एकजना २६ दिने शिशु चोरी आरोप लागेकी दैलेखकी मानकुमारी सिंहलाई जिल्ला अदालतल काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ।
सिंहलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजालस १ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।
गत फागुन ११ गते थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालबाट बच्चा चोरी आरोपमा पक्राउ परेकी उनलाई अपहरण तथा शरीर बन्धकको मुद्दा चलाइएको थियो।
उक्त मुद्दाको सुनुवाइपछि न्यायाधीश अधिकारीले मानकुमारीलाई धरौटीमा छाड्न आदेश दिएका हुन्। यसअघि पक्राउ परेका उनका पतिसहित दुईजना मुद्दा नै नचलाई रिहा भइसकेका छन्।
घटनाकै राति पक्राउ परेकी दैलेख घर भई काठमाडौं बस्ने मानकुमारीविरुद्ध अनुसन्धान सकेर सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा आइतबार मुद्दा दायर गरेको थियो।
सम्बन्धित समाचार:
मानकुमारीले जन्डिस लागेपछि उपचारका लागि अस्पताल लगिएकी काभ्रेकी सविना श्रेष्ठकी २६ दिने छोरीलाई चोरेको आरोप लागेको थियो।
थाथाथलीस्थित प्रसूति अस्पताल परिसरमै समात्न दिएर सविना रिपोर्ट लिन जाँदा मानकुमारी नाबालिका शिशु लिएर अस्पतालबाट फरार भएकी थिइन्।
सीसीटीभी फुटेजका आधारमा मानकुमारीको पहिचान गरेर प्रहरीले उनलाई पेप्सीकोलास्थित कोठाबाटै पक्राउ गरेको थियो।
अनुसन्धानका क्रममा मानकुमारीले आफू मानसिक रुपमा विक्षिप्त रहेका कारण उक्त घटना हुन पुगेको बयान दिएकी थिइन्।
पटक पटक गर्भ खेर गएपछि आफू डिप्रेसनमा रहेको उनले बयान दिएकी थिइन्। बच्चा लिएर घर जाँदा पनि आफ्नो दिमागले कामै नगरेको बयान उनले सरकारी वकिलसमक्ष दिएकी थिइन्।
Shares

प्रतिक्रिया