ad ad

राजनीति


जनमत संसदीय दलका नेता महेश यादव भन्छन्- मुख्यमन्त्री नबनाउन मविरुद्ध राम्रैसँग चलखेल भयो

जनमत संसदीय दलका नेता महेश यादव भन्छन्- मुख्यमन्त्री नबनाउन मविरुद्ध राम्रैसँग चलखेल भयो

महेश यादव


नेपालखबर
जेठ २५, २०८१ शुक्रबार ११:४, काठमाडौँ

जनमत पार्टीको मधेस प्रदेश संसदीय दलका नेता महेश यादवले पार्टीभित्र आफूविरुद्ध चलखेल भएको गुनासो गरेका छन्। 

आफू संसदीय दलको नेता हुँदाहुँदै पार्टी नेतृत्त्वले सांसद सतीश सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेकोप्रति यादवले घुमाउराे ढंगले असन्तुष्टि जनाएका हुन्। 

‘पार्टीले गरेको निर्णयमा मेरो धेरै आपत्ति त केही छैन। निर्णयमा मेरो सहमति नै छ। सर्वसहमतिकै आधारमा यो निर्णय भएकाे हो। त्यो निर्णय सही नै होला,’ उनले नेपालखबरसँग भने, ‘तर, संसदीय दलको नेता म हुँदाहुँदै मुख्यमन्त्री अरुलाई बनाउने निर्णय भयो। यो निर्णय हुँदा चलखेल राम्रैसँग भएको छ।’

यादव सप्तरी २ (ख) बाट निर्वाचित सांसद हुन्। मधेस प्रदेशमा मुख्यमन्त्रीमा दावी पेस गर्ने जनमतका सिंह पनि सप्तरी २ (क)बाट निर्वाचित सांसद हुन्। 

यादव लामो राजनीतिक व्यकराउन्ड भएका नेता हुन्। सिंह भने व्यवसाय छाडेर ९ वर्षअघि मात्रै पार्टी राजनीतिमा लागेका नेता हुन्। 

०५८ सालदेखि माओवादी जनयुद्धमा लागेका यादवले ०७९ मंसिर ४ गते भएको निर्वाचनमा टिकट नपाएपछि माओवादी छाडेका थिए। 

त्यसपछि सीके राउतले उनलाई आफू चुनाव लडेकै क्षेत्रको प्रदेशसभा (ख) मा उम्मेदवार बनाएका थिए। जनयुद्धमा लाग्नुअघि उनी जनकपुरस्थित रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा अनेरास्ववियुबाट सभापतिसमेत बनेका थिए। 

हाल मधेस प्रदेशसभाको सभामुख पनि माओवादी पृष्ठभूमिकै रामचन्द्र मण्डल छन्। 

०५२ सालदेखि नै जनयुद्धमा लागेका मण्डल एमाले र माओवादीबीच पार्टी एकता भएर बनेको नेकपा विभाजनपछि भने एमालेमै रहेका नेता हुन्।

माओवादी मधेस प्रदेशका एक नेताका अनुसार यादवलाई मुख्यमन्त्री बनाउँदा सभामुख र मुख्यमन्त्री दुबै माओवादी पृष्ठभूमिबाट आएका पात्र हुने भएपछि जनमत संसदीय दलको नेता हुँदाहुँदै यादवलाई मुख्यमन्त्री नबनाइएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .