ad ad

राजनीति


यी तीन जना फरार हुँदा प्रहरीले जुटाउन सकेन बादल र प्रेम राईविरुद्ध प्रमाण

यी तीन जना फरार हुँदा प्रहरीले जुटाउन सकेन बादल र प्रेम राईविरुद्ध प्रमाण

उजिर कार्की
बैशाख २९, २०८० शुक्रबार १९:३६, काठमाडौँ

नक्कली भुटानी शरणार्थीका नाममा भएको ठगीधन्दाको बीजारोपण २०७६ साल जेठमा भएको थियो। जतिबेला गृह मन्त्रालयको नेतृत्व रामबहादुर थापा बादल र प्रेमकुमार राईले गरेका थिए। 

थापा गृहमन्त्री हुँदा राई गृहसचिव थिए। २०७६ जेठ ३० गतेको मन्त्रिस्तरीय निर्णयबाट भुटानी शरणार्थीको समस्याको स्थायी र दीर्घकालीन समाधानका उपायहरु पहिल्याउन भन्दै पूर्वसहसचिवको नेतृत्वमा एउटा कार्यदल बनाइएको थियो। 

पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा रहेको कार्यदलमा गणेशबहादुर केसी सदस्य र तत्कालीन शाखा अधिकृत दीपकप्रसाद न्यौपाने सदस्य सचिव थिए। 

समितिलाई कार्य प्रारम्भको २ महिनाभित्र वैकल्पिक उपायहरुको सम्बन्धमा सुझावसहितको प्रतिवेदन पेस गर्न ६ वटा बुँदामा कार्यादेश दिइएको थियो। 

अहिले सतहमा आएको शरणार्थी प्रकरणको सुरुवात यहीँबाट भएको थियो। कार्यदल बनाउँदै यसको सेटिङ सुरु भयो। कार्यदलले झापा र मोरङमा रहेका भुटानी शरणार्थी शिविरको स्थलगत भ्रमण पनि गरेको थियो। गृहमन्त्री बादल र गृहसचिव राईकै पालामा समितिले १८ पेजको प्रतिवदेन र ४२९ जना शरणार्थीको सूची बुझाएको थियो। 

सुरुदेखि नै विवरण सही थिएन
सन् २०१९ सम्ममा एक लाख १३ हजार ३०७ जना भुटानी शरणार्थी तेस्रो देशमा पुनर्स्थापना भएका थिए। त्यसपछि ७ वटा शिविरमा रहेका शरणार्थीलाई मोरङको शनिश्चरे र झापाको बेलडाँगीमा सारेर अरु शिविर खाली गराइएको थियो। 

यी दुई शिविरमा रहेका शरणार्थीलाई स्थायी रुपमा कसरी व्यवस्थापन गर्ने भन्ने अध्ययन गरेर सुझाव दिन भनिएको थियो। जतिबेला कुल दर्ता भएका शरणार्थीको संख्या एक लाख १६ हजार ३५७ थियो। 

१ जनवरी २०१९ को तथ्यांक अनुसार दर्ता भई तेस्रो देशमा पुनर्स्थापनापश्चात् बाँकी रहेका शरणार्थीहरुको संख्या ६ हजार ५७७ जना देखिएको कार्यदलको प्रतिवेदनमा उल्लेख छ। यीमध्ये पनि ८१७ जना शरणार्थीहरु शिविर बाहिर गई शिविरबाट पाइरहेको सुविधा पनि लिन नआई सम्पर्कविहीन भएका थिए। 

शरणार्थीको संख्या भने पहिलेबाटै गडबड थियो। भुटानी शरणार्थीहरुको अभिलेख राख्ने राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायोग (यूएनएचसीआर) को तथ्यांकमै दर्ता संख्या र मान्यताप्राप्त शरणार्थीको संख्यामा ३ हजार ५२७ फरक परेको थियो। 

त्यसअघि ८ वटा देशमा शरणार्थी पुनर्स्थापना गरिएको थियो। सबैभन्दा धेरै ९६ हजार १७० जना अमेरिका गएका थिए। अस्ट्रेलिया ७ हजार ७०, क्यानडा ६ हजार ८३९, न्युजिल्यान्ड एक हजार ९६, डेनमार्क ८७५, नर्वे ५७०, बेलायत ३५८ र नेदरल्यान्ड्समा ३२९ जनाको पुनर्बास गरिएको थियो। 

तर कार्यदलले तेस्रो देशमा गइसकेका शरणार्थीहरुको विवरण भने समावेश गर्न सकेको थिएन। यूएनएचसीआरले गृह मन्त्रालयमा पठाइसकेको जवाफ दियो। 

कार्यदलले २०१६ पश्चात् तेस्रो देशमा पुनर्स्थापना गराउने कार्यक्रम बन्द भइसकेको भए पनि अन्तिम लटको रुपमा पुनः पुनर्स्थापनाका लागि राजी गराउन नेपाल सरकारको विशेष पहल र सक्रियता आवश्यक रहेको सुझाव दिएको थियो। 

यो प्रतिवेदन रामबहादुर थापा गृहमन्त्री र प्रेमकुमार राई गृहसचिव हुँदा मन्त्रिपरिषदमा पेस भएको थियो। नक्कली शरणार्थी खडा गरेर ठगी गर्ने गिरोहसँग बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई र उनका छोरा निरज, बादलका स्वकीय समेत रहेका छोरा प्रतीक जोडिएका छन्। यस्तै पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप पनि यो प्रकरणमा जोडिएका छन्। 

तर, कार्यदलले काम गर्दाका गृहका हर्ताकर्तामध्ये सुरक्षा सल्लाहकार राई र सन्दीप मात्रै पक्राउ परेका छन्। शरणार्थीका नाममा ठगी गरेको आरोपमा प्रहरीले चैत १२ गते ३ जनालाई पक्राउ गरेको थियो। 

सुरुमा पक्राउ परेका केशव दुलाल, सानु भण्डारी र टंक गुरुङ हुन्। उनीहरुले बयानका क्रममा अन्यलाई पोल्दै गएपछि यो ठगी प्रकरणमा पक्राउ पर्नेको संख्या १२ पुगेको छ। 

अन्य केही अझै फरार छन्। तर ठगी प्रकरणको सुरुवात गर्दा गृह मन्त्रालयको नेतृत्व गर्ने गृहमन्त्री थापा र गृहसचिव राईविरुद्धका प्रमाण भने जुटाउन प्रयास भइरहेको प्रहरीको भनाइ छ। 

पक्राउ परेका इन्द्रजित राईले केही पनि बोल्न मानेका छैनन्। उनले बयानका क्रममा केही पनि बोल्न नमानेको अनुसन्धान अधिकारी बताउँछन्। इन्द्रजितले आफ्नो छोराको बारेमा समेत प्रहरीलाई जानकारी दिन मानेका छैनन्। 

इन्द्रजित नबोल्ने र अन्य व्यक्ति फरार हुँदा यो ठगी प्रकरणको अनुसन्धान थप जटिल बन्दै गएको छ। बादल र प्रेमकुमार राईसँग जोडिएका व्यक्ति प्रतीक र इन्द्रजितका छोरा निरज हुन सक्ने प्रहरीको अनुमान छ। यस्तै पूर्वमन्त्री टोपबहादुरबाट पनि थप खुल्ने प्रहरीको आशा छ। तर उनीहरु फरार हुँदा थप प्रमाण जुटाउन समस्या भइरहेको प्रहरीको भनाइ छ। 

यसअघि पक्राउ परेका र पक्राउ पुर्जी जारी भइसकेका व्यक्तिहरु भने बिचौलियासँग जोडिएका थिए। बादलपछि गृहमन्त्री भएका बालकृष्ण खाँण र खाँणको पालाका गृहसचिव टेकनारायण पाण्डे भने पक्राउ परिसकेका छन्। 

पाण्डेले सिधै बिचौलियासँग डिल गरेको प्रमाण प्रहरीले फेला पारेको थियो। पूर्वगृहसचिव पाण्डेमार्फत प्रहरीले पूर्वगृहमन्त्री खाँणलाई तानेको हो। पाण्डेको मोबाइल परीक्षणबाट खाँणको संलग्नताका प्रमाण जुटेका थिए।
 
अनुसन्धान अधिकृतले भने, ‘खाँण गृहमन्त्री हुँदा भएका कर्तुत निकाल्न अब हामीलाई समस्या छैन। तर पहिलेको भने पत्ता लगाउन गाह्रो परिरहेको छ। बयानमा पटकपटक नाम आएको छ। पैसा बुझाएको पनि भनेका छन्। तर कसैले भन्दैमा भएन। खाँण र पाण्डेको जस्तो संलग्नता खुल्ने प्रमाण बादल र प्रेम राईको हकमा फेला पर्न सकिएको छैन।’

बादल गृहमन्त्री हुँदा गृहमै रहेका व्यक्तिहरु पछि खाँणसम्म आइपुग्दा पनि संलग्न देखिएका छन्। बादल गृहमा हुँदै सेटिङ मिलाइसकेको बताएका र पछि पनि उनीहरु निरन्तर जोडिएको बिचौलियाको बयान छ। तर बिचौलियाले भनेअनुसार रकम बुझेको प्रमाण चाहिँ प्रहरीले फेला पार्न सकेको छैन। फरार व्यक्ति पक्राउ परे उनीहरुविरुद्ध प्रमाण जुट्ने विश्वास अनुसन्धान अधिकृतहरु व्यक्त गर्छन्।

यता खाँणको मोबाइल फरेन्सिक ल्याबमा पठाइएको छ। यसको रिपोर्ट आएपछि थप व्यक्तिको संलग्नता रहेनरहेको प्रष्ट हुने अनुसन्धान अधिकारी बताउँछन्। खाँण गृहमन्त्री हुँदा उनकी पत्नी मञ्जु र तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजुको नाम बिचौलियाले लिएका छन्। 

बिचौलियाले आर्थिक कारोबार नै गरेको बताए पनि प्रहरीले यसको प्रमाण फेला पार्न सकेको छैन। थप प्रमाण जुटाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ। तर अब प्रहरीले बढीमा १० दिनभित्रमा सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइसक्नु पर्नेछ।

जेठ १२ गतेभित्रमा यो मुद्दा अदालतमा बुझाइसक्नु पर्नेछ। पक्राउ पुर्जी जारी भएका र फरार रहेका व्यक्ति त्यसअघि पक्राउ गर्न नसके प्रहरीले उनीहरुलाई फरारको सूचीमा राखेर मुद्दा अगाडि बढाउने छ। 

यस्तै पछि थपको संलग्नता खुलेमा पनि कानुनी दायरामा ल्याउने विकल्प भने रहनेछ। चैत १२ गते पहिलो पटक केशव दुलाल, सानु भण्डारी र टंक गुरुङ पक्राउ परेका थिए।

पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व गृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, खाँणका निजी सचिव नरेन्द्र केसी, पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप, बिचौलियाहरु सागर राई, सन्देश शर्मा, रामशरण केसी र गोविन्द चौधरी पक्राउ परेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .