राजनीति


महाधिवेशन भद्रगोल हुँदा घर फर्किन थाले रास्वपा प्रतिनिधि

महाधिवेशन भद्रगोल हुँदा घर फर्किन थाले रास्वपा प्रतिनिधि

रास्वपा महाधिवेशनस्थल। सबै तस्बिर: सरोज नेपाल/नेपालखबर


लोकेन्द्र भट्ट
असार १०, २०८३ बुधबार १७:४५, चितवन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा भद्रगोल देखिँदा प्रतिनिधिहरू घर फर्किरहेका छन्। 

असार ७ देखि ९ गतेसम्म तय गरिएको महाधिवेशन लम्बिएपछि प्रतिनिधिहरू घर फर्किन थालेका हुन्। रास्वपा महाधिवेशनमा चार हजारभन्दा बढी महाधिवेशन प्रतिनिधि सहभागी छन्। 

महाधिवेशन उद्घाटनको अघिल्लो दिनदेखि नै चहलपहल बढेको थियो। तर, अहिले रास्वपा महाधिवेशन स्थल सुनसान देखिन थालेको छ। 
उद्घाटन सत्र सकिएसँगै प्रतिनिधि रनभुल्लमा पर्न थालेका थिए। एक दिन ढिलो गरेर बन्दसत्र सुरु भएको थियो। महाधिवेशन प्रतिनिधिलाई ३१ घण्टा कुराएर तीन घण्टामै बन्दसत्र सम्पन्न गरिएको थियो। 

महाधिवेशनस्थलमा बुधबार बिहानको चहलपहल।

मंगलबार उम्मेदवारी दर्ता प्रक्रिया अगाडि बढाएको रास्वपाले २४ घण्टा हुनै लाग्दा मतदानको व्यवस्था मिलाउन सकेको छैन। महाधिवेशन व्यवस्थापन समिति र निर्वाचन आयोगप्रति उम्मेदवार र प्रतिनिधि आक्रोषित बनेका छन्। 

महाधिवेशन व्यवस्थापन भद्रगोल भएपछि आक्रोषित प्रतिनिधि घर फर्किराखेका छन्। रास्वपाका नेता विपिन आचार्यले पनि महाधिवेशन लम्बिँदा केही प्रतिनिधि घर फर्किएको स्वीकार गरे। 

अहिले रास्वपा महाधिवेशन स्थलमा प्रतिनिधिभन्दा उम्मेदवारको संख्या बाक्लो छ। उम्मेदवार पनि अन्योलमा देखिएका छन्। 

थकित महाधिवेशन प्रतिनिधि।

आज राति साढे ८ बजेबाट मतदान सुरु हुने निर्वाचन तालिका सार्वजनिक भएको छ। तर, उम्मेदवार त्यसमा ढुक्क छैनन्। 

रास्वपाको केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ। जसमा केन्द्रीय सदस्यका लागि ३८४ उम्मेदवारका नाम छ। 

मतदान सुरु भएपछि पनि रातभर लाग्ने देखिएको छ। केन्द्रीय सदस्यका थुप्रै उम्मेदवार भएकाले एक जनालाई मत दिन कम्तिमा १५ मिनेट लाग्ने निर्वाचन प्राविधिक लक्ष्मण रिजालले जानकारी दिए। 

प्रतिनिधि घर फर्किन थालेपछि बुधाबार साँझ सुनसान देखिएको महाधिवेशनस्थल।

रातभर मतदान भयो भने बिहीबार बिहान मतगणना हुनेछ। मतगणना गर्न भने धेरै समय नलाग्ने रिजालले बताए। 

तर, मतदान राति हुनेमा प्रतिनिधि ढुक्क छैनन्। त्यसले पनि उनीहरू घर फर्किन लागेका हुन्। 

रास्वपामा पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यको निर्वाचन गर्ने तय भएको थियो। सभापतिमा रवि लामिछाने मंगलबार नै निर्विरोध निर्वाचित भइसकेका छन्। 

अब केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ। रास्वपाका ९९ केन्द्रीय सदस्यका लागि ३८४ जनाले उम्मेदवारी दिएका हुन्। 

दोस्रो चरणमा पदाधिकारीको निर्वाचन हुनेछ। केन्द्रीय सदस्यले नै पदाधिकारीका लागि मतदान गर्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad