ad ad

समाज


कार्यदल संयोजक पन्थी र सदस्य केसीको बयान : यो प्रतिवेदन हाम्रो होइन, बिचौलियाले लेखेको हो

कार्यदल संयोजक पन्थी र सदस्य केसीको बयान : यो प्रतिवेदन हाम्रो होइन, बिचौलियाले लेखेको हो

फाइल तस्बिर


उजिर कार्की
बैशाख २६, २०८० मंगलबार १४:३२, काठमाडौँ

अनुसन्धानको म्याद सकिन लाग्दा प्रहरीले नक्कली शरणार्थी प्रकणमा जोडिएका व्यक्तिहरुसँग बयान लिन सुरु गरेको छ।

संगठित अपराधसम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको प्रहरीले अबको १० दिन भित्रमा अनुसन्धान सक्नु पर्नेछ। 

सुरुमा ठगीको कसुरमा मात्रै अनुसन्धान गरेको प्रहरीले यसबीचमा संगठित अपराधमा पनि छानबिन थालेपछि समय कम भएको अधिकारीहरुले बताएका छन्। 

नक्कली शरणार्थी प्रकरणको अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंले छुट्टै टिम तयार गरेर सामुदायिक साझेदारीको भवनमा कार्यकक्ष खडा गरेको छ।

‘यसअघि भन्दा टिम बढाइएको छ। पहिले तयार भइसकेको फायल अन्तिम समयमा परिवर्तन गर्नुपर्दा हामीलाई टाइमको प्रेसर भयो’, अनुसन्धान अधिकृतले भने। 

२० जनाभन्दा बढीविरुद्ध पक्राउ पुर्जी जारी भए पनि प्रहरीले अहिलेसम्म ८ जना मात्रै पक्राउ गरेको छ। पूर्वउपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीसहित अन्य फरार छन्। 

यो प्रकरणमा पूर्वगृहमन्त्रीद्वय रामबहादुर थापा बादल र बालकृष्ण खाँण, पूर्वगृहसचिव एवम् अख्तियार प्रमुख प्रेमकुमार राई, खाँण पत्नी  मञ्जु खाँण, कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी एवम् सांसद आरजु राणा लगायतको पनि नाम जोडिएको छ। 

बिचौलियाहरुले उनीहरुको नाम पनि पीडितसँगको कुराकानीमा लिएका थिए। पीडित र बिचौलियाबीचको उक्त अडिओ सार्वजनिक भइसकेको छ।

तर कुराकानीमा भनिएअनुसार आर्थिक कारोबार र संलग्नता पुष्टि हुने प्रमाण फेला नपरेको प्रहरीले जनाएको छ। 

प्रमाण संकलनको प्रयास भइरहेको र पुष्टि भएमा जो-कोही कानुनी दायरामा आउने प्रहरीको दाबी छ। प्रहरीले यसमा प्रत्यक्ष जोडिएका अधिकारीसँग भने बयान लिन थालेको छ। 

पन्थी र केसीले के भने?
भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपायहरु पहिल्याउन गठित कार्यदलका संयोजक र एक सदस्यको प्रहरीले बयान लिएको छ।

सोमबार काठमाडौं जिल्ला प्रहरी परिसरमा बोलाएर उनीहरुको बयान लिइएको हो। 

कार्यदलका संयोजक बालकृष्ण पन्थी र विज्ञ सदस्य गणेश केसीले काठमाडौं परिसर पुगेर बयान दिएका हुन्। 

सोमबार आफूहरुले बयान दिएको सदस्य केसीले बताए। बयानका क्रममा केसी र पन्थीले नक्कली शरणार्थी बनाएर ठगी गर्ने कार्यमा आफूहरुको कुनै संलग्नता नरहेको र बिचौलियासँग पनि सम्पर्क नभएको बताएका छन्। 

तर प्रहरीले उनीहरुलाई अर्कै प्रतिवेदन देखाएको र त्यो कार्यदलले तयार गरेको नभई बिचौलियामार्फत बनाइएको उनीहरुको जवाफ छ।

‘हामीले तयार गरेको प्रतिवेदन नभई प्रहरीले बयानका क्रममा हामीलाई अर्कै प्रतिवेदन देखाउनु भएको थियो। तर त्यो प्रतिवेदनका दुई पेज फरक थिए। जुन हाम्रो कार्यदलले तयार गरेको होइन। त्यहाँ हामीले उल्लेख नगरेको कुराहरु समेटिएको थियो। हाम्रो प्रतिवेदन प्रष्ट छ, यसरी रोकिएका भुटानी शरणार्थी ४२९ जना छन् त्यसमा एक जना पनि थप गर्न सक्ने हाम्रो प्रतिवेदनले ठाउँ दिएको छैन’, बयानपछि केसीले नेपालखबरसँग भने। 

बयानका क्रममा आफूले पनि प्रतिवेदनमा चलखेल भएको देखेको केसीले बताए।

‘हामीले प्रतिवेदन बुझाएको हो तर पछि प्रतिवेदन फेरिएको रहेछ। हामीले बुझाएको प्रतिवेदनको एक प्रति अहिले पनि हामीसँग छ। तर गृह मन्त्रालयबाट प्रहरीमा पठाएको प्रतिवेदनमा छेडखानी भएको र एक दुई पाना तल माथी भएको देखिन्छ’, केसीले भने। 

आफूहरु प्रतिवेदन बुझाएर हिँडेपछि के कसो भयो थाहा नपाएको र एकसाथ उजुरी पर्यो रे भनेपछि मात्रै थाहा पाएको बताए। ‘प्रहरीले सोधपुछ गर्दा पनि यही जवाफ दियौं’, उनले भने। 

प्रहरीले कार्यदलकै अर्का सदस्य  दीपकप्रसाद न्यौपानेलाई पनि बयानमा बोलाइसकेको छ। तर उनले पनि बुधबारसम्ममा उपस्थित हुने बताएका छन्।

सम्बन्धित समाचार

​यस्तो छ प्रतिवेदनको सुझाव र निष्कर्ष

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .