ad ad

समाज


टोपबहादुर पक्रन गएका प्रहरीलाई आईजीपीले नै फिर्ता बोलाएका थिए

टोपबहादुर पक्रन गएका प्रहरीलाई आईजीपीले नै फिर्ता बोलाएका थिए

नेपालखबर
बैशाख २५, २०८० सोमबार १३:११, काठमाडौँ

आईजीपी वशन्त कुँवरले नफर्काएको भए पूर्वउपप्रधानमन्त्री एवम् नेकपा (एमाले) सचिव टोपबहादुर रायमाझी ५ दिनअघि नै पक्राउ परिसकेका हुन्थे। रायमाझीलाई पक्राउ गर्न रुपन्देहीकै प्रहरीको टोली बुधबार साँझ नै उनी नजिक पुगिसकेको थियो।

भुटानी शरणार्थीका नाममा अमेरिका पठाउने भन्दै नेपालीलाई ठगेको आरोपमा संलग्न रहेको भन्दै उनीविरुद्ध पनि प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएको थियो।

आफूलाई पक्राउ गर्न लागेको रायमाझीले खबर पाए। त्यसलगतै उनले प्रहरी महानिरीक्षक वशन्त कुँवरलाई टेलिफोन गरे। आईजीपी कुँवर पनि त्यतिबेला बुटवल नै पुगेका थिए।

रायमाझीले कुँवरलाई आफैँ प्रहरी कार्यालयमा उपस्थित भएर अनुसन्धानमा सहयोग गर्ने बताए। त्यसअघि सार्वजनिक कार्यक्रममा समेत उनले पत्रकारसँग कुरा गर्दै आफूमाथिको आरोप अस्वीकार गरे र काठमाडौं गएर अनुसन्धानमा सहयोग गर्ने बताएका थिए।

‘उहाँ आफैंले फोन गरेर त्यति भनिसकेपछि उपप्रधानमन्त्री भइसकेको व्यक्ति भाग्ला भन्ने हामीले सोचेनौँ। फेरि आईजीपी सावले पक्राउ गर्न पुगेको प्रहरीलाई पनि अहिले छाडिदिनु आफैं आउने रे भन्नु भयो’, प्रहरी प्रधान कार्यालयका उच्च अधिकारीले भने, ‘त्यसपछि प्रहरी ब्याक भयो।’

रायमाझीले त्यसै साँझ ९ बजे सभामुख देवराज घिमिरेसँगै फर्किने गरी टिकट मिलाएका थिए। त्यसअघि नै काठमाडौं आउने टिकट काटेका उनले राति ९ बजेलाई सारेका थिए। त्यही फ्लाइटमा उनी काठमाडौं फर्किनेमा प्रहरी ढुक्क भयो।

तर रायमाझी अर्घाखाँचीबाट विमानस्थल आउँदै गर्दा उनका छोरा सन्दीपलाई प्रहरीले बुटवलबाट पक्राउ गर्यो। छोरो पक्राउ परे लगतै उनको मोबाइल बन्द भयो। रायमाझी फरार भए, सभामुखसँग काठमाडौं पनि आएनन्।

त्यसको भोलिपल्टसम्म पनि रायमाझी आफैं आउनेमा काठमाडौं परिसरका प्रहरीहरु आशावादी देखिन्थे। तर साँझसम्म पनि उनी उपस्थित भएनन्। त्यसपछि द्रुतगतिमा खोजतालास गरेको प्रहरीले फेला पार्न सकेको छैन।

शुक्रबार र शनिबार बिदा भएका कारण अदालतमा उपस्थित नगराउने भएकाले आइतबार उपस्थित हुन सक्छन् भन्ने प्रहरीको आकलन पनि फेल खायो।

अहिले रायमाझी भगाएको आरोप प्रहरीलाई लाग्न थालेको छ। तर रायमाझी भने आईजीपीकै कारण भागेका हुन्। प्रहरीले अहिले खोजतलास गरे पनि फेला पार्न नसकेको बताएको छ।

करिव १० दिनपछि प्रहरीले यो मुद्दाको अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउने छ। वकिल कार्यालयले अदालतमा मुद्दा दायर गर्नेछ।

त्यसअघि पक्राउ नपरे रायमाझी अब अदालतमा मुद्दा बुझाएपछि सिधै उपस्थित हुन सक्छन्।

यस्तै, रायमाझीलाई पक्राउ गर्ने तयारी गरिरहँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि विरोध गरेका थिए। उनले उपप्रधानमन्त्री भइसकेको व्यक्ति भागेर नजाने भन्दै बाटोबाटै पक्राउ गर्न लागेको भन्दै आपत्ति जनाएका थिए। उनले यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर समेत कुरा गरेका थिए।

एमाले अध्यक्ष ओली र प्रधानमन्त्रीबीच कुरा हुनु र रायमाझी फरार हुनु सँगै भएको थियो।

अहिलेसम्म प्रहरीले उनका छोरा सन्दीपसहित ८ जनालाई पक्राउ गरेको छ। रायमाझीसहित पक्राउ पुर्जी जारी भइसकेका अझै ११ जना फरार छन्।

उनीहरुलाई पनि मुद्दा बुझाउनुअघि पक्राउ गरिसक्ने प्रहरीले जनाएको छ। पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरज र टोपबहादुरको भने संलग्नता खुल्ने बलियो प्रमाण फेला परिसकेको प्रहरीले जनाएको छ।

इन्द्रजित भने पक्राउ परिसकेका छन्। यस्तै, पूर्व गृहसचिव टेकनारायण पाण्डे, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ पनि थुनामा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .