जनमत पार्टीका मधेस प्रदेश संसदीय दलका नेता महेश यादव मधेस सरकारको अर्थमन्त्री नियुक्त भएका छन्।
अघिल्लोपटक जनमतबाट सतीशकुमार सिंह मुख्यमन्त्री नियुक्त हुँदा यादव पनि मुख्यमन्त्रीको बलियो दावेदार थिए। तर, त्यतिबेला संसदीय दलको नेता हुँदाहुँदै उनलाई पन्छाएर अध्यक्ष सीके राउतले सिंहलाई मुख्मन्त्रीमा अघि सारेका थिए।
सिंह मुख्यमन्त्री नियुक्त हुँदा यादवले पार्टीभित्र आफूविरुद्ध चलखेल भएको गुनासो गरेका थिए।
आफू संसदीय दलको नेता हुँदाहुँदै पार्टी नेतृत्त्वले सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेकोप्रति यादव नेतृत्वप्रति असन्तुष्ट थिए। तर मनमा असन्तुष्टि भए पनि उनले प्रदेशसभामा आफ्नो उपस्थितिलाई प्रभावकारी बनाउँदै लगेका थिए।
पछिल्लो समय अध्यक्ष राउतसँग राम्रो सम्बन्ध बनाएका यादवले मधेसमा महत्वपूर्ण अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन्।
नवनियुक्त अर्थमन्त्री यादव सप्तरी २ (ख) बाट निर्वाचित सांसद हुन्। यसअघिका मुख्यमन्त्री सिंह पनि जनमतबाटै सप्तरी २ (क)बाट निर्वाचित भएका सांसद हुन्। तर, अशिले सिंह जनमत पार्टीमा छैनन्।
उनी जनमतबाट विभाजन भएर बनेको जनस्वराज पार्टीमा आवद्ध भएका थिए। तर, अदालतले जनस्वराज पार्टीलाई मान्यता दिएको छैन। सांसद सिंहको पद यतिबेला धरापमा छ। जनमतले कारबाही गर्यो भने उनी पदमुक्त हुनेछन्। अहिले सरकार गठनको जोडघटाउ चलिरहेकोले मात्रै जनमतले सिंह र अर्का सांसद त्रिभुवन साहलाई कारबाही गरेको छैन।
अर्थमन्त्रीमा नियुक्त हुने यादव लामो राजनीतिक व्यकराउन्ड भएका नेता हुन्। सिंह भने व्यवसाय छाडेर ९ वर्षअघि मात्रै पार्टी राजनीतिमा लागेका नेता थिए।
०५८ सालदेखि माओवादी जनयुद्धमा लागेका यादवले ०७९ मंसिर ४ गते भएको निर्वाचनमा टिकट नपाएपछि माओवादी छाडेका थिए।
त्यसपछि सीके राउतले उनलाई आफू चुनाव लडेकै क्षेत्रको प्रदेशसभा (ख) मा उम्मेदवार बनाएका थिए। जनयुद्धमा लाग्नुअघि उनी जनकपुरस्थित रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा अनेरास्ववियुबाट सभापतिसमेत बनेका थिए।
Shares

प्रतिक्रिया