नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको घरमा खानतलासी गरेर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले एउटा ल्यापटप, पेनड्राइभ र चेकबुक बरामद गरेको छ।
पौडेललाई पक्राउ गर्नुअघि विभागका अधिकारीहरू ललितपुरको भैँसेपाटीस्थित पौडेल निवास पुगेर खानतलासी गरेका थिए।
सोमबार दिउँसो ४ बजेतिर विभागका अधिकारीहरू पौडेलको निवासमा पुगेका थिए। ललितपुरको भैँसेपाटी कोलोनीमा रहेको पौडेलको घर गत भदौको जेन–जी आन्दोलनमा जलाइएको थियो। अहिले पौडेल परिवार भैँसेपाटीमै भाडाको घरमा बस्दै आएको छ।
जेन–जी आन्दोलनमा जलेको घर भने पुननिर्माण भइरहेको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अधिकारीहरू ललितपुर प्रहरीसँग सुरक्षा लिएर पौडेलको निवास पुगेका थिए। त्यतिबेला निवासमा विष्णु पौडेलकी श्रीमती गीता पौडेल थिइन्।
विभागका अधिकारीहरूले दीपक भट्टसँग जोडिएको सम्पत्ति शुद्धीकरणको विषयमा विष्णु पौडेलमाथि अनुसन्धान गर्नुपर्ने भएकोले घर खानतलासीमा आएको र त्यसका लागि सहयोग गर्न गीता पौडेललाई भनेका थिए।
पौडेल भने पार्टीको कार्यक्रममा सुर्खेतमा थिए। श्रीमती पौडेलले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अधिकारीहरू आएको र उनीहरूले भनेको कुरा टेलिफोनमार्फत श्रीमानलाई जानकारी गराएकी थिइन्।
पौडेलले पनि विभागका अधिकारीहरूलाई सहयोग गर्न र उनीहरूले जान्न चाहेको कुरा बताउन अह्राएका थिए। त्यसपछि श्रीमती पौडेलले विभागका अधिकारीहरूले दिएको खानतलासी पत्रमा हस्ताक्षर गरिन्। व्यक्तिको घर खानतलासी गर्नुअघि कारण खुलाएर पत्र दिनुपर्ने र त्यसमा घरधनीको अनुमति चाहिने कानुनी व्यवस्था छ। पौडेललाई दिइएको पत्रमा व्यवसायी दीपक भट्टको कारोबारका सम्बन्धमा पौडेलमाथि पनि अनुसन्धान गर्नु परेकोले घर खानतलासी गर्न आवश्यक भएको भनिएको छ।
विष्णु पौडेलसँग कुराकानी भएपछि गीता पौडेलले विभागका अधिकारीहरूलाई खानतलासीमा सहयोग गरिन्।
विभागका अधिकारीहरूले पौडेलको घरमा रहेका सबै कोठाको निरीक्षण गरे। दस्ताबेजहरू हेरे। उनीहरूले पौडेलले काम गर्ने, आराम गर्ने र सुत्ने कोठाको बारेमा जिज्ञासा राखेका थिए। पौडेलको सुत्ने र काम गर्ने कोठा एउटै भएको श्रीमती गीता पौडेलले बताएकी थिइन्। अधिकारीहरूले सोही कोठाको पनि खानतलासी गरे।
उक्त कोठामा भेटिएको म्याकबुक ल्यापटप र पेन ड्राइभ एक–एक थान र केही बैंकको चेकबुक विभागका अधिकारीहरूले सँगै लगेको पौडेल निकटस्थहरूले जानकारी दिए।
सम्पत्ति शुद्धीकरण विभागको टोली घरमा आएको जानकारी पाएपछि विष्णु पौडेलले सुर्खेतबाटै विभागका महानिर्देशक निर्मल ढकाललाई फोन गरेर सोधेका थिए, ‘तपाईंले अनुसन्धान टोली मेरो घरमा पठाउनुभएको हो?’
ढकालले अनुसन्धान टोली पठाएको पुष्टि गर्दै कहिले काठमाडौँ फर्किनुहुन्छ भनेर सोधे।
जवाफमा पौडेलले मंगलबार नै काठमाडौँ फर्कने कार्यक्रम रहेको जानकारी ढकाललाई गराए।
त्यसपछि ढकालले पौडेललाई भने, ‘काठमाडौँ फर्किएपछि घर नगई सिधै यहीँ विभागमा आउनु होला।’
पौडेल निकटस्थहरूका अनुसार ढकालको अनुरोधलाई पौडेलले स्वीकारे। मंगलबार दिउँसोसम्ममा पौडेल आफैँ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा आउन तयार भएका थिए।
पौडेलसँग भएको सोही कुरा विभागमा महानिर्देशक ढकालले प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीलाई जानकारी गराएपछि प्रधानमन्त्री बालेन्द्र शाहकै निर्देशनमा तत्काल पक्राउ गरिएको पौडेल निकटस्थहरूको भनाइ छ।।
अहिले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग अर्थ मन्त्रालय मातहत छ। तर, विष्णु पौडेल पक्राउ प्रकरणमा विभागले प्रधानमन्त्री कार्यालयको निर्देशनमा काम गरिरहेको खुलेको छ।
पौडेललाई पक्राउ गर्ने सन्दर्भमा प्रधानमन्त्री बालेन्द्र शाहका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक निर्मल ढकालसँग समन्वय गरेको अधिकारीहरूले नेपालखबरलाई बताएका छन्।
सल्लाहकार ढकालले नै विभागका महानिर्देशक ढकाललाई ‘विष्णु पौडेल देशभर जहाँ भए पनि दुई घण्टाभित्रमा पक्राउ गर्न’ निर्देशन दिएको प्रधानमन्त्री कार्यालय स्रोतको भनाइ छ।
त्यसपछि, विभागले सुर्खेत जिल्ला प्रहरीलाई पौडेल सुर्खेतमा रहेको जानकारी प्राप्त भएकोले उनलाई पक्राउ गरेर प्रहरी सुरक्षासहित विभागमा बुझाउनु भन्ने व्यहोराको इमेल लेखेको थियो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले दिउँसो ४ बजेपछि विभागको इमेल प्राप्त भएको पुष्टि गरेको छ।
विभागको इमेल प्राप्त भएपछि सुर्खेत जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोली एमालेको कार्यक्रम भइरहेको शुभ होटलमा पुगेर साँझ ५ः१५ बजे पौडेललाई पक्राउ गरेको थियो।
एमालेका महासचिव शंकर पोखरेलले भनेका छन्, ‘केही समय पहिले सम्पत्ति शुद्धीकरण विभागका डीजीले फोनमा कुराकानी गरेर भोलि काठमाडौँ आएपछि सम्पर्कमा आउनु होला भनेर अनुरोध गरेको र त्यसको केही समयपश्चात सुर्खेत प्रहरीलाई पत्राचार गरेर नियन्त्रणमा लिन निर्देशन दिएको घटनाले राज्यका अनुसन्धान गर्ने निकायलाई अदृश्य शक्तिकेन्द्रले सञ्चालन गरेको देखिन्छ।’
प्रहरीले पौडेललाई पक्राउ गरेपछि कर्णाली प्रदेश तालिम केन्द्रमा राख्ने र मंगलबार बिहान नेपालगन्जबाट जहाजमार्फत काठमाडौँ ल्याउने प्रहरीको तयारी थियो। कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी जयराज सापकोटा र महानिर्देशक ढकालले पौडेललाई जहाजबाटै काठमाडौँ ल्याउने सल्लाह गरेका थिए।
तर, प्रधानमन्त्री कार्यालयका अधिकारीहरूले राति नै सार्वजनिक यातायातबाट पौडेललाई काठमाडौँ ल्याउन दबाब दिए। सुर्खेतबाट कोहलपुरसम्म जिल्ला प्रहरी कार्यालयको गाडीमा लगिएको थियो। कोहलपुरबाट माइक्रो रिजर्भ गरेर पौडेललाई रातारात काठमाडौँ ल्याइएको हो।
मंगलबार नै विशेष अदालतमा उपस्थित गराइएको पौडेललाई सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
Shares

प्रतिक्रिया