नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन भन्दै करोडौं उठाएको प्रसंगमा उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे यतिबेला प्रहरीको हिरासतमा छन्।
उनलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा राखेर अनुसन्धान अघि बढाइएको छ। उपराष्ट्रपतिको कार्यालयमा हुँदै बुधबार एक रिसोर्टबाट समातिएका उनले यसअघि बोलेको एउटा भिडिओ भाइरल भइरहेको छ।
पाण्डे २०७७ साउनदेखि २०७८ साउनसम्म भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवका रुपमा कार्यरत थिए।
त्यहीबेला उनले कर्मचारीहरुसँगको एउटा कार्यक्रममा आदर्शवादी सन्देशसहित दिएको भाषण अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
भिडिओमा उनले आफूलाई आध्यात्मिक व्यक्तिका रुपमा प्रस्तुत गर्दै उनले कर्मचारीहरुलाई धेरै लोभ नगर्न सुझाएका छन्।
धेरै भात खाँदा भुँडी लाग्ने र तौल धेरै हुने भन्दै त्यसलाई नियन्त्रण गर्न पनि उनले सुझाएका छन्।
नक्कली शरणार्थी प्रकरण : उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ
‘मैले नै भात खान छाडेँ, तौल धेरै भयो नि! तपाईंहरू सबैको त्यही हुने हो। त्यसैले भात कम खानुस्’, उनले भनेका छन्, 'हामीले हिजो चाहिएका बेला खान पाइएन, अहिले खान मिल्दैन। त्यही भएर धेरै कमाउनु पनि जरुरी छैन। सन्तोष गर्नुपर्छ। धेरै सम्पत्ति जोडेर के गर्नु काम छैन।’
उनले सम्पत्ति धेरै नचाहिने भन्दै छोराछोरी गतिला भए आफैँ कमाउन सक्ने बताइरहेका छन्। ‘छोराछोरी गतिला भए उनीहरु आफैँले कमाउँछन्। छोराछोरी कुपुत्र-कुपुत्री भए भने हाम्रो सम्पत्ति त्यसै डुल्छ’, उनले अगाडि भने, ‘हाम्रो सम्पत्तिले भावी पुस्तालाई काम हुँदैन। आफूलाई पुग्ने गरी कमाएर सन्तोष गरौँ।’
भिडिओ
मानिसलाई कति हुँदा पनि नपुग्ने उनको भनाइ थियो। ‘हिजो तपाईं हाम्रै हेरौँन, लाख हुँदा करोड भन्थ्यौँ, करोड हुँदा अर्ब चाहिन्छ भन्थ्यौँ’, उनले थपे, ‘धेरै लोभ गर्नु हुँदैन, त्यसले विनाश निम्त्याउँछ। अब त अध्यात्मतिरको धार बलियो हुँदे गएको छ, त्यता लाग्नु उत्तम हुन्छ।’
बुधबारदेखि उपराष्ट्रपति कार्यालयबाट जगेडामा पठाइएका सचिव पाण्डेले मासु र मदिराले पनि राम्रो नगर्ने बताए।
‘साँझ परेपछि कुखुरा र अंग्रेजी पानी खोज्नुको साटो आध्यात्मिक चिन्तनमा लागे हामीलाई सुधार्छ’, उनले त्यसबेला भनेका थिए, ‘अंग्रेजी पानी धेरै खाँदा उपचार गर्न प्लेन चढेर जानुपर्ने बाध्यता हुन्छ।’
सचिव पाण्डे गृहमन्त्री हुँदा भुटानी शरणार्थीसम्बन्धी फाइल नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउन सक्रिय गिरोहलाई दिएको आरोप छ।
त्यसक्रममा उनले पनि करोडौँ लेनदेन गरेको प्रहरीको अनुसन्धानबाट देखिएको छ। उनी २०७८ साउनदेखि केही समय गृहमन्त्रीका रुपमा रहेका थिए। त्यहीबेला भुटानी शरणार्थीसम्बन्धी फाइल गिरोहको हातमा उनैले पुर्याएको बयान पनि पक्राउ परेका अन्यले प्रहरीलाई दिएका छन्।
Shares

प्रतिक्रिया