राजनीति


रास्वपाको महाधिवेशनमा चार हजारभन्दा बढी प्रतिनिधि

रास्वपाको महाधिवेशनमा चार हजारभन्दा बढी प्रतिनिधि

नेपालखबर
असार ६, २०८३ शनिबार १४:३२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन प्रतिनिधि चार हजार दुई सयभन्दा बढी हुने भएका छन्। 

रास्वपा केन्द्रीय सचिवालयका चार हजार दुई सयभन्दा बढी प्रतिनिधि हुने देखिएको छ। प्रारम्भिक तथ्यांकमा तीन हजार ८१० प्रतिनिधि देखिएको सङ्गठन विभाग सचिव शङ्कर श्रेष्ठले बताए। यसमा २५ देशका प्रवास सम्पर्क विभागबाट दुई सय हाराहारी प्रतिनिधि थप हुने श्रेष्ठले जानकारी दिए। 

त्यस्तै, सभापतिले मनोनय गर्ने संख्या दुई सय रहेको छ। यसका अतिरिक्त समूहगत रुपमा पार्टी प्रवेश गर्नेबाट अरु केही थप हुनसक्ने श्रेष्ठले बताए। 

आज रास्वपाको केन्द्रीय समितिको बैठकमा सभापतिले विधानतः मनोनयन गर्न पाउने प्रतिनिधिको नाम पेश भएपछि साँझसम्ममा अन्तिम नामावली तयार हुने उनले जानकारी दिए। प्रारम्भिक तथ्याङ्कअनुसार, कोसी प्रदेशबाट ५२० प्रतिनिधि रहेका छन्। 

त्यस्तै, मधेसबाट ६३०, बागमतीबाट ७९०, लुम्बिनीबाट ४९०, गण्डकीबाट ४७०, कर्णालीबाट ३६० र सुदूरपश्चिम प्रदेशबाट ५५० जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने श्रेष्ठले बताए। महाधिवेशन प्रतिनिधिका रुपमा पालिका सभापति, क्षेत्रीय सभापति र उपसभापति, जिल्ला सभापतिसहित पाँच जना र प्रदेश समितिका सबै सदस्य रहने व्यवस्था छ। 

यसैगरी, प्रदेशको विभाग, अनुशासन आयोग र सल्लाहकार परिषद्का पदाधिकारी प्रतिनिधि हुने व्यवस्था छ। सङ्घीय नेतृत्व मञ्च, केन्द्रीय समितिका सबै, केन्द्रमा रहेको ३८ वटा विभागका ११ जनाका दरले सदस्य र केन्द्रीय निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगका ११ जनाका दरले प्रतिनिधि हुनेछन्। 

प्रत्येक गाउँपालिकाबाट एक जना, नगरपालिकाबाट दुई जना, उपमहानगरपालिकाबाट तीन जना र महानगरपालिकाबाट चार जना प्रतिनिधि हुनेछन्। प्रदेश सम्पर्क विभागबाट तीन जनाका दरले र जिल्ला सम्पर्क विभागबाट एक–एक जनाका दरले प्रतिनिधि हुने व्यवस्था छ। 

गत प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाबाट चुनाव लडेका र समानुपातिक सूचीमा रहेका उम्मेदवार पनि प्रतिनिधि हुनेछन्। यस्तै २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार र समानुपातिक बन्दसूचीमा रही पार्टीमा सक्रिय भएका पनि प्रतिनिधि रहने व्यवस्था छ। केन्द्रीय समितिमा नरहेका प्रतिनिधि सभा सदस्यसमेत प्रतिनिधि हुने व्यवस्था छ।

आइतबार भरतपुरको गेस्टहाउस चौरमा उद्घाटन हुनेछ भने बन्दसत्र उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा हुनेछ। महाधिवेशनका लागि रास्वपा सभापति रवि लामिछानेसहितका नेताहरू चितवन पुगिसकेका छन्। प्रधानमन्त्री एवं रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाह आइतबार नै चितवन आउने कार्यक्रम रहेको श्रेष्ठले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad