सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन आइतबार (असार ७ गते) चितवनको भरतपुरमा सुरु हुँदै छ।
असार ९ सम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ।
महाधिवशेनको तयारी आज पूरा हुने रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले बताएका छन्।
यसैबिच उनले पार्टीको नयाँ नेतृत्व सर्वसम्मत चयन हुन्छ कि निर्वाचनबाट भन्ने विषयमा पनि बताएका छन्।
‘एकात्मक निर्देशन र हुकुमी शैली राष्ट्रिय स्वतन्त्र पार्टीमा छैन। पार्टी सभापति असाध्यै लोकतान्त्रिक पक्षधर हुनुहुन्छ’, उनले भनेका छन्, ‘पार्टीभत्र संवाद, सहमति र आन्तरिक निर्वाचन हुन्छ। त्यो निर्वाचनबाट फुट ल्याउन नदिने गरी बलियो सहकार्य पनि हुन्छ।’
यस्तो छ उनले राससलाई दिएको अन्तर्वार्ताको अंश:
महाधिवेशन नीति र नेतृत्व चयन गर्ने थलो पनि हो। महाधिवेशनबाट कस्तो नीति पारित हुन्छ र नेतृत्वको चयन कसरी अगाडि बढ्छ?
अवश्य पनि, महाधिवेशन नीति र नेतृत्वमा निखार ल्याउने महत्त्वपूर्ण औजार हो। सामान्यतः महाधिवेशनलाई नेतृत्व परिवर्तन हुने, नयाँ नेतृत्वहरू आउने वा नेतृत्वमा फेरबदलहरू हुने रूपमा मात्र हेरिन्छ। तर महाधिवेशनले नीति निर्माणमा पनि असाध्यै धेरै भूमिका खेलेको हुन्छ। नीति परिमार्जन र नीति निखारमा महाधिवेशन विशेष रहन्छ। रास्वपाको जलेश्वर बैठकले एक पृष्ठको निर्देशक दस्तावेज तयार गरेको थियो। त्यसलाई हामीले पार्टीको सैद्धान्तिक प्रस्तावना भन्ने गर्छौँ। सो प्रस्तावनालाई २०८१ सालमा सम्पन्न राष्ट्रिय भेलाबाट विस्तार गरेका थियौँ। उक्त दस्तावेजलाई पार्टी प्रशिक्षणमा महत्त्वपूर्ण विषयवस्तुका रूपमा समेत प्रयोग गर्यौँ। जलेश्वर बैठकबाट तयार प्रस्तावना र राष्ट्रिय भेलाबाट पारित विस्तारित दस्तावेजमा महाधिवेशनले थप निखार ल्याउनेछ। पार्टीको नीति विचार विभागले पनि नीतिसम्बन्धी आवश्यक काम गरिरहेको छ। प्रथम महाधिवेशनबाट नीति र नेतृत्व उजिल्याइन्छ।
नेतृत्व चयन सर्वसम्मत हुन्छ कि निर्वाचनमा जानुहुन्छ?
संवाद, सहमति र निर्वाचन, यो तीनवटै विषय लोकतान्त्रिक प्रक्रियाका अभिन्न अङ्ग हुन्। त्यसकारणले गर्दा संवाद छैन भने लोकतान्त्रिक हुँदैन। एकात्मक निर्देशन र हुकुमी शैली राष्ट्रिय स्वतन्त्र पार्टीमा छैन। पार्टी सभापति असाध्यै लोकतान्त्रिक पक्षधर हुनुहुन्छ। संवाद, सहमति र आन्तरिक निर्वाचनबाट वडा, पालिका, जिल्ला र प्रदेश तहका समिति टुङ्ग्याउन सभापतिज्यूले लिखित रूपमै आह्वान गर्नुभएको थियो। पार्टीभत्र संवाद, सहमति र आन्तरिक निर्वाचन हुन्छ। त्यो निर्वाचनबाट फुट ल्याउन नदिने गरी बलियो सहकार्य पनि हुन्छ। संवाद र सहमतिलाई समेटेर पार्टी निर्माण गर्नुपर्ने अहिलेको आवश्यकता हो। यो पार्टी कसरी जन्मियो, यहाँसम्म कसरी आइपुग्यो, जम्मा चार वर्ष हुँदै छ, यसबिचमा के कति उपलब्धि हासिल भए, आमजनताले कत्तिको आशा-भरोसा दिएर पठाउनुभएको छ, यी सबै कुरालाई विश्लेषण गर्दा पार्टी निर्माणको बृहत् चरण अझै बाँकी छ र त्यसका लागि आवश्यक प्रक्रिया लोकतान्त्रिक विधिमार्फत सम्पन्न गर्छौं।
Shares

प्रतिक्रिया