ad ad

अन्तर्वार्ता


रास्वपा दुर्घटनाउन्मुख छ भने त्यसमा सबैभन्दा ठूलो हात महामन्त्रीको छ– गणेश कार्की

‘रास्वपामा मुसा प्रवृत्ति देखियो’
रास्वपा दुर्घटनाउन्मुख छ भने त्यसमा सबैभन्दा ठूलो हात महामन्त्रीको छ– गणेश कार्की

गीता चिमोरिया
असार १३, २०८१ बिहिबार २०:३१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा मुकुल ढकालले पेस गरेको प्रतिवेदन र त्यसबारे उनले दिएको अभिव्यक्तिले ठूलै तरंग पैदा गरेको छ। भर्खरै उदाएको शक्ति, जो सत्ता समीकरण बनाउन पनि निर्णायक छ, भित्र धेरै असन्तुष्टि र टकराव छ भन्ने तथ्य पनि उनको प्रतिवेदनसँगै सतहमा देखापरेको छ। खास विवादको अन्तर्य के हो त?

यसै सन्दर्भमा रास्वपा संस्थापनप्रति आलोचनात्मक मत राख्दै आएका केन्द्रीय सदस्य गणेश कार्कीसँग नेपालखबरले गरेको कुराकानी:

महामन्त्री मुकुल ढकालले झण्डै एक महिनामा देशका विभिन्न ठाउँमा पुगेर तयार पारेको प्रतिवेदनको सार जुन ढंगले बाहिर आयो, यसलाई कसरी लिनुभएको छ? 
प्रतिवेदनको टाइमिङ हेर्ने हो भने यस्तो छ कि महामन्त्रीचाहिँ पार्टीको तल्लो तहमा अलि अनपपुलर (अलोकप्रिय) हुँदै जानुभएको हो कि भन्नेजस्तो आन्तरिक जानकारीहरू आइरहेका छन्। विस्तारै खुल्दै जाला। पार्टीगत संरचनामा पनि महामन्त्री हाबी भएको र केही संरचनाहरू बिग्रिँदै गएका, कुनै संरचना (अहिले म नाम भन्दिनँ) का सम्पूर्ण सदस्यहरूले राजीनामा दिएको भन्ने कुराहरू पनि छन्। त्यो अवस्थामा आफूलाई जोगाउनको लागि इलामको निर्वाचनको समीक्षा भन्ने पृष्ठभूमि आएको जस्तो देखिन्छ। 

समीक्षाका लागि महामन्त्री एक्लै गएका थिए। त्यो महामन्त्रीको रुचिले हो कि पार्टीको निर्णय नै त्यही थियो?   
सचिवालयको बैठक बसेको थियो। सचिवालयले पठाएको हो। पार्टीका लागि सबैभन्दा सर्वोच्च निकाय भनेको महाधिवेशन र त्यसपछि केन्द्रीय समिति भनिन्छ। केन्द्रीय समितिको त्यति महत्त्वपूर्ण बैठक रोकेर, स्थगित गरेर उहाँलाई सचिवालयले पठाएको हो। त्यो हेर्दाखेरी एकदमै ठूलो र महत्त्वपूर्ण काम हो यो भनेजस्तो देखिन्छ। तर, सँगसँगै त्यसमा अरूलाई ‘चाहेमा जोडिन सक्नुहुन्छ’ भन्ने सन्देशचाहिँ आएको थियो। तालिकामा यो–यो ठाउँमा यो–यो दिन हुन्छु, आवश्यक पर्नेले जोडिन सक्नुहुन्छ भनेर खालीचाहिँ राखिएको थियो। अरूलाई जोडिनैपर्ने, यो गर्नैपर्ने खालको थिएन। 

इलाममा रास्वपाको जस्तो खालको नतिजा आयो, त्यसले नै पार्टीलाई झस्कायो कि नतिजा फरक आएको भए पनि यो समीक्षात्मक देश दौडाहा हुन्थ्यो? 
योचाहिँ हाम्रो पार्टीमा देखिएको, कुनै पनि कुराको, घटनाक्रमको रणनीति बनाउने र त्यसको समीक्षा गर्ने कुरामा हामी अलि चुकेकोजस्तो देखिन्छौं। वैशाख १० को उपनिर्वाचनको कुरा गर्ने हो भने हामीले तीनमा दुईवटा जित्यौँ। एकदम गज्जब तरिकाले जित्यौँ। त्यो हर्षोल्लास यति मजाले मनायौँ कि हामीले बारामा रमेश खरेलको पराजयलाई बिर्सियौँ। अनि इलाममा चाहिँ फेरि हामीले यो देशै धान्ने, देशै थाम्ने हाम्रो पार्टीको कार्यदिशा, हाम्रो मार्गनिर्देशक सबै त्यही चुनाव हुन्छ भनेर सम्पूर्ण शक्ति त्यसमा खनायौँ। अनि सोचेजस्तो हुन सकेन। हामी आत्तियौं। आत्तिएपछि छट्पटीजस्तो भयो। के गर्ने, कसो गर्ने?

अबको बाटोको लागि नआत्तिएर जुन खालको स्थिरता हुनुपथ्र्यो, त्यो भएन हामीसँग। पार्टी जीवनमा चुनावहरू आइरहन्छन्, चुनावमा हारजित सामान्य हो। कहीँ ७५ प्रतिशतभन्दा बढीले जितिन्छ, कहीँ जमानत जफत हुन्छ। त्यसका त एकदमै धेरै कारक तत्त्वहरू होलान्। त्यसबारे कुरा नगरीकन आत्तिएर हामी समीक्षामा दौडियौँ। महामन्त्रीलाई दौडायौँ। यसको त्योभन्दा ठूलो पृष्ठभूमि छैन।

इलामको निर्वाचनको नतिजापछि पार्टीमा समीक्षाका लागि अन्य बैठक-छलफलहरू पनि भए कि यही देश–दौडाहा मात्रै भएको हो? 
अन्य छलफल र बहसहरू भएनन्।

एक त, केन्द्रीय समितिमा छलफल गर्ने भनिएको थियो। त्यो स्थगित गरेर देश दौडाहामा लगाइयो। अर्को, जहाँ भएको हो, निर्वाचन भएको क्षेत्रमा पनि समीक्षा हुन सकेको छैन। 

इलाममा के भएको थियो भन्नका लागि हामीले रोल्पा, रुकुम, मोरङ, त्यही छेउकै पाँचथर अथवा यता झापा आएर पनि बुझ्न सक्दैनौं। किनभने, हरेक ठाउँको फरक संरचना छ। इलाम त अझ फरकै संरचना, फरक भूगोल, फरक राजनीतिक इतिहास भएको ठाउँ हो। त्यहीँ नबुझेर अरूअरूतिर बुझ्न गएका छौं। त्यसले गर्दा समीक्षामा चाहिँ हामीले गडबडी गरिरहेका छौँ। 

महामन्त्रीले बुधबार साँझ सभापतिलाई बुझाएको प्रतिवेदन जस्ताको त्यस्तै सार्वजनिक गर्नुपर्छ भनेर जोड दिएका छन्। त्यसो भन्नुमा केही आन्तरिक कुराहरू छन्? 
उहाँलाई पार्टीको समीक्षा लेख्नु र कुनै पनि अखबार, अनलाइनमा लेख लेख्नु अथवा कथा, कविता लेख्नु एउटै हो कि भन्ने भ्रम भएजस्तो छ। किनकि, हामीलाई पनि लेख वा कथा, कविता लेख्दा छाप्न पठाएपछि तुरुन्त जस्ताको त्यस्तै दुई मिनेटभित्रमा छापिए हुन्थ्यो भन्ने लाग्छ।

साथीहरूलाई वा सम्पादकलाई भन्न मिलेसम्म सम्पादन नगरिदिनु है भनिन्छ। त्यस्तै उहाँलाई पनि उहाँले बनाएको कृति जस्ताको त्यस्तै आओस् भन्ने मान्नुभएको हुन सक्छ।

तर पार्टीमा कसैले गरेको समीक्षा कसरी ग्रहण गर्ने भन्ने पार्टीको कुरा हुन्छ। उहाँले पार्टीभित्र त्यसका लागि पुष्टि गर्न त्यही कागजातमार्फत वा त्यहाँ उपस्थित भएर बैठकमा अरू तर्क गर्नु स्वाभाविक हुन्छ। तर जबर्जजस्ती यो हुनैपर्छ भनेर अनिवार्य गर्न सक्नुहुन्न, पाउनुहुन्न। पार्टीले आफ्नै किसिमले त्यो समीक्षाको पनि समिक्षा गर्छ। त्यही भएर उहाँ अलिकति राजनीतिक रूपमा सही हुनुहुन्न।

रास्वपा दुर्घटनाउन्मुख भएको भन्ने महामन्त्रीको प्रतिवेदनको निष्कर्ष तपाईँलाई कस्तो लाग्यो त?
यही तरिकाले गइयो भने बिग्रिन्छ भन्ने कुराचाहिँ म स्वीकार गर्छु। मैले त पटकपटक भनेको छु कि जे कुरा हामीले भनेका थियौँ, त्यो बिर्सेर ठ्याक्कै विपरीत कुरा, अनि त्यसलाई तोडमोड गरेर बीचमा छिद्र निकालेर छिद्रमा खेल्ने कुरा भयो भने चाहिँ हामी सकिन्छौं। सरकारमा जाने कुरा, सरकारमा गएर के काम गर्ने भनेर अल्मलिने कुरा, फाइल खोल्ने भनेको कुरालाई ‘ए फाइल नै बनेको रैनछ’ भनेर भिन्न किसिमले भन्ने कुरा भयो भने त हामी सकिन्छौं। यो विषयमा मेरो स्वीकारोक्ति छ। 

तर एउटा व्यक्ति, जो पार्टीको महामन्त्री छ, जसले ल्याएको कुनै पनि प्रस्ताव असफल भएको छैन, जसले जे निर्णय गरेको छ, सभापतिलाई पछाडि राखेर पारितै गराएको छ। त्यही बाटोमा हिँडाएको छ। त्यही व्यक्तिले, त्यही पदले चाहिँ यसो भन्न पाउँछ कि पाउँदैन? म पाउँदैन भन्छु। किनभने, यो असफल हुने भन्ने ठाउँसम्म ल्याउने, यो किनारासम्म ल्याउने त उहाँ नै हो नि। 

सभापति त कहिले चुनावको कारणले, कहिले नागरिकताको कारणले, कहिले सरकारका कारणले पार्टीबाट अलि अलग्गैजस्तो हुनुहुन्छ।पार्टीका संरचना चलाउने होस् वा पार्टीका नीतिमा अध्ययन गर्छु भन्ने कुराहरू। उहाँले त मैले विधान बनाएँ भन्दै हुनुहुन्छ। विधानमा आएका गडबडीका कारणले, यी सबै कारणको मुख्य जस–अपजस त उहाँमा जान्छ। भनेपछि उहाँले नै भन्न मिल्दैन। किनभने, ल्याएकै उहाँले हो। कसले सुधार्ने त? उहाँले चाहिँ मैले यहाँसम्म ल्याएँ, राम्रो सोचेर, राम्रो नियतका साथ ल्याएको थिएँ, असफल भएँ भनेर स्वीकार गर्नुपर्ने हो। तर दोष जति अन्यत्र थोपर्न खोज्दै हुनुहुन्छ र कहाँ हो त्यो भन्ने पनि देखिँदैन। 

महामन्त्रीले आफ्नो सुरक्षित अवतरणका लागि यसरी प्रतिवेदनको विषय बाहिर ल्याए भन्नु खोज्नुभएको हो?
त्यो हुन सक्छ। उहाँले त्यो कोसिस गरेजस्तो देखिन्छ। किनभने, धेरै कुरा बिग्रिसक्यो। उहाँको अनुसार त यही अवस्था भयो भने हामी सक्किहाल्यौँ, चेन्ज पनि गर्न सक्दैनौँ। त्यो अवस्थामा आफूलाई जोगाउन वा पानीमाथिको ओभानो बन्न खोज्ने मुसा प्रवृत्ति भयो। पहिला सूर्यबहादुर थापाले भन्ने गर्थे, पानीजहाज डुब्दै छ भने सबैभन्दा पहिले भाग्ने मुसा हुन्छ र जहाजमा प्वाल पार्ने पनि त्यही मुसा नै हुन्छ। कहिले त्यो थापा होला, कहिले ढकाल। त्यो प्रवृत्ति नयाँ रूपमा देखिएको मात्रै हो। 

रास्वपाका सारा गल्ती, कमजोरी र गडबडीहरूमा महामन्त्रीको भूमिका बढी छ भन्ने तपाईँको निष्कर्ष हो? 
हो, एकदमै। किनभने, संगठन विभाग प्रमुख अर्को (सहमहामन्त्री) भए पनि, महामन्त्रीका रूपमा उहाँले सधैँ त्यसमा हस्तक्षेप गर्नुभएको हो। संगठनहरू बनाउने, बिगार्ने र अस्थिर बनाउने कुरामा उहाँको एकदमै ठूलो हात छ। उहाँले राम्रै नियतले गर्नुभएको थियो भने पनि त्यसले परिणाम त राम्रो दिएन। 

अहिले तलैसम्म साथीहरू कोही पनि म यो संगठनमा छु भनेर स्थिर रूपमा भर पर्ने अवस्थामा छैनन्। सबैले आफूलाई खेतालाजस्ता सम्झिने, आवश्यक पर्दा हामीलाई प्रयोग गर्छन् र जुनसुकै बेला पनि निकालिदिन सक्छन् भनेजस्तो पार्टीप्रति अपनत्व नहुने, पार्टीको निर्णयप्रति स्वामित्व नलिने क्रम बढेको छ। त्यो किन भन्दा संगठनहरू अस्थिर भएका कारणले। कहिले ६५÷७५ सदस्यीय बनाउने, कहिले झारेर ११ सदस्यीय बनाइदिने। बाँकी रहेका ५४ जना कहाँ गए भन्दा कसैलाई पनि थाहा छैन। उम्मेदवारी दिएर गएका साथीहरूलाई पार्टीमा कहीँ पनि ढोका खुलाा छैन, बन्द छ। 

यी सबै कुराहरू उहाँको नेतृत्वमा भएको हो। उहाँले पार्टीमा कन्भिन्स गराउनुभएको हो। उहाँले ल्याएका प्रस्तावहरू हुन्। हामीले हेर्दाखेरी त जसले प्रस्ताव ल्याउँछ, उसले सोचेर ल्याएको हो भन्ने लाग्छ। उहाँको प्रस्ताव फेल बनाएर अरू कसैको प्रस्तावबाट पार्टी अगाडि बढेको भएर यो ठाउँमा आइपुगेको भए उहाँले भन्न पाउनुहुन्थ्यो। त्यसैले अहिले पार्टी बिग्रिएको छ भने त्यसमा सबैभन्दा ठूलो भूमिका उहाँकै छ। सप्रेको हो र यही अवस्था राम्रो हो भने पनि उहाँलाई धन्यवाद दिनुपर्छ। 

प्रचण्ड–ओलीसँग मिल्नुभन्दा बालेन र अरू स्वतन्त्रसँग मिल्नु ठीक भन्ने कुरा कस्तो लाग्यो?
यो त मिल्ने र नमिल्नेभन्दा पनि हामी सरकारमा जानु नै हुँदैन थियो। पहिलो कुरा नै त्यहाँ हो।

नमिल्ने भन्नाले एमाले, कांग्रेस, माओवादी अथवा पुराना राप्रपाहरू देख्नेबित्तिकै उनीहरूसँग शत्रुतापूर्ण व्यवहार गर्ने, पुराना कम्युनिस्टहरूले भनेजस्तो प्रधान शत्रु यो, सहायक शत्रु यो, शत्रु यो भनेर तोक्नेजस्ता कामहरू त गर्ने होइन नि त। मुद्दाका आधारमा, ऐजेन्डाका आधारमा जोसँग पनि मिल्न सकियो। कानुन बनाउने कुरामा होला, हामीले अब नागरिकताको कुरामा संविधानै संशोधन गर्नुपर्छ भनेका छौँ। त्यसका लागि त फेरि दुई तिहाई चाहिएला। मिल्नैपर्ने अवस्था आउला। यस्ता कुरामा चाहिँ मिल्ने हो। सरकारमा त मिलेर अथवा नमिलेर जानुहुन्न थियो। सरकारमा जाने कुरा चाहिँ गल्ती भएको हो।

अर्कोचाहिँ बालेन, गोपी हमाल (उहाँले हर्कको नामचाहिँ लेख्नुभएनछ) स्वतन्त्र हुनुहुन्छ। राजनीति भनेको सबै पार्टीमा आउने, कुनै न कुनै पदमा बस्नैपर्ने मात्रै होइन। उहाँहरू स्वतन्त्र हुनुहुन्छ, गैरदलीय हुनुहुन्छ, त्यही ठाउँ छोड्दिऊँ न। हाम्रा ऐजेन्डाहरू साझा एजेन्डा त हुन सक्छन् नि। उहाँहरू एउटा कार्यकारी भूमिकामा हुनुहुन्छ, हामीले सहयोग गर्ने ठाउँ होला। त्यो ठाउँमा मिल्न सकियो। उहाँहरूलाई पार्टीमै ल्याएर मात्रै हामी हुर्किन्छौं भन्ने भयो भने पार्टीचाहिँ हुर्केला तर लोकतन्त्र भनेको खाली पार्टी मात्रै होइन। फेरि त्यो कुरालाई त हामीले हानी पुर्‍याउँछौं। 

त्यही भएर पार्टी बनाउनको लागि, जोगाउनको लागि कोही अर्को मान्छे चाहिँदैन। आइदिए त राम्रो हो। आइदिए त नेपालभरिका सबै राम्रा मान्छेहरू रास्वपामा आइदिए राम्रो होला। तर पार्टी जोगाउनको लागि हामी सक्छौँ। त्यसका लागि के गर्नुपर्‍यो भन्दा ठूलो कुरा केही पनि छैन। निर्वाचनअगाडि हामीले के भनेका थियौं, के लेखेका थियौं, एकपटक हेरौँ आफ्नै भिडियो। आफ्नै स्टाटस, आफ्नै कागजात हेरौँ। त्यही अनुसार गरौँ। हामीले हामी जुन हालतमा पनि सरकारमा जान्छौँ, सरकारमा गएर डेलिभरी गर्छौँ भनेका छौँ भने त्यही गरौँ। होइन, यी पुरानालाई त हामी मान्दै मान्दैनौँ, नो नट एगेन भनेका छौँ भने नजाऊँ। आफ्नो चरित्र बनाउने कुराचाहिँ मुख्य हो। 

आफ्नो चरित्रको बारेमा प्रश्न केही नगर्ने, अनि अमूकसँग नजिक भएर, अमूकबाट टाढा भएर मात्रै पार्टी बिग्रिएको भन्ने कुराचाहिँ यो विषयान्तर हुन्छ, नतिजा आउँदैन। 

महामन्त्रीले पार्टीभित्र ममाथि घृणित राजनीति भयो भनेका छन्। खास के भएको थियो?
पार्टीभित्र केही पनि भएको छैन। यो उहाँले सहानुभूति प्राप्त गरेर मान्छेहरूलाई अल्मल्याउन खोज्नुभएको हो। पार्टीभित्र उहाँप्रति केही पनि राजनीति भएको छैन। किनभने उहाँले ल्याएका हरेक प्रस्तावहरू पास भएका छन्। उहाँले गरेका हरेक निर्णयहरू, सभापतिलाई अगाडि राखेर हुन्छ कि कोही अगाडि राखेर हुन्छ, पारित भएका छन्। अहिलेसम्म पार्टीले गरेका निर्णयहरूमा उहाँभन्दा बाहिरबाट आएको एकदम कम छ। प्रायः सबै उहाँले कुनै न कुनै रूपमा गर्नुभएको छ। 
   
      

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .