बागमती


बागमतीमा पनि सरकार फेरबदल हुने

बागमतीमा पनि सरकार फेरबदल हुने

सुनिता विष्ट
असार ३१, २०८३ बुधबार १९:३०, मकवानपुर

सुदूरपश्चिम र कर्णाली प्रदेशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमको प्रभाव बागमती प्रदेशमा पनि देखिएको छ।

केन्द्रमा नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको गठबन्धन अन्त्य गर्ने निर्णय भएपछि बागमतीमा पनि सरकार हेरफेर हुने निश्चित भएको हो। 

बागमतीमा कांग्रेस नेता इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार छ, जसमा एमाले साझेदार हो।

मंगलबार कांग्रेसको पदाधिकारी बैठकले सबै प्रदेशमा रहेको एमालेसँगको सहकार्य तोड्ने निर्णय गरेपछि बागमतीमा पनि सो प्रक्रिया अघि बढ्ने कांग्रेस बागमती प्रदेश संसदीय दलका सचेतक पुकार महर्जनले जानकारी दिए।

‘केन्द्रीय सर्कुलरअनुसारनै हामी चल्ने हो, मुख्यमन्त्रीज्यूलगायत अन्य मन्त्रीज्यूहरू पनि अहिले काठमाडौँमै हुनुहुन्छ। छलफल जारी छ,’ उनले नेपालखबरसँग भने, ‘भोलि साँझसम्म सरकार फेरबदलबारे निर्णय हुनेछ।’

एमालेसँगको सत्ता गठबन्धन तोड्ने निर्णयसँगै अब बागमतीमा कांग्रेस र नेकपाको सत्तासाझेदारी हुने सम्भावना बढेको महर्जनले बताए। 

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भने शीर्ष तहबाट कुनै निर्देशन प्राप्त नभएको बताउँछन्। ‘सरकारको भविष्यका बारेमा ठोस निर्णय भइसकेको छैन,’ उनले भने।

यद्यपि भोलि (बिहीबार) दिउँसो मन्त्रिपरिषद् बैठक आह्वान भएको छ। अन्य प्रदेशमा कांग्रेस र नेकपाको गठबन्धन भए बागमतीमा पनि सोही समीकरणको सरकार बन्ने एक मन्त्रीले बताए।

हाल १०४ जना प्रदेशसभा सदस्य रहेको बागमती सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक हुन्छ।

यहाँ कांग्रेस ३६ सिटसहित पहिलो दलको हैसियतमा छ भने नेकपाको २६, एमालेको २५, राप्रपाको १२, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टी (हानेपा) को २ सिट छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad