ad ad

राजनीति


दलभन्दा बलिया रवि लामिछानेलाई कस्न एउटै रणनीति अपनाउँदै गठबन्धन र एमाले

दलभन्दा बलिया रवि लामिछानेलाई कस्न एउटै रणनीति अपनाउँदै गठबन्धन र एमाले

जेवी पुन मगर र सागर न्यौपाने
कात्तिक १८, २०७९ शुक्रबार २२:४३, भरतपुर

काठमाडौँका सभा–सेमिनारका ‘साइड टक’ र सम्पादकहरुमाझ चल्ने गफका आधारमा मात्र नभई राज्यका गुप्तचर संयन्त्रहरुले संकलन गरेको सूचना ‘ब्रिफिङ’ मा समेत चितवन–२ मा यसपालि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सबैलाई ‘बढार्ने’ विश्लेषण सुनिरहेका थियौँ हामीले। त्यसैले उनको चुनावी मैदानमा पुग्न हामीलाई आतुरी थियो।

१७ कात्तिकको सखारै नेपालखबर टिम सदा चर्चामा रहन रुचाउने रविको निर्वाचन क्षेत्र २ र नेकपा माओवादी अध्यक्ष प्रचण्डको पूर्व निर्वाचन क्षेत्र ३ को साँधमा पर्ने वडा नम्बर ३ स्थित बेलचोकमा थियौँ। रविका समर्थकहरु बेलचोकमा भेला भई दिनहुँ बिहान ६ देखि ७ः३० बजेसम्म देशमा ‘आमूल परिवर्तन ल्याउने भव्य बहस चलाउँछन्’ भन्ने सूचना हामीलाई दिइएको थियो। त्यसैले बेलचोकको आँझीझ्यालबाट हामी रविको चुनावी क्षेत्रको अध्ययन गर्न चाहन्थ्यौँ।

अघिल्लो दिनसम्म सामसुम चितवनमा निर्वाचन आयोगले १७ गतेदेखि प्रचार फुकुवा गरिदिएकोले बिहानैदेखि माइकमा चुनावी गीत घन्किन थालिसकेको थियो। ‘लोकतान्त्रिक–वाम गठबन्धन’ का स्थानीय नेता कार्यकर्ताहरु घरदैलोमा मत माग्दै हिँडिरहेका थिए। हामीले बेलचोकमा रहेका पसलेसँग चुनावबारे मुख मात्र के खोलेका थियौँ, उनले लय पक्रिहाले– ‘खै यसपालि त सबै घण्टी बजाउने हो भन्छन्।’

उनको भनाइलाई थप बलियो बनाए, सँगैको महावीर हेयर कटिङ एन्ड सैलुनका सञ्चालक चन्द्रिका ठाकुरले। 

उनले भने, ‘यहाँ भेला हुने दाइहरुले रवि दाइको विरोध गर्नेलाई त धपाइ पनि हाल्छन्।’ 

खुल्दै जाँदा थाहा भयो, रवि लामिछानेको महिमागान गरिरहेका पसले कृष्णप्रसाद अधिकारी (६९ वर्ष) नेपाली कांग्रेसका सक्रिय सदस्य नै रहेछन्। त्यतिन्जेल उनकी श्रीमती देवमाया (५९ वर्ष) पनि रविको गुनगान गाउँदै हामीसँग जोडिइसकेकी थिइन्। चुनावी प्रचारमा आएका रविलाई घरमै बोलाएर चिया पकाएर खुवाइवरी फूलको गुच्छा दिएको र रविसँग स–परिवार फोटो खिचाएकी देवमायाले भनिन्, ‘रविलाई फसाएर चितवनको जेलमा राख्दा हामी ३ रात नसुतेर धर्नामा बसेका हौँ। मेरो मुटुमा छन् रवि।’ 

३ वर्षअघि रविका सहकर्मी शालिकराम पुडासैनीले चितवनको होटलमा आई आत्महत्या गरेपछि ‘आत्महत्या दुरुत्साहन’ को अभियोगमा रविलाई दस दिन हिरासतमा राखिएको थियो। त्यतिबेला आफ्नो टेलिभिजन शोमार्फत चर्चा कमाएका रविको समर्थनमा चितवन र वरपर जिल्लाका समर्थकहरु ओर्लिएर उनलाई राखिएको कारागारबाहिर अनशन बसेका थिए। देवमायाको भनाइमा त्यसबेलादेखि चितवनमा रविको लोकप्रियता झन् बढ्न गएको हो। रविले यसपालिको निर्वाचनमा त्यही भावनालाई मतमा रुपान्तरित गर्न खोजेका हुन्।   

७४ सालको प्रतिनिधि सभा निर्वाचनमा आफ्ना नेता शेरबहादुर देउवा प्रचण्डसँग कुम जोड्दै हँसियाहथौडामा भोट हाल्नोस् भन्दै दैलोमा आएपछि बिच्किएका यी दम्पतीले गत जेठमा भएको स्थानीय निर्वाचनमा गठबन्धनविरुद्ध खडा भएका नेपाली कांग्रेसका विद्रोही उम्मेदवार जगन्नाथ पौडेललाई भोट हालेका रहेछन्। यसपालि रविलाई मतदान गर्न तम्सिएका दम्पतीलाई हामीले सोध्यौँ, ‘अघिल्लो चुनावमा त माओवादीका उम्मेदवार थिए, यसपालि आफ्नै पार्टीका नेता उमेश श्रेष्ठ हुँदाहुँदै किन रविलाई भोट?’ 

कृष्णप्रसादको निर्धक्क जवाफ थियो, ‘उमेश कस्ता छन् अहिलेसम्म मुख देखिएको छैन। रवि त दुईदुई चोटी घरमै आइसके।’ 

कुरा गर्दै जाँदा हाम्रा वरपर नजिकै खाद्यान्न पसल चलाइरहेका श्रीकृष्ण लम्साल लगायतका व्यक्तिहरु जम्मा भैसकेका थिए। ती आफ्ना दैनन्दिन समस्याका पोका खोतल्न तल्लीन थिए। ५० रुपैयाँमा पाइने खानेतेल डेढ सय पुगेको र प्रमुख दलहरुको अक्षमता र भ्रष्टाचारका कारण महंगी बढेकोले देशभरबाट रविजस्ता नयाँ जोस बोकेका युवाहरु आए राहत पाइने आश गरेको उनीहरुको भनाइ थियो।

काठमाडौँका बालेन शाह र धरानका हर्क साम्पाङको उदाहरण दिँदै उनीहरु इमान्दार भए दलबिनाका व्यक्तिले पनि राम्रा गर्न सक्दा रहेछन् भन्दै रविबाट त्यस्तै अपेक्षा गरिएको सुनाइरहेका थिए। 

२०२० सालमा नुवाकोटबाट चितवन बसाइँ सर्दा कृष्णप्रसाद ८ वर्षका थिए। पञ्चायतकालीन चुनाव देखेका/भोगेका उनले २०४८ सालयताका निर्वाचनमा नछुटाइकन कांग्रेसलाई मतदान गर्दै आएका थिए। 

उनी भन्छन्, ‘पहिला पनि केही होला भन्ने आशमै भोट हालेका थियौँ तिनले केही गरेनन। यसपालि पनि रविलाई त्यही आशमा भोट दिने हो। कम्तीमा यिनले घन्टी बजाएर बिग्रिएका तिनलाई जगाउलान् कि?’

सम्भावित पार्टी कारबाहीबाट समेत नडराएका कृष्णप्रसाद कांग्रेस नछाड्ने तर भोट रविलाई दिने योजनामा थिए। उनको स्पष्टीकरण थियो– ‘आफ्नो सिद्धान्त नछाडिकनै यसपालि घण्टी बजाउने हो।’

दलहरुको गढ भत्काउँदै रवि
सहरिया क्षेत्र भएकोले २ नम्बर क्षेत्रमा रविको राम्रो आकर्षण देखिन्छ। युवाहरुमाझ त उनी ‘आइडल’ कै रुपमा स्थापित देखिन्छन्। त्यसैले यसअघि विभिन्न दलका र्यालीमा दौडने युवाहरु यसपालि टोलटोलमा घण्टीमा मत माग्दै हिँडिरहेका छन्। १६ कात्तिकमा क्षेत्र नम्बर २ मा पर्ने वडा नम्बर १० स्थित एमालेको वडा कार्यालय अगाडि भेटिएका एकजना नेताको भनाइमा पार्टीमा संगठित युवाहरु आफ्ना उम्मेदवारलाई भोट माग्नुभन्दा रविको घरदैलोमा हिँडिरहेको भेटिएपछि तिनलाई सम्झाउनै समय खर्चिनुपरेको छ। एमालेले यस क्षेत्रमा यसअघि लगातार दुई पटक चुनाव जितेका बलियो उम्मेदवार कृष्णभक्त पोख्रेललाई मैदानमा उतारेको छ भने गठबन्धनले कांग्रेसका केन्द्रीय सदस्य तथा बहालवाला मन्त्री उमेश श्रेष्ठलाई चितवन झारेको छ। 

०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा माओवादीको समर्थनमा उम्मेदवार बनेका एमालेका कृष्णभक्त पोख्रेलले प्रतिद्वन्द्वी कांग्रेसका शेषनाथ अधिकारीलाई भारी मतले पराजित गरेका थिए। पोख्रेलले ४४ हजार ६७० र अधिकारीले २७ हजार ३१४ मत ल्याएका थिए। गएको स्थानीय निर्वाचनमा २ नम्बर निर्वाचन क्षेत्रमा पर्ने १० वटा वडा मध्येबाट ६ वटा वडा (वडा नम्बर १, २, ४, ५, १० र २९) मा नेपाली कांग्रेस, ३ वटा (वडा नम्बर ३, ११ र १२) मा एमाले र एकीकृत समाजवादीले वडा नम्बर ७ जितेका थिए।

राप्रपासँगको तालमेलमा गएको निर्वाचनमा एमालेले सहरी क्षेत्रका वडाहरु र दुर्गम मानिएका इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकामा राम्रो प्रदर्शन गरेको देखिन्छ। यी क्षेत्रमा छरिएर रहेका दलका आस्थावान मतदाताहरुलाई चित्त बुझाई तिनको मत तान्ने अभियानमा रवि चितवनमै डेरा गरी बसेका छन्। र, ‘आमा, दिदी, बहिनी, भाइ, बहिनी’सँग मत मागिरहेका छन्। 

हामीले भेटेजति रविलाई मत दिन्छौँ भन्नेहरु उनको आलोचनामा केही कुरा सुन्न चाहँदैनन्। उनकै समर्थकहरुको विश्लेषणमा क्षेत्र नम्बर ३ मा रविको राम्रो जनाधार छ। तर त्यो क्षेत्रमा उनका ससुरा तथा राप्रपाका नेता उद्धव पौडेलका मित्र विक्रम पाण्डेले उम्मेदवारी दिएकोले रवि २ नम्बर क्षेत्रबाट उठेको ठानिन्छ। यसलाई विपक्षी दलले आफ्नो चुनावी मुद्दा बनाउन खोजेको देखिन्छ।

कांग्रेस जिल्ला उपसभापति राजीव न्यौपाने भन्छन्, ‘रवि चुनाव जित्नका लागि मात्र स्वतन्त्र हुन्, पछि यी पनि रवीन्द्र मिश्रझैँ आफ्ना ससुराको पार्टीमा समाहित हुने सम्भावना बढी छ।’  

रविलाई कस्दै दलीय संरचना
आफ्ना मतदाता मात्र नभई कार्यकर्ता नै रविको प्रचारमा हिँडेपछि दलको नेतृत्वको टाउको दुख्नु स्वाभाविक पनि हो। यसलाई आफूहरुले गम्भीर रुपमा लिएर ‘एक्सन’ मा समेत गैसकेको बताउने एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने भन्छन्, ‘रविको माहोल २५ गतेसम्म मात्र हो। त्यतिन्जेल हामी सबै म्यानेज गरिसक्छौँ।’

उनले भनेको ‘म्यानेजमेन्ट’ रविको आकर्षक प्रचारशैलीको प्रभावमा परेका आफ्ना मतदाताहरुलाई फकाउन संगठित कार्यकर्ताहरुलाई परिचालन गर्ने र मतदातालाई यताउति भड्किन नदिने हो। यसका निम्ति पार्टीले आन्तरिक तयारी समेत गरिसकेको उनको भनाइ थियो। 

त्यो देखिन्थ्यो पनि। १६ कात्तिकमा रिजालचोकस्थित एमालेको जिल्ला कार्यालय पुग्दा बेलुकी ६ बजेसम्म पनि हलमा टनाटन भरिएका युवाहरुलाई चुनावी प्रशिक्षण दिइँदै थियो। एमालेले मात्र होइन यो रणनीति माओवादीले पनि अपनाएको देखिन्छ। उसले १८ कात्तिकमा माओवादीको भातृ संगठन वाईसीएलका इन्चार्ज दीपशिखाको अगुवाइमा एउटा रिसोर्टमा युवाहरुको गोप्य कार्यशाला सञ्चालन गरेको थियो। कार्यक्रमस्थलमा भेटिएका माओवादीका चितवन जिल्ला इन्चार्ज रामचन्द्र अधिकारी रविको चर्चा मतमा रुपान्तरित नहुने तर्क गर्छन्, ‘बाहिरका मान्छे आएर बोल्नु र गर्नु फरक कुरा हुन्। संगठनबिनाको दलको चर्चा चुनावसम्म मात्र हो।’ 

दलहरुले गरेको आन्तरिक अध्ययन, राज्यका सुरक्षा संयन्त्रहरुले गरेको संश्लेषण लगायत विभिन्न गैरसरकारी संयन्त्रहरुको अध्ययनका आधारमा रविको पक्षमा माहोल बन्दै गएपछि एमाले र गठबन्धन दलले आफ्नो व्यवस्थित संगठन मार्फत रविमाथि लगाम कस्न खोजिरहेका छन्। कांग्रेसको बलियो जनाधार भएको यो क्षेत्रमा गएको स्थानीय निर्वाचनमा विद्रोही उम्मेदवार जगन्नाथ पौडेलले प्रचण्डपुत्री रेनु दाहालको वेग रोक्न खोजेपछि गठबन्धन भत्कने डरले प्रधानमन्त्री देउवाले राज्यका पुरै संयन्त्र प्रयोग गरेका थिए। गृहमन्त्री बालकृष्ण खाण र मन्त्री उमेश श्रेष्ठलाई चितवनमा डेरा जमाउनेगरी तैनाथ गरिएको थियो। 

सुरक्षा प्रमुखहरु र निर्वाचन आयुक्त समेत त्यही बमोजिम ‘यताउति’ गरिएका थिए। एमाले र गठबन्धन दलका नेताहरुका कुरा सुन्दा यसपालि पनि त्यो रणनीतिमा काम भइरहेको देखिन्छ। एमाले र गठबन्धनभित्रका दलहरु चुनावी प्रतिस्पर्धामा आमनेसामने भए पनि रविलाई हराउने सवालमा भने रणनीतिक रुपमै एकठाउँमा गोलबन्द हुन आइपुगेका छन्। 

कांग्रेसका उपसभापति राजीव न्यौपाने आफ्नो संगठनले रवितर्फ ढल्किएकाहरुलाई सुरुमा फकाउने नमाने दबाव सिर्जना गरेर भए पनि ‘ट्रयाकमा ल्याउने’ काम भइरहेको बताउँछन्। 

‘हाम्रो वडास्तरसम्म फैलिएको संगठनले कुन व्यक्तिले के गर्छ, के भन्छ, एकएक हिसाबकिताब राखिरहेको हुन्छ। तिनका समस्या र दुःखसुख हाम्रो तल्लो तहका साथीहरु सबैलाई राम्ररी थाहा छ,’ उनले आफ्नो रणनीतिक दाउपेच सुनाए, ‘रवितिर ढल्ल्किएकाहरुलाई कन्भिन्स गर्ने काम भैरहेको छ। तिनलाई कसरी व्यवस्थापन गर्ने हो हामीलाई राम्ररी थाहा छ।’

सांगठनिक रुपले बलिया दलहरुसँग राजनीतिक चतुर्याइँको दशकौँ लामो अनुभव छ। टोलटोलसम्म संगठन बनाई मान्छेका कमीकमजोरीलाई अस्त्र बनाई चुनावी टेको मार्फत सत्ताको स्वाद चाखेका दलका नेताहरुले आफ्नो स्वामित्व गुम्न नदिन ‘साम, दाम दण्ड, भेद’ अपनाउँदै आइरहेको सबैले जानेबुझेकै यथार्थ हुन्। यो यथार्थबोध नेताहरुसँग उठबस गरेर जुग कटाएका रविलाई राम्ररी थाहा छ। 

बालेन र हर्कलाई जसरी मत प्राप्त भयो, त्यसरी नै मत पाएर रवि संसदमा छिर्न नसकून् भने दलहरुले काँडे तारबार लगाउन खोजिरहेका देखिन्छन्। यस्तो कुरा दशकौँदेखि राजनीतिक तिकडम देखभोग गर्दै आइरहेका बेलचोकका कृष्णप्रसादजस्ता रविका मतदाताहरुले राम्ररी बुझेका छन्।

कृष्णप्रसादको अनुभवी बोलीले त्यस्तै संकेत गर्छ। उनी भन्छन्, ‘यदि करोडपति उमेशले पैसाको खोलो नबगाउने हो भने यसपालि रविलाई जित्नबाट कसैले रोकेर रोक्न सक्दैन।’

यो रिपोर्ट तयार पार्दासम्म २ नम्बर क्षेत्रमा रविको जत्तिको माहोल गठबन्धन र एमाले उम्मेदवारहरुले अझै सिर्जन गर्न सकेको देखिँदैन। यो तथ्य एमाले र गठबन्धन दुवैतिरका नेताहरु पनि स्वीकार्छन्। तर भावुक समर्थकहरुको बलमा दलहरुको अभेद्य किल्ला भेदेर रविले यो माहोल कायम राख्न सक्छन् कि सक्दैनन्, नतिजा त्यसमै निर्भर हुनेछ। र, उनको दलले राष्ट्रिय पार्टीको हैसियत पाउँछ या पाउँदैन भन्ने कुरा पनि यसैसँग निर्भर छ।

स्थलगत :
चितवन ३ : प्रचण्डलाई हराउने ओली–कोइराला रणनीति कांग्रेसले डेढ वर्षपछि मात्रै थाहा पाएपछि 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .