ad ad

राजनीति


आफूले गृहको ‘हर्ताकर्ता’ बनाएको सल्लाहकार असुली धन्दामा समातिएपछि अप्ठेरोमा बादल

आफूले गृहको ‘हर्ताकर्ता’ बनाएको सल्लाहकार असुली धन्दामा समातिएपछि अप्ठेरोमा बादल

पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राई


नेपालखबर
बैशाख १९, २०८० मंगलबार २१:३७, काठमाडौँ

सरकारसँगको दोस्रो वार्ता (२०६०) भंग भएलगत्तै माओवादी छापामारहरुले सेना–प्रहरीमाथिको आक्रमण तीव्र पारे। आक्रमणमा तीव्रतासँगै त्यसको सैन्य विश्लेषण हुन थाल्यो। त्यसैक्रममा सैन्य विश्लेषकका रुपमा केही व्यक्तिहरुको चर्चा हुन थाल्यो।

त्यो बेला अत्यधिक चर्चामा आउने विश्लेषकहरुमा काठमाडौँको बाँसबारीस्थित ब्रिटिस गोर्खा एकेडेमीका संस्थापक प्रिन्सिपल डा. इन्द्रजित राई पनि थिए। नेपाली सेना र सरकारी कोणबाट व्याख्या गर्ने उनी त्यस्ता आक्रमणहरुबाट माओवादी सफल नहुने विश्लेषण प्रस्तुत गर्थे। 

विसं २०६० को दशकदेखि चर्चामा आउन थालेका उनी २०८० को दशकको पूर्वार्धमा पनि उत्तिकै चर्चामा छन्। 

तर, फरक के छ भने उतिबेला उनी माओवादी आक्रमणको सैन्य विश्लेषणका कारण चर्चामा थिए। अहिले नेपालीहरुलाई भूटानी शरणार्थी बनाएर अमेरिका लैजाने धन्दामा लागेका कारण चर्चामा छन्। 

नेपालीहरुलाई भुटानी शरणार्थी बनाएर लैजाने भन्दै करोडौँ रुपैयाँ असुली गर्ने गिरोहका मुख्य योजनाकार भएको आरोपमा प्रहरीले मंगलबार बिहान डा. राईलाई पक्राउ गरेको छ।

डा. राईको गिरफ्तारीपछि नेपाल प्रहरीले उनका छोरा निरज राईविरुद्ध समेत पक्राउपूर्जी जारी गरिसकेको छ। 

नेकपा नेता थापा गृहमन्त्री रहेका बेला झापाको बेलडाँगी र मोरङको पथरी शरणार्थी शिविरमा रहेका थप भुटानी शरणार्थीहरुलाई अमेरिका पुनर्स्थापनाको तयारी गरिएको थियो। त्यस अन्तर्गत दर्ता प्रक्रियामा छुटेका शरणार्थीहरुको नामावली संकलन गरिने योजना थियो।   

त्यसैक्रममा एउटा गिरोहले नेपाली युवाहरुलाई दर्ता प्रक्रियामा छुटेका भुटानी शरणार्थीका रुपमा अमेरिका लैजाने भन्दै करोडौँ रुपैयाँ असुली सुरु गर्यो। सो धन्दाको मुख्य योजनाकार तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार डा. राई र उनको छोरा निरज लगायत रहेको प्रहरीको दाबी छ। 

जतिबेला नेपाली युवाहरुलाई भुटानी शरणार्थीको आवरणमा अमेरिका लैजाने धन्दा गोप्य रुपमा चल्दै थियो, त्यसैबेला सत्तारुढ नेकपाभित्र प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच विवाद देखिन थालेको थियो। ओली नेतृत्वको सरकारमा माओवादी केन्द्रको नेतृत्व गर्दै गृहमन्त्री र नेकपा केन्द्रीय सचिवालय सदस्य रहेका थापाले प्रचण्डलाई छाडेर ओलीलाई साथ दिए।

गृहमन्त्री थापाले ओलीलाई दिएको साथ एमाले र माओवादी दुवैतर्फ धेरैका लागि आश्चर्यको विषय समेत बन्यो।  

‘गृहमन्त्री थापाले ओलीलाई किन साथ दिएका रहेछन् भन्ने कुराको रहस्य अहिले आएर खुलेको छ,’ माओवादी केन्द्रका एक नेताले भने, ‘गृह मन्त्रालयको आडमा करोडौँ रुपैयाँ असुल्ने धन्दामा लागेकाले उनीहरुले माओवादी भन्दा गृह मन्त्रालयलाई महत्वपूर्ण ठानेर ओलीलाई साथ दिएका रहेछन्।’

यो काण्डमा गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार डा. राई र उनका छोरा निरज मात्र होइन, ओली सरकारमा माओवादीकै तर्फबाट मन्त्री रहेका एमाले सचिव टोपबहादुर रायमाझी र रायमाझी पुत्र सन्दीप पनि मुछिएका छन्।

हाल एमाले उपाध्यक्ष रहेका पूर्वमाओवादी नेता थापासँगको निकटताका कारण सेना समायोजन प्राविधिक समिति, संविधान सभा सदस्य र २०७४–७८ सम्म गृहमन्त्री थापाका सुरक्षा सल्लाहकारको अवसर प्राप्त गरेका डा. राई माओवादीसँग भने शान्ति प्रक्रिया सुरु भएपछि मात्र नजिकिएका हुन्। 

त्यसअघि उनी दरबार र नेपाली सेनासँग नजिक मानिन्थे। 

यद्यपि, भारतको ग्वालियरस्थित जीवाजी विश्वविद्यालयमा अध्ययन गरेका कारण उनलाई शंकास्पद दृष्टिले हेर्ने सैनिक अधिकृतहरुको संख्या नेपाली सेनाभित्र कम थिएन।   

दरबार र जंगी अड्डासँग निकटता रहे पनि विसं २०६० को दशकमा प्रकाशित उनको सैन्य विज्ञान सम्बन्धी पुस्तकका कारण उनलाई सहज भएको थियो। 

‘माओवादीसँग सैन्य विज्ञानको व्यावहारिक ज्ञान थियो, सैद्धान्तिक ज्ञान धेरै थिएन,’ माओवादी केन्द्रका ती नेताले भने, ‘उनले लेखेको पुस्तकका कारण माओवादीहरु उनीबारे जानकार थिए। माओवादीहरु आफूसँग रहेको व्यावहारिक ज्ञान र डा. राईसँग रहेको सैद्धान्तिक ज्ञानको फ्युजन गर्न चाहन्थे। त्यही कारण शान्ति प्रक्रियामा आएलगत्तै उनी माओवादीको प्रियपात्र हुन सफल भए।’

यहीकारण शान्ति प्रक्रिया सुरु भएपछि उनी सेना समायोजन सम्बन्धी प्राविधिक समितिमा माओवादीको तर्फबाट सदस्य बनाइए। २०६४ को निर्वाचनपछि समानुपातिक तर्फबाट संविधान सभा सदस्य समेत बने। 

भोजपुरको आमचोक गाउँपालिका जन्मस्थान रहेका उनलाई माओवादीले २०६४ को पहिलो संविधान सभा निर्वाचनमा भोजपुरबाट प्रत्यक्षतर्फको उम्मेदवार बनाउन चाहेको थियो। तर, आफू प्राज्ञिक व्यक्ति भएको बताउँदै प्रत्यक्ष निर्वाचनभन्दा समानुपातिक सूचीबाट संविधान सभामा जान चाहे।  

माओवादी अध्यक्ष प्रचण्ड पहिलो पटक प्रधानमन्त्री बने, त्यो बेला पनि रक्षामन्त्री थापाले सैन्य मामिलामा डा. राईको सल्लाह–सुझाव लिने गर्थे। 

‘एक समय त डा. राई प्रत्येक दिन बिहानदेखि बेलुकीसम्म थापाकै साथमा देखिन्थे,’ उनीबारे जानकार अर्का माओवादी नेताले भने, ‘यही कारण गृहमन्त्री बनेपछि थापाले डा. राईलाई सुरक्षा सल्लाहकार बनाए।’ 

२०६९ मा माओवादी विभाजित भएपछि थापा मोहन वैद्य खेमातर्फ लागे। डा. राईले पनि थापालाई नै साथ दिए।   

२०७४ को स्थानीय निर्वाचनअघि थापा समूह प्रचण्ड नेतृत्वको माओवादीमा फर्केपछि डा. राई पनि सँगै फर्के। 

२०७४ को आम निर्वाचनमार्फत् नेकपा सत्तारुढ भयो। माओवादीको नेतृत्व गर्दै थापा गृहमन्त्री बने। शान्ति प्रक्रिया आएदेखि नै आफूसँग निकट रहेका डा. राईलाई गृहमन्त्री थापाले सुरक्षा सल्लाहकार बनाए।

ओली दोस्रो पटक प्रधानमन्त्री छँदा थापा गृहमन्त्री रहे पनि गृह मन्त्रालयको वास्तविक हर्ताकर्ता गृहसचिव प्रेम राई र सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईलाई मानिन्थ्यो। 

जानकारहरुका भनाइमा जतिबेला थापा सत्तामा रहन्थे, त्यतिबेला डा. राईको उनीसँग अत्यधिक निकटता देखिन्थ्यो। संविधान सभा सदस्यदेखि सेना समायोजन प्राविधिक समितिको जिम्मेवारी उनलाई थापाकै सिफारिसमा प्राप्त गरेका थिए।  

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने ‘धन्दा’ मा तत्कालीन गृहमन्त्री थापाको प्रत्यक्ष संलग्नता त थप अनुसन्धानपछि खुल्ला। तर, उनका सुरक्षा सल्लाहकारको सो धन्दामा देखिएको संलग्नताले एमालेको उपाध्यक्ष समेत रहेका पूर्वगृहमन्त्री थापालाई निकै अप्ठेरोमा पारेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .