ad ad

राजनीति


जति आरोप लागे पनि नबोलेरै जित्ने बादलको दाउ

जति आरोप लागे पनि नबोलेरै जित्ने बादलको दाउ

सागर न्यौपाने
जेठ ४, २०८० बिहिबार २२:४, काठमाडौँ

नक्कली भुटानी शरणार्थी प्रकरणमा उपाध्यक्ष रामबहादुर थापा बादल र सचिव टोपबहादुर रायमाझीको संलग्नता रहेको आरोप लागेको बेला वैशाख २६ गते नेकपा एमालेको सचिवालय बैठक बस्यो। त्यसैले सो बैठक महत्वपूर्ण थियो।

बादल गृहमन्त्री हुँदा उनका सुरक्षा सल्लाहकार तथा विश्वासपात्र इन्द्रजित राई उक्त प्रकरणको योजनाकार रहेको आरोपमा पक्राउ परेको ११ दिन भइसकेको थियो। राई पक्राउ परेको ३ दिनपछि अर्थात् वैशाख २० गते बादलका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।

त्यसैले बादल पनि यो प्रकरणमा मुछिएको प्रहरी स्रोतको दाबी छ। आफ्नै छोरा पनि मुछिएको र विश्वासपात्र प्रहरी हिरासतमा रहेकै बेला बसेको सचिवालय बैठकमा बादलले स्पष्टीकरण देलान् भन्ने एमालेका थुप्रै नेताहरुको अपेक्षा थियो। तर, मौन रहे। उनले कुनै प्रष्टीकरण दिएनन्। न त निर्दाेष रहेको दलिल नै पेस गरे।

२०७४ फागुन १४ देखि २०७८ जेठ ६ सम्म गृहमन्त्री थिए बादल। त्यही बेला नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ५ सय बढी नेपालीबाट करोडौं उठाइएको प्रमाण प्रहरीले फेला पारिसकेको हेको थियो। प्रकरणमा मुछिएका १२ जना पक्राउ परिसकेका थिए। 

बादलको नाम जोडेर समाचार प्रकाशित र प्रसारित भए। सामाजिक सञ्जालमा उनीविरुद्ध आक्रोश पोखियो। उनलाई जोगाउन नेताहरु मिलेको भन्दै खबरदारी जुलुस भइरहेकै छ। गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर दलकै नेताहरुले आरोप लागेका कसैलाई नछोड्न सचेत गराए। 

तैपनि बादल प्रतिक्रियाविहीन रहे। 

‘बरु भुटानी शरणार्थीको  विषयमा अध्यक्ष केपी कमरेडले लामै व्याख्या गर्नुभयो,’ एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेपालखबरसँग भने, ‘तर, बादल कमरेड आफ्नो नाम जोडिएका विषयमा बोल्नुभएन।’

‘यस विषयमा हामी प्रवेश गर्न चाहेका पनि थिएनौँ,’ गुरुङले थपे, ‘उहाँले कार्यदल बनाएको हो भनेर पहिले अध्यक्षलाई ब्रिफिङ गरिसक्नुभएको रहेछ, त्यसमा संलग्न नभएको,  योजनाबद्ध फसाउन गरिएको हो भन्ने हाम्रो निष्कर्ष भयो।’

त्यसपछि एमालेको वैशाख २८ र २९ गते केन्द्रीय कमिटीको बैठक बस्यो। नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई ठगी गर्न मुछिएका नेताहरुलाई बर्खास्त गर्न केही केन्द्रीय सदस्यले माग गरे। 

यसपटक पनि बादल बोलेनन्। 

‘बाहिर बादलजीका विषयमा अनेक खालका आरोप लागिरहेको छ, तर सचिवालय बैठकमा मात्र होइन केन्द्रीय कमिटि बैठकमा समेत उहाँ बोल्नुभएन,’ एमाले उपाध्यक्ष युवराज ज्ञवालीले भने, ‘हुन त हामीले पनि सोधेका छैनौँ। उहाँ आँफैले यत्रो आरोप लागेपछि यथार्थ के हो बोल्नुभए हुन्थ्यो, यो सेन्सेटिभ विषयमा बोल्नुपथ्र्याे मौन हुनुभयो।’

केन्द्रीय कमिटी बैठकमा नेताहरुले कसैको नाम नलिई दोषीलाई कारबाही हुनुपर्ने बताए।

‘यस्तो जघन्य अपराधमा मुछिएका सबैलाई कारबाही गर्नुपर्छ भनेर साथीहरुले उठाए, तर व्यक्तिको नाम लिनुभएको छैन,’ ज्ञवालीले भने। 

बादल मुछिएको विषयमा पार्टीले अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन। जबकि एकपछि गर्दै बादलका निकटहरु पक्राउ परिरहेका छन्।

आरोप लागेपछि उनका छोरा प्रतीकले विज्ञप्ति जारी गर्दै आफू निर्दोष रहेको दाबी गरेका थिए। अनुसन्धानमा सघाउने बताएका उनी हाल फरार छन्। उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ।

यसबारेमा एमालेकै नेताहरु सन्तुष्ट छैनन्।

‘यो प्रकरणमा एमालेका नेता मुछिएको भनेर व्यापक हल्ला भइसक्यो न अध्यक्ष केही बोल्नुहुन्छ, न बादलजी नै वास्तविकता खोल्नुहुन्छ,’ अर्का सचिवालय सदस्यले नेपालखबरसँग भने, ‘पार्टीभित्र छलफलको विषय पनि बनाइएको छैन।’

‘बैठकमा गयो, सही गर्‍यो, सुन्यो, हिँड्यो गर्छन् बादल’ बादल एमालेका प्राय बैठकमा बोल्दैनन्।

‘उहाँलाई मैले अहिलेसम्म बैठकमा बोलेको सुनेकै छैन, आयो सिग्नेचर गर्‍योे, सुन्यो, हिँड्यो,’ ती नेताले थपे, ‘हामी बोल्दा त बोले हुने हो, चाहिने र बोल्नैपर्ने कुरा पनि उहाँ बोल्न मन गर्नुहुन्न।’

दस वर्षे जनयुद्धमा बादल निकै चर्चित नेतामध्येका थिए। शान्ति प्रक्रियामा आएपछि पहिलो संविधान सभा चुनावमा चितवन २ बाट निर्वाचित भएका उनी २०६५ मा प्रचण्ड नेतृत्वको सरकारमा रक्षामन्त्री भएका थिए।

तर, उनी २०६९ सालमा पार्टी फुट्दा मोहन वैद्यसँग लागे। २०७३ मा फेरि प्रचण्ड नेतृत्वकै माओवादीमा फर्किए। प्रचण्डले २०७४ फागुन ११ गते उनलाई गृहमन्त्री बनाएका थिए।

२०७७ फागुन २३ मा एमाले र माओवादी केन्द्र एकता भई बनेको नेकपा भंग गर्ने सर्वाेच्च अदालतले फैसला गर्‍यो। त्यसपछि बादल माओवादी फर्केनन् र एमालेमै बसे। त्यसपछि त उनले सार्वजनिक अभिव्यक्ति अत्यन्त कम दिएका छन्।

अनि खुल्दै गयो बादलको कनेक्सन...
पैसा खाएर नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने गिरोहमध्ये केशव दुलाल, पाँचथरका टङ्क गुरुङ र ललितपुर घर भएका सानु भण्डारी २०७९ चैत १२ मा पक्राउ परेका थिए। 

चैत १५ मा मोरङ घर भएका सागर राई पक्राउ परे। पक्राउ परेकाहरुले फटाफट उच्चपदस्थ नेताहरुको नाम लिए। जसमा एमालेका बादल र टोपबहादुरको पनि थियो।

तर, प्रहरीले विश्वास गरेको थिएन। पक्राउ परेकाहरुले  पैसाको मोलमोलाई गरेको अडिओ नै प्रहरीलाई दिएका थिए। 

तैपनि प्रहरी बलियो प्रमाणको खोजीमा लाग्यो। झण्डै एक महिनापछि प्रहरीले बादलका विश्वासपात्र इन्द्रजित राईलाई पक्राउ गर्‍यो। वैशाख १९ गते ललितपुरको ठेचो निवासबाटै उनलाई पक्राउ गरिएको थियो। राई नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपालीलाई ठगी गर्ने योजनाकारमध्ये रहेको प्रहरीको भनाइ छ।

तत्कालीन गृहमन्त्री बादलले २०७६ जेठ ३० मा पूर्वसहसचिव बालकृष्ण पन्थी संयोजकत्वमा गणेश केसी सदस्य तथा शाखा अधिकृत दीपक न्यौपाने सदस्य सचिव रहेको कार्यदल बनाएका थिए। सो कार्यदलले तेस्रो मुलुक जान बाँकी रहेका वास्तविक शरणार्थीको पहिचान गर्ने बताइएको थियो। 

पक्राउ परेकाहरुले बादलको नाम पनि लिएका छन्। तर, बादललाई अहिलेसम्म पक्राउ गरेर बयान लिने अवस्थामा प्रहरी छैन। आवश्यक प्रमाण जुटाउने क्रम जारी रहेको प्रहरीको भनाइ छ। 

यस प्रकरणमा बादलको नाम मुछिएपछि एमालेका केही केन्द्रीय सदस्य उनलाई भेट्न पुगेका थिए। एमाले केन्द्रीय सदस्य नवीन रोकाका अनुसार बादलले आफ्नो संलग्नता नरहेको बताए।

‘ढुक्क रहनुस्, मेरो कुनै संलग्नता छैन, म मुछिएको पनि छैन, मलाई यस्ता कुरामा रुचि पनि छैन,’ बादलको भनाइ उधृत गर्दै रोकाले भने, ‘मैले अध्यक्षसँग पनि भनेको छु, म निर्दाेष छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .