राजनीति


प्रदेशमा कांग्रेस-एमाले सत्ता सहकार्य अन्त्य, तानातानमा नेकपा

प्रदेशमा कांग्रेस-एमाले सत्ता सहकार्य अन्त्य, तानातानमा नेकपा

लोकेन्द्र भट्ट
असार ३१, २०८३ बुधबार २१:३५, काठमाडौँ

नेपाली कांग्रेसले सबै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य भंग गर्ने निर्णय गरेको छ। त्यसपछि कांग्रेसले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँगको सत्ता सहकार्यका लागि संवाद पनि अगाडि बढाएको छ। 

मंगलबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी बैठकमा एमालेसँगको सत्ता सहकार्य विसर्जन गरेर नेकपासँग मिलेर जाने विकल्पमा छलफल भएको थियो। बैठकमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्नुको कारण र नेकपासँग मिलेर जानेबारे भएको संवादबारे ब्रिफिङ गरेको सहमहामन्त्री योगेन्द्र चौधरीले नेपालखबरलाई बताए। 

प्रदेश र स्थानीय सरकारसँग समन्वयको केन्द्रीय संयोजन गरिरहेका उपसभापति शर्माले कांग्रेसले प्रदेशमा एमालेसँग सत्ता सहकार्य गरेर जान नसक्ने कारणहरू पेस गरेका थिए।

गत वर्ष भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनलाई हेर्ने दृष्टिकोणमा कुरा नमिल्नु र कांग्रेस नेतृत्वको प्रदेश सरकारहरूमा एमालेको व्यवहार मुख्य कारण रहेको शर्माको भनाइ थियो।

उनका अनुसार कांग्रेस नेतृत्वको सरकारबाट एमालेका मन्त्री बर्खास्त गर्ने र एमाले नेतृत्वको सरकारबाट बाहिरिने निर्णय पदाधिकारी बैठकले गरेको थियो। मंगलबार दिउँसो १ बजे बसेको पदाधिकारी बैठकपछि दिउँसो साढे २ बजे सभापति गगन थापाले नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए।

सभापति थापा र संयोजक प्रचण्डबीच प्रदेशमा सत्ता सहकार्य गर्ने विषयमा मोटामोटी सहमति भएपछि बुधबार कर्णाली सरकारबाट कांग्रेस बाहिरिएको छ भने सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहले एमालेका मन्त्रीलाई बर्खास्त गरेका छन्। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाह नेतृत्वको सरकारमा सहभागी एमालेले आर्थिक वर्ष २०८३/८४ को बजेट पारितमा असहयोग गरेको थियो।

बजेट पारित हुने वातावरण बनाउन कांग्रेसले महामन्त्री प्रदीप पौडेललाई सुदूरपश्चिम पठाएको थियो। त्यहाँ सहमति नभएपछि मुख्यमन्त्री शाहलाई काठमाडौँ बोलाएर कांग्रेस उपसभापति शर्मा र महामन्त्री पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गराएका थिए। ओलीले समस्याको गाँठो पुकाउन नचाहेपछि एमालेसँग सातै प्रदेशमा सत्ता सहकार्य अन्त्य गर्ने निष्कर्षमा पुगेको सहमहामन्त्री उदय शमशेर राणाले बताए।

कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पनि बिहीबारसम्ममा एमालेसँगको सहकार्य तोड्ने कांग्रेसको तयारी छ। कोसी र लुम्बिनीमा एमाले नेतृत्वको सरकारमा कांग्रेस सहभागी भएको छ भने बागमती र गण्डकीमा कांग्रेसको नेतृत्व छ। कोसी र लुम्बिनीमा कांग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा दिन भएका छन् भने बागमती र गण्डकीमा एमालेका मन्त्रीलाई बर्खास्त गरिने कांग्रेस सहमहामन्त्री चौधरीले बताए।

कांग्रेस र नेकपाबीच प्रदेशगत नेतृत्वमा पनि मोटामोटी सहमति भइसकेको छ। कांग्रेसले अहिले एमालेले नेतृत्व गरेको प्रदेशमा सरकारको नेतृत्व गर्ने छ भने नेकपाले कांग्रेसले नेतृत्व गरेका बागमती, गण्डकी र सुदूरपश्चिममा नेतृत्व लिने चौधरी बताउँछन्। २०८१ असार १७ मा केन्द्रदेखि सातै प्रदेशमा कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सत्ता सहकार्यको सहमति भएको थियो।

सोही सहमति अनुसार कोसीमा एमाले, मधेसमा जनमत, बागमतीमा कांग्रेस, गण्डकीमा कांग्रेस, लुम्बिनीमा एमाले, कार्णालीमा एमाले र सुदूरपश्चिम प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बनेको थियो। यसबीचमा मधेसमा एमाले बाहेकको समर्थनमा कांग्रेसले सरकारको नेतृत्व गरिरहेको छ। कांग्रेसका कृष्णप्रसाद यादव नेतृत्वको सरकारमा जनता समाजवादी पार्टी नेपाल जसपा र नेकपा सहभागी छन्।

६ वटा प्रदेशमा गत पुस २७-३० मा सम्पन्न विशेष महाधिवेशनबाट आएको थापा नेतृत्वको कांग्रेसले एमालेसँग ६ महिना सहकार्य गर्‍यो। कांग्रेस र एमालेको सत्ता सहकार्य भएका ६ वटै प्रदेशमा नेकपा अहिले प्रमुख प्रतिपक्षीको भूमिकामा छ।

गत वैशाखमा उपसभापति शर्माले सत्ता सहकार्य नवीकरणका लागि एमाले र नेकपा दुवैसँग संवाद थालेका थिए। एमालेसँगको सत्ता सहकार्य सहज नभएपछि कांग्रेस नेकपासँग मिलेर जाने निष्कर्षमा पुगेको देखिन्छ। 

कदाचित् नेकपासँग सत्ता सहकार्य नभए प्रतिपक्षमा बस्ने तयारीका साथ एमालेसँगको सहकार्य अन्त्य गरेको सहमहामन्त्री चौधरीले बताए। 

‘नेकपासँग सहकार्य नभए कांग्रेस सबै प्रदेशमा प्रतिपक्षमा रहनेछ। सत्ताका लागि जे पनि गर्ने प्रवृत्तिबाट कांग्रेस बाहिर निस्किन्छ,’ उनले भने।

दोहोरो संवादमा नेकपा
नेकपाका प्रवक्ता प्रकाश ज्वालाले प्रदेशमा सत्ता सहकार्यका विषयमा दोहोरो संवाद भइरहेको बताए। 

‘प्रचण्ड कमरेड र गगनजीबीच हिजो भएको छलफल सकारात्मक छ। कांग्रेससँगको सत्ता सहकार्यका लागि हामी सकारात्मक नै छौँ,’ उनले भने, ‘एमालेसँग पनि संवाद भइरहेको छ। हामी छलफलमै छौँ।’ 

नेकपाका प्रदेश संसदीय दलका नेताहरूले पनि एमाले र कांग्रेसँग सत्ता सहकार्यका लागि सकारात्मक रहेको बताइरहेका छन्।

यस्तै एमाले उपमहासचिव तथा प्रवक्ता लेखराज भट्टले कांग्रेसले एमालेलाई एक्ल्याउने रणनीति बनाएपछि सत्ता सहकार्यमा समस्या आएको बताए। 

‘एमालेलाई एक्ल्याउने गगनजीको रणनीति हो। यो कुरा नेतृत्वलाई थाहा नहुने कुरा भएन। कांग्रेसले सत्ता सहकार्य अन्त्यको निर्णय लिएपछि नेतृत्वले विकल्पबारे कुराकानी गरिरहेको छ,’ नेपालखबरसँग उनले भने, ‘लोकतन्त्र र गणतन्त्रवादी दल सँगसँगै जानुपर्छ भन्ने कुरामा कांग्रेस तयार भएन।’

कांग्रेसले सातै प्रदेशमा नयाँ ढंगले जाने भनेपछि नेकपासँग मिलेर जाने विषयमा एमालेले पनि संवाद थालेको उनको भनाइ छ। 

‘प्रदेशमा सत्ता सहकार्यका लागि कांग्रेसको विकल्प खोजौँ भनेर पार्टीभित्र छलफल भएको थियो। महासचिवले नेकपासँग छलफल गर्ने कुरा गर्नुभएको छ,’ भट्टले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad