नेकपा (एमाले) पुनर्गठनका लागि सुझाव संकलन गर्न सुदूरपश्चिम प्रदेश स्तरीय भेला सुरु भएको छ।
शनिबार धनगढीमा सुरु भएको भेलामा सुदूरपश्चिमका एमालेका नेता तथा कार्यकर्ता सहभागी छन्। गत फागुन २१ मा भएको प्रतिनिधि सभा निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि भेलामा सुझाव संकलन गर्न लागिएको एमाले महासचिव शंकर पोखरेलले बताए।

एमालेको सुझाव संकलन कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’, कार्यदलका सदस्यहरू विष्णुप्रसाद पौडेल, शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङ भेलामा सहभागी छन्। भेलामा एमालेका नेता तथा कार्यकर्तासँगै बुद्धिजिवी पनि सहभागी रहेका छन्।
यसअघि कार्यदलले कोसी र लुम्बिनी प्रदेशमा भेला आयोजना गरेको थियो। दुवै प्रदेशमा भेलामा सहभागी नेता तथा कार्यकर्ताले पार्टी पुनर्गठनमा जोड दिएका थिए।

एमालेले सातै प्रदेशमा भेला आयोजना गरेको छ। भेलाबाट संकलन भएको सुझावका आधारमा एमाले पुनर्गठनका लागि कार्यदलले प्रतिवेदन तयार गर्ने जनाइएको छ।
Shares

प्रतिक्रिया