ad ad

राजनीति


आरजु र मञ्जुलाई साढे ८ करोड बुझाएको अडिओ जाहेरवालाले नै दिएका थिए प्रहरीलाई

आरजु र मञ्जुलाई साढे ८ करोड बुझाएको अडिओ जाहेरवालाले नै दिएका थिए प्रहरीलाई

फाइल तस्बिर


नेपालखबर
बैशाख २४, २०८० आइतबार १८:५८, काठमाडौँ

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन भन्दै रकम लिएर ठगी गरेको प्रकरणमा जोडिएपछि गत वैशाख २० गतेदेखि नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी गायब छन्। 

गत मंसिरको चुनावमा सत्ता गठबन्धनलाई भारी मतले पराजित टोपबहादुर तत्कालीन नेकपा विघटन हुँदा माओवादी समूह छाडेर एमालेमा बसेका थिए। 

चितवनमा भएको एमालेको दसौँ महाधिवेशनमा राम्रो मतसहित सचिव पदमा विजयी भएका उनी अध्यक्ष केपी शर्मा ओलीनिकट नेता मानिन्थे।

नक्कली शरणार्थी प्रकरणमा मुछिएपछि उनी कानुनलाई सहयोग गर्ने भन्दै सन्धिखर्कबाट काठमाडौंका लागि हिँडेका थिए। तर उनी बुटवल आसपास झरेपछि मोबाइल फोन पनि बन्द गरेर बेपत्ता छन्। 

जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जीसमेत जारी भएको अवस्थामा रायमाझी गायब भएपछि सत्तारुढ दलहरु एमाले अध्यक्ष ओलीमाथि खन्निएका छन्। 

गम्भीर अपराधमा मुछिएका रायमाझीको बचाउमा ओली नै लागेको आरोप लागिरहेका बेला यो प्रकरणमा लहरो तान्दा पहरो थर्किने अवस्था छ।

बाबु पाँच दिनदेखि हराइरहेका बेला उनका छोरा सन्दीप जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्। यो प्रकरणमा पीडितहरुले उनको नाममा चार वर्षअघि नै डेढ करोडको चेक भेटिएको थियो। 

यो प्रकरणको लहरो हाल एमाले उपाध्यक्ष रहेका पूर्वमाओवादी नेता रामबहादुर थापा बादलसम्म पुग्दै गर्दा सत्तारुढ कांग्रेसतिर पनि सोझिएको छ।

यसअघि नै पक्राउ परिसकेका केशव दुलाल र टंक गुरुङसहितले पूर्वगृहमन्त्री बादल पत्नीसमेत रहेकी पूर्वसञ्चारमन्त्री नैनकला थापा र अख्तियार प्रमुख रहेका तत्कालीन गृहसचिव प्रेम राईको नाम पनि बयानका क्रममा जोडिसकेका छन्। 

बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई अहिले प्रहरीको हिरासतमा छन्। काठमाडौं प्रहरीको हिरासतमा नै उनले ढाँटेको भन्दै दुलाल र सानु भण्डारीले झन्डै कुटपिट कोसिस गरे। मुक्का हानिसकेको अवस्थामा इन्द्रजितलाई हिरासतमा कुटिनबाट प्रहरीले जोगायो। 

यो प्रकरणको लहरो फैलिँदै गर्दा अब सत्तारुढ दलका नेता र पत्नीहरु पनि यसमा तानिन थालेका छन्।

यो प्रकरण नेता बालकृ्ष्ण खाँण हुँदै सभापति शेरबहादुर देउवाको घरभित्रै पुग्ने अवस्था आएको छ। केही दिनयता सामाजिक सञ्जालमा तीव्र गतिमा भाइरल भइरहेको एउटा अडिओ संवादमा पीडित भनिएकाहरुले बालकृष्णको नाम पनि मुछेका छन्। 

यसअघि नै पक्राउ परेकाहरुले बालकृष्ण र पत्नी मञ्जुको नाम मुछेको समाचार सार्वजनिक भइरहेका बेला त्यसलाई थप बल पुग्ने गरी अडिओ अहिले फेसबुक, टिकट र ट्विटरमा पनि भाइरल भइरहेको छ।

कम्तीमा तीनजनाले संवाद गरेको उक्त अडिओको करिब १५ देखि २० मिनेटको पूरा संवाद विवरण अनुसन्धानरत प्रहरीसँग रहेको बताइएको छ। तर त्यसको १ मिनेट ३ सेकेन्डको अडिओ क्लिपले खाँण र देउवा परिवारलाई पनि मुछेको छ।

उक्त अडिओमा पूर्वप्रधानमन्त्री देउवा पत्नी आरजु राणा र पूर्वगृहमन्त्री बालकृष्ण खाण पत्नी मञ्जुले करोड-करोड लिएको संवाद सुन्न सकिन्छ। 

यो अडिओलाई लिएर प्रहरीले पनि अनुसन्धान अघि बढाएको छ। प्रहरीले यसको आधिकारिकता जाँचलाई अनुसन्धानकै एक अंगका रुपमा अघि बढाइएको जनाएको छ।

‘जाहेरवालाले १५/२० मिनेटको अडिओ हामीकहाँ बुझाएका छन्। यसमा जसको नाम लिइएको छ उनीहरुको संलग्नता खुल्दैन। उनीहरुले भनेअनुसार संलग्नता हो कि होइन हामी परीक्षण गर्दैछौँ। आरोप मात्रै लगाइएको हो कि प्रमाणले पनि पुष्टि गर्छ त्यो हेरिन्छ’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने। 

अडिओमा संवादका क्रममा आरजुले साढे दुई करोड रुपैयाँ र मञ्जुले घरमै ६ करोड रुपैयाँ लिएको दाबी गरिएको छ। सुरुमा टिकटकमा सार्वजनिक भएको यो अडिओ अहिले ट्विटर र फेसबुकमा पनि भाइरल भइरहेको छ। 

नक्कली शरणार्थी बनाएर अमेरिका पठाइदिने बहानामा करोडौं उठाएको एक समूहबाट आरजु र मञ्जुले साढे आठ करोड रुपैयाँ बुझेको उक्त अडिओमा उल्लेख छ।

उक्त प्रकरणमा संलग्न गिरोहले अडिओको सुरुमा कर्मचारी प्रमुख जिल्ला अधिकारीहरुको सरुवाले आफूहरु हैरान भएको बताएको सुन्न सकिन्छ। उनीहरुले काम हुने प्रलोभनमा आफूहरुलाई दुहुनो गाई बनाइएको भन्दै तीतो पोख्छन्।

‘यसो काम सकिन आँट्यो भन्यो प्रजिअको सरुवा गरिदिजान्छ, ल है काम भयो भन्यो भोलि त सरुवार गरिजान्छ’, सुरुमा एकजना यसरी गुनासो गर्छन्, ‘पर्सिदेखि काम सुरू भयो भन्यो झ्वाम्म खाइदिएर सिडिओ सरुवा भइजान्छ। कति सरुवा गर्न सक्या। नियतले नै हो कि त दाइ। के काम हुन्छ त रातारात सरुवा गरिदिएपछि। दुहुनो गाई भयौँ हामी त।’

त्यसपछि संवाद अझै अघि बढ्छ। जब संवाद अघि बढ्दै जान्छ, दोस्रो तेस्रो व्यक्तिको संवाद त्यहाँ थपिन्छ।

काम नभएपछि आजित भएका एकजनाले अब अति भएकाले मिडिया बोलाउने तयारी गरेको पनि उक्त संवादमा सुन्न सकिन्छ। 

‘खाने मात्रै छन्। भोलि मिडिया पनि बोलाउँछु भन्नु तपाईंले’, एकजनाले भन्छन्, ‘भोलि मिडिया पनि बोलाउँछु भन्नु तपाईंले मिडियासँग सबै कुरा राख्छु यो हप्ताभरी काम भएन भने भनेर भन्नु, त्यही हनुमान ढोकाअगाडि पत्रकार बोलाउँछु भन्नु।भोलि मिडिया पनि बोलाउँछु भन्नु तपाईंले, किनभने मलाई कसैको डर छैन क्या!’

अडिओमा प्रजिअको पटक पटक सरुवाले हैरान एक व्यक्तिको गुनासोपछि त्यसमा उनीहरुले कांग्रेस नेतृहरु आरजु र मञ्जुको प्रसंग निकाल्छन्। 

एकजनाले आफूले आरजुलाई साढे २ करोड रुपैयाँ र मञ्जुलाई घरमै पुगेर साढे ६ करोड रुपैयाँ बुझाएकोसमेत कुरा निकाल्छन्। 

‘आरजु राणालाई साढे दुई करोड रुपैयाँ बुझाएकै हो’, त्यसक्रममा दोस्रो व्यक्ति भन्छन्, ‘६ करोड रुपैयाँ हनुमाथानमा बालकृष्ण खाँणलाई बुझाएका हौँ। मञ्जु खाँणले बुझेकै हुन्। त्यो हनुमान थानको भित्रपट्टि लगेर बुझाएका हौँ। प्रमाण मसँग छ नि!’

उक्त अडिओ जाहेरवालाले नै अनुसन्धानमा संलग्न प्रहरी अधिकारीलाई पनि बुझाइसकेका छन्। प्रहरीले यसको तथ्य जाँचलाई अघि बढाइएको जानकारी दिएको छ। 

उक्त अडिओमा मञ्जुलाई अनामनगरस्थित हनुमानथान पछाडिको घरमा गएर ६ करोड दिइएको भनिएको छ। तर मञ्जु खाणले भने आफू चार वर्षदेखि चाबहिलमा बस्दै आएको बताएकी छन्। 

मञ्जुले आफूलाई बदनाम गर्न फेक अडिओ बनाएर सार्वजनिक गरिएको प्रतिक्रिया पनि दिएकी छन्। 

ओलीको प्रश्न?
नेकपा एमालेका अध्यक्ष ओलीले यसबीचमा दुई पटकसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटिसकेका छन्। 

पुस १० मा बनेको गठबन्धन टुटेपछि प्रचण्डसँग ओलीले सभामुख देवराज घिमिरेको पहलमा भएको सामूहिक बैठकमा मात्रै संवाद गरेका थिए। 

तर नक्कली शरणार्थी प्रकरणमा एमालेका शीर्ष नेता पनि मुछिएपछि ओलीले प्रचण्डसँग दुई दिनबीचमा दुई पटक भेटेका छन्। बिहीबार र शनिबार प्रचण्डसँग भएको भेटमा ओलीले यो प्रकरणमा जोडिएका सत्तारुढ दलका नेताहरुमाथि कारबाही अघि नबढाएको विषयमा आपत्ति जनाएका थिए। 

उनले नक्कली शरणार्थी प्रकरणमा कांग्रेसको शीर्ष नेतृत्व नै जोडिने गरी आएको अडिओ आफूसम्म पनि आइपुगेको बताउँदै राजनीतिक प्रतिशोध साँध्ने गरी अघि बढेमा राम्रो नहुने सन्देश प्रधानमन्त्रीलाई दिएका थिए।

ओलीले यसबारेमा आइतवार बसेको संसदीय दलको बैठकमा पनि आफ्ना कुरा राखेका छन्। उनले नक्कली शरणार्थी प्रकरणमा मुछिएका कसैलाई पनि आफू जोगाउने पक्षमा नरहेको बताउँदै तर सरकारले इगोको राजनीति गर्न चाहेमा प्रतिकार गर्ने उल्लेख गरे।

ओलीले सांसदहरुलाई सम्बोधनका क्रममा भ्रष्टाचार र ठगी जस्ता आपराधिक कार्यमा संलग्न जोसुकै भए पनि कारबाही हुनुपर्ने बताउँदै तर त्यसो गर्दा राजनीतिक प्रतिशोध साँध्न नहुने उल्लेख गरे। 

‘भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न जोसुकै भए पनि कारबाही हुनुपर्छ। उनीहरुलाई एमाले जोगाउनु पर्छ भन्ने पक्षमा छैन’, ओलीले दलको बैठकमा भने, ‘तर अनुसन्धान निष्पक्ष र विश्वासिलो हुनु पर्यो, कसैलाई जोगाउने र कसैलाई फसाउने नाममा अघि बढिन्छ भने त्यो हाम्रा लागि सह्य हुँदैन।’

दलको बैठकमा सम्बोधन गर्दै ओलीले एमालेकै शीर्ष नेताहरु जोडिएको नक्कली शरणार्थी प्रकरणलाई सरकारले राजनीतिक रंग दिन खोजेको पनि बताए।

यसलाई लिएर आइतबारको संसदमा सत्ता पक्ष र प्रतिपक्षका सांसदहरु विवादमा उत्रिए। उनीहरुले एमालेले भ्रष्टाचारमा मुछिएकाहरुलाई जोगाउन खोजेको भन्दै सत्ता पक्ष विरोधमा उत्रिएका थिए।

उता एमालेले पनि सरकारको निष्पक्ष अनुसन्धानमाथि प्रश्न उठाए। उता एमाले सांसदहरुले सत्तारुढ दलका नेताहरुलाई कारबाही नगर्न प्रधानमन्त्रीलाई कसले दबाब दिएको भनेर प्रश्न गरेका थिए। 

आरजुको प्रतिरक्षा 
नक्कली शरणार्थी प्रकरणमा जोडिएपछि कांग्रेस सांसदसमेत रहेकी डा. राणाले भ्रष्टाचारको छानबिन गर्ने हो भने सबै नेताको सम्पत्ति सार्वजनिक गरिनुपर्ने बताइन्। 

आइतबार बसेको संसद बैठकमा आफ्ना भनाइ राख्ने क्रममा उनले भ्रष्टाचारका कुरा गम्भीर हुनुपर्ने बताइन्। 

‘भ्रष्टाचारको कुरामा हामी कति सिरियस छौँ? म संसदमा नभएको दिनमा मेरो नाम यहाँ भ्रष्टाचारमा जोडियो’, उनले भनिन्, ‘एउटा नारीले आफ्नो हैसियतमा राजनीतिक गरेको नहुने रहेछ। नारीले आफ्नो बलमा गरेको प्रगति पुरुषले नसहने रहेछन्। पुरुषले भनेको कुरा मात्रै मान्नु पर्ने रहेछ।’

उनले महिलाहरु आफ्नो बलमा पब्लिक लाइफमा आउँदा पुरुष सह्य नहुने गरेको गुनासो गरिन्। ‘महिला आफ्नो बलमा पब्लिक लाइफमा आयो भने पुरुषलाई सह्य नहुने रहेछ,’ उनले भनिन्, ‘मैले केही बिराएको छैन, डराउँदिनँ।’ 

राणाले आफ्ना पति शेरबहादुर देउवा ५/६ पटक प्रधानमन्त्री भइसकेको बताउँदै सम्पत्ति विवरण सार्वजनिक गर्न तयार रहेको उल्लेख गरिन्। 

‘मेरा पति पाँच/छ पटक प्रधानमन्त्री भइसक्नु भएको छ। हाम्रो सम्पत्ति नेपाल सरकारसँग सुरक्षित छ’, उनले भनिन्, ‘सबैको सम्पत्ति विवरण सार्वजनिक रुपमा प्रकाशित होस्। सबैको सम्पत्ति खोजौँ।’

बालकृष्णले के भने? 
नक्कली शरणाार्थी ठगी प्रकरणमा नाम जोडिएपछि खाणले शनिबार नै सार्वजनिक वक्तव्य निकालेर आफ्नो बचाउ गरे। 

नक्कली शरणार्थी बनाएर विदेश पठाउने प्रकरणमा पत्नी मञ्जुले ६ करोड रुपैयाँ बुझेको अडिओ आइरहेका बेला उनले आफ्नो बचाउ गरेका हुन्। 

यसअघि पक्राउ परेकाहरुले खाणको पनि नाम जोडेको समाचार आएपछि उनले त्यसमा संलग्नता अस्वीकार गरे। 

उनी गृहमन्त्री हुँदा नै सचिवका रुपमा कार्यरत टेकनारायण पाण्डे अहिले प्रहरीको हिरासतमा छन्। उनी पछिल्लो पटक उपराष्ट्रपति कार्यालयको सचिवका रुपमा कार्यरत थिए। 

सार्वजनिक भएको अडिओको पूरा अंश प्रहरीकहाँ पुगेको छ :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .