समाज


तिलगंगा बस्ती हटाएको विरोधमा ७५ दिनदेखि स्थानीय धर्नामा

तिलगंगा बस्ती हटाएको विरोधमा ७५ दिनदेखि स्थानीय धर्नामा

नेपालखबर
असार ३२, २०८३ बिहिबार १५:३३, काठमाडौँ

तिलगंगा बस्ती हटाएको विरोधमा स्थानीयहरु ७५ दिनदेखि पशुपति क्षेत्र विकास कोष अगाडी धर्नामा बसेका छन्।

सरकारले आफूहरूलाई अन्यायपूर्ण तरिकाले विस्थापित गरेको उनीहरूको गुनासो छ। सरकारले बागमती नदी किनारमा रहेका बस्ती हटाउने क्रममा गत वैशाख १८ र १९ गते तिलगंगा क्षेत्र (ब्लक बी–१३) का बस्ती पनि हटाएको थियो।

स्थानीयहरूले पशुपति क्षेत्र विकास कोषको गुरुयोजना कार्यान्वयन गर्ने क्रममा भएको सम्झौता पालना नगरी आफूहरूलाई सकुम्बासीको दर्जामा राखेर विस्थापित गरेको गुनासो गरेका छन्।

उनीहरुले आफूहरु सुकम्बासी वा जग्गा अधिक्रमण गर्ने नभई जग्गाधनीपुर्जावाला स्थानीय भएको बताएका छन्। पशुपति विकास कोषले पूर्वसहमति कार्यान्वयन नगरी आफ्नो बस्ती भत्काएको उनीहरुको आरोप छ।

उनीहरुले अब १० दिन शान्तिपूर्ण धर्नालाई निरन्तता दिने र सुनुवाइ नभए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। स्थानीय पीडित सुदर्शन गौतमले आफूहरू लालपूर्जा, भवन निर्माण सम्पन्न प्रमाणपत्र तथा राज्यलाई कर तिरेर कानुनी रूपमा बसोवास गर्दै आएको बस्तीका बासिन्दा भएको बताए।

उनकाअनुसार पशुपति विकास कोषले २०५३ सालमा ल्याएको गुरुयोजनामा तिलगंगा बी–१३ सहित सात बस्तीलाई स्थानान्तरण गर्ने व्यवस्था गरिएको थियो, यसमध्ये पाँच बस्ती स्थानान्तरण भइसकेका छन्।

आफूहरुको बस्तीको हकमा सहमति कार्यान्वयन नगरी सिधै डोजर चलाइएको उनको गुनासो छ। उनले सुकुम्बासी बस्ती हटाउने क्रममा आफूहरूको कानूनी बस्तीलाई पनि त्यही सरह व्यवहार गर्दै प्रहरी परिचालन गरेर भत्काएको आरोप लगाए।

उनकाअनुसार बस्ती स्थानान्तरणसम्बन्धी निर्णय मन्त्री, सचिव, सहसचिवसहित १७ निकायका प्रतिनिधि सहभागी भएको उच्चस्तरीय सहमतिका आधारमा भएको थियो।

तर उक्त निर्णय कार्यान्वयन नगरी बस्ती भत्काइएकाले आफूहरू बेघर बनेको उनको भनाई छ। हालै बसेको पशुपति विकास कोष परिषद् बैठकबाट पनि कुनै ठोस निर्णय नआएको उनले बताए।

स्थानियहरुले सरकार तथा कोषलाई तत्काल सहमति कार्यान्वयन गरी समस्या समाधान गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad