कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा गत बुधबार भएको ड्रोन हमलामा मृत्यु भएका भारतीय नागरिक मञ्जुर अहमद रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
बीबीसी हिन्दीका अनुसार भारतको मध्य प्रदेशस्थित उज्जैनका बासिन्दा ५५ वर्षीय अहमद घर फर्किन कुवेतको अन्तर्राष्ट्रिय विमानस्थल पुग्गा ड्रोन आक्रमणमा परेका थिए।
उनको शव गएराति अहमदाबाद ल्याइपुर्याइएको छ भने आज उनको घर उज्जैन लगिँदै छ।
परिवारका अनुसार मञ्जुर ३० वर्षदेखि कुवेतमा दर्जीको काम गरिरहेका थिए।
उनका छोरा मोहम्मद अनसले भनेका छन्, ‘उहाँ बुधबार बिहान मुम्बई आउने विमान चढ्न कुवेत विमानस्थल पुग्नुभएको थियो।’
उनका अनुसार मञ्जुर भतिजाको बिहेमा सहभागी हुन भारत फर्किन लागेका थिए।
अनसले भने, ‘हामीलाई बुवा कुवेतको टर्मिनल १ नजिकै ड्रोन आक्रमणमा पर्नुभएको बताइएको थियो।’
उनका अनुसार विमानस्थलमा आक्रमण भएको खबर पाएपछि परिवारले मञ्जुर अहमदलाई सम्पर्क गर्ने प्रयास गरे तर सम्पर्क भएन।
पछि कुवेतस्थित भारतीय दूतावासबाट फोन आयो- मञ्जुरको मृत्यु भयो।
मञ्जुर अहमदकी वृद्ध आमाले छोरासँग अन्तिमपटक गत मंगलबार राति फोनमा कुरा गरिएको बताइन्।
रुँदै उनले भनिन्, ‘हामीले राति ११ बजेतिर कुरा गर्यौँ। उनी घर आउन लागेकामा धेरै खुसी थिए। उनी बिहान ६ बजे विमानस्थलका लागि कोठाबाट निस्किएका थिए, तर बिहान ९ बजेपछि उनको फोन लागेन।’
गत बुधबार कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल १ मा भएको ड्रोन आक्रमणमा एक जनाको मृत्यु भएको छ भने ६० जनाभन्दा बढी घाइते भएका छन्।
कुवेतको नागरिक उड्डयन महानिर्देशनालयले जारी गरेको सीसीटीभी फुटेजमा टर्मिनल भवनमा आक्रमण भएको र छानाको एक भाग भत्किएको देखिन्छ।
कुवेतका अधिकारीहरूले आक्रमण इरानले गरेको आरोप लगाएको छ। तर इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले भने यो कुरा अस्वीकार गरेको छ।
आईआरजीसीले अमेरिकाको मिसाइल इन्टरसेप्टरमा प्राविधिक खराबीका कारण विमानस्थलमा क्षति भएको दाबी गरेको छ।
यद्यपि अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले यो दाबीलाई अस्वीकार गरेको छ।
सेन्टकमले कुवेत विमानस्थलमा इरानले नै जानीजानी आक्रमण गरेको दाबी गरेको छ।
Shares

प्रतिक्रिया