मौसम पूर्वानुमान महाशाखाले तराई क्षेत्रमा आज (शुक्रबार) देखि कम्तीमा ३ दिनसम्म अत्यधिक गर्मी हुने सम्भावना रहेकाले स्वास्थ्य समस्याबाट बच्न सुझाव दिएको छ।
मौसम महाशाखाका अनुसार मधेस र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा आगामी ३ दिनसम्म मध्यम तातो लहर (हिट वेभ) हुने सम्भावना छ। साथै कोसी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो दिन (हट डेज) हुने सम्भावना छ।
जसका कारण ती क्षेत्रका बासिन्दामा स्वास्थ्य समस्या आउन सक्ने भन्दै मौसम महाशाखाले त्यसबाट बच्ने उपाय पनि दिएको छ।
मौसम महाशाखाका अनुसार तातो हावा तथा तातो लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता हुने आदि स्वास्थ्य समस्या हुन सक्छन्।
त्यसैले त्यसबाट बच्न निम्न उपाय अपनाउन आवश्यक छ:
तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, चर्को घममा बाहिर ननिस्किने, हल्का लुगा (सुतीको कपडा) लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक-पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग सम्पर्क गर्ने।
आज वर्षाको सम्भावनाचाहिँ यस्तो छ
मौसम महाशाखाका अनुसार दिउँसो कोसी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश तथा बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थान, मधेससहित बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। यिनै प्रदेशका उच्च पहाडी-हिमाली भेगमा हिमपातको पनि सम्भावना छ।
यस्तै राति कोसी प्रदेशका थोरै स्थान तथा बाँकी सबै प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। अनि यिनै प्रदेशका उच्च पहाडी-हिमाली भेगमा हिमपात पनि हुने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।
आज काठमाडौँ उपत्यकामा पानी पर्छ?
आज शुक्रबार काठमाडौँ उपत्यकामा क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार काठमाडौँ उपत्यकामा अपराह्न वा साँझपख छोटो समय पानी पर्ने सम्भावना देखिएको हो।
‘क्षणिक खालको हल्का वर्षा हुने सम्भावना देखिएको छ’, उनले नेपालखबरसँग भने, ‘यसबाहेक आज काठमाडौँ उपत्यकाको मौसम दिनभर आंशिक बदली हुने देखिन्छ।’
आंशिक बदली भनेको घाम-बादल, घाम-बादलको अवस्था हो।
यस्तै आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियससम्म पुग्ने आकलन गरिएको मौसमविद् अधिकारीले बताए।
हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?
मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।
यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।
एक-दुई स्थान, केही स्थान, धेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?
मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।
अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।
यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।
अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।
मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्

Shares

प्रतिक्रिया