ad ad

समाज


प्रसूति गृहबाट शिशु चोरी : रिहा भए मनकुमारीका श्रीमान् र दिदी

प्रसूति गृहबाट शिशु चोरी : रिहा भए मनकुमारीका श्रीमान् र दिदी

फाइल तस्बिर


नेपालखबर
फागुन १३, २०८० आइतबार १६:३१, काठमाडौँ

गत शुक्रबार (फागुन ११ गते) बिहान थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालको कम्पाउन्डबाट शिशु चोरिएको प्रकरणमा पक्राउ परेका दुईजना रिहा भएका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंले बूढानीलकण्ठकी २२ वर्षीया सबिना श्रेष्ठकी २६ दिनकी छोरी चोरी प्रकरणमा पक्राउ परेका २८ वर्षीय नरेन्द्र मल्ल र उनकी दिदी शारदा शाही रिहा भएका हुन्।

चोरीमा उनीहरूको संलग्नता नदेखिएपछि प्रहरीले म्याद थपका लागि मनकुमारीलाई मात्रै अदालत लगेको छ। दुवैजनाले प्रारम्भिक सोधपुछका क्रममा उक्त घटनाबारे आफूहरूलाई थाहा नभएको बताएका थिए।

मनकुमारीले पनि आफैंले मात्रै योजना बनाएर चोरी गरेको बयान दिएपछि उनीहरूलाई छाडिएको एक प्रहरी अधिकारीले बताए।

रिहा भएका मल्ल नाबालिका चोरीमा संलग्न भनिएकी दैलेख नौमुले गाउँपालिका-१ घर भई काँडाघारी बस्ने २४ वर्षीया मनकुमारी सिंहका श्रीमान् हुन्। उनी नेपाली सेनामा कार्यरत छन्। उता शारदा मनकुमारीकी दिदी हुन्।

उनीहरूलाई काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका वडा नम्बर ३ स्थायी घर भई हाल कपनमा बस्ने सबिनाकी नाबालिकालाई चोरी अभियोगमा पक्राउ गरिएको थियो।

जन्डिसको लक्षण देखिएपछि उपचारका लागि ल्याइएकी नाबालिका चोरी प्रकरणमा पक्राउ मनकुमारी भने प्रहरी हिरासतमै छिन्। 

मनकुमारीलाई सीसीटीभी फुटेजमा देखिएको हुलियाका आधारमा खोज्दै जाँदा प्रहरीले काठमाडौँकै काँडाघारीस्थित डेरबाट शुक्रबारै मध्यराति पक्राउ गरेको थियो।

पक्राउ परेका सैनिक दम्पतीको बिहे भएको ३ वर्ष भइसक्दा पनि सन्तान भएको थिएन। 

जिल्ला प्रहरी परिसर काठमाडौँले शिशुलाई अभिभावकको जिम्मा लगाइ सकेको छ। शिशुको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .