ad ad

कारोबार


मौद्रिक नीति कसिलो कि खुकुलो?

व्यवसायी र नेताहरुको सुझाव नमान्ने गभर्नरको संकेत
मौद्रिक नीति कसिलो कि खुकुलो?

दीपक भट्ट
असार २९, २०७९ बुधबार ६:३५, काठमाडौँ

नेपाल राष्ट्र बैंकले तयारी अन्तिम चरणमा पु¥याउँदै गर्दा आगामी मौद्रिक नीतिबारे सर्वत्र चासो बढेको छ। 

दक्षिण एसियाली देश श्रीलंकामा विदेशी मुद्रा सञ्चितिमा आएको ह्रासबाट चुलिएको आर्थिक संकटले गहिरो राजनीतिक संकट निम्तिएको नेतादेखि सर्वसाधारणसम्म र अर्थशास्त्रीदेखि बौद्धिक जमातसम्मले देखेका छन्। यही कारण अर्थतन्त्रलाई सन्तुलनमा राख्ने मौद्रिक नीति कस्तो आउला भन्ने उत्सुकता बढेको हो। 

केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग दिनहुँजसो भेटेर व्यवसायी र नेताहरुले कसिलो नीति नलिन बताइरहेका छन्। यही असार ८ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा गभर्नर अधिकारीले आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्ने आशयको अभिव्यक्ति दिएका थिए। 

उनको त्यो अभिव्यक्ति मौद्रिक नीति खुकुलो नआउनेतर्फ संकेतका रुपमा बुझेका व्यवसायी र नेताहरु अहिले उनीसँग भेट्न आतुर देखिएका छन्। 

गभर्नरको त्यो अभिव्यक्तिको दुई दिन नबित्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उनलाई भेटेका थिए। भेटपछि थापाले अर्थतन्त्रमा देखिएका समस्या समाधानका उपायसहित राष्ट्र बैंकले अबको मौद्रिक नीति तयार पार्ने अपेक्षा लिइएको बताए। 

तत्कालीन अर्थमन्त्री जनार्दन शर्मासँग ‘वैमनश्य’कै अवस्थामा भएको भेटमा गभर्नर अधिकारीले थापालाई मौद्रिक नीतिबारे प्रधानमन्त्री शेरबहादुर देउवाले समन्वय गरिदिनुपर्ने आग्रह गरेका थिए। थापाले साना व्यवसायीलाई अप्ठ्यारोमा नपार्ने नीति लिन गभर्नरलाई सुझाएका थिए। 

यसले पनि सरकार हाँकिरहेको दलका प्रभावशाली नेता कसिलो मौद्रिक नीतिको विपक्षमा रहेको देखिन्छ। तर गभर्नर अधिकारीले असारभरि विभिन्न कार्यक्रम र भेटघाटमा दिएका अभिव्यक्तिले अर्थतन्त्रमा दबाबकै बीच उनी खुकुलो मौद्रिक नीति लिने पक्षमा छैनन् भन्ने बुझिन्छ। 

कसिलो मौद्रिक नीतिको पक्षमा गभर्नर
मौद्रिक नीतिबारे अहिले दिनहुँजसो छलफल भइरहेको छ। यही असार १६ गते नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको कार्यक्रममा उनले रुस–युक्रेन युद्धले अर्थतन्त्रमा नयाँ चुनौती थपेको बताएका थिए। त्यसपछि यही असार २० गते अटो व्यवसायीलाई भेट दिएका अधिकारीले पछिल्लो समय यस क्षेत्रमा गरिएको कडाइको बचाउ गरे।

सोही दिन उनले निर्यात व्यवसायी महासंघको मौद्रिक नीतिबारेको सुझाव लिएका थिए। २० गते नै उनले निजी क्षेत्रसँग मौद्रिक नीतिबारे अन्तर्क्रिया गरेका थिए। राष्ट्र बैंकले नै गरेको सो कार्यक्रममा उनले बाह्य क्षेत्रमा दबाब बढिरहेको भन्दै वस्तु आयात नियन्त्रण गर्ने मौद्रिक नीति आउने संकेत दिएका थिए। फेरि २६ गते उद्योग वाणिज्य संघले मौद्रिक नीतिमाथि सुझाव कार्यक्रम राखेको थियो। 

सो कार्यक्रममा पनि उनले चुनौतीपूर्ण अर्थतन्त्र र बाह्य क्षेत्र व्यवस्थापन गर्ने गरी नीति आउने बताए। गभर्नर अधिकारीले गभर्नर वा निजी क्षेत्रको मागभन्दा पनि मुलुकको अर्थतन्त्रको मागलाई सम्बोधन गरी मौद्रिक नीति ल्याउनुपर्ने बताएका थिए। यसको सोझो अर्थ हो– आगामी मौद्रिक नीति खुकुलो होइन, कसिलो नै आउनेछ। 

वस्तु आयातमा कडाइलाई निरन्तरता!
गभर्नर अधिकारीले नेपाल उद्योग वाणिज्य महासंघ, संसदीय अर्थ समिति, नेपाल व्यवस्थापन संघलगायतले आयोजना गरेका सबैजसो छलफलमा यिनै विषयमा केन्द्रित रहेर बोलेका छन्। उनले अर्थतन्त्रमा केही असहज परिस्थिति आएकोले त्यसलाई कडाइ गरेर अघि बढ्ने बताएका छन्। केही महिना गरेको कडाइको प्रतिफल समेत देखा परिसकेको बताउँदै उनले वस्तु खपतमा केही कडाइ गर्ने नीतिको संकेत गरेका छन्। 

वैशाख १३ गते राजपत्रमा सूचना जारी गर्दै सरकारले कुरकुरे, लेज, मदिरा, चुरोट, सुर्ती, हिरा, ६ सय अमेरिकी डलरभन्दा माथिका मोबाइल सेट, जिप कार, ३२ इन्चभन्दा माथिका टेलिभिजन, २५० सीसीभन्दा माथिको मोटरसाइकल, खेलौनाहरु, तास वस्तुको आयात पूर्ण रुपले बन्देज गर्ने निर्णय गरेको थियो। 

त्यसले वैदेशिक मुद्रा सञ्चितिमा सुधारमा योगदान समेत दिएको देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार वैशाख महिनाको तुलनामा जेठ महिनामा वैदेशिक मुद्रा सञ्चिति ३० अर्ब रुपैयाँले बढेको छ। वैशाख महिनासम्म ११ खर्ब ४६ अर्ब रुपैयाँबराबरको विदेशी मुद्रा सञ्चिति रहेकोमा जेठ महिना ११ खर्ब ७६ अर्ब पुगेको छ। 

कस्तो आउला त मौद्रिक नीति? 
नेपाल राष्ट्र बैंकले वस्तु आयातमा पूर्ण बन्देज त लगाउन पाउँदैन तर वस्तु आयात कर्जा प्रवाह रोक्ने मौद्रिक नीति भने आउनसक्ने संकेत गभर्नर अधिकारीले दिएका छन्।

मौद्रिक नीति लेखन टिमका एक सदस्य पनि प्राविधिक रुपमा मौद्रिक नीति तयार हुने बताउँछन्। मागअनुसार वा कसैले चाहेअनुसार नहुने उनको भनाइ छ। उनले नेपालखबरसँग भने, ‘तथ्याङ्कहरु विश्लेषण हुने हो, कुन तथ्याङ्कले कुन क्षेत्रमा ह्रास भइरहेको देखाउँछ, त्यसलाई सुधार गर्ने विषय समावेश हुन्छ।’

यता सत्तारुढ दलका नेताहरु आफैँ भने मौद्रिक नीति कसिलो हुन नहुने बताउँदै आएका छन्। तर राष्ट्र बैंकले अहिलेको महंगी नियन्त्रणको लागि पनि ब्याजदर बढाउनुपर्ने संकेत गरेको छ।​

कस्तो छ अहिलेको आर्थिक अवस्था?
चालू आर्थिक वर्षको जेठ मसान्तसम्म कुल वस्तु निर्यात ५३.३ प्रतिशतले वृद्धि भई १ खर्ब ८५ अर्ब ८४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३७.८ प्रतिशतले वृद्धि भएको थियो । भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ६१.८ प्रतिशत र ३०.१ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात २१.४ प्रतिशतले घटेको छ।

वस्तुगत आधारमा पाम तेल, सोयाबिन तेल, धागो (पोलिष्टर तथा अन्य), ऊनी गलैँचा, जिंक शिटलगायतका वस्तुको निर्यात बढेको छ भने अलैँची, चिया, औषधि (आयुर्वेदिक), दन्त मञ्जन, तारलगायतका वस्तुको निर्यात घटेको छ। आर्थिक वर्ष २०७८/०७९ को ११ महिनामा कुल वस्तु आयात २७.५ प्रतिशतले वृद्धि भई १७ खर्ब ६३ अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २५.७ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २४.२ प्रतिशत, १६.० प्रतिशत र ४६.१ प्रतिशतले वृद्धि भएको छ । 

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधि, कच्चा पाम तेल, सुन, अन्य मेशिनरी तथा पार्ट्सलगायतका वस्तुको आयात बढेको छ भने एमएस बिलेट, रासायनिक मल, सिमेन्ट, धान तथा चामल, दाललगायतका वस्तुको आयात घटेको छ। वस्तु निर्यातको वृद्धिदरभन्दा वस्तु आयातको वृद्धिदर धेरै हुँदा यो वर्ष व्यापारघाटा २५ प्रतिशतले वृद्धि भई १५ खर्ब ७७ अर्ब ३९ करोड पुगेको छ। 

त्यस्तै चालू आर्थिक वर्षमा मूल्यवृद्धि ८ दशमलव ५६ प्रतिशतले बढेको छ भने तलब तथा ज्याला ८ दशमलव ५० प्रतिशतले बढेको छ। रेमिट्यान्स लगातार गिरावटपछि जेठ महिनामा वृद्धि भएको छ। गत वर्षको ११ महिनाको तुलनामा चालू आर्थिक वर्षको ११ महिनामा ३ दशमलव ८ प्रतिशतले बढेको छ। 

विदेशी मुद्रा सञ्चिति वैशाख महिनाको तुलनामा वृद्धि भए पनि गत वर्षको तुलनामा चालू आर्थिक वर्षको ११ महिनामा ठूलो गिरावट रहेको छ। २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १५.९ प्रतिशतले कमी आई २०७९ जेठ मसान्तमा ११ खर्ब ७६ अर्ब ८४ करोड कायम भएको छ। झण्डै २ खर्बको गिरावट रहेको छ। 

चालू खाता ५ खर्ब ९५ अर्ब ७३ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालू खाता २ खर्ब ९८ अर्ब ११ करोडले घाटामा रहेको थियो। शोधनान्तर स्थिति २ खर्ब ६९ अर्ब ८१ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १५ अर्ब १५ करोडले घाटामा रहेको थियो। 

यी तथ्याङ्कले नेपालको बाह्य क्षेत्र दबाबमा रहेको नेपाल राष्ट्र बैंकले बताएको छ। 

चालू आवको मौद्रिक नीति असफल : विज्ञ 
यता अर्थविद् भने चालू आर्थिक वर्षको मौद्रिक नीति असफल भएको विश्लेषण गर्छन्।

अर्थविद् डिल्लीराज खनालले उदार अर्थनीतिको हिसाबले हेर्दा पनि आन्तरिक संकट समाधान र फरेन पेमेन्टमा स्थायित्वका यी दुई क्षेत्र महत्वपूर्ण हुने बताए। 

तर अहिले यी दुवै क्षेत्रमा समस्या रहेको उनको भनाइ छ। ‘यसले के देखाउँछ भने चालू आर्थिक वर्षको नीति फेलियर (असफल) देखिएको छ’, उनले थपे, ‘जसरी मोनिटरी पोलिसी र त्यसमा रहेका व्यवस्थाहरु आँकलन गरिएको थियो। त्यसले राम्रो भूमिका खेल्न सकेन।’ 

त्यसो भए आगामी मौद्रिक नीति कसिलो ल्याउने कि खुकुलो त भन्ने प्रश्नमा खनालले उत्पादनमूलक क्षेत्रमा लगानी गराउने वातावरण तयार गर्नुपर्ने देखिएको बताए। 

उनले भने, ‘अर्थनीतिले ८ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि गराउने नीति लिएको छ। त्यसलाई राष्ट्र बैंकले परिवर्तन गर्ने अधिकार राख्दैन। त्यसलाई सहयोगी हुने गरी, त्यो नीतिलाई असर नहुने गरी मौद्रिक नीति तयार गर्नुपर्छ। त्यसकारण गभर्नरले जुन खालको कसिलो मौद्रिक नीति ल्याउने कुरा छ, त्यसको पक्षमा बोल्न सकिँदैन।’

कसिलो नल्याउनुको मतलब आर्थिक स्थायित्वलाई ध्यान नदिने भन्ने नभएको बताउँदै अर्थविद् खनालले त्यसलाई ध्यान दिएर पनि अन्य क्षेत्रलाई सहजीकरण गर्ने नीति सँगसँगै ल्याउनुपर्ने उल्लेख गरे। 

को हुन् एमालेका मिस्टर एम.अधिकारी? गभर्नर नै हुन्?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .