World Cup 2026


समूह ‘सी’मा रोचक बन्यो नकआउट चरणका लागि पकड बनाउने होड

ब्राजिलले हाइटीको सामना गर्दै, स्कटल्यान्डलाई मोरक्कोको चुनौती
समूह ‘सी’मा रोचक बन्यो नकआउट चरणका लागि पकड बनाउने होड

नेपालखबर
असार ५, २०८३ शुक्रबार २१:५७, काठमाडौँ

समूह ‘सी’मा पाँचपटकको च्याम्पियन ब्राजिलले नेपाली समयअनुसार बिहान ६ः१५ बजे फिलाडेल्फियाको लिंकन फाइनान्सियल फिल्डमा हाइटीसँग खेल्नेछ।

त्यसभन्दा अगाडि ३ः१५ बजे समूहको शीर्ष स्थानमा रहेको स्कटल्यान्डले जिलेट रंगशालामा मोरक्कोको सामना गर्नेछ। 

दोस्रो चरणका यी खेलहरु पछि समूहमा कसले नकआउट चरणका लागि पकड बनाउनेछ भन्ने निर्धारण गर्न सकिनेछ।

ब्राजिल भर्सेस हाइटी
फ्रान्स, स्पेन र पोर्चुगलपछि उपाधिको प्रबल दाबेदारका रुपमा हेरिएको ब्राजिलले पहिलो खेलमा आफ्नो ‘स्टान्डर्ड मिट’ गर्न सकेन। टोली १–१ को बराबरीमा रोकियो।

भिनिसियस जुनियरको दर्शनीय गोलमा टोली भाग्यमानी रह्यो। यो गोल नहुँदो हो त विश्वकप २०२६ कै सबैभन्दा ठूलो ‘अपसेट’ नतिजा विश्व फुटबलले देख्न पाउने थिए।

बराबरीसँगै ब्राजिल स्कटल्यान्डभन्दा दुई अंकले पछाडि छ। हाइटीविरुद्ध पनि सकारात्मक नतिजा नआउने हो भने स्कट्ल्यान्डसँगको अन्तिम खेलमा टोलीलाई एकदमै धेरै दबाब रहनेछ।

हाइटीविरुद्ध ब्राजिले पछिल्ला भेटमा एकतर्फी राज गरेको छ। यी दुई अहिलेसम्म तीनपटक आमने–सामने भएका छन्। तीनवटै खेलको नतिजा ब्राजिलको पक्षमा गएको छ। यसबीच सन् २०१६ कोपा अमेरिकामा ब्राजिलले हाइटीमाथि ७–१ को फराकिलो जित हासिल गरेको थियो। समग्रमा ब्राजिलले हाइटीविरुद्ध १७ गोल गरेको छ।

मोरक्कोसँगको बराबरीपछि मुख्य प्रशिक्षक कार्लो एन्सिलोटीले पहिलो रोजाईमा केही परिवर्तन ल्याउने अनुमान गर्न सकिन्छ। डिफेन्सिभ भेट्रानहरु ड्यानिलो र एलेक्स सान्ड्रोले मौका पाउने अपेक्षा गरिएको छ। त्यस्तै फाबिन्हो, लुइज हेनरिक र माथेयस कुन्ह्यालाई पनि सुरुआती मिनेट्स देखि नै देखिने अनुमान गर्न सकिन्छ। नेइमारको फिटनेश शंकाको घेरामा छ। सम्भवतः उनी लगातार दोस्रो खेलमा मैदानमा देखिने छैनन्।

आक्रमणमा भिनिसियस र राफिन्हाले आफ्नो स्थान कायम राख्ने अपेक्षा गरिएको छ। त्यस्तै ग्याब्रियल म्यागाल्हेसले डिफेन्सलाई निरन्तरता दिनेछन्। दुई टोलीबीचको ‘क्वालिटी ग्याप’ अझै पनि उल्लेखनीय छ। ब्राजिलले यो खेललाई आफ्नो गति निर्माण गर्ने र गोल भिन्न्ता सुधार गर्ने अवसरको रुपमा हेर्नेछ।

हाइटीलाई विश्वकपमा प्रतिनिधित्व गर्न पाउनुनै ठूलो उपलब्धि हो। १९७४ पछि विश्वकप खेलिरहेको हाइटीले स्कटल्यान्डसँग प्रेरणादायी प्रदर्शन गरेको थियो। यद्यपि टोलीले स्कटल्यान्डसँग १–० को साँघूरो हार बेहोर्यो।

सेबास्टियन मिग्नेको टोलीले स्कटल्यान्डविरुद्ध दृढ संकल्प देखाएको थियो। आफ्नो विपक्षीलाई एउटै गोलमा सीमित राखेको हाइटीले यसैबाट आत्मविश्वास लिनेछ। यद्यपि ब्राजिलको चुनौती पूर्ण रुपमा फरक छ।

दोस्रो चरणको पहिलो खेलमा यदी मोरक्कोले स्कटल्यान्डलाई हराउने हो भने हाइटी ब्राजिलविरुद्ध थप दबाबमा हुनेछ। यदि यसो हो भने ब्राजिलविरुद्धको हारले हाइटी प्रतियोगिताबाट बाहिरिनेछ। तर, प्रतियोगितामा अपसेट नतिजाहरु आइरहँदा हाइटी आफ्नो अनुशासित प्रदर्शन दिन तयार छ।

स्कटल्यान्ड भर्सेस मोरक्को
स्कटल्यान्ड र मोरक्कोबीचको खेल एकदमै धेरै प्रतिस्पर्धात्मक हुने अनुमान गर्न सकिन्छ। मोरक्कोलाई पराजित गरे स्कटल्यान्डले कम्तिमा दोस्रो स्थान हासिल गर्नेछ। स्कटल्यान्डलाई हराए मोरक्कोसँग समूह विजेता बन्ने अवसर छ।

महादेशीय र विश्वकप दुबैमा स्कटल्यान्डले अहिलेसम्म समूह चरण पार गर्न सकेको छैन। यसपाली स्कटल्यान्डलाई ऐतिहासिक अवसर छ। त्यो पनि शीर्ष दुईको हैसियतमा।

ब्राजिलविरुद्ध मोरक्कोले प्रभावशाली खेल प्रस्तुत गरेको थियो। एट्लास लायन्सले पोजेसनमा बलियो पकड बनाएको थियो। मोरक्को वास्तवमै १–१ को बराबरी भन्दा माथिको हकदार थियो।

स्ट्राइकर इस्माइल साइबारीको गोलमा मोरक्कोले अग्रता लिएको थियो। क्रियटिभ प्रतिभाहरु ब्राहिम डियाज र नौसैर मजरौईले ब्राजिललाई सताइरहेको थियो। त्यस्तै कप्तान तथा राइटब्याक अक्राफ हकिमीले पनि आफनो प्रदर्शनबाट सबैको मन जिते।
ब्राजिविरुद्धको खेलपछि सन् २०२२ को सेमिफाइनलिस्ट मोरक्को आफ्नो रणनीतिक अनुशासनका कारण यसपाली पनि सरप्राइज प्याकेज रहने अनुमान गर्न सकिन्छ।

विश्वकपको इतिहासमा स्कटल्यान्ड र मोरक्को दुईपटक आमने–सामने हुँदैछन्। पछिल्लोपटक यी दुई १९९८ फ्रान्स विश्वकपमा भेटेका थिए। जतिबेला मोरक्को ३–० ले विजयी भएको थियो।

ब्राजिलसँग खेलेकै प्रदर्शन दोहोर्याउने हो भने उत्तर अफ्रिकी राष्ट्र मोरक्कोले स्कटल्यान्डको चुनौती सहजै पन्छाउने अपेक्षा गर्न सकिन्छ। किनभने कागजमा पनि मोरक्को स्कटल्यान्डभन्दा बलियो छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad