ad ad

समाज


थापाथलीबाट मध्यदिन यसरी चोरियो २६ दिनकी छोरी, काँडाघारीमा यसरी भेटियो मध्यराति

थापाथलीबाट मध्यदिन यसरी चोरियो २६ दिनकी छोरी, काँडाघारीमा यसरी भेटियो मध्यराति

नेपालखबर
फागुन १२, २०८० शनिबार १४:२७, काठमाडौँ

शुक्रबार (फागुन ११ गते) बिहान ११:४० बजे २२ वर्षीया सबिना श्रेष्ठ थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालको कम्पाउन्डभित्र २६ दिन मात्र भएकी आफ्नी छोरी लिएर बसिरहेकी थिइन्। 

काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका वडा नम्बर ३ स्थायी घर भई हाल कपनमा बस्ने उनी छोरीलाई जन्डिसको लक्षण देखिएपछि उपचारका लागि प्रसूति गृह पुगेकी थिइन्। 

छोरी बोकेर बसिरहेका बेला अन्दाजी २८/२९ वर्षकी एकजना अपरिचित महिला छेउमा आइन्। रातो कुर्ता-सुरुवाल लगाएकी ती महिलाले घुम्टोले पूरै अनुहार छोपेकी थिइन्। उनले बच्चाप्रति माया देखाउँदै सबिनासँग भनिन्, ‘नानी मलाई देऊ, म बोकिदिन्छु।’

उनले सहजै आफ्नी छोरी बोक्न दिइन्। तर ती महिला त सबिनाका आँखा छलेर नानीसहित बेपत्ता भइन्। अस्पताल क्षेत्रका वरपर सबैतिर हेरिन्, तर सबिनाले न आफ्नी छोरी देखिन्, न ती महिला।

त्यसपछि आत्तिँदै उनले जिल्ला प्रहरी परिसर काठमाडौँको कार्यालयमा खबर गरिन्। खबर पाउनासाथ जिल्ला प्रहरी परिसर, उपत्यका अपराध अनुसन्धान कार्यालय र परिसरमातहतका कार्यालयबाट प्रहरी टोली खोजतलासमा परिचालन भए। 

सीसीटीभी फुटेजमा देखिएको हुलियाका आधारमा खोज्दै जाँदा प्रहरीले काठमाडौँकै काँडाघारीमा शिशु बोकेर बसेको अवस्थामा ती महिला भेट्टाउन सफल भयो। 

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार दैलेख नौमुले गाउँपालिका-१ घर भई काँडाघारी बस्ने २४ वर्षीया मनकुमारी सिंहलाई प्रहरीले शिशुसहित शुक्रबारकै राति ११:३९ बजे काँडाघारीस्थित डेराकोठाबाट नियन्त्रणमा लियो। 

सुरुमा उनले आफ्नै शिशु भएको दाबी गरेकी थिइन्। तर प्रहरीले सीसीटीभी फुटेजका आधारमा बच्चा सबिनाकै भएको एकिन गर्‍यो र मनकुमारीसहित उनलाई साथ दिएको आरोपमा उनका श्रीमान् २८ वर्षीय नरेन्द्र मल्ल र निजकी दिदी शारदा शाहीलाई समेत नियन्त्रणमा लियो।

उनका पति नेपाली सेनामा कार्यरत छन्। 

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार शिशु अभिभावकको जिम्मा लगाइएको छ र अहिले शिशुको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .