कारोबार


सम्पत्ति विवरणको त्रासले घरजग्गा किन्न हच्किए सरकारी कर्मचारी

सम्पत्ति विवरणको त्रासले घरजग्गा किन्न हच्किए सरकारी कर्मचारी

उन्नत सापकोटा
असार १, २०८३ सोमबार १५:५, काठमाडौँ

सरकारले आफ्ना कर्मचारीदेखि सार्वजनिक संस्थानमा विज्ञको रुपमा नियुक्ति खाएका व्यापारीलाई समेत सम्पत्ति विवरण बुझाउन गरेको ताकेताको असर घरजग्गा कारोबारमा पनि परेको छ। घरजग्गा किनबेचमा बढी संलग्न हुने सरकारी कर्मचारीदेखि उद्योगी व्यापारी त्रसित भएका कारण पनि कारोबारमा केही असर परेको व्यवसायीले बताएका छन्। 

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार, जेठमा घरजग्गा कारोबार संख्या घटेको छ। गत आर्थिक वर्षको जेठमा देशभरका मालपोत कार्यालयबाट ५१ हजार १० लिखत पारित भएका थिए। जसबाट सरकारले चार अर्ब ७२ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो।
जबकि, चालू आर्थिक वर्षको जेठमा कारोबार संख्या घटे पनि सरकारले उठाउने राजस्व भने वृद्धि भएको छ। विभागका अनुसार देशभरका मालपोत कार्यालयबाट जेठमा ५४ हजार ७२४ लिखत पारित भएको छ। घरजग्गा कारोबारबाट राज्यले पाँच अर्ब २४ करोड रुपैयाँ कर उठाएको छ। 

जेठमा घरजग्गा कारोबार घट्नुपर्ने ठूलो कारण नभए पनि सरकारले सरकारी कर्मचारीदेखि विज्ञका रुपमा राज्यबाट आर्थिक लाभ लिएका व्यापारीसम्मलाई सम्पत्ति विवरण बुझाउन गरिएको प्रयासले असर पुर्‍याएको नेपाल घरजग्गा एजेन्ट तथा एजेन्सी महासंघका अध्यक्ष विनोद सुवेदीले बताए। 
‘कारोबार घट्नुको ठूलो कारण त म देख्दिन। तर, सम्पत्ति विवरण पेश गर्नुपर्ने बाध्यता भएकाले घरजग्गा कारोबारमा केही असर परेको फिल्डमा देखिन्छ। सम्पत्ती शुद्धीकरणको छानबिनमा सरकारी संयन्त्र आक्रामक बनेकाले पनि मान्छे घरजग्गामा लगानी गर्न डराएका छन्,’ सुवेदीले नेपालखबरसँग भने, ‘पछिल्लो समय घरजग्गासम्बन्धी कानुनमा निरन्तर परिमार्जन भइरहेकाले पनि केही अन्योलता थपिदिएको छ। यसबाहेक असर गर्ने अरु कारण देख्दिन।’

व्यवसायीका अनुसार, सम्पत्ति शुद्धीकरणको छानबिनमा ठूला व्यापारिक घराना पनि पर्दै गएकाले घरजग्गामा लगानी गर्न उनीहरू डराइरहेका छन्। काठमाडौँका विभिन्न क्षेत्रलाई आधार बनाएर घरजग्गा कारोबार गराउँदै आएका व्यापारी संयोग कर्माचार्यले कारोबारका क्रममा भोगेको एउटा घटना सुनाए।

‘नेपाल सरकारको बहालवाला एक जना उपसचिव मेरो ग्राहक हुनुहुन्छ। उहाँले मुलपानीमा एउटा घर लिने विचार गर्नु भएको थियो। साढे दुई करोड रुपैयाँसम्म हाल्न उहाँ तयार हुनुहुन्थ्यो,’ कर्माचार्यले भने, ‘तर, अहिले आफूले सम्पत्ति विवरणमा सरकारले सोधीखोजी गरेको भन्दै केही महिनालाई बैनाको काम रोक्न आग्रह गर्नुभयो। किन त्यसो गर्नु भयो त्योभन्दा बढी मैले बुझ्ने कुरो भएन।’

घरजग्गा कारोबार गर्ने अर्का व्यक्ति योगेश भुजेलले सरकारी घरजग्गा कारोबारमा लाग्दै आएको पुँजीगत लाभकर साउनदेखि बढाउने निर्णय गरेकाले घर बेच्न खोज्नेहरूले असारमै पास गराउन खोजिरहेको बताए। सरकारले जेठ १५ गते ल्याएको बजेटले घरजग्गाको स्वामित्व पाँच वर्ष वा सोभन्दा बढी भएको सम्पत्ति बिक्रीबाट नाफा कमाए साढे ७ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था गरेको छ। हाल यस्तो घरजग्गा कारोबारमा ५ प्रतिशत लाभकर तिरे पुग्छ। 

त्यस्तै, पाँच वर्षभन्दा कमको स्वामित्व भएको घरजग्गा कारोबारमा हाल साढे ७ प्रतिशत रहेको लाभकरलाई बढाएर १० प्रतिशत पुर्‍याइएको छ। ‘घरजग्गा बेच्न खोज्नेहरूले असारमै पास गरौँ भनेर दबाब दिइरहेका छन्। पुँजीगत लाभकरमा अतिरिक्त साढे २ प्रतिशत बढी तिर्नुपर्ने भएकाले असारमै घरजग्गा पास गराउन खोजिरहेका छन्। बरु त्यो पैसा एजेन्टलाई कमिसन दिन पुग्छ भन्ने उहाँहरुको सोचाइ छ,’ भुजेलले भने।

उनले पनि कारोबार घट्नुपर्ने ठूलो कारण नभए पनि सम्पत्ति विवरण बुझाउनुपर्ने बाध्यताका कारण घरजग्गामा लगानी गर्न खोज्ने सरकारी कर्मचारी हच्किएको बताए। वैशाखमा भने ५८ हजार ८८६ लिखत पारित हुँदा ६ अर्ब २६ करोड रुपैयाँ राजस्व उठेको थियो।
ठूला घरजग्गाको सोधीखोजी गर्नेको संख्या बढे पनि त्यो कारोबारमा रुपान्तरण हुन भने नसकेको घरजग्गा कारोबारमा संलग्न व्यवसायी बताउँछन्। अझै पनि साना प्लटमै खरिदकर्ता झुम्मिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad