राजनीति


माइन्युटमा हस्ताक्षर नगरेकोमा जनार्दनले आत्मालोचना गरे, नेतृत्वबारे बोलेकोमा गरेनन्

प्रचण्डले तीनचोटि भनेका थिए- आत्मालोचना गर्नुहोस्
माइन्युटमा हस्ताक्षर नगरेकोमा जनार्दनले आत्मालोचना गरे, नेतृत्वबारे बोलेकोमा गरेनन्

सागर न्यौपाने
साउन १९, २०८२ सोमबार १५:११, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी बैठककको माइन्युटमा हस्ताक्षर नगरेकोमा आत्मालोचना गरेका छन्। 

सोमबारको स्थायी समिति  बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मालोचना गर्न जोड दिएपछि जवाफमा बोल्दै शर्माले माइन्युटमा हस्ताक्षर नगरेकोमा आत्मालोचना गरेको उपमहासचिव हरिबोल गजुरेलले नेपालखबरलाई जानकारी दिए। 

शनिबार नेपालखबरले शर्माले ४ वर्षदेखि उपमहासचिवका रुपमा माओवादी बैठकको माइन्युटमा हस्ताक्षर नगरेको खबर सर्वाजनिक गरेको थियो। 

तर, शर्माले साउन ६ गते पार्टी नेतृत्वबारे दिएकाे सार्वजनिकरुपमा दिएको अभिव्यक्तिबारे भने आत्मालोचना गर्न अस्वीकार गरेका छन्।जबकि पार्टीबाहिर गएर बोलेको भन्दै स्थायी समितिका अधिकांश सदस्यले शर्मालाई आत्मालोचना गर्न सुझाव दिएका थिए। साेही अनुसार अध्यक्ष प्रचण्डले पनि आजको बैठकमा जवाफ दिने क्रममा  शर्मालाइ कमजाेरी गरेकाेमा आत्मालोचना गर्न पटक-पटक भनेका थिए। 

बैठकमा सहभागी एक नेताका अनुसार प्रचण्डले यसरी बाहिर जाँदा राम्रो नहुने भन्दै ३/४ पटक नै जोड दिएर आत्मालोचना गरेर जाँदा राम्रो हुने बताएका थिए। 

‘अध्यक्षले दुई/तीन चोटी नै आत्मालोचना गरेर जानुहोस्, यसरी जाँदा बाहिर राम्रो हुँदैन भन्नुभयो,’ ती नेताले नेपालखबरसँग भने, ‘तर, उहाँले मान्नु भएन।’ 

आत्मालोचना गर्ने र मतमतान्तरलाई मिलाउँदै जाने माओवादीको परम्परा नै भएको प्रचण्डको भनाइ थियो। ‘आत्मालोचना, आलोचना गर्दै भएका मतमतान्तर माँझ्दै जाने हाम्रो परम्परा नै हो,’ उनले भनेका थिए, ‘के-के भन्न मन लाग्छ, सबै यही राख्नुहोस् न।’

साउन ६ गते काठमाडौँमा आयोजित पुष्पलाल स्मृति दिवसको भएको कार्यक्रममा प्रचण्डको नाम नलिइ उनले आलोचना गरेका थिए।

नेताहरूको सम्पत्ति छानबिन गर्न स्वतन्त्र व्यक्तिहरुलाई दिनुपर्नेदेखि कम्युनिस्ट नेतामा मनमोहन अधिकारी बाहेक अन्य सबै नेताले असुली धन्दा चलाएको टिप्पणी गरेका थिए।

त्यस्तै उनले आफ्नो पार्टीभित्र जनवादी केन्द्रीयताको कुरा हुने गरेता पनि अहिले जनवादी हराएर केन्द्रीयता मात्रै बाँकी रहेको टिप्पणी गरेका थिए। 

पार्टी नेतृत्वको पुस्तान्तरण गर्न समेत अध्यक्ष प्रचण्डलाई आग्रह गरेका थिए।

त्यसको जवाफमा प्रचण्डले पनि साउन ७ गते सार्वजनिक कार्यक्रममार्फत नै पार्टीमा जनार्दनलाई जति पनि सिंगौरी खेल्न दिएको बताएका थिए। यसकारण माओवादी स्थायी समिति बैठकमा बोल्ने नेताहरुले शर्माको आलोचना गरेका थिए। 

 

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad