ad ad

विचार


हामी नेपाली चार प्रकारका भ्रष्टाचारी

हामी नेपाली चार प्रकारका भ्रष्टाचारी

डा. महेश पन्त
असार ३१, २०७९ शुक्रबार १५:१०, काठमाडौँ

भ्रष्टाचार शब्दलाई केलाएर हेर्दा यसको मतलब हुन्छ– भ्रष्ट आचरण। र, त्यस्तो आचरण भएको व्यक्तिलाई भ्रष्टाचारी भनिन्छ। अब प्रश्न उठ्छ– के हो भ्रष्टाचार र को हो त भ्रष्टाचारी?

सामान्यतः भ्रष्टाचारलाई राजनीतिक नेता, सरकारी संस्था वा कर्मचारीहरुबाट हुने गैरकानुनी कामकारबाही र बदनियतपूर्ण आर्थिक चलखेल भनेर बुझिन्छ। अर्को भ्रष्टाचार,  जुन गैरकानुनी नहुनसक्छ, तर नीतिनियमलाई नै बदनियतपूर्ण तरिकाले संशोधन गरेर आर्थिक वा अन्य लाभ लिइन्छ, जसलाई नीतिगत भ्रष्टाचार भनिन्छ। 

तर, यी कुनै पनि परिभाषाले सामान्य व्यक्तिको भ्रष्ट आचरणलाई भ्रष्टाचार भन्दैन। यसले गर्दा  अरुलाई भ्रष्टाचार गर्न लगाउने र भ्रष्टाचारीको आम्दानीमा मोजमजा गर्ने व्यक्तिहरु सधैँ चोखा देखिन्छन्।

पृथ्वीनारायण शाहले भनेजस्तै घुस खाने र खुवाउने दुवै नै देशका शत्रु हुन्। यसआधारमा भ्रष्टाचार  गर्ने, अरुलाई भ्रष्टाचार गर्न उत्प्रेरित गर्ने र भ्रष्टाचारीको आम्दानीमा मजा गर्ने व्यक्तिहरु सबै नै भ्रष्टाचारी हुन्। यो परिभाषाको आधारमा हाम्रो नेपालमा सायद त्यस्ता थोरै व्यक्ति मात्र होलान्, जो भ्रष्टाचारी होइनन्। प्रष्ट शब्दमा भन्ने हो भने हाम्रो नेपाली समाजले भ्रष्ट आचरणलाई निःसर्त स्वीकारेको छ।

अब माथिको फराकिलो परिभाषाभित्र पर्ने भ्रष्टाचारका केही उदाहरणहरु हेरौँ।

१. एउटा कालोबजारी गर्ने व्यापारी, जसले उपभोक्ताहरुलाई ठगेर अकुत सम्पत्ति कमाउँछ।

२. एउटा ट्याक्सीचालक, जसले यात्रुसँग तोकिएको भन्दा बढी पैसा लिन्छ।

३. एउटा राजनीतिज्ञ, जो आफ्नो नातेदारलाई जागिर खुवाउन, शैक्षिक संस्थामा भर्ना गर्न वा छात्रवृत्ति दिलाउन, ठेक्कापट्टा मिलाउन वा राजनीतिक नियुक्ति पाउन मन्त्री वा सरकारी कर्मचारीलाई दबाब दिन्छ।

४. एउटा सर्वसाधारण, जो आफ्नो काम चाँडै सक्न नेतालाई भनसुन गर्छ र भएन भने कर्मचारीलाई खाजा खुवाएर आफ्नो काम फत्ते गर्छ।

५. सरकारी कर्मचारी वा नेताका आफन्तहरु, जो सरकारी  संस्थाका सवारी साधन सित्तैँमा चढेर किनमेल, रमाइलो गर्छन्।

६. तल्लो तहका कर्मचारीहरु, जो आफ्नो मासिक तलबले आफ्ना जहानपरिवार पाल्न सक्दैनन् र खाजा खर्चबापत सेवाग्राहीसँग रकम लिन्छन्।

७. उच्चपदस्थ व्यक्तिहरु, जो ठेक्कापट्टा, नियुक्तिको माध्यमबाट अप्रत्यक्ष तरिकाले ठूलो रकम हात पार्छन्।

८. नीतिनिर्माताहरु, जसले विद्यमान कानुन, नियमलाई तोडमोड गरेर प्रशस्त आर्थिक वा अन्य लाभ लिन्छन्।

यी माथिका उदाहरणहरुबाट हामीकहाँ भएका भ्रष्टाचारीलाई चार वर्गमा बाँड्न सकिन्छ। पहिलो, पेसेवर भ्रष्टाचारी। भ्रष्टाचार उसको खेती हो। मनसुनले कृषि उत्पादनमा असर परेजस्तै परिस्थितिवश उसको आम्दानीमा केही तलमाथि हुनसक्छ। तर, उसले आफ्नो खाइपाई आएको पेसा छाड्दैन। 

दोश्रो, जो भ्रष्टाचारीको आम्दानीमा मोजमस्ती गर्छन्। उनीहरुलाई त्यो शौखीन जीवन बिताउने पैसा कहाँबाट र कसरी आउँछ, त्यसको मतलब छैन। वास्तवमा यी ऐजेरुहरुले नै भ्रष्टाचारलाई मलजल गरिराखेका छन्।

तेश्रो, जो आफू तथा आफ्ना परिवारको न्यूनतम आवश्यकता पुरा गर्न भ्रष्टाचारको सहारा लिन बाध्य छन्।  

चौथो वर्गको भ्रष्टाचारीमा राजनीतिक नेताहरु पर्दछन्, जसले प्रत्यक्ष वा परोक्ष रुपमा ठूलो रकमको साथसाथै प्रभाव उपार्जन गर्दछन् जुन चुनाव जित्न र आफ्नो दलको अस्तित्व बचाइराख्न उपयोग गर्छन्।

किन हुन्छ भ्रष्टाचार? 
कुनै पनि रोगको उपचारका लागि त्यो रोग के कारणले लागेको हो, पत्ता लगाउन जरुरी हुन्छ। सरकारी संस्थाहरुमा हुने गरेका भ्रष्टाचार, ढिलासुस्तीका घटना नयाँ होइनन्। भानुभक्तले ‘भोलिभोलि भन्दैमा सब घर बितिगयो बक्सियोस् आज झोली’ त्यसै भनेका होइनन् होला। एकजना भूतपूर्व सेनाप्रमुखले आफ्नो आत्मवृत्तान्तमा राजदरबारका कर्मचारीले सरकारी छात्रवृत्तिमा पढ्न आएका विद्यार्थीको पोसाक किन्न नयाँसडकको कपडा पसलमा जाँदा पसलेलाई कमसल कपडा दिन उत्प्रेरित गरेको उल्लेख गरेका छन्।

यसरी हेर्दा भ्रष्टाचार हिजो पनि थियो, आज पनि छ। तर फरक के छ भने अहिले भ्रष्टाचारको स्वरुप र दायरा फराकिलो भएको छ। अझ प्रष्ट भन्ने हो भने अहिले भ्रष्टाचारको विकेन्द्रीकरण भएको छ। पहिला माथिल्लो स्तरमा मात्र हुने भ्रष्टाचार अहिले गाउँसम्म पुगेको छ। त्यस्तै, पहिले काठमाडौँका सम्भ्रान्त परिवारले मात्र भ्रष्टाचारको मोज लिन्थे भने अहिले दुरदराजका मानिसहरुले पनि भ्रष्टाचारको स्वाद चाख्न पाएका छन्।

यसरि भ्रष्टाचार निरन्तर बढ्दै जानुमा निम्न कारणहरु छन्ः

१. विधिको शासन कमजोर हुनु। नीतिनियम, ऐनकानुनहरु बन्छन्, तर तिनको कार्यान्वयन हुँदैन। गणतन्त्र आउनुअगाडि राजा र राजपरिवार कानुनमाथि हुन्थे। अहिले सिद्धान्ततः कोही पनि कानुनभन्दा माथि छैन। तर व्यवहारमा त्यो लागू भएको पाइँदैन। नेतृत्व वर्गकाहरु सधैँ आफू र आफ्नालाई कानुनभन्दा माथि राख्न खोज्छन्, अनि सर्वसाधारणले पनि त्यसैको नक्कल गर्छन्। यस्तो परिपाटीले कानुनी राज्यको धारणालाई कमजोर बनाउनुको साथै समाजमा अराजकताको स्थिति पैदा गरेको छ।

२. परिवारवाद। मैले नेपालखबरमै जेठ २९ मा परिवारवाद हामी नेपालीहरु पछौटे हुनुको मुख्य कारण उल्लेख गरेको थिएँ। राज्यले नागरिकका आधारभूत आवश्यकताहरु, जस्तै शिक्षा, स्वास्थ्य, आवास, रोजगार आदिको व्यवस्था नगर्ने परिपाटीमा एउटा कमाउन सक्ने व्यक्तिमा परिवारका अन्य सदस्यहरु भर पर्नु परिवारवाद होइन। समस्या त्यतिखेर आउँछ, जब त्यो कमाउन सक्ने व्यक्तिले आफ्ना सारा बल लगाएर सबै आफन्तहरुलाई रातारात झुप्रोबाट महलमा पुर्याउने काम गर्छ। ती आफन्तहरु पनि कमाउनेले कसरी, कहाँबाट कमायो भन्ने बेवास्ता गर्दै कमाइमा रमाउँदै मोजमज्जा गर्दै बस्छन्। यदि उसले तिनको विलासी जीवनको खर्च धान्न नसके उसैलाई बहिष्कार गर्छन्। यसप्रकारको सामाजिक प्रवृत्तिले गर्दा पनि हामीकहाँ भ्रष्टाचार मौलाएको हो।

३. आम्दानी र खर्चबीचको अन्तर। एउटा साधारण लेखपढ गर्न जानेको नेपालीलाई पनि यो कुरा थाहा छ कि नेपालमा अधिकांश परिवारको आम्दानी उनीहरुको न्यूनतम आवश्यकता पुरा गर्न पर्याप्त छैन। सहरी क्षेत्रमा त यो समस्या झन् चर्को छ। शिक्षा, स्वास्थ्यको व्यवसायीकरण, अनियन्त्रित बजार व्यवस्थाको कारणले हुने चर्को मूल्यवृद्धिले गर्दा नियमित आम्दानीबाट घरखर्च चलाउन धेरै परिवारलाई धौधौ पर्छ।

४. उर्लंदो उपभोक्तावाद। खुला बजार व्यवस्था, सामाजिक सञ्जालको प्रभाव र रेमिटेन्सको आम्दानीले गर्दा आम नेपालीहरुको जीवनस्तरमा सकारात्मक परिवर्तन आएको छ, जुन राम्रो हो। तर यसले निम्त्याएको उपभोक्तावादले ‘घाँटी हेरी हाड निल्नुु’ भन्ने उपदेशलाई उपेक्षा गरेको छ। गाउँघरमा छरछिमेकीहरुको सहयोगमा हुने विवाह, व्रतबन्धजस्ता कार्यहरु अहिले होटल र पार्टी प्यालेसमा तामझामसहित गरिन्छन्। यस्ता कार्यक्रमहरुले रोजगारी बढाएको होला, देशको आर्थिक वृद्धिमा टेवा दिएको होला, तर आफ्नो औकातभन्दा बढी खर्च गर्ने परिपाटीले व्यक्ति, परिवार र समाजमा कस्तो असर पार्छ, त्यो पनि हेर्नुपर्ने हुन्छ। 

यी सबै कारणहरुबाट यो प्रष्ट हुन्छ कि भ्रष्टाचार नियन्त्रणका लागि कानुनी उपायका साथसाथै  सामाजिक परिवर्तनको खाँचो छ। तर त्यो परिवर्तन कहाँबाट, कसले र कहिले सुरु गर्ने भन्नेमा छलफल आवश्यक छ। व्यक्तिगत तहमा आफ्नो औकात अनुसार मात्र खर्च गर्ने, ढोङ, देखासिकीलाई बढावा नदिने, भ्रष्टाचारीको आम्दानीमा मोजमजा गर्नुको साटो उसलाई सामाजिक बहिष्कार गर्नेजस्ता व्यक्तिगत पहलमा गर्न सकिने कामहरुबाट पनि भ्रष्टाचारलाई कम गर्न सकिन्छ।

संस्थागत तहको परिवर्तनका लागि भ्रष्टाचारलाई पुर्ख्यौली सम्पत्ति मानेर त्यसैमा रमाएकाहरुबाट परिवर्तनको आश गर्नु आकाशको फलजस्तै हो। यसका लागि सबल नागरिक समाजको खाँचो छ। सशक्त नागरिक आन्दोलनले बेलाबेलामा ठूला परिवर्तनहरु ल्याएको पनि हामीले देखेका छौँ। यदि भ्रष्टाचार हाम्रो समाजको ठूलो रोग हो भने यसलाई नियन्त्रण गर्नु हामी सबैको कर्तव्य हो। यो काम सर्वप्रथम हामी आफैँबाट सुरु गर्नुपर्छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .