ad ad

राजनीति


सहकारीको रकम अपचलन : रविसँग ७ गते बयान, विपिनले भने- खातामा पैसा आएको थाहा छैन

सहकारीको रकम अपचलन : रविसँग ७ गते बयान, विपिनले भने- खातामा पैसा आएको थाहा छैन

नेपालखबर
भदौ ३, २०८१ सोमबार १३:३०, काठमाडौँ

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आगामी भदौ ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग बयान लिने भएको छ। 

पोखराको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारी र चितवनको सहारा सहकारीबाट गोर्खा मिडियामार्फत रकम अपचलन गरेको आरोप लामिछानेमाथि छ। यी लगायत देशभरका समस्याग्रस्त झण्डै १ सय सहकारीका सञ्चालक र सेयर सदस्यहरूसँग समितिले बयान लिइरहेको छ। 

समितिका सभापति सूर्य थापाका अनुसार, बयान लिने क्रम अन्तिम चरणमा पुगेको र अब प्रतिवेदन लेखनमा केन्द्रीत हुनेछ। 

समितिका एक सदस्यका अनुसार, आगामी भदौ ७ गते लामिछानेसहित गोरखा मिडियामै आवद्ध अर्का एकजनाको बयान लिइनेछ। 

‘लगभग सोधपुछको अन्तिम चरणमा पुगिएको छ,’ ती सदस्यले नेपालखबरसँग भने, ‘आगामी ७ गते रवि लामिछाने र छविलाल जोशी बञ्जाडेसँग बयान लिने तयारी छ।’

बञ्जाडे ग्यालेक्सी टेलिभिजनका सञ्चालक गितेन्द्रबाबु राई (जीबी) का व्यापारिक साझेदार हुन्। उनले टेलिभिजन स्थापना हुँदादेखि नै राईसँग जोडिएर काम गरेका थिए।

समितिका ती सदस्यले दिएको जानकारी अनुसार, सभापति लामिछाने लगायतले विभिन्न सहकारीबाट रकम ल्याएर अपचलन गरिएको देखिएको छ।

‘सामान्यतयाः सूर्यर्दशन, सुप्रिम र साहराबाट गोर्खा मिडियाको नाममा पैसा गएको प्रष्ट देखिन्छ,’ ती सदस्यले भने, ‘समितिले प्रतिवेदन नबनाइ यसबारे धेरै कुरा टिप्पणी नगरौँ होला।’

पर्याप्त प्रमाण जुटाउनेगरी समितिले काम गरिरहेको उनले बताए।

समितिले हिजो (आइतबार) रास्वपा सहमहामन्त्री विपिन आचार्यसँग बयान लिएको थियो। सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा जाँदा आचार्यको तर्फबाट गएकोबारे समितिले उनीसँग सोधपुछ गरेको थियो।

बयानका क्रममा आचार्यले आफ्नो खातामा रकम आएकोबारे आफू अनविज्ञ रहेको जानकारी समितिलाई गराएका छन्। 

‘१२/१३ करोड कहाँबाट आयो भन्ने मलाई थाहा छैन। खातामा त आयो कहाँबाट आयो थाहा छैन,’ उनले बयानका क्रममा भनेका छन्।

आचार्यले गोर्खा मिडियामा क्रिएटिभ डाइरेक्टरको रुपमा काम गरेका थिए।

समितिले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा विभिन्न व्यक्तिलाई बोलाएर बयान तथा छलफल गर्दै आएको छ। 

सहकारी मुद्दामा जेलमा रहेका सञ्चालक, सेयर सदस्य र अन्य सदस्यहरूसँग समितिले बयान लिइसकेको छ।

यो पनि: 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .