ad ad

अपराध


बालकृष्णले जोगिन अपनाएको उपाय नै बन्यो जाकिने प्रमाण

टेकनारायण, नरेन्द्र र आङटावाले स्वीकारे
बालकृष्णले जोगिन अपनाएको उपाय नै बन्यो जाकिने प्रमाण

उजिर कार्की
जेठ ६, २०८० शनिबार १२:३३, काठमाडौँ

ललितपुरमा कार्यालय नै खडा गरेर रामेछाप आसपासका नागरिकबाट लाखौँ रकम असुलेका आङटावा शेर्पाविरुद्ध भने उजुरी परेको थिएन। उनीजस्तै नक्कली शरणार्थीका नाममा रकम असुलेका सानु भण्डारी र केशव दुलालसहितका व्यक्ति भने प्रहरी हिरासतमा पुगिसकेका थिए। 

कांग्रेसका पूर्वसांसद आङटावा यतिन्जेल जोगिने कारण थियो- आफूले रकम उठाएका पीडितलाई आफैँ सम्पर्क गरेर पैसा फिर्ता गर्ने वचन दिनु। कतिपयलाई त फिर्ता पनि गरिसकेका थिए। 

त्यही भएर उनीविरुद्ध तत्काल उजुरी परेन। तर सानु भण्डारी र केशव दुलालले रकम फिर्ता गर्न सकेनन्। उनीहरुले रकम गृह प्रशासनसहितका माथिल्लो निकायमा बुझाइसकेकाले फिर्ता गर्न नसक्ने जवाफ दिए। त्यसपछि उनीहरुविरुद्ध उजुरी पर्‍यो।  

उजुरी पर्न थालेको झण्डै एक वर्षपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो। यो कुराको जानकार थिए- पूर्वगृहमन्त्री बालकृष्ण खाँण। 

गत वर्ष नै पक्राउ गरिएका भण्डारी र दुलाललाई खाँण गृहमन्त्री हुँदा छुटाएका थिए। तर गत पुसमा गृहबाट हटेपछि पनि आफू पनि संलग्न भएकाले खाँणले यो घटनालाई नियालिरहेका थिए। कहाँ के भइरहेको छ भन्ने खाँणलाई एक-एक थाहा थियो। तर उनले सानु भण्डारी र केशव दुलाल पक्राउ पर्दा पनि आङटावा कसरी जोगिए भन्ने बुझे। शेर्पाले पैसा फिर्ता गरेका कारण जोगिएको पत्ता लगाए।

खाँणले आफू पनि फस्न सक्ने देखेपछि शेर्पालाई बोलाए। त्यसपछि उनले आफू पनि रकम फिर्ता गर्ने तर मुद्दाबाट जोगाउनेगरी मिलाउन भने। शेर्पा आफ्नो योजना सफल भएको ठानेर खाँणलाई जोगाउन तम्सिए। 

त्यसपछि उनी हिरासतमा रहेका सानु भण्डारीलाई भेट्न गए। काठमाडौं जिल्ला प्रहरी परिसर पुगेर शेर्पाले सानुलाई भेटे। र, बालकृष्ण खाँणले पनि रकम फिर्ता गर्ने सुनाए। तर त्यसका लागि भण्डारीलाई बयानमा खाँणको नाम नजोड्न भने। 

शेर्पासँगको कुराकानीमा भण्डारी पनि खाँणको नाम नजोड्न सहमत भए। भण्डारीसँगको भेटपछि खाँणले आफ्ना पूर्वनिजी सचिव नरेन्द्र केसीमार्फत एक करोड रुपैयाँ शेर्पालाई दिए। तर शेर्पाले पाएको सबै रकम भने उनले फिर्ता नगरेको खुलेको छ। 

सुरुको सोधपुछमा शेर्पाले सबै रकम सानु भण्डारीका दाइलाई दिएको बताए। तर पछि उनले ७० लाख रुपैयाँ आफैँसँग राखेको र ३० लाख रुपैयाँ मात्रै फिर्ता गरेको खुलेको छ। 

तर रकम फिर्ता गरेर जोगिने खाँणको योजना सफल भएन। रकम फिर्तापछि बिचौलियाकै बयान बाझियो।

अनुसन्धानमा संलग्न अधिकारी भन्छन्, ‘त्यसपछि पक्राउ परेका आरोपितकै बीचमा बयान बाझिन थाल्यो। केहीको बोली फेरियो। यो कसरी भयो भन्ने बुझ्दै जाँदा यसका पछाडि कारण पत्ता लाग्यो- खाँणले रकम फिर्ता गरेको।’

त्यसअघिसम्म खाँणले रकम लेनदेन नै गरेको प्रमाण फेला परिसकेको थिएन। पहिले दिँदा नगदै दिएका कारण बिचौलियाका आरोप मात्रै थियो। प्रहरीले प्रमाण भेटेको थिएन। तर पछि खाँणले रकम नै फिर्ता गरेको थाहा पाएपछि भने उनीविरुद्ध प्रहरीले बलियो प्रमाण फेला पार्‍यो। 

शरणार्थी प्रकरणमा ठगी सुरु गर्दा खाँण र आङटावाको निकटता भने थिएन। खाँण गृहमन्त्री नहुँदै आङटावा सानु भण्डारीमार्फत यो प्रकरणमा जोडिइसकेका थिए। खाँणसम्म यो बिचौलियाका समूह सानु भण्डारी र केशव दुलालमार्फत नै पुगेको थियो। 

अर्को जोड्ने माध्यम बनेका थिए- गृहसचिव टेकनारायण पाण्डे। उनी अर्घाखाँचीका हुन्। खाँणका विश्वास पात्र पाण्डेलाई अर्घाखाँचीकै नेता टोपबहादुर रायमाझीले मिलाइसकेका थिए। 

टोपबहादुर सानु भण्डारीका मामा पर्छन्। यी मामा-भान्जाकै सल्लाहमा यो प्रकणको सुरुवात भएको थियो। आङटावाले पनि सानु भण्डारीसँग सल्लाह गरेर रकम असुलेका पाइएको छ। 

यता खाँण र गृहसचिव पाण्डेले भने कार्यदलको प्रतिवेदन नै बदलिदिए। बिचौलिया रकम उठाउने, खाँण र पाण्डे शरणार्थीका नाममा प्रतिवेदनमा घुसेर कोटा बढाउने गरिरहेका थिए। 

यसरी उनीहरु शरणार्थीका नाममा ८ सयभन्दा बढी व्यक्तिलाई अमेरिका पठाउनेगरी नक्कली प्रतिवेदन तयार गरिरहेका थिए। 

सानु भण्डारी पक्राउ परेको झण्डै डेढ महिनापछि मात्रै पाण्डे पक्राउ परे। आफू गृहमन्त्री हुँदाका सचिव पक्राउ परेपछि भने बालकृष्ण खाँण पनि तानिने लगभग निश्चित भयो। तर शक्ति र सत्ताको आडमा जोगिने आशा खाँणको थियो। त्यसमाथि पनि उनले रकम फिर्ता गरिसकेकाले बच्नेमा लगभग ढुक्क थिए। 

तर पाण्डेको मोबाइल परीक्षणका लागि प्रहरीले डिजिटल फरेन्सिक ल्याबमा पठायो। जसमा खाँण संलग्न रहेका प्रशस्त प्रमाण भेटिए।

आर्थिक लेनदेनका म्यासेज पनि त्यहाँ फेला परेको प्रहरी अधिकारी बताउँछन्। जुन प्रमाणपछि भने प्रहरीले वैशाख २७ गते बालकृष्ण खाँण र उनका पूर्व निजी सचिव केसीलाई एकसाथ पक्राउ गर्‍यो। 

उता आङटावा भने सम्पर्कविहीन भएका थिए। उनले हिरासतमै गएर बिचौलियालाई भेटेको सूचना बाहिरिएपछि प्रहरीले उनलाई पनि सोधपुछका लागि बोलाउने तयारी गरिरहेको थियो। 

आङटावाले खाँणको नाम नजोड्न र उनले पैसा फिर्ता गर्ने बताए पनि पैसा फिर्ता गरेका थिए- केसीले। आङटावा प्रत्यक्ष जोडिएका थिएनन्। केसीले पनि प्रहरी परिसरमा सोधपुछका क्रममा आफूले रकम फिर्ता गरेको प्रहरीलाई बताएका थिए। 

अनुसन्धानमा संलग्न अधिकारीले भने, ‘उहाँले पनि हामीसँगको सोधपुछमा स्वीकार गर्नुभयो। तर पछि सरकारी वकिल कार्यालयमा चाहिँ अलिक फरक बयान दिनुभएको रहेछ।’

पूर्व गृहसचि पाण्डेले पनि सुरुमा खाँणलाई जोडेका थिएनन्। मोबाइलका म्यासेज रिकभर भएपछि भने उनले स्वीकार गरेका थिए। सचिव पाण्डेले आफैँ बालकृष्ण खाँणको संलग्नताबारे प्रहरीलाई बयान दिएपछि भने प्रहरी अधिकारीहरुसमक्ष एउटा अनुरोधसमेत गरेका थिए। 

प्रहरी अधिकारीले भने, ‘उहाँको अनुरोध थियो- मलाई अब खाँणसँग भेट नगराइदिनू भन्ने। तर जिल्ला सरकारी वकिल कार्यालयमा दोस्रोपटक म्याद थप गर्दा उहाँहरुको भेट भयो। त्यतिबेला पनि निकै अप्ठेरो मान्नुभयो।’

जिल्ला सरकारी वकिल कार्यालय प्रमुख अच्यूतमणि नेउपानेको कार्यकक्षमा भेट हुँदा उनीहरुले सामान्य कुराकानीसमेत गरेका थिए। खाँणले सचिवलाई बयान दिइसक्नुभयो भनेर सोधेका थिए भने सचिवले दुई चरणमा बयान दिइसकेको जवाफ दिएका थिए।

यसपछि भने म्याद थपका लागि लैजाने क्रममा उनीहरुको भेट भइरहेको छ। तर कुराकानी हुने गरेको छैन। यता खाँणले पैसा दिएर मुद्दाबाट जोगाउन अनुरोध गरेका शेर्पा पनि अहिले हिरासतमै छन्। उनलाई पनि प्रहरीले जेठ १ गते पक्राउ गरेको हो। व्यापक खोजतलासपछि शेर्पा आफैँ प्रहरी कार्यालय पुगेका थिए। 

उनको घर रामेछापदेखि काठमाडौंस्थित निवासमा पनि प्रहरीले खोजी गरिरहेको थियो। तर पछि उनका छोरा नै शेर्पालाई लिएर प्रहरी कार्यालय पुगेका थिए।

उनले सुरुमै प्रहरीसमक्ष सोधपुछका क्रममा आफूले हिरासतमा सानु भण्डारीलाई भेटेको खाँणलाई नजोड्न भनेको स्वीकार गरेका थिए। तर पछि उनले सरकारी वकिलको कार्यालयमा त्यो कुरा अस्वीकार गरे। पक्राउ परेकै राति उनको टाउकामा चोट लाग्यो। शेर्पा पक्षले उनलाई प्रहरीले कुटपिट गरेको आरोप लगाउँदै मानव अधिकार आयोगमा उजुरीसमेत दिएको छ। तर प्रहरीले राति शौचालयमा लडेर चोट लागेको दाबी गरेको छ। यस विषयमा आयोगले प्रहरीसँग जवाफ मागेको छ। यता शेर्पाको पनि बयान सकिएको छ। प्रहरी स्रोतका अनुसार शेर्पाले सरकारी वकिल कार्यालयमा लेनदेनको कुरा अस्वीकार गरेका छन्। 

अनुसन्धान अधिकारीले भने, ‘उहाँहरु दुवै जनाले पछि लेनदेनको कुरा अस्वीकार गर्नुभएछ। तर हामीसँग त्यसका पर्याप्त प्रमाण नै छन्। यसले फरक पर्दैन।’

यो प्रकरणमा अहिलेसम्म १६ जना पक्राउ परिसकेका छन्। प्रहरी र सरकारी वकिल कार्यालयले बयान सकेका छन्। आइतबार अनुसन्धान प्रतिवेदन बुझाउने तयारी रहेको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीले बताए। 

‘हामीसँग अब धेरै समय छैन। लगभग बयान पनि सकियो, अब प्रतिवेदन फाइनल गरेर बुझाउँछौं’, कार्कीले भने।

पक्राउ परेका अभियुक्तसहित र फरार व्यक्तिको हकमा नाम उल्लेख गरेर अभियोग चलैजाने सरकारी वकिल कार्यालय प्रमुख अच्युतमणी नेउपानेले बताए। 

प्रकरणमा जोडिएका र पछि प्रमाण जुटेका अभियुक्तलाई पक्राउ गरेर पुरक अभियोग लैजाने नेउपानेले बताए।

सम्बन्धित खबर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .