ad ad

राजनीति


इलाम–२ : एमाले, कांग्रेस र रास्वपाबाट यी हुन् टिकटका दाबेदार

झलनाथ खनालले दौड त्याग्ने संकेत
इलाम–२ : एमाले, कांग्रेस र रास्वपाबाट यी हुन् टिकटका दाबेदार

रुपक चौलागाईं
चैत ४, २०८० आइतबार १७:३९, काठमाडौँ

नेकपा (एमाले)का हेभिवेट नेता स्व. सुवास नेम्बाङको क्षेत्र इलाम–२ मा चुनावी सरगर्मी बढेको छ। निर्वाचन आयोगले वैशाख १५ गतेलाई चुनावको मिति तोकेपछि दलहरू उम्मेदवार तय गर्न लागेका छन्। 

यहाँको निर्वाचनका लागि अहिलेसम्म कुनै दलले उम्मेदवार टुंगो लगाउन सकेको छैन। केही स्वतन्त्र उम्मेदवारले मुख खोलिसकेको भए पनि दलहरू भने उम्मेदवारबारे छलफलमै छन्। 

सत्ता समीकरण फेरिएपछि अन्य दलको समेत सहयोगमा छैटौं जितलाई निरन्तरता दिने एमालेको योजना छ। सुवास नेम्बाङले यही क्षेत्रबाट ५ पटक जितिसकेका थिए।

उता, गत निर्वाचनमा झीनो मतान्तरले हार व्यहोरेका कांग्रेस नेता डम्बरबहादुर खड्का यसपटक बदला लिने दाउमा छन्। 

यसैबीच नयाँ दलको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नयाँ खेलाडीका रूपमा मैदान प्रवेशको तयारीमा छ। एमाले नेतृत्वको सत्ता गठबन्धनमा सामेल रास्वपाले इलाममा आफ्नै उम्मेदवार उठाउने रणनीतिसहित गतिविधि तीव्र पारेको छ।

पूर्वपञ्चहरूको दल राप्रपाले चुनावी कमान्डर नै खटाएर इलाममा मतदातासँग साक्षात्कार अघि बढाएको छ। 

कुन दलबाट को उम्मेदवार?

एमाले
एमालेले यहाँ लगातार पाँचपटक जित हात पारिसकेको छ। त्यसैले पनि एमालेले यहाँको निर्वाचनलाई प्रतिष्ठाको विषय बनाएको छ। 
स्व. नेता नेम्बाङको जित निरन्तर गर्ने मात्रै नभई जनमत घटेको छैन भन्ने सन्देशसमेत दिने गरी तयारी गरिएको एमालेका नेताहरू बताउँछन्। 

केन्द्रमा अहिले एमालेसहितको सत्ता गठबन्धन बनेको छ। माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपासहितको गठबन्धन निर्माण हुँदा इलामबारे नेताहरू बोलेका छैनन्। 

तर, यहाँ उम्मेदवार छनोटको प्रक्रिया भने एमालेले अघि बढाइसकेको छ। सोही अनुसार एमालेले आइतबार ६ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ।

यस क्षेत्रबाट उम्मेदवार हुनका लागि एमालेका ६ जनाले पार्टीमा निवेदन दिएका थिए, ती सबैको नाम केन्द्रमा पठाइएको हो।

सुहाङ नेम्वाङ, रवीन्द्र सुवेदी, बुद्धि खनाल, नरेन्द्र भट्टराई, देवी क्षत्री दुलाल र रिप्पल राईले उम्मेदवारीका लागि पार्टीमा निवेदन दिएका थिए।

उनीहरूमध्ये सबैको नाम सिफारिस भएको र बाँकी निर्णयको जिम्मा केन्द्रलाई नै दिइएको एमालेको इलाम जिल्ला कमिटी उपाध्यक्ष उदयबहादुर राईले जानकारी दिए। 

एमालेका एक केन्द्रीय नेताका अनुसार, सुहाङलाई टिकट दिन पार्टी उच्चस्तरमा समझदारी बनिसकेको छ। अन्य आकांक्षीलाई सम्झाउने र महत्त्वपूर्ण जिम्मेवारीसहित चुनाव परिचालनमा खटाउने सोच एमाले नेतृत्वले बताएको ती नेताको भनाइ छ।

सुवाङ सुवास नेम्बाङका छोरा हुन्। उनी निर्वाचनको तयारीकै लागि इलाममा भेटघाट र अन्तर्क्रिया गरिरहेका छन्।

२०७९ को आमनिर्वाचनमा एमालेले ३० हजार २० मत प्राप्त गरेको थियो। 

कांग्रेस
अघिल्लो निर्वाचनको मुख्य प्रतिस्पर्धी हो, नेपाली कांग्रेस। एमाले एक्लै निर्वाचनमा उत्रँदा यहाँ माओवादीसहितको गठबन्धनबाट कांग्रेसका डम्बरबहादुर खड्का उम्मेदवार थिए। 

उनी नेम्बाङसँग झीनो मतान्तरले पराजित भएका थिए। अहिले पनि पुनः मतगणना हुँदा आफ्नै जित रहेको दाबी गर्ने खड्का चुनावी मैदानमा उत्रने तयारी पनि गरिरहेका छन्। 

पार्टीको जिल्ला कार्यसमिति सभापतिसमेत रहेका खड्का जसरी पनि टिकट लिने गरी केन्द्रमा दौडधुप बढाइरहेका छन्। इलाम कांग्रेसकै नेताहरूका अनुसार खड्काका अलावा यहाँ भेषराज आचार्य, केशव थापा र नगेन्द्र कुमालले पनि दाबी गर्दै आएका छन्। 

आचार्य पार्टीका महाधिवेश प्रतिनिधि हुन्, थापा पूर्वराज्यमन्त्री हुन् भने कुमाल संविधान सभाका सदस्य हुन्। 

केन्द्रमा फेरिएको सत्ता समीकरणसँगै कांग्रेसलाई इलामको निर्वाचन भारी बन्न सक्ने स्थानीय नेताहरूको आकलन छ।

अघिल्लो चुनावमा कांग्रेसका उम्मेदवार खड्काले यस क्षेत्रबाट २९ हजार ९ सय ६ मत पाएका थिए।

रास्वपा
गत निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अहिलेसम्म आफ्नो उम्मेदवार तय गरिसकेको छैन। निर्वाचन मिति घोषणा भएदेखि नै केन्द्रदेखिका नेताहरूले इलाम–२ को उम्मेदवार चयनको तयारीदेखि जनभावना बुझ्ने कार्यसम्मलाई तीव्रता दिएका छन्। 

पार्टी सहमहामन्त्रीसमेत रहेका नेता कवीन्द्र बुर्लाकोटीलाई रास्वपाले निर्वाचन कमान्डर बनाएको छ। उनी केही सातादेखि इलाम धाइरहेका छन्। 

पछिल्ला दिनमा उम्मेदवारबारे जनभावना संकलन गरिरहेका बुर्लाकोटीले पार्टी केन्द्रमा त्यहाँको वस्तुस्थितिबारे जानकारी गराइरहेको एक नेताले बताए। 

ती नेताका अुनसार, आगामी चैत १० गतेभित्र उम्मेदवारको नाम सार्वजनिक गर्ने तयारी छ। यसपटक आन्तरिक चुनाव नगरी सर्वसम्मतिमा नै उम्मेदवारको नाम टुंगो लगाउने प्रयास भइरहेको उनको भनाइ छ। 

‘हामी धेरै नाम आएको खण्डमा प्राइमरी इलेक्सनमार्फत नै उम्मेदवार तय गर्छौं,’ ती नेताले भने, ‘तर यसपटक सर्वसम्मतिको प्रयास भइरहेको छ।’

सुरुमा रास्वपाले यहाँ रमेश प्रसाईंलाई उम्मेदवार बनाएर पठाउने तयारी गरेको थियो। तर, जनस्तरबाट सकारात्मक प्रतिक्रिया नआएको र ०८४ को निर्वाचनका लागि सोच्ने भन्दै प्रसाईंलाई यसपटक नउठाउने सोचमा रास्वपा नेतृत्व छ। 

ती नेताका अनुसार शुक्रबार साँझसम्म कम्तीमा ५ जना आकांक्षीले पत्र पठाएका छन्। तर, रास्वपाले जनजाति समुदाय र इलामकै भावना बुझेको योग्य मान्छे खोजिरहेको अर्का एक नेता बताउँछन्। 

यहाँ महेन्द्र थापा, धर्म गौतम, विष्णु काफ्ले लगायतका नाम चर्चामा छ।

यद्यपि पहिचानवादी समेतको भोट तान्ने गरी सोही समुदायको उम्मेदवार बनाउने रास्वपाको तयारी छ।

२०७९ को आमनिर्वाचनमा यस क्षेत्रबाट रास्वपाले १ हजार ३ सय ८० मत पाएको थियो। 

जसपा
जनता समाजवादी पार्टी (जसपा) को स्थानीय कार्यसमितिले यस निर्वाचनका लागि तीन जनाको नाम सिफारिस गरेको छ। 

जसमा सल्लाहकार डा. महेन्द्र लावती, केन्द्रीय सदस्य लोक सागर साम्बा र जिल्ला उपाध्यक्ष यामप्रसाद लिम्बूलाई पार्टी केन्द्रसमक्ष सिफारिस गरिएको हो। 

अघिल्लो निर्वाचनमा यहाँ यामप्रसाद लिम्बूलाई पार्टीले उम्मेदवार बनाएको थियो। 

उनले ७ सय २४ मत प्राप्त गरेका थिए। 

राप्रपा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि इलाममा आफ्ना गतिविधि बढाएको छ। प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार नेताहरूको एउटा टोलीले अहिले त्यहाँ पुगेर जनतासँग भावना बुझ्ने काम गरिरहेको छ। 

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनका सहोदर भाइ रवीन्द्र सोही क्षेत्रमा खटिएका छन्। 

केही दिनदेखि मतदातामाझ आफ्ना कुरा राखेका रवीन्द्रले अन्य दलका नेता कार्यकर्तालाई पार्टीमा भित्र्याउने प्रयास पनि गरिरहेका छन्। 

अध्यक्ष लिङ्देनले पनि सो क्षेत्रका प्रभावशाली मानिने धर्मगुरु आत्मानन्द लिङ्देनसँग भेट गरेका छन्। इलाम–२ को निर्वाचनका बेला धर्मगुरु लिङ्देन फ्याक्टर पनि महत्त्वपूर्ण मान्ने गरिएको छ। 

राप्रपा स्रोतका अनुसार नेतृ लक्ष्मी गुरुङको नाम पनि चर्चामा छ। गुरुङ राप्रपानिकट विद्यार्थी संगठनकी पूर्वकेन्द्रीय उपाध्यक्ष हुन्। अहिले उनी पार्टीकै केन्द्रीय शिक्षा विभागमा छन्।

मिलनको स्वतन्त्र उम्मेदवारी
मिलन लिम्बूले इलाम–२ को निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेका छन्। नेपाल आदिवासी जनजाति पत्रकार महासंघको केन्द्रीय सचिवसमेत रहेका उनी पहिला माओवादी पार्टीमा आबद्ध थिए। 

तर, राजनीतिक दलले निकास नदिने भन्दै उनले (आइतबार) मात्रै स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। 

कोसीमा भइरहेको पहिचानवादी आन्दोलनको मत आफूले पाउने उनको अपेक्षा छ। उनले धरानका मेयर हर्क साम्पाङदेखि धर्मगुरु आत्मानन्दसँग समेत छलफल गरेका छन्। 

वाम एक भए मात्रै उम्मेदवार हुन्छुः झलनाथ
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पनि यस क्षेत्रबाट निर्वाचन लड्ने चाहना राखेका थिए। 

केन्द्रमा रातारात भएको समीकरण परिवर्तनले उनको आशामा मलजल पनि गरेको थियो। तर, वाम एकताको बाटो लामो भएको सोही पार्टीका नेताहरू बताउँदै आएका छन्। 

गठबन्धनमै सामेल रहेर जित्ने इच्छा बोकेका झलनाथ वामहरू एक हुनुपर्ने तर्क राख्छन्। ‘वाम एक भएको खण्डमा मैले त्यहाँबाट चुनाव लड्ने हो, अन्यथा सम्भावना छैन,’ उनले नेपालखबरसँग भने।

यसअघि उनले आफूले पुनः इलामको निर्वाचनमा खुट्टा दुखाउनुपर्ने अवस्था सिर्जना भएको प्रतिक्रिया दिएका थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .