राजनीति


बहालवाला सचिव पुष्करले बालेनलाई पठाएको ‘मेसेज’को यस्तो छ रहस्य

बहालवाला सचिव पुष्करले बालेनलाई पठाएको ‘मेसेज’को यस्तो छ रहस्य

सचिव कृष्णहरि पुष्कर


नेपालखबर
जेठ २२, २०८३ शुक्रबार १०:५७, काठमाडौँ

उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु पुगेका सचिव डा.कृष्णहरि पुष्कर बिहीबार साँझसम्म त्यहीँ थिए। खबर पाएपछि अपरान्ह उनी आफैँ लैनचउरबाट टेकूस्थित प्रहरी कार्यालय पुगेका थिए। गृहमन्त्रालय र प्रहरी सेवाका केही उच्चपदस्थहरु उनका साथीहरु छन्। टेकूबाटै उनले आफ्ना साथीहरुसँग कुराकानी गरे। प्रहरीले केरकार गरिरहेकोबारे जानकारी गराए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशनमा उनलाई प्रहरी कार्यालय पुर्‍याइएको खुलेको छ। 

बालेन्द्र शाह देशको शासकीय शैली केही फरक बनाउन काम गरिरहेका छन्। द्विपक्षीय सम्बन्धका सम्पूर्ण विषय परराष्ट्र मन्त्रालयमार्फत् गर्न चाहेका छन्। अमेरिकी कुटनीतिज्ञ तथा राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेषदूतलाई भेट्न समय नै दिएनन्। भारतीय विदेश सचिवले समय नपाउने संकेत पाएपछि नेपालै आएनन्।

सरकारले राजदूतहरूको नियुक्ति लागि विज्ञापन प्रकाशित गरेको छ। विश्वविद्यालयका उपकुलपति छान्न आवेदन मागेर विषयवस्तुमाथि प्रस्तुतिसहितको अन्तर्वार्ता लिइरहेको छ। अरु राजनीतिक नियुक्तिका लागि पनि खुला प्रतिस्पर्धाका लागि विज्ञापन आह्वान गरिएका छन्।

अनि सरकारको सचिवले के कसुर गरेका हुन् ? प्रधानमन्त्रीलाई पठाएको मेसेजमा त्यस्तो के थियो, जसले उनलाई प्रहरी कार्यालय पुर्‍यायो।

सचिव कृष्णहरि पुष्करको पारिवारिक स्रोतले नेपालखबरसँग भन्यो, ‘बालेन र सचिव पुष्करको चिनजान पुरानै हो। दुवैको पुर्ख्याैली थलो महोत्तरी नै हो। बालेनले नचिनेर रिसाएको हुन सक्छन् अथवा कसैले चुक्ली लगाए होलान्।’

उनका परिवारका अन्य सदस्य पनि सरकारी सेवामै छन्।

प्रधानमन्त्रीलाई मेसेज लेखेर धाकधम्की, प्रलोभन वा शक्ति अभ्यासमा उक्साउने काम त गरेको होइन ? ‘मेसेजमा जम्मा दुई कुराहरू लेखिएका थिए। एउटा राजदूतहरूको नियुक्ति प्रक्रियामा आवेदन दिएको र विश्वविद्यालयका पदाधिकारीमा रुचि देखाएको जानकारी गराइएको थियो’, स्रोतले नेपालखबरसँग भन्यो, ‘सम्मानपूर्वक, शिष्ट र सरकारले प्रयोग गर्ने सम्मानित भाषामा सम्माननीयलाई जानकारी मात्र गराएको हो। अहिले धेरै अरुलाई नेगेटिभ देखाउने समय छ। खास त्यस्तो केही होइन।’

पुष्कर प्रहरी नियन्त्रणमा पुगेको विषयमा महत्त्वपूर्ण कुरा के हो भने उनी नेपाल सरकारका बहालवाला सचिव हुन्। हाल उपराष्ट्रपति कार्यालयमा छन्। नेपाल सरकारले २०७६ साल वैशाख १६ गते राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका महानुभावका लागि मर्यादाक्रम निर्धारण गरेको छ। सो मर्यादाक्रमअनुसार बहालवाला सचिव भनेको राष्ट्र गौरव पाउने व्यक्तित्वमध्ये एक जना हो। सरकारी मर्यादाक्रमअनुसार काठमाडौँस्थित भारतीय राजदूत नवीन श्रीवास्तव र सचिव पुष्करको मर्यादाक्रम एउटै हो।

सत्ता र शक्तिको नजिक रहेर निजी लाभ लिने स्वाभावका उनलाई सुशीला कार्की सरकारले उपराष्ट्रपति कार्यालय पुर्‍याएको थियो। त्यसअघि उनी अर्थ, प्रधानमन्त्री कार्यालयमा सचिव थिए। हाल उनी अवकासको मिति पर्खिरहेका छन्। आगामी असार २४ उनको अवकास मिति हो।

‘तपाईलाई प्रहरीले पक्राउ गरेको हो ?’ नेपालखबरले उनीसँग सम्पर्क गरी सोधेको थियो। उनले भने, ‘पक्राउ पर्‍यो भनेर हल्ला फिँजाउने काम गरिएछ, त्यस्तो केही होइन। म अवकासमा जान लागेको मान्छे, सरकारले मलाई मिल्ने पदहरूमा पनि विज्ञापन गरेको र त्यसमा मैले पनि आवेदन दिएको कुरा प्रधानमन्त्रीलाई जाहेर गराएको हो।’

त्यसो भए किन पक्राउ पर्नुभयो?

‘उहाँ चिनजानकै मान्छे हो। अरु बेला कुराकानी भइरहन्थ्यो। हामी राष्ट्रसेवकले लेख्ने शैलीमै लेखेको हो। खोई उहाँ कन्फ्युजमा पर्नुभयो होला।’

विगतमा सरकारका उच्चपदस्थहरूले राजनीतिक दलका शीर्ष नेतासँग पहुँच बनाएर अवकासपछि संवैधानिक निकाय, राजदूतजस्ता ठाउँमा नियुक्ति पाउने गरेका थिए। बालेन सरकारले त्यस्ता सबै नियुक्तिहरू खारेज गरिसकेको छ। पदपूर्तिका लागि नयाँ प्रक्रिया अघि बढाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad