ad ad

कारोबार


मौद्रिक नीतिको तयारी : गभर्नरले मागे प्रधानमन्त्रीको साथ

गगन थापा भन्छन्– अर्थतन्त्रबारे गम्भीर हुनुपर्ने अवस्था छ
मौद्रिक नीतिको तयारी : गभर्नरले मागे प्रधानमन्त्रीको साथ

नेपालखबर
असार १०, २०७९ शुक्रबार १७:५७, काठमाडौँ

अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच सम्बन्ध चिसिएकै बेला मौद्रिक नीति ल्याउने तयारी भइरहेको छ । अर्थमन्त्रीसँग सम्बन्ध बिग्रिएको अवस्थामा मौद्रिक नीति तर्जुमा गर्दा सरकारसँग समन्वयात्मक भूमिका खेलिदिन गभर्नर अधिकारीले माग गरेका छन् ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग शुक्रबार भएको भेटमा गभर्नर अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवाले समन्वयात्मक भूमिका खेलिदिनुपर्ने बताएका हुन् ।  

राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी गरिरहँदा सरकारसँग समन्वय आवश्यक भएको गभर्नरको भनाइ छ । यस्तो समन्वयको काम प्रधानमन्त्रीले गरिदिनुपर्ने गभर्नर अधिकारीले महामन्त्री थापासँगको भेटमा आग्रह गरेका हुन्।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बीच शुक्रबार भेट भएको हो। वर्तमान आर्थिक अवस्थाका बारेमा बुझ्न थापाले गभर्नरसँग भेट गरेका हुन् ।

भेटमा गभर्नर अधिकारीले विभिन्न मन्त्रालय र निकायबाट बनेका नीतिबीच समन्वयात्मक काम नहुँदा अपेक्षित परिणाम नआउने भन्दै यसमा अलि बढी नै प्रधानमन्त्रीको अग्रसरता चाहिने बताएका थिए ।

भेटमा महामन्त्री थापाले गभर्नरलाई भने, ‘सांसद एवं पार्टीको पदाधिकारीका नाताले हामी पनि जिम्मेवारीमा छौँ, हामी पुलको काम गर्न सक्छौँ।’

जनपक्षीय मौद्रिक नीति ल्याउन सुझाव 
कांग्रेस महामन्त्री थापाले गभर्नरसँग मौद्रिक नीति बनाउँदा साना व्यवसायीहरुको हितलाई समेत ख्याल गर्न सुझाव दिए । देशको अर्थतन्त्र श्रीलंकाको जस्तै बन्न लागेको त्रास फैलिँदा अर्थतन्त्र फस्टाउन नसकेको र मानिसहरुमा निराशा उत्पन्न भएको थापाले गभर्नरलाई बताए । उनले पछिल्लो समय पुँजिबजारको घट्दो अवस्थाले निजी क्षेत्रको विश्वास घटिरहेको गभर्नरलाई सुनाए।

थापाले गभर्नरसँग भने, ‘अहिलेको पुँजी बजारका बारेमा सोच्नुपर्ने अवस्था छ । पुँजी बजार वा निजी क्षेत्र सबैले आत्म विशवास गुमाएको अवस्था छ। लगानीमा विश्वास गुमेको छ। अब आउने मौद्रिक नीतिले यसलाई सम्बोधन गर्नुपर्छ।’

अहिले मूल्यवृद्धिका कारण अर्थतन्त्र चौपट हुन लागेको भन्दै यस्तो अवस्थामा मौद्रिक नीति ल्याउँदै गर्दा यो पक्ष ध्यान दिइएन भने अर्थतन्त्र झनै शिथिल हुने भन्दै थापाले तल्लो वर्गका जनताको हितलाई ख्याल गरेर मौद्रिक नीति बनाउन गभर्नर अधिकारीलाई सुझाव दिएको स्रोतले बतायो ।

यसैबीच गभर्नरसँग किन भेट गर्नुभएको भन्ने प्रश्नमा महामन्त्री थापाले यस्तो प्रतिक्रिया दिए–

‘एक सांसदको नाताले नेपालको आर्थिक अवस्था हेर्दै गर्दा संकटको नजिक–नजिक पुगिसकेको भन्ने मलाई महसुस भयो। मैले यो कुरा संसदमा पनि राखिराखेको थिएँ। नेपालको अहिलेको राजनीतिक नेतृत्वले यो विषयको गाम्र्भीयतालाई अझ राम्रो सँग बुझिरहेको छैन भन्ने मलाई भान भइराखेको थियो। मैले यो कुरा गठबन्धनको बैठकमा पनि राखिराखेको छु, पार्टीको बैठकमा राखिराखेको छु। संसदमा पनि राखिराखेको छु।

यो संकट हामीले सोचेको भन्दा गहिरो पनि छ र गम्भीर पनि छ। राष्ट्र बैंकले मौद्रिक नीति ल्याउँदैछ। त्यो मौद्रिक नीति ल्याउने कुराले पनि हाम्रो अर्थतन्त्रलाई कता लिएर जाने भन्ने प्रभाव राख्छ। यो विषयको सन्दर्भमा मैले गभर्नरसँग कुरा गरेको हो।’

त्यस्तै, हाम्रो विदेशी मुद्राको सञ्चितिमा जुनखालको प्रेसर परेको छ, यो दिन प्रतिदिन बढ्दै गएको छ। राष्ट्र बैंकले पनि थुप्रै उपायहरु अवलम्बन गरेको छ, सरकारले पनि गरेको छ। उपायहरु अवलम्बन गर्दै गर्दा पनि अपेक्षित परिणाममा त्यो कुराहरु देखिराखेको छैन। यस विषयमा अलि गम्भीर हुनुपर्ने अवस्था छ । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .