समाज


शिशु चोरीबारे मानकुमारीको बयान : पटक पटक गर्भ खेर गएपछि म होसमा थिइनँ

शिशु चोरीबारे मानकुमारीको बयान : पटक पटक गर्भ खेर गएपछि म होसमा थिइनँ

फाइल तस्बिर


नेपालखबर
चैत ४, २०८० आइतबार १३:५४, काठमाडौँ

फागुन ११ गते थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालबाट बच्चा चोरी आरोपमा पक्राउ परेकी महिलालाई अपहरण तथा शरीर बन्धकको मुद्दा चलाइएको छ। 

घटनाकै राति पक्राउ परेकी दैलेख घर भई काठमाडौं बस्ने मानकुमारी सिंहविरुद्ध अनुसन्धान सकेर सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। 

मानकुमारीले जन्डिस लागेपछि उपचारका लागि अस्पताल लगिएकी काभ्रेकी सविना श्रेष्ठकी २६ दिने छोरीलाई चोरेको आरोप लागेको छ। 

अस्पताल परिसरमै समात्न दिएर सविना रिपोर्ट लिन जाँदा मानकुमारी नाबालिका शिशु लिएर अस्पतालबाट फरार भएकी थिइन्। 

सीसीटीभी फुटेजका आधारमा मानकुमारीको पहिचान गरेर प्रहरीले उनलाई पेप्सीकोलास्थित कोठाबाटै पक्राउ गरेको थियो। 

अनुसन्धानका क्रममा मानकुमारीले आफू मानसिक रुपमा विक्षिप्त रहेका कारण उक्त घटना हुन पुगेको बयान दिएकी छन्। 

पटक पटक गर्भ खेर गएपछि आफू डिप्रेसनमा रहेको उनले बयान दिएकी  छन्। बच्चा लिएर घर जाँदा पनि आफ्नो दिमागले कामै नगरेको बयान उनले सरकारी वकिलसमक्ष दिएकी छन्। 

मानकुमारीको बयान
मैले विवाह गरेको ३ वर्षजति भयो। आजभन्दा करिब २ वर्ष अगाडि मेरो ८ महिनाको गर्भ खेर गएको थियो। गर्भ खेर गएपछि म डिप्रेशनमा गएँ। 

त्यसपछि मलाई मान्छेहरुको भिड देख्नासाथ दिमागले काम नगर्ने, झिझ्याँट महसुस हुने र कहाँ छु? कोसँग छु? के गर्दैछु भन्ने याद नहुने भएपछि मेरो परिवारले काठमाडौं गएर डिप्रेशनको औषधि गराउनु भनेर श्रीमानसँग पठाएको थियो। तर मैले अस्पताल गएर चेकजाँच गरिनँ।

त्यसपछि पनि बेला बेला २/३ महिनाजति गर्भ बस्ने र खेर जाने गर्दै आएको थियो। मलाई ज्योतिष शास्त्रमा विश्वास रहेको हुँदा करिब ८ महिनाअगाडि मैले ज्योतिषीलाई देखाएको थिएँ।

ज्योतिषिले मलाई नानी अब तिम्रो बच्चा रहन्छ भनी झारफुक पनि गरेको थियो। त्यसपछि मेरो रक्तस्राब रोकिएको थियो। घटना हुनुभन्दा करिब ४/५ दिन अगाडि मेरो फेरि रक्तस्राव हुन थाल्यो। 

मैले मेरो श्रीमानसँग कुराकानी गरी थापाथली प्रसूतिगृहमा चेकजाँच गराउने कुरा गरी फागुन १० गते प्रसूतिगृहमा चेकजाँच गराई परिक्षणका लागी रगत दिएको थिएँ। अस्पतालले मलाई फागुन ११ गते रिपोर्ट लिन बोलाएको थियो। त्यसैले म र मेरो श्रीमान् फागुन ११ गते अस्पताल आएका थियौंँ।

अस्पताल आउँदा रिपोर्ट लिने ठाउँ बन्द भएको थियो। रिपोर्ट लिने ठाउँमा श्रीमानलाई जान नदिने भएकाले उहाँ पहिले नै तलै बस्नु भएको थियो। म रिपोर्ट लिन माथि गएको थिएँ। रिपोर्ट लिने ठाउँ बन्द भएकोले तल आएर श्रीमानलाई खोज्दा नभेटिएपछि यताउता हेर्दै थिएँ।

त्यहीबेला जाहेरवालाका श्रीमती (सविना श्रेष्ठ) ले भुइँमा म्याट राखेको ठाउँमा बच्चा बोकेर बसिरहेको ठाउँमा संयोगवश पुगेँ।

जाहेरवालाको श्रीमातीले जेठानी दिदी रिपोर्ट लिन जानु भएर अझै नआएको भनेको सुनेँ। त्यसपछि मैले उनलाई, दिदी बच्चा बोकेर गएको भए त, रिपोर्ट छिट्टै दिन्थ्यो होला भनेपछि मलाई समात्न भन्नुभयो। मैले पनि बच्चा समाएँ। 

त्यसपछि उनले आफ्नो बच्चाले पिसाव फेरेको कपडा र दिसा गरेको डाइपर बोक्नु भयो। हामी सँगै हिँडिरहेका थियौँ, एक्कासि जाहेरवालाको श्रीमतीले बच्चाले दिसा गरेको डाइपर फाल्न साइटतिर जानु भएछ। मैले सोचेँ कि उहाँ मेरो पछाडि हुनु हुन्छ भनेर। तर हाल आएर मलाई थाहा भयो, उहाँ डाइपर फाल्न जानु भएको रहेछ। 

एक्कासि पछाडी हेर्दा मैले उहाँलाई देखिनँ, मेरो होस हरायो। फेरि उनले रिपोर्टको कुरा गर्दै गरेको मलाई याद आयो। रिपोर्ट लिने ठाउँमा जाँदा त्यहाँ पनि भेटिनँ। त्यसपछि म फेरि उनलाई खोज्न दोस्रो तलामा जाँदा पनि भेट्न सकिनँ।

मैले यताउता खोज्दै हिँड्दा नभेटेपछि फेरि पहिले भेटेको ठाउँमा गएँ, त्यहाँ पनि नभेटेपछि मलाई उनी कस्तो थिइन्? कस्तो कपडा लगाएकी थिइन्? भन्ने कुरा याद नभएर होस उड्यो। त्यसपछि मेरो दिमागले काम गरेन र मैले बच्चा बोकेर बाहिर हिँडेछु। 

मलाई श्रीमानसँग उपचार गर्न सँगै आएको कुरासमेत याद भएन। मैले बच्चा बोकेर कहाँबाट कता गएँ? थाहा पाइनँ। ट्याक्सीमा चढे गएको कुरा पनि याद छैन। ट्याक्सीलाई पैसा दिएको कुरा पनि याद छैन, मलाई एक्कासि प्रहरीले काँडाघारी चौकीमा लगेर गएपछि झसंङ्ग याद आयो। मलाई प्रहरीले मेरो कोठाबाट बच्चासहित ल्याएको कुरा बताएपछि याद भएको हो।

मेरो दिमागले काम नगरेकोले बच्चा बोकेर गएको हो। मैले जानीजानी २६ दिनको दूध खाने बच्चालाई अपहरण गरी लगेको होइन। बन्धक बनाएको पनि होइन,। मेरो गर्भ बारम्बार बस्ने र खेर जाने गरेकोले म डिप्रेशनमा गएको छु। 

त्यो दिन मलाई बच्चा दिइसकेपछि जाहेरवालाको श्रीमती मेरो पछाडि होलिन् भनेको ठानेको थिएँ। तर उनी त्यहाँबाट कता गइन् गइन्? मैले निजलाई खोज्दा खोज्दा नभेटपछि मेरो होस हरायो, मैले म कहाँ गए, कताँ गएँ र के गरे भन्ने याद छैन। एक्कास िमलाई प्रहरी कार्यालयमा लगेपछि होस आएको हो। 

मैले जानी जानी जाहेरवालाको बच्चा बोकी हिँडेको होइन। मैले बिनाजानकारी र बिनाअनुमति बच्चा लिएर जान मिल्दैन थियो, गल्ती भयो।

बाँकी कानुनबमोजिम कारबाही सहुँला बुझाउँला। मैले बच्चाको आमालाई खोजी हिँड्दै गर्दा नभेटेपछि होस उड्यो। मलाई बच्चाको आमा कस्ती थिइन् भन्ने पनि याद भएन। मैले बच्चा अस्पताल बाहिर लिएर गएकोसम्म याद छ, त्यसपछि मलाई केही याद छैन। 

मैले बच्चाको आमा नभेटेपछि प्रहरी र अस्पतालमा खबर गर्नुपर्ने थियो, गल्ती भयो। बाँकी कानुन बमोजिम सहुँला बुझाउँला। मेरो बच्चा खेर गएपछि म डिप्रेशनमा थिएँ। त्यसपछि मैले सुर्खेतको माया नर्सिङ होम अस्पतालमा चेकअप गराएँ। त्यसपछि मैले काठमाडौँमा पनि चेक गराएको हो। मलाई अस्पतालको नाम याद छैन, पछि कागजात पेश गर्नेछु। मैले डिप्रेशनसम्बन्धी कुनै औषधि सेवन गर्दिनँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .