थियो।

नेपाली कांग्रेस जिल्ला समिति उपसभापति राजीव न्यौपानेको भनाइमा यो क्षेत्रबाट प्रचण्ड उठ्नु र नउठ्नुले निकै ठूलो फरक पार्ने थियो। तर प्रचण्डले ‘कांग्रेसभित्रको आन्तरिक किचलोका कारण हारिन्छ भन्ने विश्लेषण गरेर चितवन छाडेपछि’ त्यस्तो अपेक्षा राख्ने चितवनबासीहरु खिन्न हुन पुगेका छन्। जबकि प्रचण्डले यो क्षेत्रलाई दिएको महत्वको आधारमा उनले यसलाई ‘जीवनमरण’ को सवाल बनाएको टिप्पणी पनि गरिन्छ।

प्रचण्ड हिंडेपछि गठबन्धनको तर्फबाट माओवादीका डा. भोजराज अधिकारीलाई उम्मेदवारी बनाइएको छ। गएको स्थानीय निर्वाचनमा प्रचण्डपुत्री रेनु दाहाललाई जिताउने अभिभारा बोकेका राजीव सहितका कांग्रेस नेताहरुको काँधमा अहिले उनै डा. भोजराजलाई जिताउने अभिभारा छ। तर यो अभिभारा फत्ते गर्न सोचेजस्तो सहज छैन भन्ने उनलाई राम्ररी थाहा छ। 

त्यसका केही कारण छन्– एकातर्फ गएको स्थानीय निर्वाचनमा १४ हजार ७२८ मत ल्याएर आफूलाई राजनीतिक डिस्कोर्समा स्थापित गराउन सफल कांग्रेसका विद्रोही जगन्नाथ पौडेल यसपालि पनि मैदानमा उत्रिएका छन् भने अर्काेतर्फ कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले विद्रोह गरी एमालेको समर्थनमा गठबन्धन विरुद्ध उम्मेदवारी दर्ता गराएका छन्। 

प्रचण्डलाई हराउने योजना बमोजिम जिल्ला अध्यक्ष समेत रहेका रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता गराएर एमालेले कोइरालालाई सहयोग गर्ने भएपछि प्रचण्डले चितवन छाड्नु परेको बताइन्छ। विद्रोही कोइरालाले डेढ वर्षदेखि एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर भित्रभित्रै प्रचण्डलाई हराउने रणनीतिमा काम गरिरहेको कांग्रेसको स्थानीय नेतृत्वले निकै पछि मात्र पत्तो पायो। 

उपसभापति राजीव न्यौपाने भन्छन्, ‘दिनेशजीले केपीको मोहरा बनेर पार्टीको आन्तरिक संगठन छिन्नभिन्न बनाउने प्रयत्न गरे। यो सूचना केन्द्रीय नेतृत्वले थाहा पाएपछि प्रचण्डजीलाई चितवन छाड्न भनिएको हुनुपर्छ।’

भिडओ :
कांग्रेसका विद्रोही उम्मेदवार कोइराला बालकोटकै चक्कर लगाइरहेका छन् : राजिव न्यौपाने, उपसभापति नेका चितवन

कांग्रेसको विद्रोही भएकोले त्यहाँभित्रबाट असन्तुष्ट पक्षको मत तान्ने र यता एमालेको मत लिएर कोइरालालाई जिताउने उनीहरुको रणनीति थियो। चितवनमा केन्द्रीय नेतृत्वले जहिले पनि अर्काे दलको उम्मेदवारलाई मतदान गर्न निर्देशन दिएको भन्दै गठबन्धनविरुद्ध नेपाली कांग्रेसभित्र ठूलो आक्रोश छ। त्यो आक्रोश गएको स्थानीय निर्वाचनमा जगन्नाथलाई मतदान गरेर पोखिएको थियो। अहिले पनि त्यही इतिहास दोहोरिनेमा नेपाली कांग्रेस सचेत देखिन्छ। 

त्यसैले उसले एमालेको समर्थनमा उठेका कोइरालाविरुद्ध आक्रामक प्रचारबाजी गरिरहेको छ। एमालेले बनाएको वडा नम्बर १५ स्थित मंगलपुरमा खोलेको निर्वाचन परिचालन सम्पर्क कार्यालयको ब्यानरमा दिनेश कोइरालालाई पनि एमालेले आफ्नो उम्मेदवारको रुपमा प्रस्तुत गरेको छ। यसलाई कांग्रेसको स्थानीय नेतृत्वले आफ्नो पक्षमा उपयोग गर्नेगरी प्रचार गरिरहेको छ।

त्यसैले गठबन्धनभित्रका दलहरु के कुरामा विश्वस्त छन् भने दिनेशले कांग्रेसबाट प्रचार गरिएजति मत तान्ने अवस्था तत्काल देखिँदैन। उता आफ्नो उम्मेदवार भएको भए ‘निश्चित रुपमा जित्ने’ आकलन गरेर बसेको एमालेका कार्यकर्ताहरु प्रचण्ड हिँडिसकेपछि पनि कोइरालालाई नै समर्थन गरिरहेकोमा असन्तुष्ट देखिन्छन्।

एमालेका एक जिल्ला नेता भन्छन्, ‘कोइरालाले एमालेको पचास प्रतिशत मात्र मत पाउने हुन्।’ 

एकातर्फ नेपाली कांग्रेसले माओवादी उम्मेदवार जिताउने अभिभारा बोकेको छ भने अर्काेतर्फ एमालेले कांग्रेसकै विद्रोही उम्मेदवारलाई संसद् पठाएर गठबन्धनविरुद्ध गतिलो सन्देश दिने तयारी गरेकोले चुनाव रोचक हुने अनुमान गरिएको छ। दुई पक्षबीच चलिरहेको यो खेलमा गएको स्थानीय निर्वाचनमा घाँडो भएका विद्रोही जगन्नाथ यसपालि भने गठबन्धनका निम्ति बरदान सावित हुने विश्लेषण सहित उनको निकै खातिरदारी चलिरहेको छ। 

दिनेशलाई जाने असन्तुष्ट मत जगन्नाथले ‘होल्ड’ गरिदिए एमालेको चुनावी चतुर्याइँ बल्ड्याङ खाने गठबन्धन दलका चुनावी रणनीतिकारहरुको विश्लेषण छ। त्यसैले यसपालि जगन्नाथ गठबन्धनका प्रिय पात्र हुन पुगेका छन्। सँगसँगै नेपाली कांग्रेसको स्थानीय सांगठनिक संरचना असन्तुष्ट मतदाता फकाउन तल्लो तहसम्मै परिचालन गरिएको उपसभापति राजिव बताउँछन्।  

उनी भन्छन्, ‘हाम्रो अभियानले काम गरेको छ। ती ठिक ठाउँमा आइरहेका छन्।’

विक्रम पाण्डे कति बलिया?
एकातर्फ एमालेको डेढ वर्षदेखिको रणनीतिक तयारी, अर्काेतर्फ कांग्रेसको अनुभवी तिकडम। कतै यी दुई साँढेको जुधाइको फाइदा मतको आधारमा बाच्छाको रुपमा देखिएको राप्रपाका विक्रम पाण्डेले उठाउने त होइनन्? धनधान्यको हिसाबले सम्पन्न यस क्षेत्रका प्रभावशाली व्यवसायी पाण्डे २०७० सालमा एमालेका दानबहादुर तामाङलाई पराजित गरी संसदमा पुगेका व्यक्ति हुन्। 

तिनै पाण्डेलाई ७४ को निर्वाचनमा कांग्रेसले समर्थन गरेको थियो भने एमालेले प्रचण्डलाई काँध थापेको थियो। त्यो प्रतिस्पर्धामा एमालेको सहयोगमा प्रचण्डले ४८ हजार २७६ मत ल्याई पाण्डेलाई भारी मतअन्तर (२८,९३५ मत) ले हराएका थिए। त्यतिबेला प्रचण्डसँग पाण्डेलाई भिडाउने कांग्रेस यसपालि माओवादीको उम्मेदवार बोकी पाण्डेसँग सिङ लडाउन तम्तयार छ। ‘पैसा पेलेर मत किनबेच गर्नसक्ने‘ खुबी भएका पाण्डेको अस्तित्वलाई पनि कम आँक्न नहुने केही मानिसको तर्क छ।

रामपुर कृषि क्याम्पसमा प्राध्यापन गरिरहेका प्राध्यापक तथा रामपुर क्याम्पसमा पढ्दाताका प्रचण्डका सहपाठी श्रवणकुमार साह सिद्धान्त र निष्ठा त्यागिसकेका सबै दलको रुपरङ एउटै भएकोले मतदाताले कसले कसलाई मतदान गर्छन्, अहिल्यै केही भन्न सकिने अवस्था नरहेको टिप्पणी गर्छन। तर उनी के कुरामा ढुक्क देखिन्छन् भने यसपालि आफ्नै उम्मेदवार नभएका दलका उम्मेदवारलाई पार्टी नेतृत्वले निर्देशन दिएको भरमा शतप्रतिशत मत खस्ने सम्भावना चाहिँ छैन।

उनको बुझाइमा न एमालेको सबै मत कोइरालालाई जान्छ न कांग्रेसकै पुरै मत डा. अधिकारीको पोल्टामा खस्छ। रामपुरस्थित परीक्षा नियन्त्रण कार्यालयमा भेटिएका साह भन्छन्, ‘यसपालि मतदाता पुरै अन्यौलमा छन्। त्यसैले अहिल्यै केही प्रक्षेपण गर्न सकिने अवस्था देखिँदैन।’

निकै चर्काचर्की परेको गएको स्थानीय निर्वाचन परिणामले यस क्षेत्रमा माओवादीले आफ्नो जनाधार बढाउँदै गइरहेको देखाउँछ। कहिले एमालेसँग त कहिले कांग्रेससँग सहकार्य गर्दै माओवादीले कांग्रेस र एमालेको गढमा आफ्नो उपस्थिति बनाउँदै लगिरहेको छ। गएको स्थानीय निर्वाचनको आँकडाले त्यो तथ्य बुझाउन अझ सजिलो बनाउनेछ। 

वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा गठबन्धनले ४३ हजार ९४८ मत पाएको थियो। एमालेले ३२ हजार ३८ मत पाउँदा राप्रपाले ६ हजार ४१५ र स्वतन्त्र उम्मेदवारले एक हजार ४२३ मत ल्याएका थिए। माडी नगरपालिका छोडेर हेर्दा पनि भरतपुर महानगरका २० वडाबाट गठबन्धनले ३६ हजार ४६३ मत पाउँदा एमालेले २६ हजार ८४० मत पाएको थियो। यस्तै राप्रपाले एक हजार ९२८ मत पाएको थियो।

कांग्रेसले ११, माओवादी केन्द्रले तीन र एकीकृत समाजवादी पार्टीले दुई वडा जित्दा एमालेले ३ वटा वडा जितेको थियो।

माडी नगरपालिका प्रमुख एमालेले जितेको छ। एमालेले त्यहाँबाट ५,१९८ मत पाउँदा गठबन्धनले सात हजार ४८५ मत पाएको छ। गठबन्धनमा माओवादीले ४, समाजवादीले २ र एमालेले १ वडा जितेको थियो। २ वडा जितेको राप्रपाले पनि माडीबाट मात्रै चार हजार ४८७ मत पाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .