ad ad

समाज


दरबारमार्ग जान मानेनन् बालकृष्ण खाँण, परिसरमै बेडसहितको ‘सिंगल रुम’मा राखियो

दरबारमार्ग जान मानेनन् बालकृष्ण खाँण, परिसरमै बेडसहितको ‘सिंगल रुम’मा राखियो

तस्बिर : सरोज बैजु


नेपालखबर
बैशाख २७, २०८० बुधबार २३:२०, काठमाडौँ

भुटानी शरणार्थीका नाममा ठगी गरेको प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले दरबारमार्ग बृत्तको हिरासतमा जान अस्वीकार गरेका छन्।

बुधबार अदालतबाट म्याद थप गरेर ल्याएपछि उनलाई दरबारमार्ग बृत्तमा लैजाने तयारी प्रहरीले गरेको थियो।

उक्त बृत्तमा छुट्टै कोठाको व्यवस्थासमेत भएको थियो। बानलकृष्णलाई लैजाने भएपछि त्यहाँ रहेको हिरासत अनुगमन गर्नका लागि काठमाडौं परिसरका एसपी सिताराम रिजालसहितको टोली पुगेको थियो।

बृत्तमा चारवटा हिरासत कोठा छन्। ती मध्ये एउटामा महिला र एउटामा पुरुष थुनुवा राखिएको छ।

अहिले त्यहाँ १४ जना पुरुष थुनुवा र एक जना महिला थुनुवा छन्। तत्काल पक्राउ गरेका र म्याद थप गर्न बाँकी थुनुवालाई अर्को कोठामा राखिन्छ।

हिरासतकै लागि तयार गरिएको अर्को कोठामा हाल प्रहरीहरु नै सुत्छन्। त्यो कोठामा भने बेड पनि छन्। खाँणलाई त्यही कोठामा राख्ने तयारी भएको थियो।

खाँणलाई लैजान त्यहाँ निश्चित गरेर एसपी नेतृत्वको टोली साँझ फर्किएको थियो। तर खाँणले भने परिसरमै बस्ने बताए। अन्त जान मानेनन्।

‘हाम्रो टोली दरबारमार्गमा हेरेर फर्किएको थियो। तर उहाँले (बालकृष्ण खाँण) जान नमानेपछि यहीँ राखिएको छ’, परिसरका एक अधिकारीले भने।

परिसरमा यही मुद्दाका अरु ६ जना छन्। तर खाँणलाई भने छुट्टै कोठामा राखिएको छ। परिसरमा एउटा महिला, अर्को पुरुष हिरासत छ। तर खाँणका लागि छुट्टै कोठा बेडसहितको व्यवस्था गरिएको छ।

उनलाई भेट्न आफन्त र नेता परिसर पुगेका छन्। साँझ एक मन्त्रीले हिरासतमा रहेका खाँणलाई भेटेका छन्। यस्तै आफन्त पनि पुगेका छन्।

खाँणसँगै पक्राउ परेका उनी गृहमन्त्री हुँदाका निजी सचिव नरेन्द्र केसीलाई भने अन्य थुनुवासँगै राखिएको छ। पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, सन्देश शर्मा पनि त्यहीँ छन्।

टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई पनि त्यही राखिएको छ।

यसअघि गृहमन्त्री खाँणले विहान पक्राउ गर्दा पनि प्रहरी कार्यालय आउन मानेका थिएनन्। प्रहरीले पक्राउ गर्न लागेपछि कोठाभीत्र पसेर चुकुल लगाएका थिए।

पछि प्रहरीले लात्ताले ढोका फोडेर उनलाई पक्राउ गरेको थियो। ढोकाको चुकुल तोडेर प्रहरी भित्र छिरेको थियो।
प्रहरी भित्रपुगेपछि पनि खाँणले गाली गरेका थिए।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी मनोज कुमार केसी र काठमाडौं परिसरका अधिकारीहरु पुगेर खाँणलाई पक्राउ गरेर ल्याएका थिए।

त्यसक्रममा खाँणले प्रहरीहरुलाई बढुवा नगरेको रिस देखाएको भन्दै हप्काएका थिए भने म तिमिहरुकै हाकिम हुँ भन्दै कागज गराउने भए घरमै गराउन भनेका थिए।

‘जे जे सोध्नु छ यहीँ सोध्नुस्। म प्रहरी कार्यालय जाँदिनँ। कसैले नाम लिँदैमा हुन्छ र मेरो केही पनि संलग्नता छैन। म किन जाँने?’, खाँणले पक्राउ गर्न पुगेका प्रहरीसँग भने।

तर प्रहरीले उनका निजी सचिवलाई पक्राउ गरेर गाडीमा हालिसकेको जानकारी गराउँदै खाँणलाई पनि उठाएको थियो।

बिहान १० बजे पक्राउ गरेर प्रहरीले खाँण र उनका पूर्व निजी सचिव केसीलाई काठमाडौं परिसरमा लगेको थियो।

परिसरमा झण्डै ५ घण्टा राखेर सोधपुछ गरिएको थियो। खाँणलाई दिउँसो पनि हिरासतमा नराखी डीएसपीको कोठामा लगेर सोधपुछ गरिएको थियो।

तर दिउँसो ३ बजेतिर म्याद थपका लागि लैजाने तयारी गर्दा पनि खाँण सहजै जान मानेका थिएनन्। आफूमाथीको आरोप अस्वीकार गर्दै भने, ‘अदालत किन जाने मँ, यहिँ सोध्नुस् न के के सोध्नु छ। तपाईहरुलाई अनुसन्धानमा सघाउँछु भनेकै छु। कसैले नाम लिँदैमा हुन्छ र मेरो संलग्नता पुष्टि हुँदैन। म निर्दोष छु।’
प्रहरीले भने कसैको आरोपकै भरमा खाँणलाई पक्राउ नगरेको दाबी गरेको छ। पूर्व गृहसचिव टेकनारायण पाण्डेको मोवाइल र बयानबाट खाँणको संलग्नता खुलेको प्रहरीको दाबी छ।

उनको मोबाइलबाट खाँण लेनदेनमै संलग्न भएको प्रमाण भेटिएको प्रहरीले जनाएको छ। पाण्डेले सुरुमा म्यासेज डिलेट गरेका थिए। तर फरेन्सिक ल्याबबाट रिपोर्ट आएसँगै सबै रिकभर भएर ती प्रमाण फेला परेका हुन्।

प्रमाण आएसँगै सचिव पाण्डेले पनि खाँण संलग्न रहेको बयान दिएका थिए। यसअघि पक्राउ परेका अन्य व्यक्तिले पनि खाँणको समेत संलग्नता रहेको र पैसा बुझाएको बयान दिएका थिए।

अदालतले खाँणलाई थुनामा राख्नत अनुमति दिएको छ। अब आगामी आइतबार यही मुद्दाका अन्य आरोपीसँगै खाँणलाई पनि अदालतमा उपस्थित गराइने छ।

एमाले सचिव एवम् सांसद टोपबहादुर रायमाझी भने अझै फरार छन्। एमालेले अनुसन्धानमा सहयोग गर्ने भन्दै बुधबार रायमाझीलाई निलम्बन गरेको छ।

यसअघि आफैं उपस्थित हुन्छु भनेका पाण्डे बुधबारसम्म उपस्थित भएका छैनन्। प्रहरीले उनको खोजि गरिरहेको छ।
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा हालसम्म १२ जना पक्राउ परिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .