राजनीति


जर्मन राजदूतले मुख खोले

जर्मन राजदूतले मुख खोले

जर्मन राजदूत उडो भोल्ज


नेपालखबर
असार ५, २०८३ शुक्रबार १९:३९, काठमाडौँ

पासपोर्ट ठेक्का प्रकरणका विषयमा प्रधानमन्त्री कार्यालय पुगेका नेपालका लागि जर्मन राजदूत उडो भोल्जले मुख खोलेका छन्। शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत् उनले आफ्नो भनाइ सार्वजनिक गरेका हुन्।

आफू प्रधानमन्त्री कार्यालय पुगेको विषयमा कुनै सञ्चारमाध्यमसँग आफूले कुराकानी नगरेको जर्मन राजदूत भोल्जले बताएका छन्। ‘नेपालका सञ्चारमाध्यमहरूले मेरो हालैको प्रधानमन्त्री कार्यालयको भ्रमण बारेमा विभिन्न तरिकाले समाचार सम्प्रेषण गरिरहेका छन्’, सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै उनले भनेका छन्, ‘म के कुरामा जोड दिन चाहन्छु भने यस सम्बन्धमा न त मैले व्यक्तिगत रुपमा न जर्मन दूतावासले नै पत्रकारहरूसँग कुनै कुराकानी गरेका छौँ।’

दूतावासले यस विषयमा कुरा गर्नका लागि कसैलाई पनि अनुमति नदिएको राजदूत भोल्जले प्रस्ट पारेका छन्। 

गत सोमबार बिहान जर्मन राजदूत प्रधानमन्त्री कार्यालय पुगेका थिए। पासपोर्ट छाप्ने ठेक्का जर्मन कम्पनीले पाएका छन्। बालेन सरकारले त्यही ठेक्का प्रक्रियामा अनियमितता भएको भन्दै सहयोगीमार्फत् शक्ति अभ्यास गरेपछि उनी प्रधानमन्त्री कार्यालय पुगेको जनाइएको छ। 

सरकारी स्रोतलाई उदृत गर्दै सञ्चार माध्यममा उनले प्रधानमन्त्री बालेन शाहसँग भेट्न चाहेको सूचना सार्वजनिक भएका थिए।
सल्लाहकारले उनलाई भेट्न अस्वीकार गरेको र लामो समय पर्खाएर प्रधानमन्त्रीका स्वकीय सचिवले अशोभनीय व्यवहार र बोलीबचन लगाएर उनलाई फर्काइदिएका समाचार सार्वजनिक भएका थिए।

मित्रराष्ट्रका कूटनीतिक प्रतिनिधिलाई प्रधानमन्त्रीको कार्यालयमा उनका सहयोगीले अशोभनीय व्यवहार र बोलीबचन गरेको भन्दै आलोचना भइरहँदा राजदूत भोल्जले शुक्रबार मुख खोलेका हुन्। 

प्रधानमन्त्रीका सहयोगीले गरेको व्यवहार र त्यहाँको विवरणबारे उनले केही टिप्पणी गरेका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad