ad ad

अपराध


पक्राउ गर्न पुगेका प्रहरीलाई इन्द्रजितले भने : पहिल्यै टाइम नलिई किन आयौ?

पक्राउ गर्न पुगेका प्रहरीलाई इन्द्रजितले भने : पहिल्यै टाइम नलिई किन आयौ?

नेपालखबर
बैशाख १९, २०८० मंगलबार २२:३९, काठमाडौँ

मंगलबार बिहानै काठमाडौं प्रहरी परिसरबाट सादा पोसाकमा एउटा टोली तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईको निवासमा पुग्यो। प्रहरी पुग्दा राई ललितपुरको ठेचोँस्थित घरमै थिए। 

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पनि उनलाई निगरानी गरिरहेको थियो। तर पक्राउ गर्ने अनुमति थिएन। अनुमति पाउनासाथ पक्राउ गर्ने गरी डीएसपीको टोली खटिएको थियो। 

प्रहरी घरमा पुगेर बोलाएपछि उनका छोरा बाहिर आए। तर उनलाई थाहा थिएन, ती प्रहरी हुन्। उनले प्रहरीलाई केरकार गर्न थाले। 

‘तपाईं को हो? किन आउनु भएको?’ 

प्रहरी अधिकृतले उनलाई एउटा नाम भनेर ठेगाना सामाखुसी बताइदिए। त्यसपछि इन्द्रजितका छोराले बाबुलाई बोलाए। इन्द्रजित बाहिर आए र भने, ‘तपाईंहरु मसँग पहिल्यै समय नलिई किन आएको? म यसरी मान्छे भेटेर कुरा गर्दिनँ।’

त्यसपछि ती प्रहरीले परिचय पत्र देखाउँदै भने, ‘तपाईंलाई भुटानी शरणार्थी सम्बन्धी मुद्दा थाहै होला।’

‘अँ म अपडेट छु,’ इन्द्रजितले जवाफ दिए। 

‘सर हाम्रो कार्यालय जानु पर्यो, हामी लिन आएका हौं।’

त्यसपछि इन्द्रजित राई कोठामा पसेर लुगा फेरेर बाहिर आए। 

परिसरको टोलीले उनलाई गाडीमा काठमाडौं परिसर ल्यायो। राईलाई ५ दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न प्रहरीले अनुमति पाइसकेको छ। बुधबारदेखि उनको बयान गराउने जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि नेउपानेले बताए। 

राईले प्रहरीसँगको प्रारम्भिक सोधपुछमा भने घटनाबारे आफू अपडेट रहेको बताएका छन्। आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको र अब पक्राउ पर्छु भन्न्ने लागेको उनले बताएका थिए। 

सानु भण्डारीले भने– पैसा इन्द्रजितलाई बुझाएँ, म पनि पीडित हुँ
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम उठाउन ठूलै गिरोह संलग्न रहेको पहिले नै खुलिसकेको थियो। तर प्रहरीले लामो समय यो मुद्दामा गम्भीर भएर अनुसन्धान नै गरेन। कारण थियो, जसलाई कारबाही गर्नु पर्ने हो, उनै सरकारमा थिए, उनैले प्रहरीलाई आदेश दिन्थे।

गृह मन्त्रालयमै भएको टोलीलाई कारबाहीको दायरामा ल्याउन प्रहरीलाई सहज थिएन। प्रहरीले प्रारम्भिक अनुसन्धान गरेको थियो। तर अनुसन्धानमा गृहकै अधिकारीहरु जोडिए। त्यसपछि प्रहरीले यो फाइल खोलेन। 

गत वर्ष जेठमै केही पीडितले प्रहरीमा उजुरी गरेका थिए। अहिलेसम्म करिब डेढ सयले उजुरी गरिसकेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीले बताए। 

प्रहरीले यस घटनामा संलग्न ५ जनालाई यसअघि पक्राउ गरेको थियो। 

ललितपुर महानगरपालिका–२३ घर ५० वर्षीय सानु भण्डारी, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० घर भएका ४९ वर्षीय केशवप्रसाद दुलाल, पाँचथरको फिदिम नगरपालिका–७ घर भएका ४५ वर्षीय टंककुमार गुरुङ, दाङ घर भएका सन्देश शर्मा, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० का पूर्ववडाध्यक्ष सागर राईलाई यसअघि नै पक्राउ गरेको थियो। 

उनीहरुमध्ये इन्द्रजितसँग सबैभन्दा बढी कनेक्सन देखिएका व्यक्ति हुन् केशव दुलाल र सानु भण्डारी। सानु भण्डारीले बयानका क्रममा आफू पनि इन्द्रजितबाट पीडित रहेको बताएका छन्। 

इन्द्रजितले आफ्नो समेत रकम ठगी गरेको भण्डारीले बयान दिएका छन्। बयान अनुसार इन्द्रजित गृह मन्त्रालयमा हुँदा सबै काम मिलाउने भन्दै रकम लिने गरेको खुलेको छ। 

भण्डारी लगायत पक्राउ परेका व्यक्तिहरुले भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनिएका नेपालीबाट उठाएको रकमको ठूलो हिस्सा इन्द्रजितलाई बुझाउने गरेको बताएका छन्। कतिपयसँग इन्द्रजित आफैंले रकम लिएको समेत उजुरीमा उल्लेख छ। 

सानु भण्डारीको डायरीमा पनि इन्द्रजितलाई पटकपटक रकम बुझाएको विवरण फेला परेको परिसरका अनुसन्धान अधिकृतले जानकारी दिए।

कतिपयसँग भने इन्द्रजितका छोरा निरजले रकम लिने गरेका थिए। निरजलाई पनि प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ। उनी हाल फरार रहेको प्रहरीले जनाएको छ। 

इन्द्रजितले छोराको बारेमा आफूलाई थाहा नभएको र लामो समयदेखि फोनमा समेत कुरा नभएको प्रहरीलाई बताएका छन्। तर पक्राउ पुर्जी जारी भइसकेको छ। प्रहरीले उनलाई खोजिरहेको छ। 

रामबहादुर थापा गृहमन्त्री हुँदा उनको सुरक्षा सल्लाहकारमा इन्द्रजित नियुक्त भएका थिए। त्यति नै बेला उनले गृह मन्त्रालयबाट सबै प्रक्रिया मिलाउने भन्दै रकम लिने गरेको खुलेको हो। गृह मन्त्रालयका तत्कालीन कर्मचारी समेत संलग्न रहेको आशंका गरिएको छ। 

‘कतिपयको नाम जोडिएको छ। प्रमाणले पुष्टि हुनासाथ उहाँहरु पनि पक्राउ पर्नुहुन्छ। यसमा ठूलै लहरो तानिने देखिन्छ,’ काठमाडौं परिसरका एक अधिकारीले भने। 

गृह मन्त्रालयका कर्मचारी समेत यसमा जोडिएका छन्। तर अहिलेसम्म पक्राउ परेका व्यक्तिले उनीहरुको नाम लिएका छैनन्। गृह मन्त्रालयसहित अन्य सरकारी निकायबाट मिलाउने जिम्मा इन्द्रजितको थियो। पक्राउ परेकाहरु सबैले बयानमा मुख्य योजनाकार नै इन्द्रजित भएको बताएका छन्। 

पक्राउ परेका व्यक्तिविरुद्ध प्रहरीले ठगी र संगठित अपराध सम्बन्धी कसुरमा म्याद थप गरेर अनुसन्धान गरिरहेको छ। यससम्बन्धी कसुरमा ६० दिनभित्रमा अदालतमा मुद्दा बुझाउनु पर्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .